Saturday, November 7, 2026
Homeसामाचार३०४औँ पृथ्वी जयन्तीमा सर्जकहरूको सिर्जनात्मक श्रद्धाञ्जली, चन्द्रागिरिमा राष्ट्रप्रेम गुञ्जियो

३०४औँ पृथ्वी जयन्तीमा सर्जकहरूको सिर्जनात्मक श्रद्धाञ्जली, चन्द्रागिरिमा राष्ट्रप्रेम गुञ्जियो

काठमाडौँ । आज ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नेपालभर विविध कार्यक्रमका साथ मनाइँदैछ। नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको स्मृतिमा मनाइने यस दिवसमा उनको योगदानको स्मरण गर्दै विभिन्न कार्यक्रम आयोजना गरिएको छ।

यस अवसरमा इतिहासकार, वरिष्ठ कवि तथा सर्जकहरूले फरक र सिर्जनात्मक शैलीमार्फत पृथ्वीनारायण शाह र नेपालको राष्ट्रियतासम्बन्धी रचनाहरू प्रस्तुत गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। सर्जकहरू पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान सुरु गरेको ऐतिहासिक स्थल चन्द्रागिरि डाँडामा पुगेर त्यहाँस्थित सालिकसमक्ष कविता, गीत तथा साहित्यिक सिर्जना प्रस्तुत गरी उनको योगदानको स्मरण गरेका हुन्।

शनिबार चन्द्रागिरिस्थित पृथ्वीनारायण शाहको सालिक परिसरमा आयोजित कार्यक्रममा इतिहासकार प्रा. डा. दिनेशराज पन्तले पृथ्वीनारायण शाहले चन्द्रागिरि डाँडाबाट काठमाडौँ उपत्यकाको सुन्दरता अवलोकन गरेपछि कीर्तिपुरसहित काठमाडौँ खाल्डोलाई गोरखा राज्यअन्तर्गत एकीकरण गर्ने योजना बनाएको ऐतिहासिक प्रसङ्ग प्रस्तुत गरे। उनले चन्द्रागिरि डाँडालाई नेपाल एकीकरण अभियानसँग जोडिएको ऐतिहासिक स्थलको रूपमा वर्णन गर्दै पृथ्वीनारायण शाहलाई नेपाल र नेपालीको पहिचान दिलाउने राष्ट्रनिर्माता वीर योद्धाका रूपमा स्मरण गरे।

कार्यक्रममा वरिष्ठ कवि तथा गीतकार एसपी कोइरालाले ‘चिरेर हेर यो मेरो छाती’ शीर्षकको कवितामार्फत राष्ट्रप्रेम र पुर्खाको योगदानको स्मरण गर्दै वर्तमान पुस्ताले पनि देशका लागि केही गर्नुपर्ने सन्देश दिए। त्यस्तै वरिष्ठ कवि दिनेश अधिकारीले आफ्नो कवितामा तराई र पहाडलाई अन्न र पानीसँग तुलना गर्दै भावनात्मक राष्ट्रिय एकताको आवश्यकता औँल्याए।

वरिष्ठ कवि डा. राजुबाबु श्रेष्ठले पृथ्वीनारायण शाहले टुक्राटुक्रा राज्यहरू जोडेर सार्वभौम नेपाल निर्माण गरेको ऐतिहासिक योगदान स्मरण गर्दै उनका सालिकमाथि हुने आक्रमणप्रति दुःख व्यक्त गरे। कवि मणि लोहनीले ‘मानचित्रमा उभिएर’ शीर्षकको कवितामा मन्दिर, गुम्बा, मस्जिद र चर्च सबै नेपालीका साझा आस्था भएको भाव प्रस्तुत गर्दै राष्ट्रिय एकताको सन्देश दिए।

यसैगरी कवि हेम प्रभास, नारायण निराशी, एलिसा ढुङ्गाना, प्रभाती किरण, प्रधुम्न जोशी, कृष्ण बञ्जाडे, दिनेश परियार र अनिता कोइरालाका कविताहरूमा राष्ट्रप्रेम, राष्ट्रिय स्वाभिमान, वर्तमान राजनीतिक विसङ्गति र सामाजिक चुनौतीहरूलाई सशक्त रूपमा उजागर गरिएको थियो।

सर्जकहरूले चार किल्ला तोडेर नेपाल एकीकरणको सपना देख्ने र सयौँ फूल जोडेर राष्ट्रिय एकताको माला उन्ने वीर पुरुषका रूपमा पृथ्वीनारायण शाहलाई स्मरण गर्दै नेपाललाई धर्तीको स्वर्गसँग तुलना गरे।

चन्द्रागिरि डाँडामा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिकमा प्रत्येक वर्ष राष्ट्रिय एकता दिवसका अवसरमा यस्ता विविध कार्यक्रम आयोजना हुँदै आएका छन्। कार्यक्रममा वक्ताहरूले नेपाल एकीकरणको इतिहाससँग जोडिएको चन्द्रागिरि डाँडामा सालिक निर्माण गरिएको स्मरण गर्दै यसको संरक्षण र सम्मान आवश्यक रहेकोमा जोड दिएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका