Sunday, May 10, 2026
Home Blog Page 99

गाजामा इजरायली हवाई आक्रमण, ११ प्यालेस्टिनीको मृत्यु

0

गाजा । गाजा मा आइतबार बिहान भएको इजरायली हवाई आक्रमणमा ११ जना प्यालेस्टिनीको मृत्यु भएको छ। प्यालेस्टिनी रेड क्रेसेन्ट का अनुसार उत्तरी गाजाको एउटा शिविरमा भएको आक्रमणमा ६ जना र दक्षिणी क्षेत्रमा भएको अर्को आक्रमणमा ५ जनाले ज्यान गुमाएका छन्।

इजरायल सेनाले हमास द्वारा युद्धविराम उल्लंघन भएपछि त्यसको जवाफमा ‘आतंककारी लक्ष्य’ माथि आक्रमण गरिएको दाबी गरेको छ। गत अक्टोबर १० देखि युद्धविराम सम्झौता लागू भए पनि इजरायल र हमासले एकअर्कामाथि सम्झौता उल्लंघनको आरोप लगाउँदै आएका छन्।

हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम सुरु भएयता मात्रै कम्तीमा ६ सय जनाको मृत्यु भइसकेको छ। अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको दोस्रो चरण कार्यान्वयनको तयारी भइरहेका बेला पछिल्लो हिंसा भएको बताइएको छ।

यसबीच डोनाल्ड ट्रम्प ले ‘बोर्ड अफ पिस’ नामक नयाँ निकाय गठनको घोषणा गरेका छन्। उक्त निकायलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषद ले गाजाको सीमा सुरक्षा र हमासको निशस्त्रीकरणको जिम्मेवारी दिएको जनाइएको छ।

फेब्रुअरी १९ मा वासिङ्टनमा हुने बोर्डको पहिलो बैठकले गाजामा नयाँ प्यालेस्टिनी सरकार गठन तथा युद्धपछिको पुनर्निर्माण कार्य अघि बढाउने बताइएको छ। ट्रम्पका अनुसार सदस्य राष्ट्रहरूले गाजा पुनर्निर्माणका लागि ५ अर्ब डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

हमासले भने स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना नभएसम्म हतियार नबिसाउने अडान राख्दै आएको छ। बोर्ड अफ पिसको सदस्य राष्ट्र इन्डोनेसिया ले युद्धविरामको दोस्रो चरण सफल बनाउन ८ हजार सैनिक गाजा पठाउने घोषणा गरिसकेको छ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणबाट सुरु भएको युद्धमा हालसम्म गाजामा ७१ हजार ८ सयभन्दा बढी मानिसको ज्यान गइसकेको बताइएको छ।

‘पोन्नियिन सेल्वन २’ को गीतमा सङ्गीत चोरी ठहर, एआर रहमानलाई सर्वोच्च अदालतको झट्का

0

नयाँ दिल्ली । भारत को सर्वोच्च अदालतले चर्चित सङ्गीतकार एआर रहमान लाई फिल्म पोन्नियिन सेल्वन २ को ‘वीरा राजा वीरा’ गीतको सङ्गीत चोरी गरेको मुद्दामा ठूलो झट्का दिएको छ। अदालतले उक्त गीत ठाकर बन्धुको ‘शिव स्तुति’ बाट कपी गरिएको ठहर गर्दै दिल्ली उच्च अदालत को एकल इजलासको फैसला सदर गरेको हो।

शास्त्रीय गायक फैयाज वसिफुद्धिन ठाकर ले सन् २०२३ मा निर्देशक मणिरत्नम द्वारा निर्देशित उक्त फिल्ममा आफ्ना बुबा र काकाले तयार पारेको ‘शिव स्तुति’ को सङ्गीत अनुमति बिना प्रयोग गरिएको भन्दै मुद्दा दायर गरेका थिए। उनले रहमान र निर्माण पक्षले आफूलाई उचित श्रेय र मुआब्जा दिनुपर्ने माग गरेका थिए।

रहमान पक्षका वकिलले भने उक्त सङ्गीत परम्परागत ध्रुपद शैलीको भएको र कसैको एकल अधिकार नहुने तर्क गरेका थिए। यसअघि दिल्ली उच्च अदालतको एकल इजलासले रहमानको सङ्गीतले याचिकाकर्ताको अधिकार उल्लङ्घन गरेको ठहर गर्दै दुई करोड रुपैयाँ धरौटी जम्मा गर्न तथा दुई लाख रुपैयाँ जरिवाना तिर्न आदेश दिएको थियो। साथै, सबै ओटीटी प्लेटफर्ममा गीतको ‘क्रेडिट स्लाइड’ परिवर्तन गरी ठाकर बन्धुको नाम उल्लेख गर्न निर्देशन दिएको थियो।

पछि उच्च अदालतको डिभिजन बेन्चले उक्त फैसला उल्टाए पनि भारतको सर्वोच्च अदालत ले पुनः एकल इजलासकै पक्षमा निर्णय सुनाएको छ। अदालतले शास्त्रीय सङ्गीतका सर्जकहरूले सम्मान र पहिचानको अपेक्षा गर्नु स्वाभाविक भएको टिप्पणी गर्दै रहमानलाई दुई करोड रुपैयाँ अदालतमा जम्मा गर्न आदेश दिएको छ। साथै थप जवाफ पेश गर्न फेब्रुअरी २० सम्मको समय दिएको छ।

नागढुङ्गा–मलेखु सडक स्तरोन्नति तीव्र, ११ किलोमिटर कालोपत्र सम्पन्न

0

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडक खण्ड विस्तार तथा स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढेको छ। हालसम्म यस खण्डको ११ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ। गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकोमा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो।

नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का इन्जिनियर विजय दरै का अनुसार कुरिनटार, फिस्लिङ, चरौदी र विशालटार क्षेत्रका केही भागमा कालोपत्र भइसकेको छ भने धादिङको बाँदरे क्षेत्रमा काम भइरहेको छ। आयोजनाको भौतिक प्रगति हालसम्म ४० प्रतिशत पुगेको जनाइएको छ।

विसं २०७९ पुस १५ गते तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता भएको थियो। तोकिएको समयमा काम सम्पन्न हुन नसकेपछि थप ६ महिनाको म्याद दिइएको छ। अहिले करिब दुई सय कामदार, कर्मचारी र प्राविधिक कालोपत्रको काममा खटिएका छन्।

फिस्लिङ र जवाङ खोला क्षेत्रमा कालोपत्रका लागि बेस र सबबेस राख्ने काम अन्तिम चरणमा पुगेको छ। निर्माण कार्य तीव्र भए पनि निर्माण सामग्रीको अभाव चुनौतीका रूपमा देखिएको छ। धादिङ र इच्छाकामना क्षेत्रबाट सामग्री ल्याइए पनि दीर्घकालीन रूपमा अभाव हुन सक्ने निर्माण पक्षले जनाएको छ।

यस सडक खण्डमा रहेका ६ वटा पुलमध्ये हुग्दी र चरौदी पुलको फाउन्डेसनपछिको काम भइरहेको छ भने कृष्णभिर क्षेत्रमा पहिरो रोकथामको काम जारी छ।

झन्डै ३९ किलोमिटर लामो यो सडक खण्ड विश्व बैंक को सहयोगमा विस्तार भइरहेको छ। परियोजनाअन्तर्गत मलेखु, बेनीघाट र मुग्लिन क्षेत्रमा २.२ किलोमिटर सडक ६ लेन र ७.२ किलोमिटर सडक ४ लेनको निर्माण हुने छ। उकालो–ओरालो पर्ने स्थानमा ३ लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने र बाँकी सडक दुई लेनकै रहने जनाएको छ।

यस परियोजनाको ठेक्का शर्मा–जेडआइसिजीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा लिएको छ।

पश्चिमी वायुको प्रभाव, गण्डकीका उच्च भूभागमा हल्का वर्षा र हिमपात

0

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखा का अनुसार गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ भने देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको र अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।

सोमबार तराई क्षेत्रका केही स्थानमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको जनाइएको छ। त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

राष्ट्र बैंकद्वारा सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

0

काठमाडौं । नेपाल राष्ट्र बैङ्क ले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरी सार्वजनिक गरेको छ।

निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४७ पैसा तोकिएको छ भने युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ।

त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७१ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११५ रुपैयाँ १२ पैसा कायम गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ। चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९५ पैसा र बिक्रीदर २१ रुपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा तथा कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ७० पैसा र बिक्रीदर ३९ रुपैयाँ ८७ पैसा कायम गरिएको छ।

युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९ रुपैयाँ ५६ पैसा तोकिएको छ भने मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ। साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

इरानलाई कहिल्यै आणविक हतियार राख्न नदिने अमेरिकी चेतावनी

0

काठमाडौं । मार्को रुबियो ले इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न नदिने बताएका छन्। उनले इरान अमेरिका, युरोप, मध्यपूर्व र विश्व शान्तिका लागि खतरा भएको दाबी गरेका छन्।

ब्लूमबर्ग सँग जर्मनीमा भएको अन्तर्वार्तामा उनले यस्तो टिप्पणी गरेका हुन्। उक्त अन्तर्वार्ता उनले म्युनिख सुरक्षा सम्मेलनमा सहभागी भइरहेका क्रममा दिएका थिए।

अमेरिकी विदेशमन्त्री रुबियोले मध्यपूर्व क्षेत्रमा अमेरिकाले आफ्नो सैन्य उपस्थिति कायम राख्न चाहेको बताएका छन्। उनका अनुसार इरान ले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्न इच्छुकता र क्षमता देखाएको छ।

उनले मध्यपूर्वमा अमेरिकाका सहयोगी राष्ट्रहरू रहेको र त्यहाँ अमेरिकी सैन्य अड्डाहरू पनि रहेको उल्लेख गरे। इरानको सम्भावित गतिविधिका कारण ठूलो द्वन्द्व नहोस् भनेर अमेरिकाले सैन्य उपस्थिति कायम राख्न चाहेको उनले बताए।

रुबियोले डोनाल्ड ट्रम्प ले इरानसँग सम्झौता गर्ने प्रयासलाई प्राथमिकता दिएको स्पष्ट पारेका छन्। उनले यस्तो सम्झौता गर्न चुनौतीपूर्ण भए पनि अमेरिकाले कूटनीतिक प्रयास जारी राख्ने बताएका छन्।

बेलायतको आरोप– रुसी विपक्षी नेता एलेक्सी नभाल्नीको हत्या विष प्रयोग गरेर गरिएको दाबी

0

काठमाडौं । बेलायत र यसका युरोपेली सहयोगीहरूले रुसी विपक्षी नेता एलेक्सी नभाल्नी को हत्या डार्ट फ्रग टक्सिनबाट बनेको विष प्रयोग गरेर गरिएको आरोप लगाएका छन्।

साइबेरियास्थित दण्ड कोलोनीमा नभाल्नीको मृत्यु भएको दुई वर्षपछि बेलायत र सहयोगी देशहरूले उनको शरीरबाट लिइएका नमूनाहरूको विश्लेषण गरेका थिए। त्यसपछि यस घटनाका लागि क्रेमलिन लाई जिम्मेवार ठहर गरिएको हो।

बेलायतको विदेश कार्यालयले नभाल्नीको शरीरमा एपिबेटिडाइन नामक घातक विष भेटिनु सामान्य घटना नभएको जनाएको छ। बेलायती विदेश सचिव यभेट कूपर ले म्युनिख सुरक्षा सम्मेलनमा बोल्दै नभाल्नीविरुद्ध यस्तो विष प्रयोग गर्ने साधन, उद्देश्य र अवसर रूसी सरकारसँग मात्रै रहेको दाबी गरिन्।

बेलायती प्रधानमन्त्री केयर स्टारमर ले सामाजिक सञ्जालमार्फत नभाल्नीले उत्पीडनको सामना गर्दै देखाएको साहसको प्रशंसा गरेका छन्। उनले नभाल्नीको सत्य उजागर गर्ने प्रयासले स्थायी विरासत छोडेको उल्लेख गर्दै उनका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

नभाल्नी भ्रष्टाचारविरुद्ध अभियान चलाउने र रूस का प्रमुख विपक्षी नेतामध्ये एक मानिन्थे। उनको सन् २०२४ फेब्रुअरी १६ मा ४७ वर्षको उमेरमा जेलमै मृत्यु भएको थियो।

यसअघि सन् २०२० मा उनलाई नोभिचोक नामक नर्भ एजेन्ट प्रयोग गरी विष दिइएको थियो। त्यसपछि उनले जर्मनी मा उपचार गराएका थिए। उपचारपछि रूस फर्किएलगत्तै उनलाई विमानस्थलबाट पक्राउ गरिएको थियो।

बाराक ओबामाको टिप्पणी– एलियन ‘वास्तविक’ हुन सक्छन्, तर प्रमाण आफूले नदेखेको दाबी

0

काठमाडौं । बाराक ओबामा ले हालै एक पोडकास्टमा एलियनबारे टिप्पणी गर्दै एलियन वास्तविक हुन सक्ने बताएका छन्। उनले भने आफूले एलियन देखेका छैनन् र उनीहरू कहाँ छन् भन्ने जानकारी पनि आफूलाई नभएको बताए।

शनिबार सार्वजनिक भएको पोडकास्टमा उनले टिप्पणीकार तथा युट्युबर ब्रायन टेलर कोहेन सँगको कुराकानीका क्रममा यस्तो धारणा व्यक्त गरेका हुन्। एलियनको अस्तित्वबारे सोधिएको प्रश्नमा उनले “तिनीहरू वास्तविक हुन सक्छन्, तर मैले देखेको छैन,” भनेका थिए।

ओबामाले अमेरिकाको गोप्य सैन्य क्षेत्र एरिया ५१ मा एलियन राखिएको भन्ने दाबी अस्वीकार गरेका छन्। उक्त क्षेत्रबारे लामो समयदेखि विभिन्न अफवाहहरू फैलिँदै आएका छन्, जसमा सरकारले एलियन यान र शव लुकाएको भन्ने विश्वाससमेत गरिएको छ।

उनले ठट्टा गर्दै राष्ट्रपति बनेपछि एलियनबारे जानकारी लिन चासो देखाएको बताएका थिए। पछिल्ला वर्षहरूमा सरकारी कागजात तथा रहस्यमय उडान वस्तुहरूको भिडियो सार्वजनिक भएपछि एलियनसम्बन्धी चासो बढ्दै गएको छ।

झन्डै १३ वर्षअघि अमेरिकी सैन्य ड्रोनले खिचेको राडार फुटेज सार्वजनिक भएको थियो, जसमा मध्यपूर्वको आकाशमा अज्ञात उडान वस्तुहरू देखिएको दाबी गरिएको थियो। त्यसपछि सन् २०२१ मा अमेरिकी सेनाले पनि आकाशमा उच्च गतिमा उड्ने अनौठा वस्तु देखाउने तीन भिडियो सार्वजनिक गरेको थियो।

ओबामाले यसअघि द लेट लेट शो मा प्रस्तोता जेम्स कोर्डेन सँगको कुराकानीमा पनि आकाशमा पहिचान गर्न नसकिएका वस्तुहरूको फुटेज रेकर्ड रहेको स्वीकार गरेका थिए। उनले त्यस्ता वस्तुबारे सरकारसँग स्पष्ट जानकारी नभएको बताएका थिए।

प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश जिल्लाको मतपत्र छपाइ सम्पन्न

0

काठमाडौं। निर्वाचन आयोग ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६७ जिल्लाका १५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको जनाएको छ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म एक करोड ९१ लाख २४ हजार मतपत्र छपाइ भई ढुवानीका लागि तयार गरिएको छ। बाँकी १० जिल्लाको मतपत्र छपाइ सकिएको भए पनि प्याकिङ कार्य जारी रहेको छ। अब करिब ११ लाख ९९ हजार मतपत्र छाप्न बाँकी रहेको आयोगले जनाएको छ।

हालसम्म डोल्पादेखि सिराहासम्मका ६७ जिल्लाको मतपत्र छपाइ सम्पन्न भई ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ। अब काठमाडौं उपत्यका आसपासका जिल्लाको मतपत्र छपाइ मात्र बाँकी रहेको र आगामी दुई दिनभित्र छपाइ, प्याकिङ तथा ढुवानीको तयारी पूरा गरिने जनाइएको छ। हालसम्म १७ हजार ७२८ बाकस मतपत्र प्याकिङ भइसकेको छ।

प्रतिदिन करिब एक हजार बाकस मतपत्र प्याकिङ भइरहेको छ भने ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको आयोगले जनाएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक तथा प्रत्यक्ष निर्वाचन प्रणालीका मतपत्र छपाइ भइरहेको छ।

समानुपातिक प्रणालीतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ भने प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र छापिनेछ। छपाइ सम्पन्न भएका मतपत्र कर्णाली, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका दुर्गम जिल्लामा पठाउन सुरु गरिएको छ भने सहरी तथा सुगम जिल्लामा पठाउने कार्य बाँकी रहेको आयोगले जनाएको छ।

प्रतिनिधिसभा निर्वाचनका लागि ६४ बुँदे निर्देशन जारी

0

काठमाडौं। निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन राजनीतिक दल र उम्मेदवारका लागि ६४ बुँदे निर्देशन जारी गरेको छ। प्रचारप्रसार सुरु हुनुअघि प्रेस विज्ञप्ति जारी गर्दै आयोगले निर्वाचन आचारसंहितासम्बन्धी नियमहरू सार्वजनिक गरेको हो।

निर्देशनअनुसार उम्मेदवारी दिन, प्रचारप्रसार गर्न वा मतदान गर्नबाट कसैलाई रोक्न, धम्की दिन, आर्थिक प्रलोभन देखाउन, सामाजिक बहिष्कार गर्न तथा हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन गर्न कडाइका साथ निषेध गरिएको छ। मतदातालाई उपहार, नगद, जिन्सी वा भोजभतेरमार्फत प्रभाव पार्न पनि पाइने छैन।

राजनीतिक दल तथा उम्मेदवारहरूले फागुन ४ देखि १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा र घरदैलो कार्यक्रम सञ्चालन गर्न पाउनेछन्। मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरिएको छ।

प्रचारप्रसारका क्रममा राष्ट्रिय एकता, सामाजिक सद्भाव र लोकतान्त्रिक व्यवस्थामा असर पर्ने गतिविधि गर्न रोक लगाइएको छ। धर्म, जाति, क्षेत्र वा समुदायबीच द्वेष फैलाउने, चरित्र हत्या गर्ने तथा हिंसा उक्साउने कार्य पनि निषेध गरिएको छ।

निर्वाचन खर्च पारदर्शी बनाउन उम्मेदवारले बैंक वा वित्तीय संस्थामार्फत मात्र खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ। २५ हजार रुपैयाँभन्दा बढी सहयोग बैंक खातामार्फत लिनुपर्ने र परिणाम घोषणा भएको ३५ दिनभित्र आम्दानी–खर्च विवरण बुझाउनुपर्नेछ।

त्यसैगरी, मतदानस्थलको ३०० मिटर वरिपरि प्रचार सामग्री राख्न पाइने छैन। मतदान र मतगणना प्रक्रियामा हस्तक्षेप गर्ने, नक्कली मतपत्र तयार गर्ने वा मतदातालाई मतदान गर्न नदिने कार्यलाई पनि कडा रूपमा निषेध गरिएको छ।

निर्देशन उल्लङ्घन गरेमा प्रचलित कानूनबमोजिम कारबाही हुने आयोगले जनाएको छ।