Monday, May 11, 2026
Home Blog Page 798

सगरमाथा आरोहण गर्न गएका केन्याका नागरिक मृत फेला, गाइड शेर्पा बेपत्ता

0

काठमाडौं। सगरमाथा आरोहणका लागि गएका केन्याका नागरिक मृत भेटिएका छन्।

पर्यटन विभागका अनुसार बिहीबार तेस्रो शिविरबाट सगरमाथातर्फ लागेका केन्याका नागरिक जोशुआ चेरुइयोट किरुई सगरमाथाको चुचुरो नजिक मृत अवस्थामा भेटिएका थिए । साथै उनीसँगै गएका नेपाली शेर्पा डवाङ शेर्पा सम्पर्कविहिन बनेका छन्।

उनीहरुले सगरमाथा आरोहण गरे नगरेको यकिन नभएको विभागले जनाएको छ। बिहीबार अपराहन्न २ बजेसम्म सम्पर्कमा नआएपछि चार अनुभवी माउन्टेन गाइडलाई परिचालन गरिएको र केन्याली नागरिक किरुई मृत भेटिएका थिए। साथै सम्पर्कमा नरहेका शेर्पाको अहिले पनि खोजीकार्य जारी रहेको विभागले जनाएको छ।

 

ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार

0

गलकोट (बागलुङ): वैधानिक रुपमा सिकार खेल्न पाइने नेपालकै एक मात्र सिकार आरक्ष ढोरपानटन सिकार आरक्षमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार भएको छ । दोस्रो सिकार याममा ढोरपाटन आरक्षले सिकार ब्लकमा वन्यजन्तु विभागको अनुमतिमा ११ नाउर, सात झारल र चार बनेलको सिकार गर्न अनुमति दिएको थियो । अनुमति पाएका तीन बनेलको सिकार गर्न नसकेको र एक नाउर र एक बनेलको सिकारका लागि अनुमति प्राप्त गरी राजश्व बुझाएका रसियन सिकारी सिकार खेल्नै नआएको ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी पशुपति अधिकारीले जानकारी दिनुभयो ।

सूचना अधिकारी अधिकारीका अनुसार विदेशी सिकारीले नाउर सिकारका लागि प्रतिस्पर्धाका आधारमा रु २१ लाख राजस्व बुझाएको र एक झारला लागि अधिकतम रु १८ लाख राजस्व बुझाएका थिए । उहाँले भन्नुभयो “दोस्रो वर्ष आरक्षमा सूचीकृत कम्पनीमध्ये पाँच कम्पनीमार्फत अमेरिका, रसिया, स्पेन, उज्बेकिस्तान, मेक्सिको र बुल्गेरियाका सिकारीले अनुमति पाएका थिए । यसवर्ष स्पेनका तीन, अमेरिकाका दुई, बुल्गेरियाका दुई, रसियाका दुई, मेक्सिकोका एक र उज्बेकिस्तानका एक सिकारी छनोट भएका थिए । सिकारीहरु बन्दोबस्तीका सामग्रीसहित गत फागुन १८ गतेदेखि सिकार खेल्न सुरु गरेका थिए ।

सिकार खेल्ने क्रममा नेपाली सहयोगीसहित आरक्षका कर्मचारी पनि विदेशी सिकारीसँग खटिनुभएको आरक्षका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिनुभयो । विभागले हरेक वर्ष नाउर र झारलको सिकारका लागि कोटा निर्धारण गर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार वर्षको पहिलो सिकार याम असोज–मंसिरमा आठ नाउर, चार झारल र आठ बनेलको सिकार गरिएको थियो । सिकारका आरक्षको क्षेत्रलाई सेङ्ग, बार्से, दोगाडी, घुस्तुङ, सुर्तिवाङ, सुनदह र फागुने सात ब्लकमा विभाजन गरिएको छ । ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज–मङ्सिर) पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको छ । आरक्षमा यसपटक नेपाल वाइल्डलाइफ एड्भेन्चर, हिमालय सफारिज, ग्लोबल सफारिज, नेपाल ट्राभल एक्पेडिसन र ओपन नेपाल वाइल्ड लाइफ सफारिजमार्फत सिकारी सिकार खेल्न अनुमति पाएका थिए । यसपटकको सबैभन्दा बढी सिकार घुस्तुङ, दोगाडी र सेङ्ग ब्लकमा सिकार भएको जनाइएको छ ।

विदेशी सिकारीसहितको समूहले १५ दिनभित्र तोकिएको ब्लकमा सिकार खेलिसक्नुपर्ने हुन्छ । जङ्गलमै बास बस्ने सिकारीले आरक्ष प्रवेश गरेपछि निर्धारित समयमा मात्रै सिकार खेल्न पाउँछन् । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकोप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक जना सिकारीले करिब ३० देखि ३५ लाखसम्म खर्च गर्ने गरेको आरक्ष कार्यालयले जनाएको छ । विस २०४४ सालमा स्थापना भएको सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको भएपनि आरक्षको मुख्य कार्यालय भने बागलुङको ढोरपाटन उपत्यकामा पर्छ । सिकार आरक्षको सुरक्षाका लागि २०७३ सालदेखि नेपाली सेनाले गर्दै आएको छ ।

चीनकाे ग्वान्जाओमा नेपालकाे पर्यटन प्रवर्द्धन

0

काठमाडौँ: छमेकी मुलुक चीनको सहर ग्वान्जाओमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्ड र प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा)ले संयुक्त रूपमा यही मे १६ देखि १८ तारिखसम्म ग्वान्जाओमा आयोजित ३२औँ ग्वान्जाओ इन्टरनेशनल ट्राभल फेयर (जिआइटीएफ)मा सक्रिय सहभागी भइ नेपालको पर्यटन प्रवर्द्धन गरिएको हो ।

नेपालको पर्यटन बजारका लागि चीन भारतपछिको दास्रो ठूलो गन्तव्य हो । साथै चीन विश्वको आउटवाउण्ड टुरिजममा शीर्षस्थानमा रहँदै आएको छ । चीनको कुल आउटबाउण्ड पर्यटकमध्ये एक प्रतिशत मात्रै पनि नेपाल ल्याउन सकियो भने पर्याप्त हुने जानकारहरु बताउँछन् ।

चीनबाट धेरैभन्दा धेरै चिनियाँ पर्यटक नेपालमा आकर्षित गर्न विभिन्न पर्यटन व्यापार मेला आयोजना हुँदै आएका छन् । दुई मुलुकबीच विभिन्न समयमा हुने कूटनीतिक भ्रमण र सांस्कृतिक भ्रमणले पर्यटन, संस्कृतिको माध्यमबाट सम्बन्धलाई थप प्रगाढ बनाइरहेको छ ।

हाल ग्वान्जाओबाट चीनको साउदर्न एयरलाइन्सले हरेक दिन एउटा उडान गरिरहेको छ आगामी जुन १ देखि दिनमा दुई वटा उडान गर्ने तयारी गरेको छ । नेपाल एयरलाइन्सले पनि कोरोना महामारी अघि तयारी गरे पनि कोरोना महामारीका कारण रोकिएको थियो ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्अनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जसमा चिनियाँ पर्यटकको सङ्ख्या ६० हजार ८७८ थियो । पछिल्लो समय नेपालले चिनियाँ पर्यटकलाई भिसा शुल्क नलिने घोषणा गरिसकेको छ । गत वैशाख १९ गतेदेखि नेपालीलाई साधारणतर्फ भिसा शुल्क नलाग्ने चिनियाँ राजदूतावासले जनाएको थियो । नेपालले सन् २०१६ देखि नै चिनियाँ नागकिरलाई निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ ।

सन् २०२४ मा चिनियाँ पर्यटक आगमन बढिरहेको छ । बोर्डकाअनुसार गत अप्रिलमा एक लाख ११ तीन सय ७६ विदेशी पर्यटकले नेपाल भ्रमण गरेकामा चीनबाट मात्रै नौ हजार सात सय ५० पर्यटक नेपाल आएका छन् । मार्चमा १२ हजार ९३, फेब्रुअरीमा नौ हजार एक सय ८० र जनवरीमा एक हजार चार सय ३६ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । कोरोना महामारीपूर्व सन् २०१९ मा एक लाख ६९ हजार पाँच सय ४३ चिनियाँ पर्यटक नेपाल आएका थिए ।

चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्न प्रभावकारी बजारीकरण जरुरी रहेको पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेससिंह बुडालले बताउनुभयो । “चीन संसारको सबैभन्दा ठूलो पर्यटन स्रोतबजार भएको र विभिन्न गन्तव्यहरूले चीनलाई प्राथमिकतामा राखी प्रवद्र्धन तथा आक्रामक बजारीकरण गरिरहेको परिवेशमा नेपालको प्रवर्द्धन प्रभावकारी बनाउन जरुरी छ”, उहाँले भन्नुभयो ।

नेपालका निजी क्षेत्रका सातवटा पर्यटन तथा हस्पिटालिटी व्यवसायीसहितको सहभागिता रहेको व्यापार मेलामा चीन र अन्य अन्तर्राष्ट्रिय देशबाट ४० हजारभन्दा बढी जनाले सहभागिता जनाएका थिए ।

पर्यटन बोर्डले मे १६ तारिखका दिन स्थानीय अप्रेटर्स तथा सहभागीमाझ नेपालको पर्यटन गन्तव्यबारे प्रस्तुतीकरण गरेको थियो । सोही दिन साँझ आयोजित ‘बायर्स नाइट’ कार्यक्रममा पाटा नेपाल च्याप्टरले चाइना ‘आउटबाउण्ड रिसर्च इन्टिच्युट’बाट पर्यटन प्रवर्द्धनका लागि समग्र भूमिका शीर्षकमा गोल्ड अवार्ड र जिआइटीएफ आयोजकबाट ‘द बेष्ट पार्टनर अवार्ड’ प्राप्त गरेको थियो । सोही अवसरमा नेपाल पर्यटन बोर्डले ‘मोस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेशन अवार्ड’ र जुगल होलिडेजले ‘प्रोडक्ट इन्नोभेसन’ शीर्षकमा गोल्ड अवार्ड प्राप्त गरेको छ ।

मे १७ तारिखमा आयोजित जिआइटीएफ ‘कन्फ्रेन्स’मा पाटा नेपाल च्याप्टरका कार्यसमिति सदस्य लाक्पाफुटी शेर्पा, पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेससिंह बुडाल र पर्यटन बोर्डका अधिकृत कुन्दन शर्माले ‘जलवायु परिवर्तनको परिप्रेक्षमा चिनियाँ पर्यटकहरूका लागि नेपालले प्रदान गर्ने दिगो पर्यटन उपजहरू’ शीर्षकअन्तर्गत समूहगत छलफलमा आमन्त्रित वक्ताको रुपमा सहभागिता जनाउनुभएको थियो । उक्त सेशनको सहजीकरण मकाउ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका प्रोफेसर डा टिमुदी लीले गर्नुभएको थियो ।

मेलामा सहभागी नेपाल बिग माउन्टेन ट्राभल कम्पनीका कार्यकारी निर्देशक सुजित रेग्मीले मेलामा नेपाल गन्तव्य प्रवर्द्धनका साथै पर्यटन व्यवसाय प्रवर्द्धनका हिसाबले प्रभावकारी भएको विश्वास व्यक्त गर्नुभयो । डेस्टिनागो टुर्स एण्ड ट्राभल्स प्रालिका कार्यकारी निर्देशक हिम्मत पुरीले महामारीपश्चात पहिलोपटक जिआइटीएफमा नेपालको सहभागिताले चिनियाँ अपरेटर्स र व्यापारसँग पुनः जोडिने अवसर मिलेको बताउनुभयो ।

होटल हिमालयका महाप्रबन्धक दीपेश केसीले मेलामा नेपालको सहभागिताले चिनियाँ बजारमा प्रवर्द्धन पुनः सुरु गर्न कोसेढुङ्गा भएको बताउनुभयो । चिनियाँ बजारमा नेपालको प्रवर्द्धनका लागि ‘सिट्रीप’, ‘टिकटक’, ‘विच्याट’ इत्यादिजस्ता विभिन्न अनलाइन प्लेटफर्महरूमा नेपालको डिजिटल उपस्थिति र प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो ।

गर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो

0

चितवन: अण्डाको मूल्य बढेपछि उत्साहित कुखुरापालक किसान गर्मीका कारण उत्पादन घटेपछि निरास भएका छन् । उत्पादनमा कमी आएसँगै अण्डाको लागत बढेको छ ।

