Sunday, May 10, 2026
Homeसामाचार१२ वर्षदेखि त्रिपालमुनि जीवन: गिरिघाटका बाढीपीडितलाई चुनावी आश्वासनमा भरोसा छैन

१२ वर्षदेखि त्रिपालमुनि जीवन: गिरिघाटका बाढीपीडितलाई चुनावी आश्वासनमा भरोसा छैन

सुर्खेत । बराहताल–२ स्थित गिरिघाटको बाढीपीडित शिविरमा चुनावी माहोल चर्किँदै गएको छ। कर्णाली राजमार्ग छेउमै फैलिएको अस्थायी बस्ती दिनहुँ उम्मेदवारका गाडी, प्रचारगीत र माइकिङको आवाजले गुञ्जायमान छ। एक समूह गएलगत्तै अर्को समूह मत माग्न आइपुग्छ—हातमा पर्चा, भाषणमा विकासका सपना र पुनर्वासका आश्वासनसहित।

तर १२ वर्षदेखि त्रिपालमुनि बस्दै आएका पीडितहरूका लागि यी दृश्य नयाँ होइनन्। २०७१ साल साउनमा भेरी नदी मा आएको भीषण बाढीपहिरोले सुर्खेतमा ११५ जनाको ज्यान लियो र १,०४५ परिवार विस्थापित भए। त्यही बाढीपछि गिरिघाटमा आएका करिब १५० परिवार अझै स्थायी पुनर्स्थापनाको प्रतीक्षामा छन्।

२०७४ र २०७९ का निर्वाचनमा जस्तै यसपटक पनि नेताहरू मत माग्न बस्तीमा पुगेका छन्। तर पहिलेका वाचा पूरा नभएकाले मतदातामा अविश्वास बढेको छ। “पहिला बस्तीका माग सम्बोधन गर्छौं भन्नेलाई मत दियौं, तर जितेर गएपछि फर्किएनन्,” स्थानीय सिर्जना बि.क. भन्छिन्, “मतदान हाम्रो अधिकार हो, तर कसलाई दिने भन्ने अन्योल छ।”

रगुबिर नेपाली भन्छन्, “१२ वर्षमा खोला पनि फर्कन्छ भन्छन्, तर हाम्रो अवस्था फेरिएन।” स्थानीय रुपलाल बि.क.का अनुसार रोजगारीको खोजीमा धेरै युवा भारत गएकाले मतदानमा पनि प्रभाव पर्ने देखिन्छ। “तीन चुनावमा भोट हालियो, अझै पुनर्स्थापनाको टुंगो छैन,” उनले गुनासो गरे।

बस्तीमा खानेपानी अभाव, बालबालिकाको पढाइका लागि टाढा जानुपर्ने बाध्यता र दैनिक जीविकोपार्जनको कठिनाइ अझै उस्तै छ। “दाउरा बेचेर, गिट्टी कुटेर, मजदुरी गरेर छाक टार्नुपर्छ,” प्रेमबहादुर नेपालीले बताए। युवाहरू बाहिरिएपछि बस्तीमा वृद्ध, महिला र बालबालिकामात्रै बाँकी छन्।

सुर्खेत क्षेत्र नम्बर २ बाट नारायण प्रसाद कोइराला (नेपाली कांग्रेस), कुलमणि देवकोटा (नेकपा एमाले), झकबहादुर मल्ल (नेकपा), रमेश कुमार सापकोटा (राष्ट्रिय स्वतन्त्र पार्टी) लगायत १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। तर गिरिघाटका बाढीपीडितका लागि यसपटकको मुख्य प्रश्न एउटै छ—यसपटकको आश्वासन साँच्चै पूरा हुन्छ कि फेरि पाँच वर्षका लागि मौनता छाउँछ?

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका