Tuesday, September 8, 2026
Homeअन्तराष्ट्रिय१० हजार फिटबाट प्यारासुट नखोली खस्दा पनि बाँचिन् बेलायती महिला

१० हजार फिटबाट प्यारासुट नखोली खस्दा पनि बाँचिन् बेलायती महिला

काठमाडौं । स्काइडाइभिङका क्रममा करिब १० हजार फिटको उचाइबाट प्यारासुट नखोली खसेकी बेलायतकी ३५ वर्षीया होली विफन चमत्कारिक रूपमा जीवित बचेकी छन्।

बेलायतको नटिङ्गम नजिकै रहेको ल्याङ्गर एयरफिल्डमा गत अगस्ट ७ मा भएको घटनामा अर्को स्काइडाइभरसँग ठोक्किएपछि होली हावामै बेहोस भएकी थिइन्। टाउकोमा गम्भीर चोट लागेपछि उनले प्यारासुट खोल्न नसक्दा तीव्र गतिमा जमिनतर्फ खसिरहेकी थिइन्।

होली समूहमा स्काइडाइभिङ गरिरहेकी थिइन्। उनीहरूले ‘ट्र्याकिङ’ प्रविधि प्रयोग गरिरहेका थिए, जसमा स्काइडाइभरले शरीरलाई तेर्सो अवस्थामा राखेर तीव्र गतिमा तलतिर यात्रा गर्छन्। उनीहरू करिब १२ हजार फिटको उचाइमा रहेको विमानबाट हाम्फालेका थिए।

सुरुवातमा सबै सामान्य थियो। तर केही समयपछि अर्का स्काइडाइभरको खुट्टा होलीको टाउकोमा जोडले ठोक्कियो। ठक्करपछि उनी तत्कालै बेहोस भइन् र प्यारासुट खोल्ने अवस्थामा रहिनन्।

होलीलाई अनियन्त्रित रूपमा तल खसिरहेको देखेपछि अर्का स्काइडाइभरले हावामै उनको पछाडि पुगेर समात्ने प्रयास गरेका थिए। तर करिब ३ हजार फिटको उचाइमा पुगेपछि आफ्नै सुरक्षाका लागि उनले प्यारासुट खोल्नुपरेको थियो। त्यसपछि होली भने प्यारासुट नखोली तल खसिरहेकी थिइन्। घटनाका केही दृश्य हेलमेटमा जडान गरिएको क्यामेरामा समेत कैद भएका छन्।

रिपोर्टअनुसार होली करिब १० हजार फिटसम्म नखोलिएको प्यारासुटसहित तल खसेकी थिइन्। दुर्घटनाका क्रममा आफूलाई के भएको थियो भन्ने उनलाई धेरै कुरा सम्झना छैन। पछि उनले आफूलाई सपना देखिरहेको र स्काइडाइभिङ गरिरहेको जस्तो मात्र महसुस भएको बताएकी छन्। जमिनमा पुगेपछि मात्रै उनलाई घटनाको वास्तविकता थाहा भएको थियो।

उनको खसाइ अन्ततः तोकिएको ल्यान्डिङ क्षेत्रमा नभई एउटा रूखमा ठोक्किएर रोकिएको थियो। रूखले उनको खस्ने गति कम गरिदिँदा गम्भीर दुर्घटनाका बाबजुद उनको ज्यान जोगिएको बताइएको छ।

घटनापछि उनलाई तत्काल अस्पताल लगिएको थियो। दुर्घटनामा उनको देब्रे खुट्टा भाँचिएको छ भने मेरुदण्डमा समेत फ्र्याक्चर भएको छ। शरीरका विभिन्न भागमा चोटपटक र नीलडामसमेत लागेको बताइएको छ।

यति ठूलो उचाइबाट प्यारासुट नखोली खसेर पनि जीवितै बचेको यो घटना स्काइडाइभिङका अत्यन्तै दुर्लभ र जोखिमपूर्ण दुर्घटनामध्ये एक बनेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका