Wednesday, May 13, 2026
Home Blog Page 773

उत्तरी इजरायलमा हिजबुल्लाहद्वारा रकेट प्रहार

0

काठमाडौं। हिजबुल्लाहले उत्तरी इजरायलमा रकेट प्रहार गरेपछि धेरै ठाउँमा आगो लागेको छ।  हिजबुल्लाहले उत्तरी इजरायलमा लेबनानबाट दर्जनौं रकेट प्रहार गरेको जनाएको छ।

हिजबुल्लाहले इजरायली हवाई आक्रमणमा आफ्ना एक वरिष्ठ कमाण्डरको मृत्युको प्रतिक्रियास्वरूप यो हमला गरेको जनाएको हो। इजरायली हवाई आक्रमणमा हिजबुल्लाह कमाण्डर तालेब अब्दुल्लाहसहित चार जनाको मृत्यु भएको थियो।

इजरायल र हिजबुल्लाहबीचको आठ महिना लामो भिडन्तमा मारिएका अब्दुल्लाह हिजबुल्लाहका सबैभन्दा वरिष्ठ कमाण्डर हुन्। हिजबुल्लाहका अनुसार यी रकेटहरू इजरायली सैन्य अड्डाहरू र सैन्य कारखानाहरूलाई लक्षित गरी प्रहार गरिएको छ।

उही समयमा, इजरायली सेनाले लेबनानी पक्षबाट करिब ९० रकेट प्रहार गरिएको जनाएको छ। इजरायलले अधिकांश रकेट हावामा खसालेको दाबी गरेको छ।

इजरायलका अनुसार विभिन्न ठाउँमा धेरै रकेट खसेकाले धेरै ठाउँमा आगो लागेको छ। गाजामा इजरायल र हमासबीच युद्ध चलिरहेको बेला बेला बेलामा हिजबुल्लाहले युद्ध सुरु भएदेखि नै लेबनानबाट इजरायलको उत्तरी सीमामा आक्रमण गर्दै आएको छ।

विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

0

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विश्वका लगानीकर्तालाई आग्रह गर्नुभएको छ । स्वीट्जरल्याण्डको जेनेभामा जारी एक सय १२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले सुमधुर श्रम सम्बन्ध, नेपाल सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबीचको रणनीतिक बजारका कारण लगानीको वातावरण बन्दै गएकाले यसबाट लाभ लिन आग्रह गर्नुभयो । नेपालका रोजगारदाता श्रमिक कर्मचारीको सामाजिक सुरक्षाप्रति संवेदनशील रहेका र दुवै पक्षको पहलमा असल श्रम सम्बन्ध विस्तार भइरहेकाले यसलाई दिगो राख्न औद्योगिक विस्तार आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

सम्बोधनका क्रममा उहाँले सामाजिक सुरक्षा, लैङ्गिक समानता र दिगो आयआर्जनका थप अवसर सिर्जना गर्न सम्मेलनमा सहभागी रोजगारदातालाई नेपालमा लगानी बढाउन आग्रह गर्नुभएको नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । भारतसँग १० हजार मेगावाट विद्युत् खरिद सम्झौता भएको र बङ्गलादेशसँग पनि यसबारे छलफल भइरहेको बताउँदै अध्यक्ष ढकालले नेपालमा उत्पादित बिजुलीको बजार सुनिश्चित भएकाले यस क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताउनुभयो । यसैगरी भारत र चीनजस्ता धेरै जनसङ्ख्या भएका उदीयमान अर्थतन्त्रमा नागरिकको क्रयशक्ति बढेकाले नेपालका ‘हिल स्टेसन’ हरुमा पर्यटकीय पूर्वाधार विस्तारको सम्भावना रहेको पनि उहाँको भनाइ थियो ।

अध्यक्ष ढकालले सूचना प्रविधि, कृषिजन्य उद्योगलगायत उत्पादनमूलक क्षेत्रहरु नेपालमा तुलनात्मक रुपमा बढी लाभका क्षेत्र रहेका बारे विश्वका लगानीकर्तालाई जानकारी गराउनुभयो । लगानी सहजीकरणका लागि सरकारले द्विपक्षीय व्यापार सम्झौताको खाका तयार पारेको, लगानी सहज बनाउने कानुनमा सुधार हुँदै गएको र दोहोरो कर हटाउने नीति अङ्गिकारको योजनामा रहेको पनि सम्मेलनका सहभागीलाई जानकारी गराउनुभयो । अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) र रोजगारदाताको अन्तर्राष्ट्रिय सङ्गठन (आइओइ) का उच्च पदस्थ अधिकारीहरुसँग पनि भेटवार्ता गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

सरकारले मुलुक र जनताको हितमा काम गरिरहेको छ : उपप्रधानमन्त्री लामिछाने

0

काठमाडौँ: उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सरकारले मुलुकको आवश्यकता र जनताको हितमा काम गरिरहेको बताउनुभएको छ । नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सरकारमा रहुञ्जेल नागरिकलाई दुःख नदिने गरी काम गर्ने उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री लामिछानेले विभिन्न सङ्घर्ष र बलिदानबाट प्राप्त व्यवस्थालाई आत्मसाथ गर्दै नागरिकको सपनालाई साकार पार्न अहिलेको व्यवस्थाप्रति कटिबद्ध भएर लागेको बताउनुभयो । ‘सबै गर्न सकिदैन तर, धेरै गर्न सकिन्छ’ भन्ने आस र भरोसाकासाथ आफूहरु अघि बढेको उहाँले बताउनुभयो । “तीन महिना सरकारमा बसेर मेरो पार्टीबाट मन्त्रि बनेकाहरुले एउटा पनि नराम्रो काम गरेका छैनन्, राम्रा काम भएका छन्”, उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहनुभएका उहाँले प्रदेश संरचनालाई लिएर धेरै प्रश्नहरु उब्जिएकाले संविधानको भावना र परिकल्पना अनुरुप प्रदेश सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो । “प्रदेश संरचनालाई लिएर धेरै जिज्ञाशा उब्जिएका छन् । यसमा सुधार गरेर अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो । उपप्रधानमन्त्री लामिछानेले नागरिकलाई दुःख नदिइकन परिवर्तनका लागि आफूहरु मुद्दामा एक भएर अगाडि बढ्ने धारणा राख्नुभयो ।

‘वैकल्पिक राजनीतिक शक्तिहरु एकताबद्ध हुनुपर्ने’

0

काठमाडौँ: विभिन्न राजनीतिक दलका नेताहरुले वैकल्पिक राजनीतिक शक्तिहरु एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित ‘वैकल्पिक राजनीतिको औचित्व र सम्भावना’ विषयक अन्तरक्रियामा सहभागी दलका नेताहरुले नयाँ शक्तिहरु विचार र मुद्दाका आधारमा एकताबद्ध भएर जानुपर्नेमा जोड दिनुभएको हो ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै मुलुकको विकास र आर्थिक समृद्धिको यात्रामा सबै राजनीतिक दलहरु एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले वैकल्पिक नयाँ शक्ति कुनै लहडमा नभई समयको माग र परिस्थिति भएको बताउनुभयो । उहाँले लोकतान्त्रिक स्थिरताका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित व्यवस्थापिका हुनुपर्ने आफ्नो पार्टीको सङ्कल्प रहेको उल्लेख गर्नुभयो । दुई दशकभित्र देशलाई अति कम विकसित अवस्थाबाट विकसित चरणमा रुपान्तरण गर्न तीव्र आर्थिक वृद्धि, समन्यायिक वितरण, पर्यावरणीय दिगोपन र मानवीय खुसीका चार आयामसहित समृद्धिको कार्ययोजना निर्माण गरिनुपर्ने उहाँको धारणा थियो ।

जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले नयाँ शक्तिहरुबीच एकताबद्ध भइ सडक सङ्घर्षबाटै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले वैचारिक रुपमा जनमत पार्टी र नेपाल समाजवादी पार्टीको मुद्दा समान रहेकाले आगामी दिनमा सहकार्य गर्न सकिने धारणा राख्नुभयो । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले अग्रगामी सोचका राजनीतिक शक्तिहरु एकताबद्ध भएर जनताको हितमा सक्रिय हुनुपर्ने बताउनुभयो । विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बास्कोटाले नयाँ खुलेका वैकल्पिक राजनीतिक शक्तिहरुबीच ध्रुवीकरण जरुरी भएको बताउनुभयो । नागरिक उन्मुक्ति पार्टीका संयोजक रेशम चौधरीले युवा पुस्ताका नेता र नयाँ विचार बोकेका राजनीतिक दलहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने खाँचो औँल्याउनुभयो ।

पहिचानवादी मोर्चाका अध्यक्ष खगेन्द्र माखिमले नयाँ शक्तिहरु परिवर्तनको चाहनालाई पूरा गर्न एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । लेखक खगेन्द्र सङ्ग्रौलाले जुट र फुटको राजनीतिबाट अघि बढिरहेका राजनीतिक शक्तिहरुले मुलुकको निकास दिन नसक्ने दाबी गर्नुभयो । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, नागरिक समाजका अगुवा, अर्थशास्त्री, सञ्चारकर्मीलगायतको उपस्थिति थियो । विसं २०७३ जेठ ३० गते वैकल्पिक राजनीतिक अभियानका रुपमा नयाँ शक्ति पार्टी स्थापना गरी विभिन्न चरणमा एकता र विभाजन हुँदै अहिले नेपाल समाजवादी पार्टी बनेको हो । सोही दिनको स्मरण गर्दै प्रत्येक वर्ष स्थापना दिवस मनाइँदै आएको समाजवादी पार्टीले जनाएको छ ।

सुन्दरीजलकै धारामा आउँदैन खानेपानी

0

काठमाडौँ: मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजल क्षेत्रमै खानेपानी अभाव हुँदा स्थानीयवासी समस्यामा परेका छन् । सुन्दरीजल वाग्मती र मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल हो । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ बाट २७ दशमलव ५ किमी सुरुङ पार गरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका-१ महाँकालमा प्रशोधन हुन्छ । दैनिक मेलम्चीबाट आउने १७ करोड ५० लाख लिटर पानी प्रशोधन गरेर राजधानी पठाउने यस क्षेत्र वरपरका स्थानीयवासी भने सुक्खा मौसममा काकाकुल छन् । यहीँबाट वाग्मती नदीको करिब नौ करोड लिटर पानी राजधानीका विभिन्न स्थानमा वितरण गरिन्छ । वर्षायाममा वाग्मतीबाट करिब १३ करोड लिटर पानी वितरण गरिन्छ ।

यस क्षेत्रका गोकर्णेश्वर र कागेश्वरी मनोहरा दुई नगरपालिकाका अधिकांशले मेलम्चीको परै जाओस् पहिलेदेखि राजधानीमा वितरण गरिँदै आएको वाग्मती नदीको पानी पनि पिउन पाएका छैनन् । खानेपानीको समस्या भएपछि स्थानीयवासी परम्परागत ढुङ्गेधारा र कुवामा निर्भर हुनुपर्ने बाध्यता छ । कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछीका स्थानीय सन्ध्या श्रेष्ठ खानेपानी लिन गोकर्णेश्वर नगरपालिका-१ रुप्सेटार भन्ने स्थानको धारामा जानुपर्ने बाध्यता रहेको दुखेसो पोख्नुहुन्छ । पानी लिन करिब आधा घण्टा पैदल हिँडेर जाने र आधा घण्टा फर्किन समय लाग्ने उहाँको भनाइ छ । कहिले त पानीको लाइनमा एक घण्टा बस्दा दुई घण्टा समय १० लिटर खानेपानी खोज्दैमा बित्ने गरेको उहाँ बताउनुहुन्छ । धारामा धेरै मानिस खानेपानीको लाममा बस्ने गरेकाले घण्टौँ कुर्नुपर्ने बाध्यता रहेको उहाँको अनुभव छ ।

यस्तो समस्या भोग्ने श्रेष्ठमात्र होइनन् यहाँका हजारौँको समस्या उस्तै छ । आधारभूत खानेपानी सेवा बिस्तार गर्ने विषयलाई नगरपालिकाले प्राथमिकतामा राखे पनि स्थानीय सरकारले एक कार्यकाल पूरा गर्दा पनि समस्या समाधान हुन सकेको छैन । स्थानीय सरकारले विभिन्न खानेपानी आयोजना पूरा गरेको प्रतिवेदन बनाए पनि दिगो हुन नसक्दा संविधानमा मौलिक हकका रुपमा उल्लेख गरिएको स्वच्छ खानेपानीको हकबाट वञ्चित हुनुपरेको स्थानीयवासीको गुनासो छ । गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिले मुहानवासीले खानेपानी नपाए मेलम्चीको पानी वाग्मतीमा बगाउने चेतावनी दिँदासमेत समस्या समाधान हुन सकेको छैन । गोकर्णेश्वरका नगर प्रवक्ता नारायणबहादुर सुवेदी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बिच्छ्याउनुपर्ने पाइप नगरपालिकाकै बजेट विनियोजन गरी पानी माग गर्दा पनि सम्बोधन नभएको बताउनुभयो । विसं २०७९ को निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ३ बाट निर्वाचित सांसद सन्तोष चालिसे विसं २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो । नगर प्रमुख हुँदा उहाँले मुहानवासीले खानेपानी नपाए मेलम्ची र वाग्मतीको पानी सहरमा वितरणका लागि नपठाई वाग्मतीमा बगाउने चेतावनी दिनुभएको थियो । तर अहिले सुन्दरीजल क्षेत्रकै स्थानीयवासीले खानेपानी नपाउँदा यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद चालिसेले वेवास्ता गरेको स्थानीय रामबहादुर तामाङको गुनासो छ ।

यही क्षेत्रबाट समानुपातिक सांसद निर्वाचित हुनुभएकी शान्ति श्रेष्ठले तीन महिनाअघि खानेपानी मन्त्रीलाई दिनुभएको ज्ञापन पत्रमा गोकर्णेश्वर नगरपालिका-१, २, ३ र ४ वडाको खानेपानी समस्यालाई बेवास्ता गरी वडा नं ५ भन्दा माथिकालाई मात्र समेटेकामा आपत्ति जनाइएको छ । जनप्रतिनिधिलाई आफ्नै निर्वाचन क्षेत्रका बारेमा राम्रो ज्ञान नहुँदासमस्या भोग्नुपरेको गुनासो स्थानीयवासीले गर्न थालेका छन् ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबीएस कार्यक्रम सुरु गर्न मुख्यमन्त्री सिंहको जोड

0

गोदार (धनुषा): मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आगामी आर्थिक वर्षबाट मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षातर्फको स्नातक तह (एमबिबीएस) अध्ययन–अध्यापन कार्यक्रम सुरु गर्नुपर्नेमा जोड दिनुभएको छ । आज प्रतिष्ठानका उपकुलपति प्राडा अङ्कुर साह, रजिष्ट्रार प्राडा विनोदकुमार यादव र मातहतको प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल डाइरेक्टर डा रामनरेश पण्डितसँगको छलफलमा उहाँले कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि नीति कार्यक्रममा समेत समावेश गरिसकेको जानकारी स्मरण गराउनुभयो ।

मङ्गलबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गर्नुभएको मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रमको बुँदा नं १२१ मा प्रतिष्ठानमा हाल सञ्चालनमा नरहेका शैक्षिक कार्यक्रम एमबिबीएस, बिडीएस, बी फार्मेसी, बिएमलटीलगायतका स्नातक कार्यक्रम सञ्चालन गर्न आवश्यक हुने पूर्वाधारलाई थप विस्तार तथा व्यवस्थापन गरिँदै लगिने उल्लेख छ ।

छलफलमा उपकुलपति प्राडा साहले एमबिबीएस कार्यक्रमका लागि चिकित्सा शिक्षा आयोगसँग अनुमतिका लागि आवश्यक कागजातहरु पठाइसकेको जानकारी गराएको बताउनुभयो । उहाँले भन्नुभयो, “एमबिबीएस कार्यक्रम सञ्चालन गर्न मुख्यमन्त्री सहमत हुनुभएको छ र कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको छ ।” मुख्यमन्त्री सिंहले भौतिक संरचनालगायत कामका लागि आगामी बजेटमा आवश्यक रकम विनियोजन गर्ने आश्वासन पनि दिनुभएको उपकुलपति प्राडा साहले जानकारी दिनुभयो ।

बडहडी खोलामा गरिएको अवैध उत्खननको छानबिन सुरु

0

जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय धनुषाले बटेश्वर गाउँपालिका–१ स्थित बडहडी खोलामा अवैधरुपमा भएको बालुवा र गिट्टी उत्खननको छानबिन प्रक्रिया अगाडि बढाएको छ । प्रमुख जिल्ला अधिकारी राजुराज कडरियाले छानबिनका लागि जिल्ला समन्वय समिति धनुषाका इञ्जिनीयरको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको र समितिमा हुलाकी सडक निर्देशनालय र बटेश्वर गाउँपालिकाका एक–एक जना प्राविधिक रहेको जानकारी दिनुभयो ।

समितिलाई खोला उत्खनन भएको स्थल तथा उत्खनन गरी ढुङ्गा बालुवा थुपारेको स्थानको नापजाँचलगायत कार्यको छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने कार्यादेश दिइएको उहाँले बताउनुभयो । गाउँपालिकाले बस्ती तथा त्यहाँको पर्यावरणमा असर नपर्ने गरी गत फागुन महिनामा बडहडी खोलामा बालुवा तथा ढुङ्गा झिक्नका लागि ठेक्का लगाएको थियो ।

महोत्तरीको बर्दिवासको पञ्चधुरा सप्लायर्सले १४ हजार चार सय ४५ घनमिटर नदीजन्य पदार्थ उत्खननका लागि रु २७ लाख नौ हजार एक सय तीन मा ठेक्का लिएको थियो । सम्झौताविपरीत ठेकेदार कम्पनीले स्काभेटर तथा अन्य ठूला यन्त्रको प्रयोग गरी तीन गुणाभन्दा बढी बालुवा तथा ढुङ्गा झिकेको आरोप लागेको छ ।

राजनीतिकरुपमा शान्ति प्रक्रिया पूरा भइसक्यो, कानुनी हिसाबले छिटो टुङ्ग्याऔँ : सांसद दाहाल

0

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले राजनीतिकरुपमा शान्ति प्रक्रिया सम्पन्न भइसकेको उल्लेख गर्दै अब चाँडै कानुनी हिसाबबाट पनि टुङ्ग्याइनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उहाँले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलाई तत्काल पारित गरिनुपर्ने बताउनुभयो । “जनताको तहबाट शान्ति प्रक्रिया निष्कर्षमा पुगिसेको भने सेना समायोजन, हतियार व्यवस्थापनलगायत काम पनि सम्पन्न भइसकेका छन्”, सांसद दाहालले भन्नुभयो, “गठबन्धनमार्फत एकअर्कामा भोट साटासाट गरिसकेका छौँ । सामाजिक सद्भाव तथा एकताका दृष्टिकोणबाट शान्ति प्रक्रिया सम्पन्न भइसकेको छ, त्यसले अव कानुनी हिसाबले पनि ती काम टुङ्ग्याउन आवश्यक छ ।” जनयुद्धको नेतृत्व गरेको माओवादी पार्टी चारपटक निर्वाचनमा सहभागी भइसकेको र जनयुद्धलाई जनताले अनुमोदन गरिसकेको पनि उहाँको भनाइ छ ।

नेपालको शान्ति प्रक्रिया विशिष्ट र मौलिक रहेको उल्लेख गर्दै सांसद दाहालले अन्तर्राष्ट्रिय जगत्मा सकारात्मक नजिरका रुपमा स्थापित गर्न पनि शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउनु आवश्यक रहेको बताउनुभयो ।

जीवन-मरणको सम्बन्ध दर्शाउने प्रतिस्थापन कला

0

काठमाडौँ: चितामा लास छ । छेवैमा अगरबत्तीको मन्द वासना आइरहेको छ, नजिकै रातो कपडामा गरगहना, पुरस्कार, धन, सम्पत्ति, कागजात र हवाई टिकट देखिन्छ । वरिपरि खादा र ध्वजापताका, केहीपर लास जलाउन चाहिने काठका मुढा । मृत व्यक्तिको शरीरभरि ट्याटु छ । घोटिएका पैताला, घाँटी र कम्मरमा चोट छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा रहेको कलाकार टासी शेर्पाको ‘मरी लानु के छ र’ शीर्षकमा बनाइएको प्रतिस्थापन कलाको चित्रण हो यो । यो कलाले वास्तविक घटनाको अनूभूति दिलाउँछ । यहाँ जीवनको यथार्थलाई प्रत्यक्ष देखाइएको छ ।

एउटा मानिस बाचुन्जेल धन कमाउन इष्र्या, घमण्ड, लोभ, लालचमा समाहित हुन्छ तर उहाँको सिर्जनाले जस्तो जन्मियो त्यस्तै जाने हो, लोभ, मोह व्यर्थ हो भन्ने सन्देश दिएको छ । “त्यो मानिसभित्रको दुखी आत्मालाई हटाउन मद्दत मिल्छ की भनेर प्रयास गरेको हुँ”, कलाकार शेर्पा भन्नुहुन्छ, “बाँचुञ्जेल लोभलालच नगरौँ, एक अर्कालाई समान र माया गरौँ भन्न खोजिएको हो ।” उहाँका अनुसार यो कलाले जीवनको सादगी र अनन्ततालाई जोड दिन्छ । ठोस स्थायी सम्पत्तिको प्रतीक छेवैमा छ । मान्छेले बडो जतनका साथ भौतिक सम्पत्ति (गहना, पैसा, पुरस्कार र कागजात) जोडेर राखेको हुन्छ ।

उहाँले त्यो सम्पत्ति क्षणिक हो भनेर मार्मिक रुपमा प्रस्तुत गर्नुभएको छ । यहाँ कला हेर्न पुगेका कतिपय डराउँछन् । कतिपय वास्तविक शव ठानेर टाढै बस्छन् । कोही नजिक पुगेर पनि तर्किन्छन् । वास्तविकता चाल पाएपछि बल्ल खुल्दुली मेटाउन खोज्छन् । कलाकार शेर्पा आफैँ ट्याटु आर्टिष्ट भएकाले सिलिकन रबरबाट बनेको शवमा उहाँले ट्याटु खोप्नुभयो । नेपालका नेवार र थारु समुदायले ट्याटु प्रयोग गर्छन् । मरेर स्वर्ग जाँदा लैजान पाइने त्यही ट्याटु हो भन्ने गरिन्छ । त्यसैले ट्याटु खोपेर इतिहास सम्झाउन खोजेको उहाँले सुनाउनुभयो । विभिन्न कारणले युवाहरुको अकालमा मृत्यु हुने गरेको छ ।

त्यसलाई प्रतिविम्बित गर्न घाँटी र कम्मरमा घाउचोट देखाएको उहाँले बताउनुभयो । मानिसको जतिबेला पनि मृत्यु हुन सक्छ, लोभ मोह, इष्र्या क्षणिक हुन्, त्यसलाई त्यागौँ भन्ने सन्देश उहाँले कलाको माध्यमबाट दिनुभएको छ । रातो कपडामा राखेको हवाई टिकटले वैदेशिक रोजगारमा गइरहेकाहरुलाई प्रतिबिम्बित गर्छ । शेर्पाले भन्नुभयो “व्यक्तिले जिन्दगीलाई कुर्वानी गरेर विदेश गएका हुन्छन्, परिवार र धन, सम्पतिका लागि तर के उ खुसी छ त ? जसको लागि गरिरहेको हो उनीहरुबाट प्रशंसा पाइरहेका छन् त ? भनेर देखाउन खोजेको हो ।” यस कलाले मानिसलाई अस्थायी उपलब्धिभन्दा अर्थपूर्ण अनुभव र सम्बन्धलाई प्राथमिकता दिन प्रोत्साहित गरेको कला हेर्न पुगेका दर्शकहरु बताउँछन् । उक्त कलाले जारी राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ मा राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेको छ ।

सामाजिक विकृतिविरुद्ध कलाकार क्रियाशील हुनुपर्ने

0

काठमाडौँ आदर्श समाज निर्माणका लागि कलाकार सामाजिक विकृतिविरुद्ध क्रियाशील हुनुपर्नेमा सिनेक्षेत्रका व्यक्तिहरूले जोड दिएका छन् । नेपाल चलचित्र कलाकार सङ्घद्वारा मङ्गलबार यहाँ आयोजित छलफलमा वक्ताहरूले सामाजिक रुपान्तरणमा कला र कलाकार सशक्त माध्यम भएकाले धूमपान, मद्यपानका साथै बहुविवाहलगायत सामाजिक विकृतिविरुद्ध उनीहरू खुलेर लाग्नुपर्नेमा जोड दिएका थिए ।

नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले सभ्य समाज निर्माणका लागि चेतना फैलाउने कलाकारहरू जातीय, धार्मिक वा अन्य असामाजिक कार्यलाई निरुत्साहित गर्न क्रियाशील हुनुपर्ने बताउनुभयो । चलचित्र समालोचक कृष्ण भट्टराईले कलाकारले पेसागत मर्यादा, व्यक्तिगत आचरण तथा सामाजिक दायित्वलाई निर्वाह गर्ने कुरामा चनाखो भई समाजमा पार्ने प्रभावको आकलन गर्नुपर्ने सुझाव दिनुभयो । चलचित्र निर्देशक राजेन्द्र शलभले नेपालमा चलचित्रको विकास तथा प्रभावबारे जानकारी दिँदै राज्यको शान्ति सुरक्षामा आँच आउने फिल्ममा अभिनय नगर्न सुझाव दिनुभयो ।

कलाकार दिनेश डिसीले सामाजिक विकृतिविरुद्ध कलाक्षेत्रका सबै व्यक्ति लाग्नुपर्ने दोहो¥याउँदै समाज रूपान्तरणका निम्ति योगदान गर्नु हरेक कलाकारको दायित्व हो भन्नुभयो । चलचित्र कलाकारितालाई मर्यादित बनाउन उद्देश्यले सङ्घले चार बुँदे आचारसंहिता पनि जारी गरेको छ ।