काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको पनौतीस्थित सुरक्षा मुद्रण केन्द्रबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ कार्यको शुभारम्भ गरेका छन्।
शुक्रबार केन्द्रमा पुगेर मन्त्री खरेलले औपचारिक रूपमा लाइसेन्स छपाइ सुरु गर्दै आगामी ६ महिनाभित्र ३० लाख वटा चालक अनुमति पत्र छाप्ने लक्ष्य रहेको बताए।
उनले भने, “सुरक्षा मुद्रण केन्द्र देशका लागि आम्दानीको स्रोत बन्न सक्ने ठाँउ हो। यहाँबाट राम्रो कमाइ सम्भव छ। हाम्रो लक्ष्य ६ महिनाभित्र ३० लाख लाइसेन्स छाप्ने हो।”
मन्त्री खरेलका अनुसार अहिले पनि २८ देखि ३० लाख नागरिकले लाइसेन्स नपाएर कागजी प्रमाणपत्र लिएर हिँड्नुपर्ने बाध्यता छ, जसको अन्त्यको सुरुवात आजबाट भएको हो।
उनले थपे, “आजको दिनमा लाखौं जनतालाई लाइसेन्स दिन बाँकी छ। सुशासन भनेको आज ट्रायल दिएर भोलिपल्ट लाइसेन्स पाउनु हो। त्यस्तो क्षमता हामीसँग छ, त्यसैले अब यो कार्य अघि बढ्छ।”
मन्त्री खरेलले भने कि यदि खरिद प्रक्रिया चुस्त र पारदर्शी बनाइएमा ६ महिनाभित्र २० देखि २५ लाख लाइसेन्स छाप्न सकिनेछ। उनले केन्द्रको अनुमान उद्धृत गर्दै भने, “सबैको सहयोग भयो भने केन्द्रले तीन महिनामा तीन लाख लाइसेन्स छाप्न सक्छ।”
उनका अनुसार केन्द्रका अत्याधुनिक मेसिनबाट सवारी चालक अनुमति पत्र मात्र होइन, राष्ट्रिय परिचयपत्र, राहदानी, लालपूर्जा, स्टिकर र हुलाक टिकट समेत छाप्न सकिन्छ।


