Monday, May 11, 2026
Home Blog Page 832

उपनिर्वाचन विशेष: इलाममा पनि एमालेको अग्रता

0

काठमाडौँ । उपनिर्वाचन अन्तर्गत इलाम २ मा जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार एमालेका सुहाङ्ग नेम्बाङ्गले अग्रता लिएका छन्।

नेम्वाङले १ हजार १ मतको अग्रता बनाएका छन्।
उनले ३७८३ मत पाउँदा कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले २७८२ मत पाएका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ७८४ मत पाएका छन् भने रास्वपाका मिलन लिम्बुले ५६१ पाएका छन् ।

 

उपनिर्वाचन विशेष: बझाङमा ९ हजार मत गणना हुँदा एमाले अगाडि

0

बझाङ । बझाङ क्षेत्र १ मा भएको उपनिर्वाचनको करिब ९ हजार मतगणना हुँदा एमालेले अग्रता कायमै राखेको छ।
एमालेका दमनबहादुर भण्डारीले ३ हजार १८७ मत ल्याएर अग्रता लिएका छन् भने उनलाई नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले २ हजार ५६५ मत ल्याउँदै पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले १ हजार ८१० मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले १ हजार २१ मत ल्याएका छन् ।

 

सहरी क्षेत्रमा कौसी खेती फस्टाउँदै

0

लेखनाथ (कास्की): पोखरा-८ निवासी क्रान्ति अधिकारीको कौसीमा उत्पादन भएको तरकारीले चार जनाको परिवारलाई वर्षभरि खान पुग्छ । उहाँ सफल कौसी खेती किसानको रुपमा परिचित हुनुहुन्छ ।

व्यापारको सिलसिलामा चितवनबाट पोखरा आउनुभएका अधिकारी परिवारले पोखरा–८ स्थित सिमलचौरमा पाँच आना जग्गामा घर बनाउनुभयो । तरकारी लगाउने ठाउँ नभएपछि उहाँले पाँच वर्षअघिदेखि कौसीमा तरकारी लगाउन सुरु गर्नुभयो ।

अधिकारीले भन्नुभयो, “यतिबेला मेरो घरको कौसीमा गोलभेडा, बन्दा, घिरौँला, काँक्रो, लौका जस्ता तरकारी फलेका छन् । ती तरकारीले परिवारलाई खान पुग्छ, मेरो भान्छामा खाने ८० प्रतिशत तरकारी कौसी कै उत्पादनले पुग्छ ।”

पोखराका ३३ वडामध्ये सहरी क्षेत्रका १७ वटा वडामा पोखरा महानगरपालिकाले दुई वर्षयता कौसी तथा करेसाबारी तरकारी खेतीलाई अनुदान दिने गरेको छ ।

पोखरा महानगरपालिका र नेपाल विकास समाज कास्कीले यही वैशाख १५ गतेदेखि तीन दिने घरेलु फोहर व्यवस्थापनका लागि कम्पोष्टिङ, करेसाबारी तथा कौसी खेतीसम्बन्धी प्रशिक्षक-प्रशिक्षण तालिम आयोजना गरेको छ ।

करेसाबारी तथा कौसी खेती सम्बन्धी उक्त तालिममा पोखराका पाँच वडाका ३० महिला सहभागी छन् । तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गर्नुहुँदै पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले कौसीकै तरकारीबाट आत्मनिर्भर हुँदा गृहिणीहरुलाई उत्साह मिल्ने बताउनुभयो ।

सहर बजारमा पर्याप्त जग्गा नहुँदा कौसीमा तरकारी लगाउने अभियानले यतिबेला पोखरामा तीव्रता पाएको बताउनुहुँदै उपप्रमुख गुरुङले घरको भान्छामा खेर गएको फोहोरलाई कम्पोष्ट मल बनाएर प्रयोग गर्दा फोहोर व्यवस्थापन हुने बताउनुभयो । “मेहनेतसाथ उत्पादन गरेको तरकारी आफूले खाँदा आनन्द आउँछ”, उपप्रमुख गुरुङले भन्नुभयो, “तरकारी किन्दा हुने खर्च पनि बचत हुन्छ ।”

पोखरा-५ जिरो किलोमिटर निवासी दुर्गा अधिकारीले २० वर्षदेखि करेसाबारीमा तरकारी खेती गर्दै आउनुभएको छ । दुई वर्षअघि घरको तला थपेपछि करेसाबारीमा घरको ओझेलले तरकारी हुन छाड्यो । विकल्पमा उहाँले कौसी खेती सुरु गर्नुभयो । अहिले करेसाबारीमा हुने भन्दा बढी तरकारी उत्पादन उहाँको कौसीमा हुने गरेको छ ।

पोखरा महानगरपालिका कृषि तथा आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले केही वर्षदेखि पोखराको सहरी क्षेत्रमा कौसी तथा करेसाबारी खेतीबाट वार्षिक रु २४ देखि २५ करोडको तरकारी उत्पादन हुने गरेको बताउनुभयो । उहाँले पोखराको सहरी क्षेत्रमा ३५ हजार परिवारले कौसी तथा करेसाबारीमा तरकारी खेती गर्दै आएको जानकारी दिनुभयो ।

कौसी खेतीलाई बढवा दिन पोखरा महानगरपालिकाले वडा–वडामा कृषि सञ्जाल गठन गरेको छ । तालिममा कौसी खेती कृषकले आ-आफ्ना अनुभव साटेका छन् ।

महानगरले कौसीखेती गर्ने किसानलाई मल प्रविधि, बिरुवा, गमला, कोकोपिट, कम्पोष्ट विन लगायतमा ५० प्रतिशत अनुदान दिँदै आएको छ ।

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

0

काठमाडौँ: सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र पेसागत वरिष्ठ अधिवक्ता तथा अधिवक्तामाथि कुनै प्रकारको निराधार एवं आपत्तिजनक लाञ्छना लगाउने कार्य नगर्न आग्रह गरेको छ ।

मुद्दाका विषयमा विभिन्न सामग्री प्रकाशन तथा प्रसारण गरी सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र पेसागत वरिष्ठ अधिवक्ता तथा अधिवक्तामाथि कुनै प्रकारको निराधार एवं आपत्तिजनक लाञ्छना लगाउने कार्य जो कसैबाट भए पनि निन्दनीय हुने सर्वोच्च बारले जनाएको हो ।

सर्वोच्च बारका सचिव श्यामकुमार खत्रीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ, “स्वतन्त्र न्यायपालिका र कानुन व्यवसायमाथि आँच आउने गरी कोही कसैबाट हुने कुनै क्रियाकलाप सह्य नहुने र त्यसविरुद्ध बारले अग्रमोर्चामा रही स्वतन्त्र न्यायपालिका र कानुन व्यवसायीको हकहितको रक्षार्थ एकजुट भएर लड्ने सम्बन्धित सबैलाई अवगत गराउन चाहन्छौँ ।”

यही वैशाख १४ गते सिधाकुरा डट कमबाट प्रकाशित तथा प्रसारित अडियो सम्बन्धमा सही, सत्य, तथ्य कुरा तुरुन्त छानबिन गरी वास्तविक तथ्य बाहिर ल्याएर दोषीमाथि तुरुन्तै कारबाही गर्न माग गरिएको छ । सर्वोच्च बारले सर्वोच्च अदालतको संस्थागत धारणा तत्काल सार्वजनिक हुनुपर्ने भनी जोड्दार रुपमा माग गरेको छ ।

प्रधानमन्त्रीद्वारा देशकै सर्वाधिक ठूलो विद्युत् सबस्टेसन उद्घाटन

0

कीर्तिपुर (काठमाडौँ): प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजधानीको चन्द्रागीरि नगरपालिका-८ स्थित हालसम्म देशकै सर्वाधिक ठूलो मातातीर्थ दुई सय २० केभी सबस्टेसन तथा मर्स्याङदी-काठमाडौँ दुई सय २० केभी प्रसारण लाइनको उदघाटन गर्नुभएको छ ।

काठमाडौँ उपत्यकाको बढ्दो विद्युत् माग पूर्ति गर्न र मर्स्याङदी नदी करिडोरमा उत्पादन हुने बिजुलीलाई काठमाडौँसम्म लैजान उक्त सबस्टेसन र विद्युत् प्रसारण लाइन प्रयोग हुनेछन् । अब उत्पादन हुने विद्युत् परिमाणलाई हाल रहेको एक सय ३२ केभी क्षमताको प्रसारण लाइनले धान्न नसक्ने अवस्था छ ।

कूल ८३ किलोमिटर लामो काठमाडौँ-मर्स्याङदी प्रसारणलाइन तनहुँ, गोरखा चितवन र धादिङ हुँदै काठमाडौँ ल्याइएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले केही वर्षयता उत्साहजनक ढङ्गले वृद्धि भएको विद्युत् उत्पादनअनुरुप आन्तरिक खपतलाई गुणात्मक ढङ्गले बढाउन र बचत भएको विद्युत्लाई निर्यात गर्न मातातीर्थ सबस्टेसन र मस्र्याङ्दी-काठमाडौँ दुई सय २० केभी प्रसारण लाइन महत्वपूर्ण पूर्वाधार भएको बताउनुभयो ।

उत्पादनमा वृद्धि भए पनि हिउँदयाममा कम उत्पादनका कारण आयात गर्नुपर्नेजस्तो असन्तुलित स्थिति अन्त्य गर्न कर्णाली चिसापानी, माथिल्लो अरुणजस्तो ठूला परियोजना र दूधकोशीजस्तो जलाशययुक्त परियोजना अघि बढाइएको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो ।

उत्पादनसँगै विद्युत्को आन्तरिक खपत बढाउन यससम्बन्धी कार्ययोजना अघि बढाइएको जानकारी उहाँले दिनुभयो । आगामी एकदेखि डेढ वर्षभित्र देशमा शत्प्रतिशत विद्युतीकरण गरिने उहाँले बताउनुभयो ।

छिमेकी मुलुकहरुसँग भएको विद्युत् सम्झौताले उत्पादित विद्युत्को बजार सुनिश्चित गरेको उहाँको भनाइ थियो । भारत र बङ्गलादेशसँग यससम्बन्धी सम्झौतामा हस्ताक्षर भइसकेको र उत्तरमा चीनतर्फ पनि विद्युत् निर्यात गर्न चिलिमे केरुङ प्रसारण आयोजना अघि बढाइने जानकारी प्रधानमन्त्रीले दाहालले दिनुभयो ।

विश्वव्यापी मौसम परिवर्तनबाट देशको विद्युत् उत्पादन केन्द्रमा पर्न सक्ने असरबाट जोगिन आवश्यक सतर्कता अपनाउने र अन्तर्राष्ट्रिय समुदायको ध्यान यससम्बन्धमा आकर्षित गर्न थालिएको उहाँले स्पष्ट पार्नुभयो ।

“विद्युत् आयोजना निर्माणका क्रममा आउने वन र जग्गा प्राप्तिसम्बन्धी व्यवधानलाई हटाउन विद्यमान कानुनलाई विकास निर्माणको बाधक नभई साधक बनाइनेछ,” प्रधानमन्त्री दाहालले भन्नुभयो ।

उत्पादनलाई थप गति दिन हाल चलिरहेको लगानी सम्मेलनमा विद्युत् उत्पादन र प्रसारण लाइन निर्माणलाई प्राथमिकताका साथ राखिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत्को खुद निर्यातक देश बन्दै गरेको अवस्थामा मातातीर्थ सबस्टेसन र काठमाडौँ-मातातीर्थ सबस्टेसन लाइन समृद्धिको सूचक भएको बताउनुभयो ।

सरकार आगामी १२ वर्षभित्र २८ हजार सात सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यतर्फ अघि बढेको मन्त्री बस्नेतको भनाइ छ । उहाँले उत्पादित विद्युत्मध्ये ५० प्रतिशत देशभित्रै खपत गर्ने र ५० प्रतिशत निर्यात गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो ।

यसैगरी, विद्युत् उत्पादनमा जनतालाई प्रत्यक्ष सहभागी बनाउन ‘जनताको जलविद्युत्’ जस्ता कार्यक्रमलाई स्थानीय सरकारमार्फत अघि बढाइने उहाँले बताउनुुभयो ।

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश

0

काठमाडौँ: काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलन २०२४ ले नेपालमा वैदेशिक लगानी भित्र्याएर मुलुकको समृद्धिका आधार पहिल्याउने सवालमा साझा राजनीतिक सन्देश दिएको छ । सत्ता गठबन्धन र विभिन्न विषयमा राजनीतिक उतारचढाव हुने गरे पनि आर्थिक समृद्धि र विकासका लागि लगानीकर्तालाई प्रोत्साहन र सुरक्षा दिन सरकार र विपक्षी दलले एकै मञ्चबाट आव्हान गर्नुले एकताबद्ध सन्देश प्रवाह भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट आज उद्घाटन गरिएको लगानी सम्मेलनमा सरकारले विदेशी लगानीकर्तालाई सबल नियामक ढाँचा, दोहोरो करमुक्ति, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रतिस्पर्धात्मक कर्पोरेट करलगायत धेरै विषयमा प्रोत्साहन दिने घोषणा गरेको छ । उद्घाटनसत्रमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधिले पनि मन्तव्य दिँदै सम्मेलनले नेपालमा लगानी वृद्धिका लागि सकारात्मक भाव सिर्जना गरेको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले नेपाल सरकारले हालै द्विपक्षीय लगानी सम्झौताको ढाँचालाई स्वीकृत गरेको र यसले द्विपक्षीय लगानीको संरक्षण र प्रवद्र्धन गर्ने बताउनुभएको छ । विभिन्न दललाई प्रतिनिधित्व गर्ने पूर्व अर्थमन्त्री, आर्थिक विषयका जानकार सांसदहरु समेत विषयगत सत्रहरुमा वक्ताका रुपमा सहभागी सम्मेलनको दोस्रो दिन समापनसत्रमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ ।

सम्मेलनको पहिलो दिन अर्थमन्त्री वर्षामान पुनले नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवद्र्धन गर्न कानुनी सुधारका क्षेत्रमा हालै गरिएका प्रयासबारे अवगत गराउँदै लगानीका लागि तयार भएका परियोजनासहित विभिन्न क्षेत्रका आयोजनाको विस्तृत प्रदर्शनी गर्नु सम्मेलनको उद्देश्य रहेको उल्लेख गर्नुभएको छ ।

सम्मेलनको पहिलो सत्रमा वक्तासमेत रहनुभएका पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले रासससँग कुरा गर्दै नेपालका राजनीतिक दलहरु गठबन्धनका हिसाबले फेरबदल भइरहे पनि लगानीसम्बन्धी कानुन र नीतिहरु हेरफेर हुँदैनन् भन्ने सन्देश सम्मेलनले दिएको प्रतिक्रिया दिनुभयो । “दलहरुले हामी फेरि राख्छौँ तर हाम्रा नीति फेरिदैँदनन् भन्ने सन्देश सम्मेलनबाट दिएका छन् । लगानी सम्मेलनमा सम्झौता हुने त होइन तर यसले एक प्रकारको मनस्थिति बनाउने काम गर्छ”, डा खतिवडाले भन्नुभयो, “गत लगानी सम्मेलनका निष्कर्षहरुलाई कोभिड १९ को महामारी र सरकार परिवर्तनका कारण प्रभावकारीरुपमा अगाडि बढाउन सकेका थिएनौँ । अहिले यति ठूलो सहभागितामा तेस्रो लगानी सम्मेलन भएको छ । पक्कै केही न केही परिणाम आउँछ भन्ने आशा लागेको छ ।”

नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नरसमेत रहेका डा खतिवडाले सम्मेलनबाट आर्थिक क्षेत्रमा रहेको निराशाबीच सरकार केही गर्दैछ भन्ने सन्देश मिल्नुका साथै दातृ निकाय र लगानीकर्तालाई आशा जगाएको बताउनुभयो । यसअघिका सन् २०१७ र २०१९ का लगानी सम्मेलन केही हदसम्म वित्तीय स्रोत जुटाउन सफल भए पनि सन्तोषप्रद नरहेको टिप्पणी आएका बेला यस पटकको सम्मेलनले नेपालमा लगानीको अवसर र सम्भावना खोज्न नयाँ अवसर सिर्जना गर्ने निजी क्षेत्रका प्रतिनिधिको भनाइ रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारी सदस्य डा रामशरण थपलियाले लगानीका क्षेत्र (दायरा) बढाउन र लगानीकर्ताको लगानीलाई शान्ति सुरक्षा दिन सबल कानुनको आवश्यकता औल्याउँदै आज जारी भएको लगानी सहजीकरणसम्बन्धी अध्यादेशले केही हदसम्म सम्बोधन गरेको प्रतिक्रिया दिनुभयो । “तर यो अध्यादेश मात्रै पर्याप्त छैन । सरकारले लगानीकर्ताप्रति फराकिलो छाति बनाएर व्यवहार गर्नुपर्छ । विगतका लगानी सम्मेलनका प्रतिबद्धता र कार्यान्वयनका पक्षमा पनि समीक्षा हुनुपर्छ ।’, पर्यटन व्यवसायी डा थपलियाले भन्नुभयो, “सम्मेलन सकिएपछि पनि यसप्रतिको चासो र चिन्ता हुनुपर्छ । सम्मेलन सकिएपछि बेवास्ता गर्नुहुन्न ।”

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरले लगानी सम्मेलन हुनु राम्रो अभ्यास भए पनि यसको तयारी पर्याप्त नभएको जनाउँदै लगानीमैत्री कानुनमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले आज जारी भएको अध्यादेशमा पनि कतिपय सहजीकरणका विषय नआएको टिप्पणी गर्दै यस्ता कानुन संसदबाटै आउनुपर्ने बताउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर कँडेलले पनि लगानी सहजीकरण सम्बन्धी अध्यादेशलाई आपसी छलफल र गृहकार्य गरे अलि अगाडि ल्याउन सकिएको भए अझ राम्रो हुन्थ्यो भन्नुभयो । “लगानी र पर्यटनका लागि नेपाल उपर्युक्त छ । यहाँ धेरै उद्योग, धन्दा र कलकारखानाको विकास आवश्यक छ । विदेशीले पनि यस्तै अवसर हेरिरहेका छन् । वरिष्ठ उपाध्यक्ष कँडेलले भन्नुभयो, “तर राजनीतिक स्थितिमा हुने परिवर्तनले लगानीमा सुनिश्चितता देखिएको छैन । लगानीकर्ताले राज्यबाट लगानीको सुरक्षा र लाभ चाहेका छन् । त्यसको सुनिश्चितता सरकारबाट गरिनुपर्छ ।”

लुम्बिनीको तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध

0

काठमाडौँ: विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको बताएको छ ।

आगामी केही दिनसम्म देशभरको तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मीबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । आजदेखि आगामी पाँच दिनसम्मका लागि विभागले शनिबार अपराह्न जारी गरेको तातो लहर ‘हिटवेभ’सम्बन्धी विशेष ‘बुलेटिन’मा देशको पहाडी भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्नसक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुनसक्ने भएकोले घरभित्रै रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नबस्ने, हल्का सुती कपडा लुगा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पटक–पटक पानी तथा जुस, सर्वतलगायत प्रशस्त मात्रामा तरल पदार्थ पिउने र स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मी नियमित सम्पर्कमा रही सुझाव लिन विभागले अनुरोध गरेको छ ।

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते

0

गुल्मी: जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।

लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडकखण्डमा रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको लु१च ४३२० नम्बरको जिप गए राति दुर्घटना हुँदा स्थानीय ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोख्रेलले जानकारी दिनुभयो ।

दुर्घटनामा सत्यवति–५ का ३१ वर्षीय कृष्ण थापा, वडा नं ४ का ३५ वर्षीय यसबहादुर बुढाथोकी, ४० वर्षीय खेमु श्रीस, ६० वर्षीय दुर्गाबहादुर राना, ३१ वर्षीय भूपेन्द्रदेव खप्तरी थापा, ५३ वर्षीय पदमबहादुर बुढाथोकी, ३१ वर्षीय भरत बुढाथोकी, २६ वर्षीय मिलन राना, २६ वर्षीय ठगबहादुर बुढाथोकी, ३४ वर्षीय घनश्याम बुढाथोकी, ५६ वर्षीय चीनबहादुर राना र चालक २९ वर्षीय शङ्कर विक घाइते भएको प्रहरी नायब उपरीक्षक पोख्रलले बताउनुभयो । घाइते चार जनाको पाल्पा र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

सहिद लखन थापाको सालिक निर्माण

0

भरतपुर (चितवन): नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा सालिक स्थापना गरिएको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सालिकको अनावरण गर्दै सहिदको बलिदानबाट देशमा परिवर्तन सम्भव भएको बताउनुभयो । उहाँले सहिदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षाका निम्ति सबै जुट्नुपर्नेमा जोड दिनुभयो । उहाँले लखन थापा पार्क निर्माणमा महानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

लखन थापा पार्क व्यवस्थापन समितिमार्फत साढे तीन फिट अग्लो सालिक निर्माण गरिएको हो । सालिक निर्माणका लागि महानगरले रु ११ लाख ४९ हजार प्रदान गरेको थियो । सालिक निर्माणमा रु १३ लाख खर्च भएको र बाँकी रकम स्थानीयले सहयोग व्यहोरेका समितिका अध्यक्ष निलकुमार मगरले जानकारी दिनुभयो । उहाँले सालिक स्थापनासँगै रामनगरमा बृहत् पार्क निर्माणको योजना रहेको बताउनुभयो । बरण्डाभार जङ्गल क्षेत्रको २१ बिघा जग्गालाई वनभोजस्थल बनाउन लागेको उहाँले बताउनुभयो ।

विसं १८९१ मा गोरखाको काहुले भङ्गारमा जन्मनुभएका लखन थापा १९३३ को फागुन २ मा सहिद हुनुभएको हो । सरकारले उहाँलाई २०७३ असोज ३ गते पहिलो सहिद घोषणा गरेको हो ।

एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै

0

काठमाडौँ: मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आज यहाँ तेस्रो लगानी सम्मेलन हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुहुने सम्मेलनमा लगानीका निम्ति एक सय ५१ परियोजना प्रस्तुत गरिँदै छन् ।

नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिने छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन् भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने छ ।

भोलि सोमबार समापन हुने सम्मेलनको पहिलो दिन उद्घाटन सत्र र दुईवटा मुख्य सत्र हुनेछन् । दोस्रो दिन ११ वटा समानान्तर सत्र सञ्चालन गरिनेछ । सम्मेलनका क्रममा लगानीकर्ताले प्रधानमन्त्री र अर्थमन्त्रीसँग साक्षात्कार गर्ने व्यवस्था मिलाइएको छ । देशको आर्थिक वृद्धिको वाहक निजी क्षेत्रलाई सहआयोजक बनाएर सरकारले सम्मेलन आयोजना गरेको हो ।

उद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक समिति संयोजक तथा अर्थमन्त्री वर्षमान पुन, पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, भारतको वाणिज्य एवं उद्योगमन्त्री पीयूष गोयल, संयुक्त अधिराज्यको एसिया–प्रशान्त मामिला राज्यमन्त्री आन्मुरी ट्रुभेलियन तथा अफ्रिका विकास मामिला राज्यमन्त्री एन्ड्रु मिचेलल, संयुक्त राष्ट्रसङ्घीय व्यापार तथा विकास (अङ्कट्याड)का महासचिव रेबेका ग्रेन्सपान र चिनियाँ अन्तरराष्ट्रिय विकास सहयोग नियोग अध्यक्ष लु चाउहुईले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा एसियाली विकास बैंक (एडिबी)का उपाध्यक्ष यिङमिङ याङ, एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)का कार्यवाहक उपाध्यक्ष रजत मिश्र, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, आइटीसी लिमिटेड इन्डियाका कार्यकारी निर्देशक तथा प्रमुख वित्त अधिकृत सुप्रतिम दत्ता र अमेरिकी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अतुल केशपले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

यसैगरी नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, भारतीय कम्पनी सतलज जलविद्युत् निगमका अध्यक्ष सुशील शर्मा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा लगानीका अवसर, त्यसबाट प्राप्त हुने प्रतिफललगायत लगानीका तुलनात्मक क्षेत्रबारे जानकारी दिनुहुनेछ ।