Monday, July 20, 2026
Homeअन्तराष्ट्रियअमेरिकामा अध्यागमन अधिकारीको गोलीकाण्ड जारी: मिनियापोलिसपछि पोर्टल्याण्डमा दुई स्थानीय घाइते

अमेरिकामा अध्यागमन अधिकारीको गोलीकाण्ड जारी: मिनियापोलिसपछि पोर्टल्याण्डमा दुई स्थानीय घाइते

अमेरिकी अध्यागमन अधिकारीहरूले मिनियापोलिसमा एक महिलालाई गोली हानी हत्या गरेको भोलिपल्ट ओरेगनको पोर्टल्याण्डमा पनि गोली चलाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार पोर्टल्याण्डमा भएको गोलीकाण्डमा दुई जना स्थानीय बासिन्दा घाइते भएका छन् ।

गोलीकाण्ड पोर्टल्याण्ड सहरको एक अस्पताल नजिकै स्थानीय समयअनुसार दिउँसो करिब २ः१५ बजे भएको हो । समाचार संस्था एशोशियटेड प्रेसका अनुसार अध्यागमन अधिकारीले चलाएको गोली लागेर एक व्यक्ति घटनास्थलमै घाइते भएका थिए भने केही समयपछि अर्को व्यक्ति पनि गोली लागेको अवस्थामा सहायता माग्दै आएका थिए ।

घटनाको छानबिन संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले गरिरहेको छ । घाइतेहरूको अवस्था हालसम्म सार्वजनिक गरिएको छैन । पोर्टल्याण्ड सिटी काउन्सिलकी अध्यक्ष एलाना पर्टल–गिनीले सिटी काउन्सिल बैठकमा घटनाबारे जानकारी दिँदै गोली लागेकाहरू स्थानीय बासिन्दा नै रहेको बताएकी छन् ।

यो घटना मिनेसोटाको मिनियापोलिसमा एक आप्रवासन तथा भन्सार प्रवर्तन (आईसीई) अधिकारीले ३७ वर्षीया रेनी निकोल गुडलाई गोली हानी हत्या गरेको घटनाको भोलिपल्ट भएको हो । उक्त घटनापछि मिनियापोलिसमा व्यापक विरोध प्रदर्शन सुरु भएको छ ।

पोर्टल्याण्ड घटनापछि त्यहाँको प्रहरी प्रशासनले गोली चलेको स्थान र घाइते भेटिएको क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । प्रहरी प्रमुख बब डेले भने, “हामी अहिले प्रारम्भिक अनुसन्धानको चरणमा छौँ । पछिल्ला घटनाका कारण समुदायमा तनाव बढेको हामी बुझ्छौँ, तर सबैलाई शान्त रहन आग्रह गर्दछु ।”

यसैबीच, पोर्टल्याण्डका मेयर किथ विल्सन र सिटी काउन्सिलले संयुक्त रूपमा पूर्ण अनुसन्धान सम्पन्न नभएसम्म सहरमा आईसीईका सबै गतिविधि रोक्न माग गरेका छन् । उनीहरूले संवैधानिक अधिकार कमजोर बन्दै गएको र हिंसात्मक घटना बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, “पोर्टल्याण्ड कुनै सैन्यीकृत एजेन्टहरूको अभ्यासस्थल होइन ।”

ओरेगनका डेमोक्र्याट सिनेटर जेफ मर्क्लीले सम्भावित प्रदर्शनकारीहरूलाई शान्त रहन आग्रह गर्दै सामाजिक सञ्जालमार्फत लेखेका छन्, “ट्रम्प दंगा भड्काउन चाहन्छन् । त्यसको पासोमा नपर्नुहोस् ।”

मिनियापोलिसमा मारिएकी रेनी निकोल गुड एक पुरस्कारप्राप्त कवि, तीन सन्तानकी आमा र चलचित्रप्रेमी थिइन् । उनको मृत्युले अमेरिकाभर अध्यागमन नीतिबारे बहस र विरोधलाई थप चर्काएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका