Monday, May 11, 2026
Home Blog Page 838

कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित

0

काठमाडौँ: कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमणले नेपालका पर्यटन व्यवसायी उत्साहित भएका छन् । अमिर अल थानीको भ्रमणबाट नेपालको पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा सञ्चार गरेको सरोकारवालाले बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा मङ्गलबार नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका अमिर अल थानी नेपालको भ्रमण पूरा गरी आज अपरान्ह स्वदेश फिर्ता हुनुभएको छ । कतारी अमिर अल थानीको नेपाल भ्रमण पर्यटनका हिसावले महत्वपूर्ण मानिएको छ । खाडी मुलुकबाटै पहिलो पटक भएको विशिष्ट भ्रमणले नेपालको पर्यटनलाई विश्वबजारमा थप प्रवद्र्धन गर्न टेवा पुग्ने सरोकारवाला बताउँछन् ।

नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा कतारका अमिरको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुहुन्छ । कतारबाट धेरै पर्यटक पर्वतारोहण र पदयात्राका लागि नेपाल आउने गरेका उहाँको भनाइ छ । वरिष्ठ पर्यटन व्यवसायी शेर्पाले भन्नुभयो, “कतारी अमिर अल थानीको भ्रमणले नेपालको पर्यटनलाई धेरै सघाऊ पुग्छ । कतार विकसित मुलुक हो । मध्यपूर्वी कतार, बहराइन, कुवेतलगायत मुलुकबाट ‘हाइ इन्ड’ पर्यटक नेपाल आउने क्रम बढेको छ ।” उहाँले पछिल्लो समय नेपालमा ‘हाइ इन्ड टुरिस्ट’ बढ्दो क्रममा रहेकाले कतारबाट नेपाल आउने पर्यटक बढ्न सक्ने बताउनुभयो ।

खासगरी कतारको राजपरिवारका सदस्यहरु नेपालमा पदयात्रा र पर्वतारोहणका लागि आउने गरेका छन् । कतारका शेख मोहम्मद बिन अब्दुल्लाह अल थानी विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो कतारी नागरिक हुनुहुन्छ । उहाँले सन् २०१३ मे २२ मा सगरमाथा र सन् २०२० नोभेम्बर ११ मा अमादब्लमको सफल आरोहण गर्नुभएको थियो । यस्तै कतारको राजपरिवारका सदस्य शेख अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको थियो ।

यसरी कतारी राजपरिवारका सदस्यहरु पछिल्लो समय नेपालको सगरमाथासहितका हिमाल आरोहण र चर्चित पदयात्रामा आउने गरेका छन् । कतारका शेख तथा खर्चालु पर्यटक महङ्गा र लग्जरी होटल तथा रिसोर्टमा बस्न चाहने भएकाले सोही अनुरुप नेपालममा पनि लग्जरी होटल एकपछि अर्को थपिदैछन् ।

मुस्ताङको सिन्तामणी, चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टलगायतका लग्जरी होटल कतारलगायत खाडी मुलुकका राजपरिवार सदस्य र महङ्गा पर्यटकका लागि उपयुक्त हुने होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले बताउनुभयो । कतारका अमिरको भ्रमणले नेपालको पर्यटन क्षेत्रका लागि राम्रो सन्देश दिएको उहाँ बताउनुहुन्छ ।

“कतारका अमिरको नेपाल भ्रमण आफैमा महत्वपूर्ण छ । विश्वको उदीयमान मुलुक कतारको विश्वव्यापी रुपमा प्रभाव छ । त्यसैले कतारका विशिष्ट व्यक्तिको भ्रमणबाट नेपालको पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गर्न मद्दत पुग्छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष शाहका अनुसार कतारका अमिरको भ्रमणले विश्वलाई नेपालको सन्देश दिएको छ । कतार, युनाइटेड अरब इमिरेटस् (युएई)लगायत मुलुकबाट विगतमा पनि राजपरिवारका सदस्यहरु पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य सङ्ख्यामा नेपाल आएका थिए । “कतारका अमिरको भ्रमणबाट होटल व्यवसायी उत्साहित भएका छौँ”, उहाँले भन्नुभयो, “यो विशिष्ट भ्रमणले नेपालको पर्यटनमा सकारात्मक सन्देश दिएको छ ।”

वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्य पनि कतारका अमिरको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “एयरलाइन्स र श्रमिक बजारको मूख्य मुलुकको प्रमुख आउनु नेपालका लागि महत्वपूर्ण कुरा हो, उहाँलाई राज्यले दिनुपर्ने सम्मान पनि दिएको छ । यसले आगामी दिनमा वाह्य पर्यटन आवगमनमा बढोत्तरी हुने विश्वास छ ।”

विश्वका सेलिब्रेटी मानिने व्यक्तिको भ्रमणले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गरेको छ । त्यसैले कतारका अमिरलगायत विशिष्ट व्यक्तिको नेपाल भ्रमण र यहाँ भएका पर्यटनसँग सम्बन्धित विभिन्न ठूला इभेन्टले नेपाललाई विश्व पर्यटन बजारमा प्रवद्र्धन गर्न मद्दत पुगेको छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने कतारका अमिरको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “कतारका राजाले सोल्टीमा बसेर द्वारिकाज होटलमा ‘लञ्च’ खाएको विषयले लग्जरी सेवामा पनि नेपाल अब्बल छ भन्ने सन्देश गएको छ । यो भ्रमणले नेपाल गन्तव्यको विश्वभर प्रचार–प्रसार भएको छ । यसले नेपालको पर्यटनमा सकारात्मक उत्साह जगाएको छ ।”

बोर्डका अनुसार सन् २०२३ मा दुई सय ५५ कतारी नागरिकले नेपालको भ्रमण गरेका छन् । सन् २०२२ मा दुई सय पाँच, सन् २०२१ मा ७४, सन् २०२० मा ६३, सन् २०१९ मा दुई सय ८५ र सन् २०१८ मा दुई सय ९१ कतारी नागरिक नेपाल आएको विभागको तथ्याङ्कमा उल्लेख छ । यो सङ्ख्या बढाउन नेपालमा कतारका अमिरको भ्रमणले सहयोग पुग्ने विश्वास गरिएको छ ।

विसं २०८० कात्तिकमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसको नेपाल भ्रमणका कारण नेपालको पर्यटनमा सकारात्मक प्रभाव परेको थियो । त्यसअघि २०७९ सालको बुद्ध जयन्तीका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले लुम्बिनीमा भारतीय पर्यटक आउने क्रम बढ्दै गएको छ । विसं २०७५ मा भारतीय प्रधानमन्त्री मोदीले जनकपुर र मुक्तिनाथको भ्रमण गरेयता ती क्षेत्रमा भारतीय पर्यटकको आगमन बढेको पाइएको छ । त्यसैगरी भारतीय प्रधानमन्त्री मोदीको पशुपतिनाथ दर्शनले पनि पछिल्लो समय धार्मिक पर्यटनमा बढोत्तरी भएको छ ।

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रचण्डमान श्रेष्ठ कतारी अमिरको नेपाल भ्रमण पर्यटनलगायत आर्थिक दृष्टिकोणबाट महत्वपूर्ण हुने बताउनुहुन्छ । भ्रमणबाट पर्यटनलगायत दुई राष्ट्रबीचको सम्बन्धलाई थप बलियो बनाउन मद्दत पुगेको उहाँको भनाइ छ ।

“यो भ्रमणले खर्चालु पर्यटक नेपालमा ल्याउन ठूलो भूमिका खेल्छ,”, पूर्व सिइओ श्रेष्ठले भन्नुभयो, “युरोप र मध्यपूर्वी मुलुकमा नेपालको सम्बन्ध जति राम्रो भयो त्यति नै पर्यटक आकर्षण गर्न मद्दत पुग्छ । अन्य मुलुकसँग पनि हवाई सम्पर्क सञ्जाल विस्तार गर्दै लगे नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउन सकिन्छ ।”

स्टोनियाका वाणिज्य दूतसमेत रहनुभएका ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का पूर्व अध्यक्ष नवराज दाहालले कतारबाट भएको उच्च स्तरको भ्रमणबाट नेपालको पर्यटन प्रवद्र्धनमा विशेष भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “जुनसुकै मुलुकको राष्ट्राध्यक्ष वा राष्ट्र प्रमुखले भ्रमण गर्दा त्यो देशको चिनारी संसारभर पुग्छ । त्यसमाथी पनि कतारका अमिरको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा ठूलो भूमिका खेल्छ । यो भ्रमणपछि नेपालमा विदेशी पर्यटक आगमनमा वृद्धि हुने अपेक्षा गर्न सकिन्छ ।” खाडी मुलुकबाट अहिले उल्लेख्य संख्यामा विशिष्ट व्यक्तिदेखि खर्चालु पर्यटक नेपाल आइरहेको सन्दर्भमा यो भ्रमण नेपालको निम्ति अवसर भएको व्यवसायी दाहालले बताउनुभयो ।

पर्यटन विभागका अनुसार वसन्त ऋतुको यो याममा कतारबाट एक विशिष्ट व्यक्ति सगरमाथा आरोहणका लागि आउनुभएको छ । प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधतायुक्त नेपाल आफैमा विश्व पर्यटनको आकर्षक गन्तव्य हो । सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहण तथा अन्नपूर्ण, लाङ्टाङलगायत चर्चित गन्तव्यमा पदयात्राका लागि उल्लेख्य संख्यामा विदेशी नागरिक नेपाल आउँछन् । नेपालमा खासगरी पर्वतारोहण र पदयात्राका लागि कतारी नागरिक नेपाल आउने गरेका छन् ।

विमानस्थल सञ्चालनमा सहयोगको अपेक्षा

कतार एयरवेज नेपालमा विदेशी पर्यटक ल्याउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विमान कम्पनीमा पर्छ । हाल यो नेपाल एयरलाइन्सपछि सबैभन्दा बढी विदेशी हवाई यात्रुलाई सेवा दिने विमान कम्पनी हो ।

कतारको राष्ट्रिय ध्वजाबाहक कतार एयरवेज विश्वकै उत्कृष्ट एयरलाइन्सको रुपमा परिचित छ । यसले दुई सयको हाराहारी जहाजमार्फत एक सय ५० भन्दा बढी मुलुकमा उडान सेवा दिइरहेको छ । कतार एयरवेजले अहिले नेपालमा दैनिक चार उडान भर्दै आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार कतार एयरवेजले सन् २०२१ देखि सन् २०२३ सम्म सात लाख ३३ हजार एक सय ७७ यात्रुलाई नेपाल भित्र्याएको छ भने आठ लाख २३ हजार ६ सय ९३ यात्रुलाई नेपालबाट बाहिर जानका लागि सेवा प्रदान गरेको छ ।

कतारका अमिरको यो भ्रमणबाट भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलदेखि दोहामा हवाई सेवा सुरु हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिरबीच आज भएको भेटवार्तामा पनि सो विषयबारे छलफल भएको थियो ।

“कतार सरकारलाई लुम्बिनी तथा पोखराबाट समेत उडान सञ्चालन गर्ने बारेमा विचार गर्न अनुरोध गर्दछौँ,”, भेटमा प्रधानमन्त्री दाहालले भन्नुभयो । प्रधानमन्त्री दाहालले काठमाडौँ र दोहाबीच हवाई सेवा प्रभावकारी भएको उल्लेख गर्दै कतारका अमिरसमक्ष पोखरा र भैरहवास्थित विमानस्थलबाट पनि दोहामा हवाई सेवा सञ्चालनका लागि आग्रह गर्नुभएको थियो ।

गोरखा भूकम्पको नौ वर्ष : पीडित अझै अस्थायी टहरामा

0

गोरखा: गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज नौ वर्ष भएको छ । विसं २०७२ साल वैशाख १२ गते विहान ११ बजेर ५६ मिनेटमा गएको ७ दशमलव ८ रेक्टर स्केलको विनासकारी भूकम्पले गोरखा जिल्लामा मात्र चार सय ७१ जनाले ज्यान गुमाएका थिए । भूकम्पबाट गोरखा सहित १४ जिल्ला अतिप्रभावित बन्यो भने देशभरका ३१ वटा जिल्लामा गोरखा भूकम्पले क्षति पुर्यायो ।

भूकम्प गएको नौ वर्षमा जिल्लाभित्र अधिकांस नीजिआवास, सरकारी कार्यालय, स्वास्थ्य कार्यालय भवन, विद्यालय तथा प्रमुख पुरतात्विक भवन निर्माणको काम लगभग सम्पन्न भएपनि भूकम्पको केन्द्रविन्दु बारपाकमै केही भूकम्प पीडित अस्थायी टहरामै छन् । बारपाक सुलिकोट गाउँपालिका–१, स्थित दलितबस्तीका भूकम्प पीडित अझै पनि अस्थायी टहरामा बसिरहेको वडा सदस्य लक्ष्मी बि.कले जानकारी दिनुभयो ।

साविकको बस्ती जोखिमयुक्त रहेकाले अन्य स्थानमा घर बनाउन जग्गा नपाउदा दलित समुदायका परिवार अस्थायी टहरामा बस्नुपरेको उहाँले बताउनुभयो । “गैह्रागाउँका १५ घरभन्दा बढी दलित परिवारले भूकम्पपछि घर बनाउन पाएका छैनन्”, विकले भन्नुभयो, “जोखिमपूर्ण रहेकाले पुरानो ठाउँमा घर बनाउन नमिल्ने भएपछि उनीहरु अहिले सरकारी जग्गामा आश्रय लिइरहेका छन् ।”

अस्थायी टहरामा रहेकामध्ये कतिपयको साविक स्थानमा घर बनाउने चाहाना र कतिपयले सुरक्षित स्थानमा सरेर घर बनाउन चाहे पनि घडेरीको अभावका कारण समस्या भएको उहाँको भनाइ छ । “गैह्रागाउँलार्ई सरकारले जीवित सङ्ग्रहालय बनाउने निर्णय गरेको थियो”, विकले भन्नुभयो, “त्यहाँका केही स्थानीयवासीले जग्गा दिन नमानेपछि त्यहाँ सङ्ग्रहालय बन्ने सकेन त्यसपछि समस्या भयो ।’’

स्मृति उद्यानको काम अलपत्र

भूकम्पको केन्द्रविन्दु बारपाकमा निमार्ण गर्न लागिएको भूकम्प स्मृति उद्यानको कामसमेत अझै सम्पन्न हुन सकेको छैन । गोरखा भूकम्पमा परेर देशभरका आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाए भने २२ हजार तीन सय नौ जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ । भूकम्पमा परेर ज्यान गुमाएकाको सम्झनामा केन्द्रविन्दु बारपार्कमा भूकम्प स्मृति उद्यान निर्माण गर्न लागिएको छ । तर अहिलेसम्म पनि स्मृति उद्यानको काम सम्पन हुन नसकेको सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराका इन्जिनियर पुरुषोत्तम पंगेनीले जानकारी दिनुभयो ।

“पूर्वाधार निर्माणको काम त करिब ९८ प्रतिशत नै सकिएको छ”, उहाँले भन्नुभयो, “स्मृति उद्यानमा राख्नका लागि भूकम्पमा परेर ज्यान गुमाएका व्यक्तिको नामावली प्राप्त नहुँदा उद्यान निर्माणको काम सम्पन्न हुन सकिरहेको छैन ।” उद्यान निर्माणका क्रममा गोरखा भूकम्पमा परेर ज्यान गुमाएका सबैको नाम स्मृति उद्यानमा ताम्रापत्रमा लेखेर राख्ने गरी सम्झौता भएको उहाँको भनाइ छ । उद्यानमा भूकम्पमा परी निधन भएका १४ वटै जिल्लाका मृतकको छुट्टाछुट्टै स्तम्भ रहने छ ।

“अब ताम्रापत्रमा भूकम्पमा ज्यान गुमाएकाको नाम लेख्न बाँकी रहेको छ”, इन्जिनियर पङ्गेनीले भन्नुभयो, “गृह मन्त्रालयलाई नाम उपलब्ध गराउन भने पनि गृहले अहिलेसम्म नाम उपलब्ध नगराएकाले काम रोकिएको हो ।” स्मृति उद्यानमा स्तम्भ मण्डला निर्माणमा गरिएको छ भने मण्डलामा चिप्स राख्ने, रङरोगन गर्ने लगायतका काम समेत सम्पन्न भइसकेको इन्जिनियर पंगेनीले बताउनुभयो ।

त्यस्तै उद्यानसम्म पुग्नका लागि चार सय मिटर सडक कालोपत्र गरिएको, वाल निर्माण, क्यानटिन पार्क निर्माण, टिकट काउन्टर निर्माणको काम सम्पन्न भइसकेको छ । पार्कमा दुई शौचालय, एक चमेना गृह, पार्किङस्थल समेत निर्माण गरिएको इन्जिनियर पङ्गेनीले जानकारी दिनुभयो । सरकारी स्वामित्वको झण्डै दुई सय १६ रोपनी क्षेत्रफलमा स्तम्भ, बगैँचालगायतका अन्य आवश्यक संरचना निर्माण गरिएको उहाँले बताउनुभयो ।

तोकिएको समयमा काम नहुँदा कार्यालयले ठेकेदार कम्पनीलाई पाँच पटक म्याद थप गरेर काम गरेको इन्जिनियर पङ्गेनीले बताउनुभयो । निर्माणमा ढिलाइ हुँदा पार्क निर्माण सम्पन्न गर्न सुरुमा रु १३ करोड छ लाख ३४ हजार पाँच सय ७८ मा ठेक्का सम्झौता गरिएको भए पनि पुनः परिमार्जित सम्झौताअनुसार लागत रु १५ करोड ५१ लाख ७५ हजार दुई सय ३९ पुगेको आयोजना कार्यालयले जनाएको छ ।

“उद्यान निर्माणको लगभग सकिएको छ”, भूकम्पमा परेर ज्यान गुमाएका सवैको नाम ताम्रापत्रमा लेखेर राख्ने गरी सम्झौता भएको थियो”, उहाँले भन्नुभयो, “हामीले गृहमन्त्रालयसम्म अनुरोध गरिरहेका छौँ”, कार्यालयले भूकम्प स्मृति उद्यान निर्माणका लागि विसं २०७४ मङ्सिर १४ गते स्वच्छन्द÷होम निर्माण जेभीसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार ३० महिनामा काम सम्पन्न गर्ने भनिए पनि ढिलो गरी भर्खरै मात्र भौतिक संरचना निर्माणको काम सम्पन्न भएको उहाँले बताउनुभयो ।

इपिसेन्टरलाई पहाडको सहर बनाउने सपना

बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले भूकम्पपछि एउटा गाउँको रुपमा रहेको बारपाक अहिले पहाडको नयाँ सहरको रुपमा स्थापित हुन लागेको बताउनुभयो । “भूकम्पपछि बारपाकको प्रचारमा पनि फरक भयो”, उहाँले भन्नुभयो, “भूकम्पले धेरै घर ध्वस्त थिए, भूकम्प पछाडि बारपाक कस्तो बन्यो होला भन्ने धेरै मान्छेहरुलाई चासो हुनु स्वभाविक नै थियो, त्यसकारण पनि बाहिरका मानिसहरु बारपाक हेर्न र घुम्न आउने क्रम बढ्दै गएको छ ।”

अध्यक्ष भट्टले बारपाकमा बन्न लागेको भूकम्प स्मृति उद्यानले भूकम्पको केन्द्रविन्दु बारपाक मात्र नभएर गोरखा भूकम्पको अध्ययन र अवलोकन गर्ने अवसरसमेत प्रदान गर्ने बताउनुभयो । “स्मृति उद्यानसँगै हामीले सङ्ग्रहालय बनाउने योजना पनि छ”, उहाँले भन्नुभयो, “सङ्ग्रहालयमा भूकम्प बेलाको चित्र, तस्बिर, भूकम्पका बेलाका भिडियोसहित त्यसबेलाको अवस्थालाई जीवन्त झल्काउने प्रयास पनि गर्नेछौं ।”

स्मृति उद्यान र सङ्ग्रहालयमार्फत गाउँपालिकाले नेपालभरका नागरिकलाई बारपाकमा पर्यटकको रुपमा भित्र्याएर विपद्बाट बच्न र सतर्कता अपनाउन शिक्षा पनि दिन चाहेको अध्यक्ष भट्टले बताउनुभयो । “भूकम्पपछि पुनःनिर्माणको काम लगभग अन्तिम अवस्था आइसकेको छ”, उहाँले भन्नुभयो, बारपाकमा गल्लीलाई व्यवस्थित गर्ने पनि हाम्रो तयारी छ, ढल व्यवस्थापन, खानेपानीको आयोजनालाई व्यवस्थापन गर्दै बारपाकलाई नयाँ पहाडी सहरको रुपमा स्थापित गर्ने तयारी गरिरहेका छौं ।”

 

२०८४ को निर्वाचनसम्म पुराना शक्तिले हामीलाई थिलथिलो पार्नेछन् : गृहमन्त्री लामिछाने

0

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीले जनताका पक्षमा काम गरेका कारण पुराना दलहरूले रास्वपाको बदनाम गर्ने र विभिन्न ढंगले हिलो छ्याप्ने गरेको बताएका छन् ।

कसैको नाम नलिइकन उनले भने, ‘कहिले हामीमाथि सहकारीको कुरा उठाएर प्रहार गरिन्छ त कहिले के विषय उठाएर प्रहार गरिन्छ। तपाईंहरुले बुझ्नु होला जनताको पक्षमा काम गरेकै कारण यी प्रहार भएका हुन् ।’

इलाम उपनिर्वाचनको पूर्वसन्ध्यामा रास्वपाले इलामको दउमाई नगरपालिकाको मंगलबारेमा आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्ने क्रममा सभापति तथा उपप्रधान तथा गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्।

लामिछानेले भने, “पार्टीको सटर बन्द गर्न परे गर्छु तर कुनै लुटेराको पैसा र चन्दा लिएर पार्टी चलाउने छैन। पैसाको बलमा लोकतन्त्र किन्नेहरुलाई खबरदारी गर्न तपाईंहरुले बैशाख १५ मा घण्टीमा भोट हाल्नुपर्नेछ ।”

२०८४ को निर्वाचनसम्म आफूहरुलाई पुराना शक्तिहरुले थिलथिलो बनाउने बताउँदै उनले भने, “०८४ सम्म हामीलाई थिलथिलो पार्नेछन् हेर्नुहोला । जनताको पक्षमा काम गर्नेहरुलाई झूठा मुद्दा लाग्छन्, उनीहरुको विषयमा अनर्गल प्रचार गरिन्छ । तपाईंहरु त्यसले आत्तिनु पर्दैन ।”

नेपाली काँग्रेसले सहकारीको मुद्दा उठाएको बारे संकेतमा कुरा गर्दै उनले राजनीतिक षडयन्त्रमा आफूलाई फ़साइएको बताए। त्यसैको फलस्वरुप आफ्नो पुत्लासमेत जलाइएको उनको भनाइ थियो।

उनले भने, “अहिले धेरै ठाउँमा मेरो पुत्ला जलाउन थालिएको छ, मैले पुत्ला जलाउने साथीहरुलाई अलिक राम्रो फोटो राखेर पुत्ला बनाउनु भनेको छु।”

यसका साथै उनले जनताबाट प्रत्येक दिन भ्रष्टाचारीलाई पक्रने दबाब भए पनि प्रत्येक दिन धेरै मानिस पक्राउ गर्न नसकिने बताए।

“मैले प्रत्येक महिनामा ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु तर तपाईंहरु प्रत्येक दिन भ्रष्टाचारीलाई थुन्नु पर्यो भन्नु हुन्छ । तपाईंहरु धेरै आत्तिनु हुँदैन । तपाईंहरु अर्को महिना सप्राइज कुरेर बस्नु होला आउँदैछ ।”

सरकारले अर्को महिना कसलाई पक्रन लागेको र उनीमाथि के आरोप छ भन्नेबारे गृहमन्त्री लामिछानेले केही पनि खुलाएनन् । तर उनले ठूलै सरप्राइज आउने बताए।

उनले आफूहरु देश बनाउने अभियानमा आएको बताउँदै व्यक्तिगत रुपमा त्यसले कसैलाई फाइदा नगरे पनि देशका लागि फाइदाजनक भएको बताए। कार्यक्रममा रास्वपा उपसभापति तथा तनहुँका सांसद स्वर्णिम वाग्ले, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी लगायतले मन्तब्य राखेका थिए।

 

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि वनमा पोखरी

0

म्याग्दी: म्याग्दीका सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न थालिएका छन् ।

मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि डिभिजन वन कार्यालयले चालू आर्थिक वर्षमा जिल्लाका १० वटा सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न थालेको हो ।

सहायक वन अधिकृत विनयबहादुर अधिकारीले पानी र आहारका लागि मानवबस्तीमा आउने वन्यजन्तुलाई वनमै रोक्नका लागि पोखरी निर्माण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । “पानी र आहाराको खोजीमा वन्यजन्तु मानवबस्तीमा नआउन भनेर जङ्गलमै पोखरी बनाउन लागिएको हो । वनमै पानी र आहारा भएपछि वन्यजन्तु मानवबस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा छ”, अधिकारीले भन्नुभयो ।

उहाँका अनुसार बेनी नगरपालिका–५ को जैरीखेत र गाज्ने, बेनी नगरपालिका–२ को सिद्धभूमे हरियाली, मालिका गाउँपालिका–१ को कल्लेरी, वडा नं७ को रानीवन, मंगला–२ को प्रगति, धवलागिरि गाउँपालिका–३ को दर र अन्नपूर्ण गाउँपालिका–२ को पातलखर्क सामुदायिक वनमा पोखरी निर्माणका लागि सम्झौता भइसकेका छन् । ६१ दशमलव ७५ वर्गमिटर क्षेत्रफलमा बन्ने पोखरीमा ६१ हजार लिटर पानी सङ्कलन गर्न सकिनेछ ।

डिभिजन वन अधिकृत विष्णुप्रसाद अधिकारीले यसअघि वनमा निर्माण गरिएका पोखरी प्रभावकारी भएकाले चालु आर्थिक वर्षमा समेत प्रतिपोखरी रु एक लाख बजेट विनियोजन गरी पोखरी निर्माणलाई निरन्तरता दिइएको बताउनुभयो । यसअघि आव २०७८÷७९ मा १० र २०७९÷८० मा छ गरी १६ वटा पोखरी निर्माण गरिएका उहाँले जानकारी दिनुभयो ।

दह सामुदायिक वन दुखुलेकका अध्यक्ष ओमकार रोकाले वनमा निर्माण गरिएका पोखरीले जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका साथै जङ्गलमा पानीको स्रोत संरक्षण र चिस्यान कायम गराउन सहयोग पुगेको बताउनुभयो ।

जिल्लामा पछिल्लो समयरतुवा, मृग, बाँदर, चितुवालगायत वन्यजन्तु नजिकको मानव बस्तीमा आएर क्षति पु¥याउन थालेका छन् । यसरी बस्तीमा पस्ने वन्यजन्तुले मानिस र घरपालुवा जनावरलाई समेत आक्रमण गर्ने गर्दछन् ।

विश्वमा मानव अधिकारको अवस्था सन्तोषजनक छैन

0

काठमाडौँ: सन् २०२३ मा विश्व मानव अधिकारको अवस्थासम्बन्धी एम्नेस्टी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनले विश्वमा मानव अधिकारको अवस्था सन्तोषजनक नभएको देखाएको छ ।

एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले आज सार्वजनिक मानव अधिकारसम्बन्धी वार्षिक प्रतिवेदनमा विश्वका विभिन्न ठाउँमा भइरहेका युद्ध, आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग, दुव्र्यवहारजस्ता कारणले मानव अधिकारको अवस्था सन्तोषजनक नभएको उल्लेख भएको बताउनुभयो ।

“द्वन्द्वमा परेका नागरिकहरूले उच्चतम मूल्य चुकाइरहेकोमा शक्तिशाली सरकारहरूले मानवतालाई प्रभावकारी अन्तर्राष्ट्रिय कानुन बिनाको एउटा युगमा पु¥याइरहेका छन्”, प्रतिवेदनमा भनिएको छ, “द्रुत गतिमा विकास भइरहेको आर्टिफिसियल इन्टेलिजेन्सका कारण पनि समस्या भइरहेको छ ।”

प्रतिवेदनमा दुव्र्यवहारविरुद्ध उभिँदै र मानव अधिकार संरक्षण तथा साझा मानवताको सम्मानको माग गर्दै विश्वभरका मानिसहरू अभूतपूर्व सङ्ख्यामा परिचालित भएको अवस्था रहेको जनाइएको छ ।

विश्वका एक सय ५५ देशको मानव अधिकारको अवस्थाको मूल्याङ्कनसहितको वार्षिक प्रतिवेदनमा अन्तर्राष्ट्रिय कानुन कार्यान्वयन प्रभावकारी नहुँदा विश्वले एउटा डरलाग्दो परिणाम भोगिरहेको उल्लेख छ ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा भइरहेको द्रुत प्रगतिसँगै कानुनको शासनको क्षयीकरणमा थप वृद्धि हुने सम्भावना रहेको र यदि एआईको विकासको तुलनामा नियमन पछाडि नै रहने क्रम जारी रहने हो भने यसले मानव अधिकारको उल्लङ्घनका घटना बढाउन जोखिम रहेको समेत औँल्याइएको छ ।

एम्नेस्टी इन्टरनेसनलका महासचिव आग्नेस कालामारका अनुसार गहिरिँदो विश्वव्यापी असमानता, सर्वोच्चताका लागि तल्लिन महाशक्तिहरू र बढ्दो जलवायु सङ्कटको बीचमा मानव अधिकारको दमन र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन बढ्दो रहेको पाइएको छ ।

प्रतिवेदनमा सैनिक, राजनीतिक र व्यावसायिककर्ताले हतियारको रूपमा नियमित प्रयोग गरिरहेका नयाँ र परिचित प्रविधिको अनियन्त्रित प्रयोगले द्वन्द्वग्रस्त क्षेत्र र अन्यत्र अराजकता, विभेद र दण्डहीनता फैलाउनलाई बल प्रदान गरेको उल्लेख छ ।

प्रतिवेदन भनिएको छ, “बढ्दो गतिको अनिश्चितताले घेरिएको वर्तमान विश्वमा विकसित प्रविधि बिस्तार र प्रयोग अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारको उल्लङ्घनलाई बढोत्तरी गर्ने माध्यम बनेको छ ।”

एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदनले राजनीतिक दलका नेता र संस्थाद्वारा मानव अधिकारका सिद्धान्तमाथि विश्वासघात गरेको कठोर मूल्याङ्कन प्रस्तुत गरेको छ । बढ्दो द्वन्द्वहरूको बीच धेरै शक्तिशाली राज्यको व्यवहारले बहुपक्षीयताको विश्वसनीयतालाई थप क्षति पु¥याएको र सन् १९४५मा पहिलो पटक स्थापना गरिएको विश्वव्यापी नियममा आधारित व्यवस्थालाई कमजोर बनाएको प्रतिवेदने देखाएको छ ।

गत अक्टोबर ७ मा हमास र अन्य सशस्त्र समूहहरूले गरेको भयानक हमलापछि मानव अधिकार उल्लङ्घनमा बढावा दिएको, अत्यावश्यक मानवीय सहायताको पहुँचमा रोक लगाइएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा गलत सूचना फैलाउन, समुदायहरूलाई एकअर्काको विरुद्धमा खडा गराउन र अल्पसङ्ख्यकमाथि आक्रमण गर्नका लागि राजनीतिक शक्तिको सहयोग र मतियारीका लागि नयाँ तथा विद्यमान प्रविधिलाई हतियार बनाइएको औँल्याइएको छ ।

“प्रविधिहरूको अनियन्त्रित विकासले निम्त्याउने जोखिम र यसबारे नियमन र सुरक्षणका सवालमा जुन ठाउँमा हुनुपर्ने हो, त्यसबीच ठूलो खाडल रहेको छ”, प्रतिवेदनमा भनिएको छ, “यो भविष्यको पूर्वानुमान हो, अनियन्त्रित प्रविधिको व्यापक बिस्तारलाई कम नगर्ने हो भने यो समस्या अझ खराब मात्रै हुनेछ ।”

एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले सन् २०२३ मा नेपालमा पनि मानव अधिकारको अवस्था सन्तोषजनक नभएको बताउनुभयो । प्रतिवेदनमा नेपालमा पहिलो पटक यौनिक तथा अल्पसङ्ख्यक जोडीलाई विवाह दर्ता गरिएको राम्रो पक्ष प्रतिवेदनमा छ ।

समग्रमा सन् २०२३ मा मानव अधिकारको अवस्था विश्लेषण गर्दा विभिन्न देशमा द्वन्द्वका कारण मानव अधिकारको उल्लङ्घन धैरै भएको र मानव अधिकार रक्षकलाई पनि संरक्षण गर्न कठिनाई भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । विश्वभरी नै आर्थिक सङ्कटका कारण शरणार्थी र आप्रवासीलाई थप समस्या परेको जनाइएको छ ।

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ

0

काठमाडौँ: नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी श्रेष्ठ मनोनीत हुनुभएको छ । चेम्बरका पूर्वअध्यक्ष श्रेष्ठलाई सल्लाहकार परिषद्को अध्यक्षमा मनोनयन गरेको हो ।

चेम्बरको संस्थागत विकास एवं व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिने परिषद् सदस्यमा पूर्वअध्यक्षहरू महेशकुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार र सुरेशकुमार बस्नेतलाई मनोनयन गरिएको छ ।

परिषद्ले सरकार र निजी क्षेत्रबीचको समन्वय, अन्तराष्ट्रिय सम्बन्ध विस्तार, उद्यमी एवं व्यवसायीका हकहित संरक्षणका साथै निजी क्षेत्रको भूमिकालाई सशक्त तुल्याउन समन्वय गर्ने चेम्बरले मङ्गलबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम

0

गण्डकी: रोजगारीको खोजीमा युवा जमात विदेशिने क्रम बढिरहेका बेला पोखरा महानगरपालिका १३ नम्बर वडा कार्यालयले युवा लक्ष्यित तालिम सञ्चालन गरेको छ ।

‘सीप सिकौँ, दक्ष बनौँ’ नाराका साथ वडाले कटाई सिलाई तालिम, ब्युटी पार्लर र लोकसेवा आयोगको अनलाइन तयारी कक्षा निःशुल्क सञ्चालन गरेको वडाध्यक्ष किरण बरालले जानकारी दिनुुभयो । बेरोजगार युवालाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यल तालिम सञ्चालन गरिएको उहाँले बताउनुुभयो ।

तालिममा ४५ जना युवायुवती सहभागी छन् । सिलाई कटाई तालिम तीन महिना, ब्युटी पार्लरसम्बन्धी तालिम एक महिना र लोक सेवा आयोगको तयारी कक्षा दुई महिनासम्म सञ्चालन हुनेछ ।

तराईका केही स्थानमा हुरीबतासको चेतावनी, बाँकी भागमा मौसम सफा रहने

0

काठमाडौँ: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशलगायत तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ
आज अपराह्न र राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशलगायत तराईका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

0

दमौली (तनहुँ): तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको छ । भानु नगरपालिका–३ खहरेमा औद्योगिक ग्राम निर्माणका लागि रु एक करोड बजेट प्राप्त भएसँगै प्रक्रिया प्रारम्भ भएको हो ।

खहरे बजार नजिकको करिब ५८ रोपनीमा औद्योगिक ग्राम निर्माणका लागि चालु आर्थिक वर्षमा उक्त बजेट प्राप्त भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिनुभयो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त स्थानमा औद्योगिक ग्राम निर्माणका लागि रु एक करोड रकम विनियोजन गरेको र असार मसान्तसम्म काम सक्न बोलपत्र आह्वान गरिने उहाँले बताउनुभयो । नगरपालिकाले सो स्थानमा औद्योगिक ग्राम निर्माणका लागि रु २४ करोड २८ लाख ८५ हजारको विस्तृत अध्ययन प्रतिवेदन तयार गरेको थियो ।

औद्योगिक ग्रामका लागि पहुँचमार्ग स्तरोन्नति गर्ने, ग्रामभित्र सडकको ट्रयाक खोल्ने, जग्गा सम्म्याउने र पर्खाल चालु आर्थिक वर्षभित्र निर्माण गरिने नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।
औद्योगिक ग्राममा विशेषगरी स्थानीय स्तरमा उपलब्ध हुने कच्चा पदार्थ, अर्धप्रशोधित कच्चा पदार्थ वा खेर गएको वस्तु प्रयोग गरी वा प्रशोधन गरी उत्पादन गर्ने उत्पादनमूलक उद्योग सञ्चालन हुनेछ । स्थानीय स्तरमा प्राप्त हुने कोदो, मकै, धान, गहुँ, फापर, दूध, मह, चिया कफी, फलफूल, जडीबुटीलगायत वस्तु प्रयोग गरी वा प्रशोधन गरी उत्पादनमूलक उद्योग स्थापना गर्ने लक्ष्य छ ।

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै

0

काठमाडौँ : नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता हुँदैछ ।

कतारी अमिर र प्रधानमन्त्री दाहाल नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल–कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तापछि उहाँहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोग, उच्च शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । राष्ट्रिय समाचार समिति (रासस) र कतार न्यूज एजेन्सीबीच समाचार आदाप्रदानसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर हुनेछ ।
दुई देशबीच कला र संस्कृति, महान्यायाधिवक्ताको कार्यालयसम्बन्धी र वैदेशिक मामिलासम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेका परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले राससलाई जानकारी दिनुभयो ।

कतारी अमिरको सम्मानमा प्रधानमन्त्री दाहालले दिवाभोजको आयोजना गर्नुहुनेछ । कतारका अमिर थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा हिजो अपराह्न यहाँ आइपुग्नु भएको हो । कतारी विशिष्ट अतिथि आजै अपराह्न काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ ।