Thursday, April 30, 2026
Homeअपराध र घटनाअमेरिका पठाइदिन्छु भन्दै साठी लाख ठगी गर्ने एक पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै साठी लाख ठगी गर्ने एक पक्राउ

काठमाडौँ : नेपालीहरू मात्र नभई संसारभरका मानिसहरूका लागि सपनाको देश संयुक्त राज्य अमेरिका, जुन देशमा प्रवेश पाउन जोसुकै पनि लालायित हुन्छन्। वर्षेनी डिभी भर्नेहरूको संख्या बढेको बढ्यै छ। यस्तो लाग्छ, मानिसको अन्तिम गन्तव्य नै अमेरिका हो। हुन पनि अमेरिकालाई अवसरको भूमि (Land of Opportunities) भनिन्छ। नेपालमा सानोतिनो काम गर्न लाज मान्नेहरू पनि अमेरिका वा कुनै पनि विदेशी भूमिमा जस्तोसुकै काम गर्न पनि तयार हुन्छन्। अमेरिका यस्तो देश हो जहाँ हरेक कामको सम्मान हुन्छ। त्यसैले पनि होला जो कोही पनि अमेरिका छिर्न चाहन्छन्। दलाललाई लाखौँ रुपैंया तिरेर चोरबाटो हुँदै अमेरिका छिर्ने र छिर्न चाहनेहरूको पनि सूची लामै छ। कति जनाले सफलता हात पारेका छन् भने कति जना नराम्रोसँग दलालको चंगुलमा फसेका छन्।

यसै सिलसिलामा अमेरिका पठाइदिन्छु भन्दै ६० लाख रुपैया ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने उदयपुर त्रियुगा नगरपालिका वडा नं ७ घर भई हाल गोँगबु बस्ने ३६ वर्षीय लोकबहादुर राउतलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले अमेरिकामा रु सात लाख ५० हजारसम्म तलब हुने प्रलोभनमा पारी खिमा डाँगीसमेत दुई जनालाई ठगी गर्ने राउतलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका राउतले अमेरिका जानका लागि प्रतिव्यक्ति रु ८० लाखसम्म लाग्छ भनी दुई जनासँग रु ६० लाख लिएर फरार भएका थिए । राउतलाई गोँगबुबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता रेग्मीले बताए ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका