Monday, February 17, 2025
Homeमुख्य समाचार१९ दिनपछि पूर्वराजा अस्पतालबाट डिस्चार्ज, पूर्वरानीको उपचार जारी

१९ दिनपछि पूर्वराजा अस्पतालबाट डिस्चार्ज, पूर्वरानीको उपचार जारी

नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भएसँगै पूर्ण स्वस्थ भई आज डिस्चार्ज भएका छन् । उनी  राति ८ बजे अस्पतालबाट डिस्चार्ज भएका हुन् । कोरोना संक्रमण भई १९ दिनअघि नर्भिक अस्पतालमा शाह पूर्वरानी कोमल  र छोरी पूर्व अधिराजकुमारी प्रेरणासँगै  भर्ना भएका थिए ।

अस्पतालमा उनलाई अक्सिजनको सपोर्ट दिएर राखिएको थियो । लगातारको उपचारपछि उनको स्वास्थ्य ठीक भएको अस्पतालले जनाएको छ । कोरोनाका लक्षणहरु हराएपछि उनको ३ दिनअघि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछिको अवस्थामा पनि राम्रो सुधार भएपछि उनलाई आज डिस्चार्ज गरिएको हो ।

अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको अवस्था भने सुधारोन्मुख छ । स्वास्थ्यमा सुधार भएसँगै उनलाई दिइने अक्सिजनको मात्रा लगातार घटाउँदै उपचारलाई जारी राखिएको छ । उनलाई केही दिनअघि अवस्थामा सुधार भएपछि आईसीयूबाट वार्डमा सारिएको थियो । कोमलको उपचार प्लाज्मा थेरापी विधिबाट समेत गरिएको थियो ।

पूर्व अधिराजकुमारी प्रेरणा शाहको स्वाब रिपोर्ट नेगेटिभ आए पनि उनी आमासँग अस्पतालमै छिन् ।

पूर्वराजा, पूर्वरानी र अधिराजकुमारीको उपचारमा नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवाल र चेस्ट फिजिसियन डा. बी श्रीवास्तव नेतृत्वको टिम संलग्न थियो । नर्भिकको टिमलाई पूर्व राजपरिवारका निजी चिकित्सकले पनि सहयोग गरेका थिए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका