Tuesday, May 12, 2026
Home Blog Page 797

कीर्तिमानी कामिरितालाई विमानस्थलमा भव्य स्वागत (तस्बिर सहित )

0

काठमाडौँ: सर्वोच्च शिखर सगरमाथाको ३०औँ पटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका कामिरिता शेर्पा आरोहण सकेर आज काठमाडौँ फर्किनुभएको छ । लुक्लाबाट अपराह्न काठमाडौँ आइपुग्नुभएका कीर्तिमानी आरोही शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्वतारोही, पर्यटन व्यवसायीलगायतले भव्य स्वागत गर्नुभएको थियो ।

सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार कामिरिता शेर्पाले यही जेठ ९ गते बिहान ७ बजेर ४९ मिनेटमा सगरमाथाको चुचुरोमा ३०औँ पटक पाइला टेकेर कीर्तिमान बनाउनुभएको थियो । वसन्त ऋतुको जारी आरोहणमा कामिरिताले यसअघि धेरै पकट सगरमाथाको सफल आरोहण गर्ने आफ्नै नाममा रहेको कीर्तिमान तोड्नुभएको हो । यो ‘सिजन’मा कामिरिताले गत वैशाख ३० गते सगरमाथाको २९औँ पटक आरोहण गरेर यसअघि २८औँ पटक सगरमाथा आरोहणको कीर्तिमान तोड्नुभएको थियो ।

कामिरिताले गत वर्षझैँ यसपटक पनि दुईपटक सगरमाथा आरोहण गर्नुभएको हो । सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शकसमेत हुनुहुन्छ । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुग्नुभएका उहाँका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।

सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा उहाँ सर्वाधिक आरोहण गर्ने कीर्तिमानी आरोही हुनुहुन्छ । अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङदावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउनुभएको थियो । यस वर्षको वसन्त ऋतुमा गत वैशाख २८ गतेदेखि सगरमाथा आरोहण सुरू भएको थियो ।

सशस्त्र र नेपाल प्रहरी विधेयकमा आईजीपीको अवकाश उमेर थप्न प्रस्ताव

0

काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकको अवकाश उमेर हद थप्न प्रस्ताव गरिएको छ । उमेर हद २ वर्ष थप्न प्रस्ताव गरिएको हो।

मस्यौदाका क्रममा रहेको नेपाल प्रहरी ऐन र सशस्त्र प्रहरी विधेयकमा आईजीपीसहित उच्च अधिकृतहरूको उमेर हद थप्ने प्रावधान राख्न लागिएको गृह मन्त्रालय सम्बद्ध उच्च स्रोतले जनाएको छ।

५८ वर्षमा अनिवार्य अवकाश लिनु पर्ने विद्यमान प्रावधान परिवर्तन गरी ६० वर्ष बनाउन प्रस्ताव गरिएको छ।

नयाँ प्रावधान लागू भए प्रहरीमा आईजीपीको उमेर हद ६०, एआईजी र डीआईजीको ५९, एसएसपीको ५८, एसपी र डिएसपीको ५७, इन्स्पेक्टरको ५६ र जुनियर प्रहरी कर्मचारीको ५५ वर्ष हुनेछ ।

पदावधिका आधारमा अवकाशको अवधिचाहिँ आईजीपीको ३, एआईजीको ४, डीआईजीको ५ र एसएसपीको ८ वर्ष राख्नेबारे छलफल चलिरहेको छ पनि स्रोतले जनाएको छ ।

 

 

तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु

0

फुङ्लिङ (ताप्लेजुङ): जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको शिलान्याससँगै अन्य काम प्रारम्भ भएको छ । संविधानसभा सदस्य सञ्चपाल मादेन र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार लिम्बूद्वारा संयुक्त रूपमा आयोजनाको बिहीबार शिलान्यास भएको हो ।

आयोजनाको प्रवर्द्धक स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड हो । अध्यक्ष लिम्बूका अनुसार आगामी चार वर्षमा आयोजना पूरा गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ताप्लेजुङमा हाइड्रोपावर आयोजना बनेपछि जिल्लाको समृद्धिमा योगदान पुग्ने फुङ्लिङ नगरपालिका प्रमुख अमिर मादेनले बताउनुभयो । उहाँले भन्नुभयो, “ जिल्लामा विद्युत् आयोजना निर्माण हुनु आर्थिक समृद्धिको बाटो खुल्नु् हो । जिल्लामा निर्माण हुने आयोजनाले स्थानीयलाई सेयर उपलब्ध गराउँछन् । प्रत्येकले सेयरमा लगानी गर्नुहोस् ।” आयोजना निर्माण हुँदा स्थानीय नागरिकलाई रोजगारीमा प्राथमिकता दिन र प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व निर्वाह गर्न पनि उहाँले आग्र गर्नुभयो । आयोजनाको कुल लागत रु २४ अर्ब ३२ करोड अनुमान गरिएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद मूल्य वर्षायाममा प्रतियुनिट रु ४.८० र सुक्खायाममा प्रतियुनिट रु ८.४० निर्धारण गरिएको छ । आयोजनाबाट वर्षायाममा उत्पादन हुने विद्युतीय ऊर्जा क्षमता ६१ करोड ९७ लाख ४० हजार चार सय २३ किलोवाट घण्टा तथा सुक्खायाममा नौ करोड १६ लाख ९२ हजार आठ सय ७५ किलोवाट घण्टा हुने प्रक्षेपण गरिएको छ ।

कृषिलाई व्यवसायी र प्रविधिमैत्री बनाउन जोड

0

अर्घाखाँची: जिल्लाका जलउपभोक्ता समितिका लागि संस्थागत विकास दिगो व्यवस्थापन तथा कृषि प्रविधिको विस्तारसम्बन्धी चारदिने तालिम सन्धिखर्कमा सम्पन्न भएको छ । जिल्ला जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको आयोजनामा भएको तालिम समापन समारोहका वक्ताले कृषि पेसा सबैभन्दा महत्त्वपूर्ण भएकाले अन्नमा आत्मनिर्भर हुन सबै किसान लाग्नुपर्ने तथा राज्यबाट उनीहरूलाई सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादु खत्रीले भन्नुभयो, “कृषि पेसालाई नबुझेका मानिसले उपेक्षा गर्छन्, बुझेकाहरूका लागि यो उत्तम एवं सम्मानित पेसा हो । युवा शक्ति बाहिर भएकाले श्रम गर्ने व्यक्तिको समस्या छ । तर प्रविधिको प्रयोग गरेर उत्पादन वृद्धि गर्ने दिशामा सबै अगाडि बढ्नुपर्छ ।” जिल्लाका कृषि उत्पादन अधिक हुने क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने गरी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले काम गरिरहेको निमित्त डिभिजन प्रमुख इन्जिनियर भेषराज भुसालले बताउनुभयो ।

उहाँले कृषि उत्पादनमा लागेको जल उपभोक्ता समितिलाई सक्षम बनाउन तालिमको व्यवस्था गरिएको बताउनुभयो । युवा वर्ग विदेशिने क्रम नरोकिएकाले व्यावसायिक कृषि गर्न र स्वरोजगार बन्न सबैले सहयोग गर्नुपर्ने कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख छविन्द्र बेल्वासेले बताउनुभयो । तालिममा जिल्लाका १७ जल उपभोक्ता समितिका ३४ किसानको सहभागी थिए ।

वीरगञ्ज महानगरद्वारा पुँजीगत खर्चमा सामान्य सुधार

0

वीरगञ्ज (पर्सा): वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा चालु र पुँजीगत खर्च गरेर रु एक अर्ब ७४ करोड खर्च गरेको छ । गत आवको तुलनामा पुँजीगत खर्चमा सामान्य सुधार भएको छ । महानगरले चालु आवको १० महिनाको अवधिमा चालु र पुँजीगत गरेर कुल विनियोजित बजेटको ५२ दशमलव सात प्रतिशत खर्च भएको जनाएको छ । महानगरको गत पुसमा भएको नगरसभाले गत असारमा विनियोजित बजेटमा रु २५ करोड थपेर तीन अर्ब ४६ करोड पुर्याएको थियो । गत असारमा महानगरले चालु आवको लागि रु तीन अर्ब २१ करोडको बजेट सार्वजनिक गरेको थियो ।

महानगरले चालु आवको १० महिनाको अवधिमा चालु खर्चतर्फ रु दुई अर्ब ३८ करोड ५५ लाख बजेट विनियोजन गरेकामा यो अवधिमा चालु खर्चतर्फ रु एक अर्ब ३४ करोड खर्च गरेको छ । महानगरले चालु आवमा पुँजीगत खर्चतर्फ भने रु ८८ करोड ३९ लाख बजेट विनियोजन गरेकामा रु ३९ करोड २२ लाख खर्च गरेको जनाएको छ । “महानगरको गत पुसमा भएको नगरसभाले रु २५ करोड बजेट थप गर्ने निर्णय गर्यौं तर यो आवमा अपेक्षाकृत रूपमा राजस्व सङ्कलन हुनसकेन”, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले भन्नुभयो, “सङ्घीय तथा प्रदेश सरकारबाट आउने समानीकरण बजेट पनि २५ प्रतिशत रोक्का हुँदा विकास निर्माणका काम प्रभावित भएका छन् । यद्यपि पुँजीगत खर्चमा सामान्य सुधार भएको छ ।” यसैबीच, वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम राजस्व सङ्कलन गरेको छ ।

तारकेश्वरका १२ हजार बालबालिकालाई खोप लगाइने

0

काठमाडौँ: काठमाडौँको तारकेश्वर नगरपालिकाका १२ हजार बालबालिकालाई पोलियोविरुद्ध आइपिभी खोप लगाइने भएको छ । तारकेश्वर नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरेर दिएकोे जानकारी अनुसार नगरपालिकाभित्रका ११ वटै वडाका ५५ केन्द्रमा खोप कार्यक्रम सञ्चालन हुनेछ ।

खोपका लागि आवश्यक जनशक्ति, उनीहरूलाई तालिम तथा अभिमुखीकरण, स्वयंसेवकका परिचालनलगायत सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना महामारीका कारण २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिकालाई यो खोप लगाउन नसकिएकाले तिनै बालबालिकालाई लक्ष्य गरी खोप कार्यक्रम सञ्चालन हुन लागेको हो ।

सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज

0

म्याग्दी: जिल्लाको रघुगङ्गा गाउँपालिकाको पिप्ले र भगवती जोड्ने सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज भएको छ ।

रघुगङ्गा–३ पिप्लेको रघुगङ्गा माविबाट वडा नं २ को मैदान हुँदै जैसीखोरसम्मको सडक कालोपत्र र ढलान भएपछि यात्राअवधि छोटिएको, भाडादर घटेको, धुलो र हिलोबाट उनीहरूलाई मुक्ति मिलेको हो ।

“साँघुरो र ग्रेड नमिलेको कच्ची सडकमा यात्रा गर्दा हिउँदमा धुलो र बर्खामा हिलोले सास्ती भएको थियो”, भगवती मैदानका बासिन्दा रिम मल्लले भन्नुभयो, “सफा सडकमा सहज र सुरक्षित यात्रा गर्न पाउँदा खुसी भएका छौँ ।” विसं २०६६ मा निर्माण भएको राहुघाटबाट पिप्ले हुँुदै भगवती जोड्ने सडक १५ वर्षपछि स्तरोन्नति भएपछि कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको यातायात व्यवसायी रमेश भण्डारीले बताउनुभयो ।

“पिप्लेबाट भगवती पुग्न पहिले ४५ मिनेटदेखि एक घण्टा लाग्दथ्यो”, उहाँले भन्नुभयो, “यात्राअवधि १० मिनेटमा छोटिएको छ । यसअघि बेनीदेखि भगवती पुग्न प्रतियात्रु रु तीन सय भाडा रहेकामा हाल रु दुई सय ५० कायम गरिएको छ ।

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ मार्फत २०७६ सालमा सुरु भएको गलेश्वर–पिप्ले–भगवती–बेग सडक आयोजना सम्झौता भएको पाँच वर्षपछि सम्पन्न हुने चरणमा पुुगेको छ । यस सडकबाट पिप्ले, भगवती र बेगखोलाका तीन वडाका तीन हजारभन्दा बढी परिवार प्रत्यक्ष लाभान्वित भएका म्याग्दी–१ (१) बाट निर्वाचित पूर्वप्रदेशसभा सदस्य विनोद केसीले बताउनुभयो । प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक–एक वडा सडक आयोजना सञ्चालन गरेको छ ।

जिल्ला पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले पिप्ले–भगवती खण्डमा पाँच किलोमिटर डिबीएसडी प्रविधिको कालोपत्र र पाँच सय मिटर ढलान सकिएको जानकारी दिनुभयो । पिप्लेको फूलबारी क्षेत्रमा थप पाँच सय मिटर सडक ग्राभेल भइरहेको छ । खड्का–कृष्ण जेभीले रु १८ करोड ४९ लाख आठ सय ३८ मा ठेक्का लिएको यो सडक २०७८ जेठ २४ गते सम्पन्न गर्ने लक्ष्य थियो । कोरोना महामारी, प्राकृतिक विपद्, नदीजन्य निर्माण सामग्रीको अभाव, सामाजिक समस्यालगायत कारणले ढिलाइ भएको हो ।

पहिरो प्रभावित राहुघाटबाट रघुगङ्गा माविको भवन अगाडिसम्मको दुई किलोमिटर पाँच सय मिटर सडक आयोजनाबाट हटाइएको छ । गलेश्वरबाट बगैँचासम्मको सडक पहिराको जोखिम र बगैँचाबाट रघुगङ्गा माविसम्मको सडक राहुघाट जलविद्युत् आयोजना प्रभावित क्षेत्रअन्तर्गत पर्ने भएकाले आयोजनाबाट हटाइएको हो ।

भगवतीका पूर्ववडाध्यक्ष रिम कटुवालले भगवतीबाट बेगखोलातर्फ स्तरोन्नति गर्न आयोजनालाई निरन्तरता दिनुपर्ने बताउनुभयो । जलविद्युत् आयोजना प्रभावित क्षेत्रको सडक जलविद्युत् आयोजनामार्फत नै स्तरोन्नति गर्न पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।

भिरमा मह काढेको छायाङ्कन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा

0

गलेश्वर (म्याग्दी) : भिर मह निकालेको दृश्य छायाङ्कन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भिर पुगेका छन् । देख्दा आङ नै सिरिङ्ग हुने कहालीलाग्दो पहरामा भिर मह निकालिरहेको दृश्यको छायाङ्कनसँगै नेपालीको सौर्य प्रचारप्रसार गर्ने उद्देश्यका साथ विदेशीको टोली आएको धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद विकले राससलाई बताउनुभयो ।

टोलीले हत्केलामा जउन राखेर डोरी (परङ) मा झुन्डिएर मौरीको चाका नजिक पुगेर मह निकाल्ने मह सिकारीको अनुभवसँगै स्थानीयवासी र गाउँपालिकाको टोलीसँग छलफल गरेका वडाध्यक्ष विकले बताउनुभयो । लुलाङका स्थानीयवासी थमबहादुर सिर्पालीको समन्वयमा आएका विदेशीले धवलागिरि गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरसँग भिर महको संरक्षण र निकाल्ने क्रममा हुने दुर्घटनाको जोखिम न्यूनीकरणका बारेमा चासो देखाएका थिए । भिर मह निकाल्न भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् ।

एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी झुन्ड्याउँछन् भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र गर्छन् । ठूलो भिरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भिरमा दिनभरि खर्चिनुपर्छ । झण्डै पाँच सयदेखि एक हजार पाँच सय मिटर उचाइका पहरामा पुगेर गाउँका मोतिप्रसादसहितको टोलीले मह निकाल्ने गरेका छन् ।

गाउँपालिका उपाध्यक्ष पुनले धवलागिरिलाई ‘हनी हन्टिङ’का लागि प्रख्यात ठाउँका रूपमा चिनाउन विदेशी टोलीको आगमनले सहज भएको बताउनुभयो । ग्रामीण पर्यटन प्रवर्द्धनमा मह सिकारले टेवा पुग्ने उहाँले बाताउनुभयो । “पर्यटन प्रवर्द्धनमा यो टोलीबाट सहयोगको आश्वासन प्राप्त भएको छ, हामीले पनि अबका दिनमा मह सिकारलाई विशेष बनाउनेछौँ”, उपाध्यक्ष पुनले भन्नुभयो ।

गर्मीका कारण बंगलादेश–थाइल्याण्डमा ३० जनाको मृत्यु

0

काठमाडौं । विश्वका धेरै देशहरु यतिबेला अत्यधिक गर्मीको चपेटामा छन् । भारत, बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, भियतनाम, माली र लिबियामा तापक्रम ४५ डिग्री सेल्सियस नाघेको छ । अमेरिकाको नेशनल ओशिनिक एण्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशनको रिपोर्ट अनुसार धेरै देशमा राति पनि गर्मीको लहर चलिरहेको छ ।

मे महिनाको औसत रातको तापक्रम दिनको जस्तै बढेको छ । दक्षिण एसियामा गर्मीको लहरको जोखिम ४५ गुणा बढेको छ । अर्कोतर्फ पश्चिम एसिया (सिरिया, इजरायल, प्यालेस्टाइन, जोर्डन, लेबनान) मा ५ गुणा बढेको छ । मे २२ मा भारतका ९ सहरमा तापक्रम ४० डिग्री सेल्सियस नाघेको थियो । इजरायल र प्यालेस्टाइनमा युद्धका कारण गर्मी बढेको छ ।

एसियामा यो लगातार तेस्रो वर्ष घातक गर्मीको लहर हो। यसको एउटा कारण एल निनो हो । पाकिस्तानको ज्याकोबादमा बुधबार (मे २२) सबैभन्दा बढी तापक्रम थियो। यहाँको तापक्रम ४८ डिग्री सेल्सियस पुगेको छ । मोहनजोदारोको तापक्रम ४८.५ डिग्री पुगेको छ । यो सामान्यभन्दा ८ डिग्री बढी हो। यहाँ परीक्षा स्थगित गरिएको छ। ३१ मे सम्म विद्यालय बन्द गरिएको छ । अस्पतालहरूलाई उच्च सतर्कतामा राखिएको छ।

भियतनाममा गर्मीका कारण ठूलो संख्यामा माछा मरेका छन् । धेरै पोखरी पूरै सुकेका छन् । सरकारले जनतालाई घरमै बस्न निर्देशन दिएको छ ।

बंगलादेशमा लगातार २६ दिनसम्म तातो हावाका कारण विद्यालय बन्द भएका छन् । बुधबार (मे २२) मा तापक्रम ४३ दशमलव ८ डिग्री पुगेको छ, जुन औसतभन्दा ७ डिग्री बढी हो । यहाँ अहिलेसम्म ३० जनाको मृत्यु भइसकेको छ । थाइल्याण्डमा पनि गर्मीका कारण ३० जनाभन्दा बढीको मृत्यु भएको छ । यहाँका विद्यालयहरू बन्द गरिएका छन् ।

म्यानमारमा अप्रिलदेखि गत हप्तासम्म दैनिक ४० जनाको मृत्यु भएको छ । यसले अप्रिलदेखि मे १० सम्म देशमा हरेक दिन ४० जनाको ज्यान गयो। यहाँको तापक्रम ४८.२ डिग्री पुगेको छ । मेक्सिकोको जंगलमा गर्मीका कारण रुखबाट खसेर बाँदरको मृत्यु भएको छ । बाँदर मरिरहेका क्षेत्रमा तापक्रम ४५ डिग्री नाघेको छ । हालसम्म १३८ बाँदरको मृत्यु भइसकेको छ । गर्मीका कारण २६ जनाको मृत्यु पनि भएको छ ।

ताइवानलाई घेरा हाल्दै चीनको युद्ध अभ्यास

0

काठमाडौं। तीन दिनअघि ताइवानमा चीन विरोधी नेता विलियम लाइ चिङ टेले राष्ट्रपति पदको शपथ ग्रहण गरेपछि चीनले बिहीबारदेखि ताइवानलाई चारैतिरबाट घेरेर अभ्यास सुरु गरेको छ। चीनले ताइवानविरुद्ध यति ठूलो युद्धाभ्यास गरेको यो पहिलो पटक हो। यसअघि ताइवानमाथि मात्रै आर्थिक नाकाबन्दी लगाउँदै आएको थियो।

ताइवानमा यस वर्ष जनवरीमा भएको राष्ट्रपतीय चुनाव अघि चीनले उम्मेदवार लाइ चिङ टेलाई पृथकतावादी भनेको थियो । तर, चीनको धम्कीका बाबजुद पनि ताइवानमा चिनियाँ विरोधी नेता लाइ चिङ टे विजयी भएका थिए।  चीनको यस अभ्यासमा लडाकु विमान र धेरै नौसेना युद्धपोतहरू संलग्न छन्।

चीनको समाचार एजेन्सी सिन्ह्वाका अनुसार चिनियाँ सेनाको पूर्वी थिएटर कमाण्डले यो अभ्यास सुरु गरेको हो। चीनले यस अभ्यासलाई ‘ज्वाइन्ट सोर्ड–२०२४ ए’ नाम दिएको छ। यसका अलावा ताइवान, किनमेन, मात्सु, वुकिउ र डोंग्यिन टापुहरूमा पनि अभ्यास भइरहेको छ।

ताइवानका नवनियुक्त राष्ट्रपति लाइ चिङ–टेले चीनलाई सैन्य अभ्यास बन्द गर्न आग्रह गरेका छन्। लाइले चीनलाई आफ्नो क्रोध रोक्न र सम्पूर्ण क्षेत्रमा शान्ति कायम गर्न प्रयास गर्न अपील गरेका छन्। लाइका अनुसार अभ्यास भइरहेको टापुहरू ताइवानकै हुन्। साथै, ताइवानी सेनालाई पनि अलर्टमा राखिएको छ, ताकि सम्पूर्ण क्षेत्रमा शान्ति कायम होस्।

राष्ट्रपति बनेपछि लाइले आफ्नो पहिलो सम्बोधनमा ताइवान एक स्वतन्त्र देश हो, जसले देशको सार्वभौमसत्ता कायम राख्न जे पनि गर्न सक्छ भन्ने कुरा पनि बताए। ताइवान सरकारले आफ्नो लोकतन्त्र र स्वतन्त्रतामा कुनै सम्झौता नगर्ने उनले बताएका थिए।

त्यसको भोलिपल्ट चिनियाँ विदेशमन्त्री वाङ यीले ताइवानको प्रतिवाद गरे। उनले भने, ‘ताइवानका नयाँ राष्ट्रपति लाइ चिङ्–टे र उनका सहयोगीहरूले आफ्नो कार्यले देशलाई मात्र होइन हाम्रा पुर्खाहरूलाई पनि धोका दिएका छन्।’ यसअघि गत वर्षको अगस्टमा पनि चिनियाँ सेना पिपुल्स लिबरेशन आर्मी (पीएलए) का सैनिकहरू ताइवानमा आक्रमणको लागि तालिम लिइरहेको देखिएका थिए।

अमेरिकाले सन् १९७९ मा चीनसँगको सम्बन्ध पुनर्स्थापित गर्दै ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको थियो। तर, चीनको आपत्तिका बाबजुद अमेरिकाले ताइवानलाई हतियार आपूर्ति जारी राखेको छ। अमेरिकाले पनि दशकौंदेखि एक चीन नीतिलाई समर्थन गर्दै आएको छ, तर ताइवानको मुद्दामा अस्पष्ट नीति अपनाइरहेको छ।