काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावका लागि आफ्नो बाचापत्र सार्वजनिक गरेको छ। पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह, उपसभापति डिपी अर्याल, स्वर्णिम वाग्ले लगायतका नेताहरूले बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित परिवर्तन उद्घोष सभामा बाचापत्र पेश गरेका हुन्।
बाचापत्रअनुसार, सरकार गठन भएको १०० दिनभित्र सहकारीमा फसेको साना बचतकर्ताको पैसा फिर्ता गरिनेछ। रास्वपाले बचत फिर्ताको पूर्ण ग्यारेन्टी र समयसीमा तोकेर, बचतकर्ताको सम्पत्ति सुरक्षित राख्दै ऋण असुली गर्ने नीति अघि सारेको छ। पार्टीले भनेको छ, “थुनेर होइन, सुनेर” समाधानको नीति अनुसार यदि सहकारी सञ्चालकसँग भरपर्दो योजना छ भने कानुनी बाटो प्रयोग गरी ‘मिलापत्र’ मार्फत फिर्ता दिने अवसर प्रदान गरिनेछ।
त्यस्तै, भाद्र २३–२४ को जेनजी आन्दोलनमा भएको बल प्रयोग घटनाको छानबिन गर्न गठित न्यायिक आयोगको सिफारिस कार्यान्वयन गर्ने प्रतिबद्धता पनि बाचापत्रमा उल्लेख गरिएको छ।
पार्टीले २०४६ सालदेखि सार्वजनिक पदमा आसीन व्यक्तिहरूको सम्पत्ति पारदर्शी रूपमा छानबिन गर्ने, अवैध सम्पत्ति जफत गर्ने र राष्ट्रियकरण गर्ने स्पष्ट कार्यविधि तयार गर्ने, साथै कुनै भ्रातृ संगठन स्थापना नगर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।


