Thursday, December 11, 2025
Homeकला/साहित्य४३औं विपी स्मृति दिवस: लोकतन्त्रका अगुवा कोइरालाको योगदानको सम्झनामा देशभर कार्यक्रम

४३औं विपी स्मृति दिवस: लोकतन्त्रका अगुवा कोइरालाको योगदानको सम्झनामा देशभर कार्यक्रम

काठमाडौँ, ६ साउन – नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा प्रजातान्त्रिक आन्दोलनका अगुवा विपी कोइरालाको ४३औं स्मृति दिवस आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ।

प्रजातन्त्र स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको निधन वि.सं. २०३९ साउन ६ गते भएको थियो। उहाँले नेपाली साहित्यमा पनि गहिरो योगदान दिनुभएको छ। वि.सं. १९७१ भदौ २४ गते जन्मनुभएका कोइराला वि.सं. २०१५ को संसदीय निर्वाचनपछि वि.सं. २०१६ जेठमा नेपालका पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो।

साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका १५ भन्दा बढी कृति प्रकाशित छन्। उहाँका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’ र ‘बाबु, आमा र छोरा’ उपन्यास विशेष चर्चित छन्। साथै ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ नामक कथा संग्रह, आत्मवृत्तान्त, ‘जेल जर्नल’, ‘फेरि सुन्दरीजल’ जस्ता रचनाले उहाँको राजनीतिक तथा कारागार जीवनको अभिलेख राख्दछन्।

विपी कोइरालाले नेपाली कांग्रेसको नेतृत्व गर्दै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको पक्षमा मार्गदर्शन गर्नुभयो। प्रधानमन्त्रीकालमा बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको’ नारालाई संस्थागत गर्दै भूमिसुधार कार्यक्रम अघि बढाउनुभयो।

वि.सं. २०१७ पुस १ गते शाही सेनाले निर्वाचित सरकार हटाएपछि कोइराला लगायत नेताहरूलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो। पछि स्वास्थ्य उपचारका लागि जेलमुक्त भएर उहाँले भारतमा आठ वर्ष निर्वासित जीवन बिताउनुभयो। वि.सं. २०३३ पुस १६ गते आठ ज्यान मुद्दाको जोखिम मोलेर मेलमिलापको नीति लिएर स्वदेश फर्कनु भएको थियो, जुन नीति आज पनि नेपालको राजनीतिमा सान्दर्भिक मानिन्छ।

प्रजातान्त्रिक समाजवादका चिन्तक कोइरालाले स्वतन्त्र चिन्तन, शैली र आयामका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पु¥याउन भूमिका खेलेका थिए। वि.सं. २०६१ भदौ २४ मा सुन्दरीजल बन्दीगृहलाई बिपी संग्रहालयका रूपमा उद्घाटन गरिएको थियो। संग्रहालयमा बिपीको जीवनसँग सम्बन्धित सामग्री, २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङ्कर र कांग्रेसले २०२९ सालमा अपहरण गरेको विमान पनि राखिएको छ।

स्मृति दिवसको अवसरमा कांग्रेस पार्टी, भ्रातृ संस्थाहरू र संग्रहालय समितिले देशभर विविध कार्यक्रमको आयोजना गरेका छन्। यसै अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिपी कोइराला राष्ट्रिय पुरस्कार वितरण गर्दैछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका