Sunday, November 8, 2026
Homeसामाचार६० दिनको मनसुन समीक्षाः देशभर सामान्यभन्दा कम वर्षा, मधेस प्रदेश सबैभन्दा प्रभावित

६० दिनको मनसुन समीक्षाः देशभर सामान्यभन्दा कम वर्षा, मधेस प्रदेश सबैभन्दा प्रभावित

काठमाडौँ — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चालू मनसुनको ६० दिनको समीक्षात्मक प्रतिवेदन सार्वजनिक गर्दै देशभर औसतभन्दा कम वर्षा भएको जनाएको छ। कम वर्षाका कारण तराई, विशेषतः मधेस प्रदेश, सबैभन्दा बढी प्रभावित भएको प्राधिकरणले जानकारी दिएको छ।

गत जेठ १५ (मे २८) मा नेपाल प्रवेश गरेको मनसुन करिब तीन साता लागेर देशभर फैलिएको थियो। त्यसयता केही समय सक्रिय रहे पनि हालसम्मको अवधिमा देशभर वर्षा सरदरभन्दा कम रहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताउनुभयो।

मानव र भौतिक क्षति कम
यस अवधिमा बाढी, पहिरो र चट्याङका कारण ४३ जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार, गत वर्षको तुलनामा मनसुनजन्य विपद्का घटना र मानवीय तथा भौतिक क्षति दुवै कम भएका छन्।

रसुवाको भोटेकोशी बाढी — असार २४ गते रातिको समयमा रसुवाको भोटेकोशी नदीमा अकस्मात आएको बाढीले ठूलो जनधनको क्षति गराएको थियो। समयमै सतर्कता नअपुग्दा मानिसहरू सुरक्षित स्थानमा जान नपाउँदा २० जना बेपत्ता भएका थिए। हालसम्म १२ वटा शव तथा मानव अङ्ग फेला परेकोमा दुई जनाको मात्र पहिचान हुन सकेको छ। दुई जना बेपत्ता सम्पर्कमा आइसकेका छन् भने नुवाकोटको इन्द्रेणीघाटमा फसेका एक दम्पतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो।

मधेस सुक्खाग्रस्त, सरकारको घोषणा
कम वर्षाका कारण धान रोपाइँ र अन्य बाली लगाउने समयमै पानी नपर्दा मधेस प्रदेश नराम्ररी प्रभावित भएको छ। सिँचाइ र पिउने पानीका स्रोतहरू समेत सुक्दै गएपछि प्रदेश सरकारले असार २६ गते मधेसलाई सुक्खाग्रस्त घोषणा गरेको थियो। त्यसपछि संघीय सरकारले पनि साउन ७ गते विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो।

मधेसमा राहत र दीर्घकालीन समाधानतर्फ ध्यान
प्राधिकरणले मधेस केन्द्रित राहत कार्यक्रम सञ्चालनका लागि संयुक्त राष्ट्रसंघीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, र रेडक्रसलाई आफ्ना कार्यक्रमहरू परिमार्जन गर्न अनुरोध गरिसकेको जनाएको छ। दीर्घकालीन समाधानका लागि पिउने पानी र सिँचाइका विकल्प खोज्ने सम्भाव्यता अध्ययनको काम संघ, प्रदेश, स्थानीय सरकार र सरोकारवाला संस्थाहरूको सहकार्यमा अघि बढाइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका