Saturday, May 9, 2026
Home Blog Page 83

राष्‍ट्र बैँकले आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक

0

काठमाडौँ, फागुन १८ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारणअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ।

त्यसैगरी युरो एकको खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ ९० पैसा र बिक्रीदर १९६ रुपैयाँ ७१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८९ रुपैयाँ ७२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३१ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १८ पैसा र बिक्रीदर २१ रुपैयाँ २७ पैसा, साउदी रियाल एकको खरिददर ३८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४० रुपैयाँ ०२ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४ रुपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६ रुपैयाँ १५ पैसा, डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९७ पैसा र बिक्रीदर २३ रुपैयाँ ०६ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ४८ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ८८ पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ३८ पैसा रहेको छ।

यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले यो विनिमयदर आवश्यक अनुसार जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर फरक हुनसक्ने र अद्यावधिक विनिमयदर बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

पश्चिमी वायुको आंशिक प्रभाव, केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

0

काठमाडौं – हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने ती प्रदेशका पहाडी क्षेत्रसहित अन्य हिमाली भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भाग र बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।

आज राति तराईका थोरै स्थानमा तुँवालो लाग्ने अनुमान छ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहनेछ। साथै, कोशी प्रदेशको पहाडी तथा हिमाली क्षेत्र र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

काठमाडौँ–२ मा कुन्ती पोखरेलको उदय, चुनावी प्रतिस्पर्धा रोचक मोडमा

0

काठमाडौँ – प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ को प्रतिस्पर्धा झनै रोचक बन्दै गएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य बनेकी युवा उद्यमी कुन्ती पोखरेल यस क्षेत्रमा चर्चामा रहेकी उम्मेदवार हुन्।

एक दशकभन्दा बढी समयदेखि राप्रपाको राजनीतिमा सक्रिय पोखरेल राजनीतिसँगै व्यवसाय र सामाजिक क्षेत्रमा समेत परिचित नामका रूपमा चिनिन्छिन्। महिला हिंसाविरुद्धका अभियान र राष्ट्रिय गैरसरकारी संस्था समन्वय विभागको नेतृत्वमार्फत उनले गरेको कार्यले स्थानीय तहमा उनको उपस्थिति मजबुत बनाएको समर्थकहरूको दाबी छ।

उनको चुनावी अभियानमा देखिएको सक्रियता र घरदैलो कार्यक्रमका क्रममा पाएको प्रतिक्रियाले क्षेत्रको प्रतिस्पर्धालाई थप चासोको विषय बनाएको छ। स्थापित नेताहरूलाई चुनौती दिने उनको अभियानले परिवर्तन खोजिरहेका मतदातालाई आकर्षित गरेको विश्लेषण गरिएको छ।

पटक–पटक चुनाव जितेर पनि विकासमा अपेक्षित योगदान नगरेको आरोप लाग्दै आएका उम्मेदवारप्रति असन्तुष्टि रहेको जनमतलाई लक्षित गर्दै पोखरेलले “सेवामुखी राजनीति” को नारालाई अघि सारेकी छन्। राजनीतिलाई पेशा नभई समाजसेवा मान्ने उनको अभिव्यक्तिले मतदातामाझ विश्वास बढेको समर्थकहरू बताउँछन्।

राप्रपाको ‘हिन्दू राष्ट्र’ र ‘राजसंस्था’ पुनर्स्थापनाको एजेन्डासहित मैदानमा उत्रिएकी पोखरेलले धर्म, संस्कृति र विकासलाई जोडेर आफ्नो भिजन प्रस्तुत गरिरहेकी छन्। यसले युवा तथा पाका दुवै पुस्तामा बहस सिर्जना गरेको देखिन्छ।

निर्वाचन मिति नजिकिँदै जाँदा काठमाडौँ–२ मा प्रतिस्पर्धा कसिलो बन्दै गएको छ। मतदाताको अन्तिम निर्णय जे भए पनि यसपटकको चुनावले यस क्षेत्रमा नयाँ र वैकल्पिक राजनीतिक शक्ति उदाउने संकेत दिएको छ।

ओखलढुङ्गामा अस्मिता थापाको पक्षमा जनलहर, महिलाको उम्मेदवारीले राजनीतिक माहोल ततायो

0

ओखलढुङ्गा – प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा ओखलढुङ्गामा अस्मिता थापाको पक्षमा उल्लेखनीय जनसमर्थन देखिएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जिल्लाको इतिहासमै पहिलोपटक प्रमुख उम्मेदवारका रूपमा महिलालाई अघि सारेपछि स्थानीय तहमा नयाँ उत्साह र चासो बढेको छ। “आफ्नै छोरी–चेली”लाई जिताउनुपर्छ भन्ने भावनाले विशेषगरी महिला मतदाता र युवावर्ग सक्रिय देखिएका छन्।

विगतको निर्वाचन परिणामअनुसार २५ हजार २४५ मतसहित एमाले जिल्लामा पहिलो शक्तिका रूपमा रहेको छ। यसपटक पार्टीभित्र देखिएको एकता, संगठनको सक्रियता र नयाँ मतदाताको आकर्षणले चुनावी समीकरण थप रोचक बनेको विश्लेषण गरिएको छ। केही नेताको बहिर्गमन भए पनि निष्क्रिय कार्यकर्ताको पुनःसक्रियता र स्वतन्त्र मतदाताको झुकावले त्यसको असर न्यून हुने दाबी पार्टी वृत्तमा गरिएको छ।

उम्मेदवार थापाले व्यक्तिगत आलोचना र आरोप–प्रत्यारोपभन्दा विकास, सुशासन र समावेशी नेतृत्वलाई प्राथमिकतामा राख्दै चुनावी अभियान अघि बढाएकी छन्। यसले अनिर्णित मतदातासमेत प्रभावित भएको स्थानीय विश्लेषकहरूको भनाइ छ। विशेषगरी सिद्धिचरण, मोलुङ, लिखु र चम्पादेवी क्षेत्रमा एमालेको प्रभाव बलियो देखिएको बताइन्छ।

निर्वाचनको अन्तिम चरणमा देखिएको जनउत्साहले ओखलढुङ्गाको राजनीतिक वातावरणमा नयाँ तरंग सिर्जना गरेको छ। परिणाम के आउँछ भन्ने अन्तिम निर्णय मतदाताको हातमा भए पनि यसपटकको चुनावले जिल्लामा महिलाको नेतृत्वबारे सकारात्मक बहस सुरु गराएको छ।

मध्यपूर्व तनावपछि एयरस्पेस बन्द, खाडीका उडानहरू व्यापक रूपमा स्थगित

0

काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो सैन्य तनावका कारण विभिन्न देशहरूले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेका छन्। इरानले अमेरिकी सैन्य अड्डा लक्षित गर्न थालेपछि क्षेत्रीय सुरक्षा जोखिम बढेको भन्दै एयरस्पेस असुरक्षित घोषित गरिएको हो। त्यसको प्रभावस्वरूप खाडीका प्रमुख एयरलाइन्सहरूले आफ्ना उडानहरू रद्द वा स्थगित गरेका छन्।

नेपाल एयरलाइन्सले दुबई, दोहा र दमाम गन्तव्यका उडान अर्को सूचना नआउन्जेलसम्म स्थगित गरेको जनाएको छ। यात्रुहरूलाई आधिकारिक वेबसाइट वा सामाजिक सञ्जालमार्फत अद्यावधिक जानकारी लिन आग्रह गरिएको छ।

flydubaiले आइतबार जारी विज्ञप्तिमा मार्च १ दिउँसो ३ बजेसम्म दुबईतर्फका सबै उडान स्थगित गरिएको जनाएको छ। कम्पनीले यात्रु तथा चालक दलको सुरक्षा नै पहिलो प्राथमिकता भएको उल्लेख गरेको छ।

Emiratesले पनि दुबईमा हुने उडानहरू अस्थायी रूपमा बन्द गरेको छ। प्रभावित यात्रुले ७२ घण्टाभित्र पुनः बुकिङ वा रकम फिर्ता लिन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

Etihad Airwaysले अबुधाबीमा हुने उडानहरू मार्च २ बिहान २ बजेसम्म स्थगित गरिएको जानकारी दिएको छ। प्रभावित यात्रुलाई मार्च १५ सम्म पुनः बुकिङ वा पूर्ण रकम फिर्ताको विकल्प उपलब्ध गराइएको छ।

Air Indiaले पनि दिल्ली–लन्डन, बर्मिङ्घम, एम्स्टर्डम, ज्युरिख, मिलान, भियना, कोपेनहेगन, फ्राङ्कफर्ट, मुम्बई–लन्डन र बेंगलुरु–लन्डन उडानहरू रद्द गरेको जनाएको छ।

त्यसैगरी Qatar Airwaysले कतारी हवाई क्षेत्र बन्द भएपछि दोहाबाट हुने सबै उडान अस्थायी रूपमा रोकिएको जनाएको छ। कतार नागरिक उड्डयन प्राधिकरणले हवाई क्षेत्र पुनः सञ्चालन गर्ने निर्णय गरेपछि मात्रै उडान पुनः सुरु हुने कम्पनीले स्पष्ट पारेको छ।

बढ्दो क्षेत्रीय संकटका कारण हवाई यात्रुहरूलाई यात्रा अघि आफ्नो उडान स्थिति अनिवार्य रूपमा जाँच गर्न सम्बन्धित एयरलाइन्सहरूले आग्रह गरेका छन्।

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु दाबी, क्षेत्रभर व्यापक आक्रमण र क्षति

0

काठमाडौं । इरानको सरकारी सञ्चारमाध्यमले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको दाबी गरेको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत खामेनीको मृत्यु भएको उल्लेख गरेका थिए।

अमेरिका र इजरायलले शनिबार इरानमाथि व्यापक आक्रमण गरेपछि खामेनीको मृत्युको खबर सार्वजनिक भएको हो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले तेहरानस्थित खामेनीको निवास शक्तिशाली आक्रमणमा ध्वस्त भएको र ८६ वर्षीय धर्मगुरु जीवित नरहेको संकेतहरू रहेको बताएका थिए।

BBC भेरिफाइले स्याटेलाइट तस्बिरमार्फत तेहरानस्थित ‘लिडरशिप हाउस’ कम्पाउन्डका विभिन्न भागमा गम्भीर क्षति पुगेको पुष्टि गरेको जनाएको छ। तस्बिरहरूमा कालो भएका भवन, भग्नावशेष र धुवाँ देखिएको उल्लेख गरिएको छ। यद्यपि आक्रमणको समयमा खामेनी त्यहाँ उपस्थित थिए कि थिएनन् भन्ने विषय तुरुन्त स्पष्ट भएको छैन।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले शनिबार बिहान खामेनी आफ्नो कार्यालयमा “काममा व्यस्त” रहेका बेला मृत्यु भएको जनाएको छ। सरकारी टेलिभिजन च्यानलहरूमा उक्त सम्बन्धी विज्ञप्ति प्रसारण गरिएको थियो। तर इरानी विदेश मन्त्रालयका प्रवक्ताले प्रारम्भिक चरणमा स्वास्थ्य अवस्थाबारे पुष्टि गर्न नसक्ने बताएका थिए।

आक्रमणको प्रत्युत्तरमा इरानले इजरायल र अमेरिकाका सैन्य अड्डा रहेका खाडी क्षेत्रका देशहरू—बहराइन, कुवेत, कतार र संयुक्त अरब इमिरेट्सतर्फ मिसाइल तथा ड्रोन प्रहार गरेको जनाएको छ।

इरानको सरकारी समाचार एजेन्सी इरनाका अनुसार तेहरानसहित कारज, इस्फहान, कोम, केरमानशाह, तब्रिज, लोरेस्तान, हमादान, इलाम, होर्मोज्गानलगायत देशका विभिन्न सहरमा विस्फोटका घटना भएका छन्। केही स्थानमा इन्टरनेट सेवा अवरुद्ध भएको पनि जनाइएको छ।

इरानी रेड क्रिसेन्टका प्रवक्ताका अनुसार ३१ मध्ये २४ प्रान्त आक्रमणबाट प्रभावित भएका छन्। राति २०:४५ बजेसम्म देशभर २०१ जनाको मृत्यु र ७४७ जना घाइते भएको विवरण सार्वजनिक गरिएको छ। होर्मोज्गान प्रान्तको मिनाबस्थित एक बालिका प्राथमिक विद्यालयमा भएको आक्रमणमा मात्रै कम्तीमा ८५ जनाको मृत्यु भएको दाबी गरिएको छ।

यसैबीच, इरानी राष्ट्रपति मसूद पेजेश्कियानको कार्यालय पनि प्रारम्भिक आक्रमणको लक्ष्य बनेको रिपोर्ट आएको छ। सरकारी टेलिभिजनले राष्ट्रपति सुरक्षित रहेको जनाएको छ।

घटनाले मध्यपूर्व क्षेत्रमा थप अस्थिरता र तनाव बढ्ने संकेत देखिएको छ। अन्तर्राष्ट्रिय समुदायले परिस्थितिलाई नजिकबाट नियालिरहेको जनाइएको छ।

मध्यपूर्वमा रहेका नेपालीको सुरक्षा उच्च प्राथमिकतामा: परराष्ट्र मन्त्रालय

0

काठमाडौं । परराष्ट्र मन्त्रालयले मध्यपूर्व क्षेत्रमा रहेका लाखौं नेपाली नागरिकको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको जनाएको छ।

अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वका कारण मध्यपूर्वका विभिन्न देशमा असुरक्षाको अवस्था सिर्जना भइरहेका बेला आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव कमल प्रसाद ढकालले पछिल्लो घटनाक्रमलाई मन्त्रालयले नजिकबाट निगरानी गरिरहेको जानकारी दिए।

उनले भने, “मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमलाई परराष्ट्र मन्त्रालयले नजिकबाट नियालिरहेको छ। त्यहाँ रहेका लाखौं नेपालीको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा छ। आवश्यक प्रक्रिया सुरु भइसकेका छन्।”

सचिव ढकालका अनुसार हालसम्मको विवरणअनुसार मध्यपूर्वमा रहेका नेपाली नागरिक सुरक्षित छन्। मध्यपूर्वका विभिन्न देशमा रहेका १० वटा नेपाली कूटनीतिक नियोगहरू त्यहाँको नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रही अवस्थाबारे जानकारी संकलन गरी मन्त्रालयलाई प्रतिवेदन पठाइरहेका छन्।

मन्त्रालयका अनुसार हाल मध्यपूर्व क्षेत्रमा करिब १७ लाख २९ हजार २८८ नेपाली कार्यरत वा बसोबास गर्दै आएका छन्। सरकारले आवश्यक परे थप कूटनीतिक पहल तथा समन्वयका माध्यमबाट नागरिकको सुरक्षाका लागि कदम चाल्ने जनाएको छ।

नेपाली कांग्रेस र कांग्रेस (बीपी)बीच एकता, सम्पूर्ण संरचना मूल पार्टीमा समाहित

0

काठमाडौं । नेपाली कांग्रेसनेपाली कांग्रेस (बीपी)बीच पार्टी एकता भएको छ। कांग्रेस (बीपी) औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित भएको जानकारी दिइएको हो।

कांग्रेस सभापति गगन थापाले सामाखुसीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस (बीपी)सँग एकता भएको घोषणा गरेका हुन्। सहमतिपत्रमा कांग्रेस (बीपी)का सभापति सुशीलमान शेरचन र कांग्रेस सभापति थापाले हस्ताक्षर गरेका छन्।

सहमति अनुसार नेपाली कांग्रेस (बीपी)को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा संगठनात्मक निकाय मूल पार्टी नेपाली कांग्रेसमा एकीकृत हुने घोषणा गरिएको छ। परिवर्तन, लोकतन्त्र, राष्ट्रिय एकता तथा जनअधिकारको संरक्षण र सुदृढीकरणप्रति प्रतिबद्धता जनाउँदै आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी एकीकरणको निर्णय गरिएको वक्तव्यमा उल्लेख छ।

साथै, विशेष महाधिवेशनमार्फत अघि सारिएको “बदलियो कांग्रेस, बदल्छौँ देश” भन्ने संकल्पलाई सुदृढ बनाउने उद्देश्यले पनि एकता गरिएको जनाइएको छ। कांग्रेस (बीपी)ले नेपाली कांग्रेसको आदर्श, मूल्य, मान्यता र सिद्धान्तप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ।

समाहित प्रक्रियासम्बन्धी अन्य आवश्यक व्यवस्थाहरू नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार संगठनात्मक संरचनामा उपयुक्त समायोजन गरी कार्यान्वयन गरिने बताइएको छ।

कांग्रेस (बीपी) समाहित भएपछि नेपाली कांग्रेस थप सशक्त भएको नेताहरूको दाबी छ। यसअघि गत पुस १३ गते बसेको कार्यसम्पादन समिति बैठकले विभिन्न कारणले पार्टी परित्याग गरेका नेताहरू तथा कार्यकर्तालाई मूल पार्टीमा फर्किन आह्वान गरेको थियो।

रञ्जिता श्रेष्ठलाई थुनामै राख्न अख्तियारको माग, सर्वोच्चमा निवेदन

0

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन दिएको छ।

यसअघि विशेष अदालतले श्रेष्ठलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उक्त आदेश त्रुटिपूर्ण रहेको ठहर गर्दै अख्तियारले बदर गराउन सर्वोच्चमा पुनरावेदन दिएको हो।

अख्तियारका अनुसार अभियोगको प्रकृति र प्रमाणका आधारमा उनलाई थुनामै राखेर मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढाइनु आवश्यक छ।

रञ्जिता श्रेष्ठ यसअघि नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्षसमेत रहेकी थिइन्। पछि उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भएकी हुन्।

अब यस विषयमा सर्वोच्च अदालतले गर्ने निर्णयलाई महत्वका साथ हेरिएको छ।

इरानमा रहेका सबै नेपाली सुरक्षित

0

काठमाडौँ । परराष्ट्र मन्त्रालयले इरानमा रहेका सम्पूर्ण नेपाली नागरिक सुरक्षित रहेको जनाएको छ। मन्त्रालयका अनुसार विभिन्न प्रयोजनका लागि इरानमा रहेका १२ जना नेपालीमध्ये दुई जना नेपाल फर्किसकेका छन् भने दुई जना स्वदेश फर्किने क्रममा रहेका छन्।

मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार हाल आठ जना नेपाली इरानमै रहेका छन् र उनीहरू सबै सुरक्षित छन्। उनीहरूसँग सम्बन्धित नेपाली दूतावास निरन्तर सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ।

मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको परिस्थितिलाई मन्त्रालयले नजिकबाट नियालिरहेको उल्लेख गर्दै हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

सकेसम्म घरभित्रै सुरक्षित बस्न, आवश्यक सावधानी अपनाउन, स्थानीय सुरक्षा निकायका निर्देशन पालना गर्न र आफू बसेको स्थानका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन मन्त्रालयले आग्रह गरेको छ। साथै, इजरायल र इरानका सम्बन्धित निकायको पूर्व स्वीकृतिविना यात्रा नगर्न तथा नेपालबाट ती देशतर्फ हुने सम्पूर्ण यात्रा स्थगित गर्न पनि अनुरोध गरिएको छ।