Thursday, October 29, 2026
Homeराजनीति६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार हालसम्म एक करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ। डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुमपश्चिम, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर लगायत ६३ जिल्लाको मतपत्र छपाइ सकिएको उनले जानकारी दिए।

अब काठमाडौं उपत्यका आसपासका १४ जिल्लाको मात्र मतपत्र छपाइ बाँकी रहेको छ। आयोगका अनुसार आगामी तीन दिनभित्र छपाइ कार्य सम्पन्न हुने अनुमान गरिएको छ। छपाइ सम्पन्न भएका जिल्लाका मतपत्र प्याकिङ कार्यसमेत भइरहेको छ। हालसम्म १५ हजार ३७१ बाकस मतपत्र प्याकिङ भइसकेको छ। दैनिक करिब एक हजार बाकस प्याकिङ र ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ।

निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु गरिएको थियो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छापेर विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ।

दोस्रो चरणअन्तर्गत दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजु प्रक्रिया पूरा गरेर ढुवानीका लागि तयारी गरिएको छ। प्रत्यक्ष निर्वाचनतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र आवश्यक पर्ने आयोगले जनाएको छ।

छपाइ सम्पन्न भएका मतपत्र आजदेखि कर्णाली प्रदेशका १० जिल्लामा पठाउन सुरु गरिएको छ। सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी गरिएको आयोगले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका