Monday, May 11, 2026
Home Blog Page 837

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

0

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालनका लागि स्वीकृति प्रदान गर्नुभएको छ ।

स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्नका लागि सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को यही वैशाख १० को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले सोही दिन निर्णय गर्दै राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को यही वैशाख १० गतेको सिफारिसका आधारमा उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको हो ।

असी औँ जन्मदिनमा नागरिकता प्राप्त

0

मुगु : जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको एक छ ।
विक्रम संवत् २००० साल वैशाख १२ गते जन्मनुभएका उहाँलाई उहाँको जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले हिजो नागरिकता प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

पैतिस वर्षअघि कामीका श्रीमान् सोनाम तेन्जिनको मृत्यु भएको थियो । विकट गाउँ जहाँबाट जिल्ला सदरमुकाम गमगढी पुग्न दुई÷तीन दिन हिँड्नुपर्ने भएपछि जान आउन समस्या हुँदा र नागरिकताको आवश्यकताबारे जानकारी नहँुदा त्यसै बसेको उहाँले बताउनुभएको छ । “जब श्रीमान्को मृत्यु भयो घरमा कमाउने मान्छे भएन दुई छोरा पाल्न धौधौ भयो । सरकारले भत्ता दिन्छ भनेर नागरिकता लिन खोज्दा श्रीमान् नहुँदा नागरिकता बनेन,” उहाँले सुनाउनुभयो ।
श्रीमान्को नागरिकता, माइती पक्षको सनाखत र नागरिकता पाउनका लागि आवश्यक पर्ने अनुसूचीसहित अन्य कागजात पुगेपछि र ढिला नागरिकता लिनाको कारणबारे विश्वास लाग्दो प्रमाण जुटेपछि उहाँको नागरिकता बनाएको प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो ।
असी वर्षमा पनि नागरिकता नबन्दा सिङ्गो परिवारै राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित भएको थियो । विभिन्न सञ्चार माध्यममा उहाँका बारेमा समाचार सार्वजनिक भएपछि स्थानीय समाजसेवी सोनाम लामा कार्मारोङ र वडाध्यक्ष दावा साङवा तामाङले उहाँको नागरिकता बनाउन सबै प्रक्रिया पू्रा गर्नुभएको थियो ।

नुरगङ्गा प्रतिभा पुरस्कार परियारलाई

0

काठमाडौँ: नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले रु एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार लोकगायक राजु परियारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

गुठीका सदस्यसचिव यज्ञप्रसाद शर्मा पोखरेलका अनुसार गुठीले रु ३० हजार राशिको क्षेत्रीय साहित्य पुरस्कार पाल्पाका साहित्यकार रामबहादुर पहाडीलाई, रु २५ हजारको राष्ट्रिय नवप्रतिभा बाल साहित्य पुरस्कार मोरङका सोइना दाहाललाई र रु २० हजार राशिको क्षेत्रीय नवप्रतिभा गायन पुरस्कार अर्घाखाँचीका कुशल बेलवासेलाई प्रदान गर्ने निर्णय गरेको छ ।

पुरस्कार आगामी जेठ ११ गते प्रदान गरिने उहाँले बताउनुभयो । विगत ३० वर्षदेखि कला साहित्य संस्कृतिका क्षेत्रमा सक्रिय सर्जकहरूलाई गुठीले पुरस्कृत गर्दै आएको छ ।

 

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता

0
गण्डकी: पोखरा महानगरपालिका–२९ स्थित लेक सिटी ब्याडमिन्टन क्लबको आयोजनामा यही वैशाख १४ र १५ गते चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुुने भएको छ ।
पोखरा महानगरपालिका–२९ को संरक्षकत्व एवं मुख्य प्रायोजन रहेको प्रतियोगिता पोखरा महानगरपालिका–३० स्थित भूगोल पार्कको ब्याडमिन्टन हलमा सञ्चालन हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष शरणकुमार प्रधानले जानकारी दिनुुभयो ।
प्रतियोगिताअन्तर्गत ए लेबल मेन्स डबल, सी लेबल मेन्स डबल, ५५ वर्षभन्दा माथिको मेन्स डबल्स र वुमेन्स डबल्समा  एक सय २६ टोलीको सहभागिता रहने उहाँले बताउनुुभयो । ए लेबल मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ४१ हजार, २२ हजार  हजार नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरिने छ । सी लेबल मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय हुनेलाई रु ३५ हजार, १८ हजार र छ हजार नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ । पचपन्न वर्षमाथिको मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ३० हजार, १६ हजार र छ हजार नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

0

महोत्तरी: मटिहानी–६ को मुस्लिम बस्तीका एक सय ५० अग्निपीडित परिवार राहतको प्रतीक्षामा छन् । समयमा सहयोग नहुँदा उनीहरू बिचल्लीमा परेका छन् ।

बुधबारको आगलागीमा एक सय घर जलेपछि उनीहरूको बिल्लीबाठ भएको हो । बस्तीकी मैमुन खातुनको घरबाट सल्केको आगोबाट झुरमुट्ट बस्तीका एक सय घर खरानी भएका हुन् । अग्निपीडित परिवारले राहत प्राप्त नभएको गुनासो गरेका छन्भने जिल्ला प्रशासन कार्यालयले त्यसनिम्ति प्रयास भइरहको जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सहयोगका निम्ति अपिल गर्नुभएको छ ।

मटिहानी नगरपालिकाको आकष्मिक कार्यपालिका बैठकले तत्काल प्रभावित परिवारलाई तयारी खाना, खाद्यान्न र त्रिपाल उपलब्ध गराउने निर्णय गरेको छ ।अहिले नगरप्रमुखसहितका जनप्रतिनिधि र कार्यालयका कर्मचारी राहत सामग्री वितरणमा लाग्नुभएको छ । नेपाल रेडक्रस सोसाइटी महोत्तरी शाखाले प्रभावित परिवारलाई भाँडावर्तन प्रदान गरेको बताएको छ । महोत्तरी रेडक्रस शाखाका सभापति दीपक मिश्रले आफूहरू सहयोगका निम्ति जुटेको बताउनुभएको छ ।

६३ वर्षीय वृद्ध र १२ वर्षीया बालिकाबीच प्रहरीको उपस्थितिमा विवाह सम्पन्न

0

काठमाडौं । घानाको नुगुआमा ६३ वर्षीय पादरी गबोर्बु वुलोमो नुउमो बोरकेटे लावे ३३ औंले ना ओक्रोमो नामक १२ वर्षीया बालिकासँग विवाह गरेको बताइएको छ। लामो समयदेखि चल्दै आएको चलनका कारण यो विवाह भएको हो । जसमा पादरीले कुमारी केटीसँग विवाह गर्नुपर्ने बताइएको छ ।

उनले अहिले नुङगुआमा नौ वर्षभन्दा माथिका कुमारी केटी नभएको खुलासा गरे । पादरीले यी बालिकालाई ६ वर्षको उमेरमा विवाहका लागि छनोट गरेको पनि बताइएको छ । घानाबाट पल्सले रिपोर्ट गरेअनुसार बालिकाले अब शुद्धीकरणमा केन्द्रित अर्को परम्परागत समारोहमा भाग लिनेछिन्।

रिपोर्टका अनुसार यस धार्मिक अनुष्ठानपछि बालिकाले गोर्बु वुलोमोकी पत्नीका रूपमा अपेक्षित जिम्मेवारी राम्ररी पूरा गर्ने विश्वास गरिन्छ। चाखलाग्दो कुरा के छ भने, यसमा बच्चाहरू पनि समावेश छन्। ६३ वर्षीय पादरीले १२ वर्षीया केटीसँग विवाह गरेको यो खबरले विवाद सिर्जना गरेको छ जसमा धेरै संस्था पादरीको समर्थनमा आएका छन् ।

चर्चका प्रवक्ता नी बोर्टे कोफी फ्रान्क्वा द्वितीयले विवाहको ऐतिहासिक पक्ष र यसको आध्यात्मिक सान्दर्भिकताबारे बोल्दै ना योमो आयमुडेको पुनर्जन्म भएको बताए । उनी ३०० वर्ष पहिले बाँचेकी केटी हुन् र उनी फर्किन सुनिश्चित गर्न विभिन्न पवित्र अनुष्ठानहरू गरिएको छ। स्टार एफएमको रिपोर्टका अनुसार पास्टरले यौनसम्पर्क राख्नु र बच्चा जन्माउनुअघि बालिका परिपक्व हुनको लागि कुर्नु पर्नेछ।

इरानका राष्ट्रपति इब्राहिम रायसीको पाकिस्तान भ्रमणलाई लिएर अमेरिकाले चेतावनी दियो

0

काठमाडौं । अमेरिकाले इरानी राष्ट्रपति इब्राहिम रायसीको पाकिस्तान भ्रमणमा दुई देशबीचको व्यापारिक सम्झौतालाई लिएर प्रतिक्रिया दिएको छ ।

अमेरिकाले इरानसँगको व्यापार सम्झौतालाई लिएर पाकिस्तानलाई ‘प्रतिबन्धको सम्भावित जोखिम’ बारे चेतावनी दिँदै इरानविरुद्ध कारबाही जारी राख्ने बताएको छ।

पाकिस्तानको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमका आपूर्तिकर्ताहरूमाथि प्रतिबन्ध लगाउन दबाब दिँदै अमेरिकी विदेश मन्त्रालयका उपप्रवक्ता वेदान्त पटेलले भने, “हामी जहाँसुकै भए पनि आम विनाशकारी हतियार खरिदसँग सम्बन्धित गतिविधिहरूमा अवरोध र कारबाही जारी राख्नेछौं।”

“मैले भन्नु पर्ने भनेको कुनै पनि देशलाई प्रतिबन्धको सम्भावित जोखिमको बारेमा होसियार रहन सल्लाह दिन्छौं। तर अन्ततः पाकिस्तानको सरकारले आफ्नो विदेश नीति सम्बन्धी कुरा राख्न सक्छ।”

इरानी राष्ट्रपति रायसी पाकिस्तानको तीन दिने औपचारिक भ्रमणमा छन् । यस अवधिमा दुई देशबीच आठ वटा द्विपक्षीय सम्झौता भएको छ ।

अमेरिकी प्रवक्ताले अन्तर्राष्ट्रिय समुदायमा इरानको स्थितिका कारण प्रतिबन्धहरूले यी सम्बन्धहरूलाई खतरामा पार्न सक्ने सम्भावनालाई औंल्याए।

बाटो छेकेर महिलामाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

0

सङ्खुवासभा । संखुवासभामा महिलालाई बाटो छेकेर अभद्र व्यवहार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका वडा नम्बर-२ हुत्तिखिम बस्ने वर्ष अन्दाजी २३ को जीवन भन्ने युवराज कार्की रहेका छन् ।

कार्कीले संखुवासभाको लंखुवा खोलाको झोलुङ्गे पुलमा एक स्थानीय महिलालाई बाटो छेकेर हातपात गर्न खोजेका थिए ।
बाह्रबीसे प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको थियो । उनीमाथि मुलुकी अपराध संहिता, २०७४ बमोजिम अभद्र व्यवहार मुद्दामा म्याद थप भई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।

 

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

0

काठमाडौँ: एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली आज उज्वेकिस्तानको अस्ताना प्रस्थान गरेको छ । यही बैशाख १५ देखि अगामी जेठ ८ गतेसम्म हुने उक्त प्रतियोगितामा एक पुरुष र दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुषको ४८ केजीमा लालप्रसाद उप्रेतीले प्रतिस्पर्धा गर्ने छन् भने महिलाको ४८ केजीमा सुष्मा तामाङ तथा ५० केजीमा रमिशा श्रेष्ठले खेल्ने नेपाल बक्सिङ महासङ्घका महासचिव मनबहादुर भण्डारीले जानकारी दिनुभयो । सुष्माले थाइल्यान्डमा भएको गत संस्करणमा रजत जित्दै इतिहास रचेकी थिइन् । नेपाल बक्सिङको इतिहासमा सुष्माले जितेको रजत एसियालीस्तरमा नेपालले प्राप्त गरेको एक मात्र पदक हो ।

प्रशिक्षकमा सुजित पुन मगर तथा निर्णायकमा धनकुमार मैनाली छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल बक्सिङ महासङ्घका अध्यक्ष राम अवालेलगायतले आज यहाँ आयोजित एक सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।

कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित

0

काठमाडौँ: कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमणले नेपालका पर्यटन व्यवसायी उत्साहित भएका छन् । अमिर अल थानीको भ्रमणबाट नेपालको पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा सञ्चार गरेको सरोकारवालाले बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा मङ्गलबार नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका अमिर अल थानी नेपालको भ्रमण पूरा गरी आज अपरान्ह स्वदेश फिर्ता हुनुभएको छ । कतारी अमिर अल थानीको नेपाल भ्रमण पर्यटनका हिसावले महत्वपूर्ण मानिएको छ । खाडी मुलुकबाटै पहिलो पटक भएको विशिष्ट भ्रमणले नेपालको पर्यटनलाई विश्वबजारमा थप प्रवद्र्धन गर्न टेवा पुग्ने सरोकारवाला बताउँछन् ।

नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा कतारका अमिरको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुहुन्छ । कतारबाट धेरै पर्यटक पर्वतारोहण र पदयात्राका लागि नेपाल आउने गरेका उहाँको भनाइ छ । वरिष्ठ पर्यटन व्यवसायी शेर्पाले भन्नुभयो, “कतारी अमिर अल थानीको भ्रमणले नेपालको पर्यटनलाई धेरै सघाऊ पुग्छ । कतार विकसित मुलुक हो । मध्यपूर्वी कतार, बहराइन, कुवेतलगायत मुलुकबाट ‘हाइ इन्ड’ पर्यटक नेपाल आउने क्रम बढेको छ ।” उहाँले पछिल्लो समय नेपालमा ‘हाइ इन्ड टुरिस्ट’ बढ्दो क्रममा रहेकाले कतारबाट नेपाल आउने पर्यटक बढ्न सक्ने बताउनुभयो ।

खासगरी कतारको राजपरिवारका सदस्यहरु नेपालमा पदयात्रा र पर्वतारोहणका लागि आउने गरेका छन् । कतारका शेख मोहम्मद बिन अब्दुल्लाह अल थानी विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो कतारी नागरिक हुनुहुन्छ । उहाँले सन् २०१३ मे २२ मा सगरमाथा र सन् २०२० नोभेम्बर ११ मा अमादब्लमको सफल आरोहण गर्नुभएको थियो । यस्तै कतारको राजपरिवारका सदस्य शेख अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको थियो ।

यसरी कतारी राजपरिवारका सदस्यहरु पछिल्लो समय नेपालको सगरमाथासहितका हिमाल आरोहण र चर्चित पदयात्रामा आउने गरेका छन् । कतारका शेख तथा खर्चालु पर्यटक महङ्गा र लग्जरी होटल तथा रिसोर्टमा बस्न चाहने भएकाले सोही अनुरुप नेपालममा पनि लग्जरी होटल एकपछि अर्को थपिदैछन् ।

मुस्ताङको सिन्तामणी, चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टलगायतका लग्जरी होटल कतारलगायत खाडी मुलुकका राजपरिवार सदस्य र महङ्गा पर्यटकका लागि उपयुक्त हुने होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले बताउनुभयो । कतारका अमिरको भ्रमणले नेपालको पर्यटन क्षेत्रका लागि राम्रो सन्देश दिएको उहाँ बताउनुहुन्छ ।

“कतारका अमिरको नेपाल भ्रमण आफैमा महत्वपूर्ण छ । विश्वको उदीयमान मुलुक कतारको विश्वव्यापी रुपमा प्रभाव छ । त्यसैले कतारका विशिष्ट व्यक्तिको भ्रमणबाट नेपालको पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गर्न मद्दत पुग्छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष शाहका अनुसार कतारका अमिरको भ्रमणले विश्वलाई नेपालको सन्देश दिएको छ । कतार, युनाइटेड अरब इमिरेटस् (युएई)लगायत मुलुकबाट विगतमा पनि राजपरिवारका सदस्यहरु पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य सङ्ख्यामा नेपाल आएका थिए । “कतारका अमिरको भ्रमणबाट होटल व्यवसायी उत्साहित भएका छौँ”, उहाँले भन्नुभयो, “यो विशिष्ट भ्रमणले नेपालको पर्यटनमा सकारात्मक सन्देश दिएको छ ।”

वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्य पनि कतारका अमिरको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “एयरलाइन्स र श्रमिक बजारको मूख्य मुलुकको प्रमुख आउनु नेपालका लागि महत्वपूर्ण कुरा हो, उहाँलाई राज्यले दिनुपर्ने सम्मान पनि दिएको छ । यसले आगामी दिनमा वाह्य पर्यटन आवगमनमा बढोत्तरी हुने विश्वास छ ।”

विश्वका सेलिब्रेटी मानिने व्यक्तिको भ्रमणले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गरेको छ । त्यसैले कतारका अमिरलगायत विशिष्ट व्यक्तिको नेपाल भ्रमण र यहाँ भएका पर्यटनसँग सम्बन्धित विभिन्न ठूला इभेन्टले नेपाललाई विश्व पर्यटन बजारमा प्रवद्र्धन गर्न मद्दत पुगेको छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने कतारका अमिरको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “कतारका राजाले सोल्टीमा बसेर द्वारिकाज होटलमा ‘लञ्च’ खाएको विषयले लग्जरी सेवामा पनि नेपाल अब्बल छ भन्ने सन्देश गएको छ । यो भ्रमणले नेपाल गन्तव्यको विश्वभर प्रचार–प्रसार भएको छ । यसले नेपालको पर्यटनमा सकारात्मक उत्साह जगाएको छ ।”

बोर्डका अनुसार सन् २०२३ मा दुई सय ५५ कतारी नागरिकले नेपालको भ्रमण गरेका छन् । सन् २०२२ मा दुई सय पाँच, सन् २०२१ मा ७४, सन् २०२० मा ६३, सन् २०१९ मा दुई सय ८५ र सन् २०१८ मा दुई सय ९१ कतारी नागरिक नेपाल आएको विभागको तथ्याङ्कमा उल्लेख छ । यो सङ्ख्या बढाउन नेपालमा कतारका अमिरको भ्रमणले सहयोग पुग्ने विश्वास गरिएको छ ।

विसं २०८० कात्तिकमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसको नेपाल भ्रमणका कारण नेपालको पर्यटनमा सकारात्मक प्रभाव परेको थियो । त्यसअघि २०७९ सालको बुद्ध जयन्तीका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले लुम्बिनीमा भारतीय पर्यटक आउने क्रम बढ्दै गएको छ । विसं २०७५ मा भारतीय प्रधानमन्त्री मोदीले जनकपुर र मुक्तिनाथको भ्रमण गरेयता ती क्षेत्रमा भारतीय पर्यटकको आगमन बढेको पाइएको छ । त्यसैगरी भारतीय प्रधानमन्त्री मोदीको पशुपतिनाथ दर्शनले पनि पछिल्लो समय धार्मिक पर्यटनमा बढोत्तरी भएको छ ।

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रचण्डमान श्रेष्ठ कतारी अमिरको नेपाल भ्रमण पर्यटनलगायत आर्थिक दृष्टिकोणबाट महत्वपूर्ण हुने बताउनुहुन्छ । भ्रमणबाट पर्यटनलगायत दुई राष्ट्रबीचको सम्बन्धलाई थप बलियो बनाउन मद्दत पुगेको उहाँको भनाइ छ ।

“यो भ्रमणले खर्चालु पर्यटक नेपालमा ल्याउन ठूलो भूमिका खेल्छ,”, पूर्व सिइओ श्रेष्ठले भन्नुभयो, “युरोप र मध्यपूर्वी मुलुकमा नेपालको सम्बन्ध जति राम्रो भयो त्यति नै पर्यटक आकर्षण गर्न मद्दत पुग्छ । अन्य मुलुकसँग पनि हवाई सम्पर्क सञ्जाल विस्तार गर्दै लगे नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउन सकिन्छ ।”

स्टोनियाका वाणिज्य दूतसमेत रहनुभएका ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का पूर्व अध्यक्ष नवराज दाहालले कतारबाट भएको उच्च स्तरको भ्रमणबाट नेपालको पर्यटन प्रवद्र्धनमा विशेष भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “जुनसुकै मुलुकको राष्ट्राध्यक्ष वा राष्ट्र प्रमुखले भ्रमण गर्दा त्यो देशको चिनारी संसारभर पुग्छ । त्यसमाथी पनि कतारका अमिरको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा ठूलो भूमिका खेल्छ । यो भ्रमणपछि नेपालमा विदेशी पर्यटक आगमनमा वृद्धि हुने अपेक्षा गर्न सकिन्छ ।” खाडी मुलुकबाट अहिले उल्लेख्य संख्यामा विशिष्ट व्यक्तिदेखि खर्चालु पर्यटक नेपाल आइरहेको सन्दर्भमा यो भ्रमण नेपालको निम्ति अवसर भएको व्यवसायी दाहालले बताउनुभयो ।

पर्यटन विभागका अनुसार वसन्त ऋतुको यो याममा कतारबाट एक विशिष्ट व्यक्ति सगरमाथा आरोहणका लागि आउनुभएको छ । प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधतायुक्त नेपाल आफैमा विश्व पर्यटनको आकर्षक गन्तव्य हो । सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहण तथा अन्नपूर्ण, लाङ्टाङलगायत चर्चित गन्तव्यमा पदयात्राका लागि उल्लेख्य संख्यामा विदेशी नागरिक नेपाल आउँछन् । नेपालमा खासगरी पर्वतारोहण र पदयात्राका लागि कतारी नागरिक नेपाल आउने गरेका छन् ।

विमानस्थल सञ्चालनमा सहयोगको अपेक्षा

कतार एयरवेज नेपालमा विदेशी पर्यटक ल्याउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विमान कम्पनीमा पर्छ । हाल यो नेपाल एयरलाइन्सपछि सबैभन्दा बढी विदेशी हवाई यात्रुलाई सेवा दिने विमान कम्पनी हो ।

कतारको राष्ट्रिय ध्वजाबाहक कतार एयरवेज विश्वकै उत्कृष्ट एयरलाइन्सको रुपमा परिचित छ । यसले दुई सयको हाराहारी जहाजमार्फत एक सय ५० भन्दा बढी मुलुकमा उडान सेवा दिइरहेको छ । कतार एयरवेजले अहिले नेपालमा दैनिक चार उडान भर्दै आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार कतार एयरवेजले सन् २०२१ देखि सन् २०२३ सम्म सात लाख ३३ हजार एक सय ७७ यात्रुलाई नेपाल भित्र्याएको छ भने आठ लाख २३ हजार ६ सय ९३ यात्रुलाई नेपालबाट बाहिर जानका लागि सेवा प्रदान गरेको छ ।

कतारका अमिरको यो भ्रमणबाट भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलदेखि दोहामा हवाई सेवा सुरु हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिरबीच आज भएको भेटवार्तामा पनि सो विषयबारे छलफल भएको थियो ।

“कतार सरकारलाई लुम्बिनी तथा पोखराबाट समेत उडान सञ्चालन गर्ने बारेमा विचार गर्न अनुरोध गर्दछौँ,”, भेटमा प्रधानमन्त्री दाहालले भन्नुभयो । प्रधानमन्त्री दाहालले काठमाडौँ र दोहाबीच हवाई सेवा प्रभावकारी भएको उल्लेख गर्दै कतारका अमिरसमक्ष पोखरा र भैरहवास्थित विमानस्थलबाट पनि दोहामा हवाई सेवा सञ्चालनका लागि आग्रह गर्नुभएको थियो ।