काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ८९८ जना सवारी चालकलाई कारबाही गरेको छ।
मंगलबार बिहानसम्म सञ्चालन गरिएको ट्राफिक जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ८० जना चालक कारबाहीमा परेका छन्। यस्तै, सिसिटिभीमार्फत ८१ जना र रातोबत्ती उल्लङ्घन गर्ने ४६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
त्यसैगरी, तीव्र गतिमा सवारी चलाउने ११८ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ३७ जना, लेन क्रस गर्ने १२ जना, सवारीको अवस्था ठीक नभएका २० जना र एकतर्फी सडकको नियम उल्लङ्घन गर्ने चार जना चालक कारबाहीमा परेका छन्।
अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ५०० जना चालकलाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ।


