काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारले आगामी १५–२० वर्षका लागि बलियो ‘जग’ खन्ने काम गरिरहेको बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै लामिछानेले सरकार गठन भएको चार महिनाको अवधिमा तत्काल देखिने ठूला काम नभएको जस्तो लागे पनि दीर्घकालीन आधार निर्माणमा काम भइरहेको बताए।
उनले संसदमा युवाहरूको उल्लेख्य उपस्थिति हुनु तथा ३५–३६ वर्षकै उमेरमा युवा प्रधानमन्त्री बन्नु नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताए।
रास्वपा ‘विकल्प खोज्ने’ भन्दा आफैँ विकल्प बन्ने र आगामी दिनमा ‘निर्विकल्प शक्ति’का रूपमा स्थापित हुने उद्देश्यका साथ अघि बढिरहेको उनको भनाइ थियो।
लामिछानेले युवा सांसद तथा मन्त्रीहरूका लागि पदमा रमाउने समय नभई नतिजा र परिणाममुखी भएर काम गर्ने समय भएको बताए।
युवा नेतृत्वले सफलता हासिल गर्न नसके वा जिम्मेवारीबाट पन्छिए भविष्यमा ‘अनुभवहीन युवाबाट राजनीति सम्भव छैन’ भन्ने नकारात्मक भाष्य निर्माण हुन सक्ने भन्दै उनले गम्भीर भएर काम गर्न युवा जनप्रतिनिधिलाई आग्रह गरे।
उनले वर्तमान पुस्ताले पाएको राजनीतिक अवसरलाई उपलब्धिमा रूपान्तरण गर्न सके मात्रै युवा नेतृत्वप्रतिको नागरिकको विश्वास कायम रहने बताए।