नेपाल भेटेनरी एसोसिएसन वागमती प्रदेशका अध्यक्ष डा दीपक तिवारी यो समयमा कुखुराले दानापानी कम खाने र कमजोर हुने हुँदा रोगको जोखिम हुने बताउनुहुन्छ । गर्मीमा २० देखि २५ प्रतिशत उत्पादनमा ह्रास आउने गर्दछ । गर्मीसँगै एच नाइन रोगका कारण पनि उत्पादनमा गिरावट आएको छ । दिउँसो कुखुरालाई दाना नखुवाउन सुझाव दिँदै उहाँले उत्पादन घटेकाले किसानको लागत मूल्य बढेको जानकारी दिनुभयो ।

पोल्ट्री क्षेत्रमा लामो अनुभव सँगाल्नुभएका विज्ञ डा तिलचन्द्र भट्टराई उत्पादन घटेसँगै लागत मूल्य बढ्दा किसान र व्यवसायी प्रभावित भएको बताउनुहुन्छ । हाल एउटा अण्डा तयार गर्न रु १६ हाराहारी खर्च हुने गरेको छ । यसअघि अण्डाको लागत मूल्य रु १४.५ थियो ।

नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेल चर्काे गर्मी र रोगका कारण अण्डा उत्पादनमा कमी आएको बताउनुहुन्छ । दैनिक ५० देखि ६० लाख अण्डा उत्पादन हुँदै आएकोमा आधा घटेको उहाँ बताउनुहुन्छ ।

पोल्ट्री व्यवसायी मञ्च चितवनका अध्यक्ष रघुनाथ भट्ट किसानले लागत मूल्य पाउन नसकेका भन्दै अन्य वस्तुको तुलनामा अण्डाको मूल्य कम रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “धेरै किसान विस्थापित भए, अब पनि लागत मूल्य नपाए व्यवसाय ध्वस्त हुन्छ ।”

मञ्चका पूर्वअध्यक्ष राजेन्द्र लामिछाने पोल्ट्री व्यवसाय संवेदनशील भएकाले राज्यले यसलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

तल्लुबगर र गोतामकोट जोड्न भेरीमा बेलिब्रिज

0

त्रिवेणी (रुकुमपश्चिम): भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगर र रुकुमपश्चिमको आठबिसकोट–४ छरेबगर, गोतामकोट जोड्ने भेरी नदीमाथिको बेलिब्रिज उद्घाटन भएको छ । केही दिनअघि निर्माण सम्पन्न भई सञ्चालनमा आएको बेलिब्रिज पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले औपचारिक उद्घाटन गर्नुभएको हो ।

सांसद शर्माले तीन देश (भारत, नेपाल र चीन)को लाइफलाइनका रूपमा रहेको भेरी करिडोरमा निर्माण भएको यो पुलले यहाँको यातायात सेवालाई थप सहज र भरपर्दो बनाएको बताउनुभयो । उहाँले भेरी करिडोरमा निर्माणाधीन अन्य पुलको निर्माणसमेत समयमा सकिनुपर्ने बताउँदै सबै पुल निर्माण भएमा जाजरकोट, रुकुमपश्चिम र डोल्पाको यातायात सेवा थप प्रभावकारी हुनुका साथै तीन देशलाई जोड्न महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

गत वर्षको वैशाख ७ गते निर्माण अन्तिम चरणमा पुगेका बेला बेलिब्रिज भाँचिएको थियो । लापरवाहीपूर्ण तरिकाले पुलमा क्रेन चढाउँदा पुल भाँचिदा पुल निर्माण गरिरहेका भारतको बहराइचका दुईजना कामदारको मृत्यु भएको थियो भने सातजना कामदार घाइते भएका थिए ।

त्यसपछि पुल निर्माण अलपत्र परेको थियो । तर यति विल्डर्स निर्माण कम्पनीले पुल निर्माणमा लगानी गरेपछि निर्माण सम्पन्न भएको छ । पुल भाँचिएपछि निर्माण सम्पन्न गर्न रु ६५ लाख खर्च भएको यती विल्डर्सका अध्यक्ष भीमराज केसीले बताउनुभयो ।

सुरुमा पुल निर्माणको जिम्मा विसं २०७८ पुसमा हिम सगरमाथा खड्का कृष्ण जेभीले रु तीन करोड ८१ लाखमा लिएको थियो । यो बेलिब्रिजको गत शुक्रबार भेरी करिडोर कार्यालयको प्राविधिक टोलीले भारवाहन क्षमता परीक्षण गर्दा सफल भएको थियो । त्यसपछि शनिबारबाट बेलिब्रिज सञ्चालनमा आएको थियो । यो बेलिब्रिजले २५ टन थेग्नसक्ने क्षमताको छ ।

भेरी करिडोर कार्यालय जाजरकोटका प्रमुख सुनिल रञ्जितकारले भारत–नेपाल हुँदै चीन जोड्ने भेरी करिडोरअन्तर्गत तल्लुबगर बेलिब्रिज सञ्चालनमा आएसँगै अब डोल्पा जिल्ला सिधा सडक सञ्जाल जोडिएको बताउनुभयो । साथै भेरी करिडोरको यातायात सेवा थप सहज बनेको छ । यसबाट जाजरकोट, रुकुमपश्चिम र डोल्पाका हजारौँ नागरिक लाभान्वित भएका छन् ।

एमालेलाई निर्णायक शक्तिको रूपमा स्थापित गर्नुपर्छ: मुख्यमन्त्री अधिकारी

0

दमौली (तनहुँ): गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेकपा (एमाले) तनहुँ जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले पार्टीलाई देशकै सबैभन्दा ठूलो र निर्णायक शक्ति बनाउने अभियानमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

आगामी निर्वाचनमा तीनवटै तहमा एमालेको एकल बहुमत आउने गरी तयारी थाल्न कार्यकर्तालाई आग्रह गर्दै उहाँले भन्नुभयो, “आगामी निर्वाचनमा स्थानीय, प्रदेश र सङ्घमा बहुमत ल्याउने गरी काम गर्नुपर्ने लक्ष्यमा हिँडेका छौँ । यसका लागि सम्पूर्ण शक्ति लगाउनुपर्छ ।”

पार्टीका स्थायी कमिटी सदस्य रहनुभएका मुख्यमन्त्री अधिकारीले देश विकास, स्थिरता र आर्थिक समृद्धिका लागि एमालेलाई मूल शक्तिको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेशमा सरकार गठनको विषय सर्वोच्चमा विचाराधीन रहेको भन्दै सर्वोच्चको फैसला मानेर जानुको विकल्प नभएको उहाँले उल्लेख गर्नुभयो ।

प्रदेश सरकारले बजेट निर्माणको प्रक्रिया सुरु गर्न लागेको बताउँदै मुख्यमन्त्री अधिकारीले शुक्रबारदेखि सिद्धान्त र प्राथमिकताका विषयमा प्रदेशसभामा छलफल प्रारम्भ गरिने जानकारी दिनुभयो । उहाँले समाजवादको यात्रामा अगाडि बढ्ने क्रममा आइपर्ने बाधालाई पन्छाउँदै निरन्तर गन्तव्यतर्फ लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री अधिकारीले भ्रष्टाचारलाई ढाकछोप गर्ने, कानुनको दुरुपयोग गर्ने लगायतका काम कोही कसैले गर्न नहुनेमा जोड दिनुभयो । पार्टीभत्र कोही पनि सदस्य सहकारीको अपचलनमा रहेको भेटिए तत्कालै कारबाही गरिने उहाँको भनाइ छ ।

मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “हामी त्यस्ता व्यक्तिलाई संरक्षण गर्दैनौँ, पार्टीकै सहकारी विभागका सचिवको विषयमा कुरा आएपछि हामीले जिम्मेवारीबाट हटाएका छौँ ।” उहाँले प्रदेश सरकार प्रदेशलाई समृद्ध र विकासको गतिमा अगाडि बढाउन दृढ भएर लागेको उल्लेख गर्नुभयो ।

बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामा: प्रधानमन्त्री

0

ललितपुर: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमअनुरूप आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी रहेको बताउनुभएको छ ।

कोन्ज्योसोम गाउँपालिकाद्वारा आज यहाँ आयोजित त्रिमूर्ति प्रतिमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारको आगामी आवको नीति तथा कार्यक्रम र बजेटबाट कृषि क्षेत्रले पर्याप्त लाभ लिनसक्ने बताउनुभयो ।

उहाँले नीति तथा कार्यक्रममा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिएर नीतिगत व्यवस्था गरिएको स्पष्ट पार्नुभयो । सरकारले अघिल्लो महिनामात्रै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन उत्साहजनक रूपमा सम्पन्न गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले उक्त सम्मेलनमा ठोट्नेखोलाको पानी प्रयोग गरी उपत्यकावासीको पानीको समस्या समाधान गर्न विदेशी लगानीकर्ताका लागि परियोजनाको प्रारूप प्रस्ताव गरिएको जानकारी दिनुभयो ।

“मेरो विश्वास छ, उक्त प्रस्तावअनुरूप यस आयोजनाका निम्ति विदेशी लगानी जुट्नेछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “यसबाट पानीको बहुउपयोग हुने किसिमका बृहत् आयोजना सञ्चालन गर्न सम्भव हुनेछ ।” कोन्ज्योसोम गाउँपालिकाका केही वडालाई नयाँ सहरका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसका निम्ति आगामी दिनमा सम्भाव्यता अध्ययन हुँदै जाने बताउनुभयो ।

उहाँले यस क्षेत्रका लेले–चन्दनपुर, नल्लु–चौघरे–उन्युचौर–मानिखेल–गोटीखेल र बिर्खेधारा–दलचोकी–शङ्खु–इकुडोल गरी तीनवटा सडक दक्षिण ललितपुरको ‘लाइफ लाइन’का रूपमा विकास हुने क्रममा रहेको र यसले ललितपुरको दक्षिणी क्षेत्रको विकासमा गुणात्मक फड्को हान्ने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ उपत्यकाबाट नजिकको दूरीमा प्राकृतिक मनोरम दृश्यावलोकन गर्न सकिने स्थान कोञ्जोसोम भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ग्रामीण अर्थतन्त्र र पर्यटन प्रवर्द्धन गरेर आयआर्जन गर्न सकिने बताउनुभयो । उहाँले यस क्षेत्रमा पर्यटकको बसाइ लम्ब्याएर विदेशी मुद्रा आर्जनका निम्तिसमेत राजधानी नजिकका यस्ता पर्यटकीय गन्तव्यको विशिष्ट भूमिका रहने विश्वास व्यक्त गर्नुभयो ।

यो क्षेत्र कृषि, तरकारी खेती, पशुपालन, दूध र मासु उत्पादनका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, विविधिकरण र बजारीकरणका माध्यमबाट यस क्षेत्रका जनताले पर्याप्त लाभ लिन सक्ने बताउनुभयो । ललितपुर जिल्लाभित्र पर्ने अत्यन्त महत्त्वपूर्ण र मनोरम गाउँपालिकाका रूपमा स्थापित कोन्ज्योसोमले कृषि र पर्यटनमार्फत ग्रामीण अर्थतन्त्रको सवलीकरण एवं विकासमा रचनात्मक भूमिका खेल्दै आएको बताउँदै प्रधानमन्त्री दाहालले अग्र्यानिक कृषि उत्पादन, पर्यटकीय सम्भावनाको खोजी एवं गाउँपालिकाभित्र विद्यमान सबै साधन स्रोतको अधिकतम् उपयोगका निम्ति विभिन्न नीति, योजना र कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

“करिब ७८ प्रतिशत तामाङ समुदायको बसोबास रहेको यस कोन्ज्योसोम गाउँपालिकाको नामकरण स्थानीय पहिचान झल्किने गरी तामाङ भाषामा गरिएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “यसबाट गाउँपालिकाभित्रका विविधतायुक्त संस्कृतिको प्रवर्द्धन हुनुका साथै प्राकृतिक एवं सांस्कृतिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नसमेत महत्त्वपूर्ण योगदान पुग्दै आएको छ ।”

प्रधानमन्त्री प्रचण्डले स्थानीय भाषा, कला र संस्कृतिको प्रवर्द्धन गरी उत्पीडित वर्ग, जाति र समुदायको पहिचान र आत्मस्वाभिमान स्थापित गर्नुका साथै यस्ता रचनात्मक क्रियाकलापले पर्यटन प्रवर्द्धनमा समेत गुणात्मक योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । कोन्ज्योसोम प्रतिमा निर्माणमा सङ्घ, प्रदेश र स्थानीय तीनै तहको भूमिका र योगदान रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनै तहका सरकारहरूको संयुक्त लागत साझेदारीमा निर्माण गरिएको त्रिमूर्तिले यस क्षेत्रको ऐतिहासिकताको समेत प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चारमन्त्री शर्माद्वारा ‘गणतन्त्र दिवस तस्बिर प्रदर्शनी’ उद्घाटन

0

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्र दिवस–२०८१ का उपलक्ष्यमा राष्ट्रिय समाचार समिति (रासस) द्वारा आयोजित तस्बिर प्रदर्शनीको उद्घाटन गर्नुभएको छ ।

राससले गणतन्त्र दिवसका सन्दर्भमा ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकमा केन्द्रीय कार्यालय, भद्रकालीमा उक्त तस्बिर प्रदर्शनी आयोजना गरेको हो । प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्रसमेतका सहायतामा निर्मित एवं निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनाका तस्बिर समावेश छन् ।

विसं २०७२ को ‘गोरखा भूकम्प’बाट भत्किएका ऐतिहासिक धरोहरकोे पुनःनिर्माणपछिका संरचना, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत् उत्पादनलगायत विषयमा सङ्कलन गरी राससबाट सम्प्रेषित तस्बिर प्रदर्शनीमा राखिएका छन् । सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९० तस्बिर प्रदर्शनीमा समेटिएका छन् । राससले गत वर्ष गणतन्त्र दिवसका अवसरमा ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो ।

प्रदर्शनीमा ऊर्जा, विमानस्थन, पर्यटन, बाटोघाटो, सडक, पुल, स्वास्थ्य शिक्षाका संरचना, सम्पदा पुनःनिर्माण, तराईका हुलाकी मार्ग, मूलपानी क्रिकेट मैदान, काठमाडौँ–मधेस दू्रतमार्ग, थानकोट–नागढुङ्गा सुरुङमार्ग, सुनकोसी–मरिन डाइभर्सन बहुद्देश्यीय आयोजना, सौर्य प्यानल, टेलिफोनका फोरजी टावर, एकीकृत वस्ती, राष्ट्रिय गौरव, प्रदेश गौरवका आयोजनालगायतका तस्बिर समावेश छन् ।

मन्त्री शर्मालाई रासस परिसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राईलगायतले स्वागत गर्नुभएको थियो ।

 

नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा

0
सांकेतिक तस्बिर

राँझा (बाँके): हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ । नेपालगञ्जको नन्दनी मिलदेखि खजुरासम्म कालोपत्रको भएको छ ।

नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण पाण्डेका अनुसार एघार दशमलव ६ किलोमिटर चार लेन र सोह्र दशमलव दुई किलोमिटर दुई लेन गरी सत्ताइस दशमलव ६२ किलोमिटर सडक विस्तार २०८२ मङ्सिर २७ गतेभित्रमा सम्पन्न गर्ने गरी २०७९ माघ १५ गतेदेखि निर्माण थालिएको हो । शर्मा एण्ड कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक रु दुई अर्ब ७८ करोड २९ लाख निर्माणको ठेक्का जिम्मा पाएको हो । नन्दनी मिलदेखि सुरु भएको कालोपत्रको काम जानकी गाउँपालिका हुँदै खजुरा गाउँपालिका क्षेत्रमा धमाधम जारी छ ।

पूर्वराष्ट्रपति भण्डारीद्वारा उँभौलीको शुभकामना

0

काठमाडौँ: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको पर्व उँभौलीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किरात दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

भौगोलिक, जातीय, भाषिक एवं सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वको माध्यमबाट विविध जातजाति र समुदायबीच आपसी एकता, सद्भाव, सहिष्णुताको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास पूर्वराष्ट्रपतिले भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।

उँभौली पर्वले सम्पूर्ण नेपालीहरूलाई आपसमा एक भएर सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना उहाँले सन्देशमा गर्नुभएको छ ।

उँभौली किरात समुदायद्वारा वैशाख शुक्ल पूर्णिमाको दिन पितृ र प्रकृति (भूमि)को पूजा गरी मनाइने विशिष्ट चाड हो ।