लोकदोहोरी म्युजिक भिडियोमा सर्वाधिक ब्यस्त मोडल मानिन्छन्, अञ्जली अधिकारी र करिष्मा ढकाल । तीज गीतको भिडियोमा पनि यी दुईकै राज चलेको छ भन्दा फरक पर्दैन । यसवर्ष पनि यी दुईलाई तीज गीतको छायाँकनदेखि फुर्सद मिलेको छैन । अञ्जलीले यसवर्ष आफूले दुई दर्जन बढी तीज गीतमा काम गरिसकेको बताइन् । तीज गीतको छायाँकन सुरु भएसँगै हरेक दिनजसो आफू ब्यस्त भएको अञ्जलीको भनाई छ ।
‘ठ्याक्कै यति भनेर गनेकी त छैन । २५ भन्दा बढी गीतमा काम गरेँ होला’ छायाँकनस्थलबाटै कुरा गर्दै अञ्जलीले अनलाईनखबरसँग भनिन्–‘अझै केही गीतको सेड्यूल छ । केही गीतहरु थपिँदै पनि छन् ।’ ‘कोरोना महामारी नभएको भए त तीजको समयमा मेरो व्यस्तता अझै बढी हुन्थ्यो, अञ्जलीले भनिन्–‘तीन–चार वर्ष अगाडि मैले एक बर्षमा ८५ वटासम्म तीज गीतमा काम गरेकी थिएँ ।’ गतवर्ष भने तीज गीतमा काम केही कम भएको उनले बताइन् ।


