हेटौँडा। संघीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडालाई जोड्ने सबैभन्दा छोटो वैकल्पिक मार्गका रूपमा चिनिएको कान्ति लोकपथ सात दशक बितिसक्दा पनि पूर्ण हुन सकेको छैन। २०१३ सालमा सुरु भएको यो आयोजना अझै अधुरो रहँदा यसलाई नेपालका दीर्घकालीन र ढिलासुस्तीले ग्रस्त पूर्वाधार आयोजनाको उदाहरणका रूपमा हेरिन थालेको छ।
७९ किलोमिटर लामो कान्ति लोकपथ हालसम्म करिब ७५ प्रतिशत मात्र सम्पन्न भएको छ। आयोजना सुरु हुँदाका पुस्ता अवकाश उमेरमा पुगिसक्दा पनि सडक निर्माण नसकिँदा राज्यको योजना कार्यान्वयन क्षमतामाथि गम्भीर प्रश्न उठेको छ।
कान्ति लोकपथ आयोजनाका इन्जिनियर राजन पाण्डेले बजेट अभाव, जटिल भूगोल, प्राकृतिक विपद् तथा संरचनागत समस्याका कारण आयोजना पटक–पटक पछाडि धकेलिन पुगेको बताए। उनका अनुसार हालको कार्ययोजनाअनुसार आगामी आर्थिक वर्ष २०८३/८४ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
हाल सडकको करिब चार किलोमिटर खण्ड अझै कालोपत्र हुन बाँकी छ। ती स्थानमा एक लेन मात्र सडक रहेको र चट्टान काटेर दुई लेन विस्तार गर्नुपर्ने भएकाले काम जटिल बनेको आयोजनाले जनाएको छ। साथै, सडक सीमा स्पष्ट नहुँदा घरटहरा, रुख, विद्युत् खम्बा, खानेपानी र ढलका संरचना सडक क्षेत्रमै परेका छन्। ढुङ्गा–बालुवा उत्खननसम्बन्धी कानुनी जटिलताले पनि निर्माण कार्य प्रभावित भएको छ।
आयोजनाअन्तर्गत बागमती नदीमा निर्माणाधीन दुई लेनको पुलसमेत समयमै सम्पन्न नहुने देखिएको छ। ९० मिटर लामो उक्त पुल १८ करोड रुपैयाँ लागतमा निर्माण हुँदैछ। हाल पाइलिङ र जग हाल्ने काम भइरहेको भए पनि चालु आर्थिक वर्ष २०८२/८३ को असार मसान्तभित्र सम्पन्न हुन नसक्ने आयोजनाले स्पष्ट पारेको छ।
कान्ति लोकपथको शून्य किलोमिटर काठमाडौँतर्फ ललितपुरको टीकाभैरव र हेटौँडातर्फ बुद्धचोक तोकिएको छ। यसमध्ये ललितपुरमा ३९ किलोमिटर र मकवानपुरमा ४० किलोमिटर सडक खण्ड पर्दछ। चालु आर्थिक वर्षदेखि टीकाभैरवदेखि ललितपुरको एकान्तकुनासम्म सडकको एलाइन्मेन्टसमेत परिवर्तन गरिएको छ।
चालु आर्थिक वर्षमा आयोजनाका लागि ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ भने हालसम्म करिब चार अर्ब रुपैयाँ खर्च भइसकेको छ। सुरुमा छ अर्ब रुपैयाँ अनुमान गरिएको लागत पटक–पटक संशोधन हुँदै हाल आठ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ, जसले आयोजनाको लागत व्यवस्थापनमाथि पनि प्रश्न उठाएको छ।
यद्यपि कान्ति लोकपथ पूर्ण रूपमा सञ्चालनमा आएमा तराई–काठमाडौँ आवागमनमा उल्लेखनीय परिवर्तन आउने अपेक्षा गरिएको छ। हाल प्रयोगमा रहेको हेटौँडा–नारायणगढ–मुग्लिङ–नागढुङ्गा मार्ग (२२२ किलोमिटर) को सट्टा ७९ किलोमिटरमै हेटौँडाबाट काठमाडौँ पुग्न सकिनेछ। यसले दूरी १३२ किलोमिटर घटाउने, समय र इन्धन बचत गर्ने तथा यात्राको जोखिमसमेत कम गर्ने विश्वास गरिएको छ।


