काठमाडौं। अहमदाबादमा भएको एअर इण्डियाको विमान दुर्घटनापछि पीडित परिवारलाई मुद्दा फिर्ता लिन क्षतिपूर्ति दिने प्रस्ताव गरेपछि कम्पनी विवादमा परेको छ। लन्डनतर्फ उडान भरेको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरूका परिवारलाई अतिरिक्त आर्थिक सहायता दिने प्रस्ताव एअर इण्डियाले अघि सारेको हो।
लन्डनस्थित पत्रिका द इन्डिपेन्डेन्ट का अनुसार एअर इण्डियाले मृतकका परिवारलाई थप १० लाख रुपैयाँ र केही अवस्थामा २० लाख रुपैयाँसम्म दिने सर्तमा भविष्यमा कुनै कानुनी दाबी नगर्ने सहमति मागेको छ। कम्पनीले उक्त सहमति विश्वका कुनै पनि अदालतमा लागू हुने जनाएको छ।
तर १३० पीडित परिवारको कानुनी टोलीले यो प्रस्ताव अस्वीकार गरेको छ। उनीहरूको भनाइमा दुर्घटनाको अनुसन्धान अझै पूरा नभएको र जिम्मेवारी निर्धारण नभएको अवस्थामा कानुनी अधिकार त्याग्न लगाउनु अन्यायपूर्ण हुने उल्लेख गरिएको छ। केही घाइतेहरूको उपचार अझै जारी रहेको जनाइएको छ।
एअर इण्डियाका प्रवक्ताले भने प्रभावित परिवारलाई सहयोग गर्न प्रतिबद्ध रहेको बताउँदै प्रारम्भिक राहत रकमपछि कानुनअनुसार अन्तिम क्षतिपूर्ति सुनिश्चित गरिने दाबी गरेका छन्।
यसैबीच, भारतको सर्वोच्च अदालतले ११ फेब्रुअरीमा केन्द्र सरकारलाई दुर्घटनासम्बन्धी प्रक्रियागत प्रतिवेदन पेश गर्न आदेश दिएको छ। सरकारले एएआईबीको अनुसन्धान अन्तिम चरणमा रहेको जनाएको छ।
१२ जुन २०२५ मा अहमदाबादबाट लन्डनतर्फ उडेको फ्लाइट एआइ–१७१ टेकअफको केही मिनेटमै मेडिकल होस्टल भवनमा ठोक्किँदा २४१ यात्रु र चालक दलका सदस्यसहित २७० जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनाबाट केवल एक जना यात्रु जीवित बच्न सफल भएका थिए।


