Friday, May 15, 2026
Home Blog Page 732

अवैध सुन कारोबारका मुख्य योजनाकार एक वर्षपछि पक्राउ

0

काठमाडौँ: मलद्वारमा लुकाएर ल्याएको एक किलो सुनका मुख्य योजनाकार झण्डै एक वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोलीले काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–२ का विकास योञ्जनलाई मंगलबार अपराह्न काठमाडौँको चाबहिलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीले २०८० भदौ २५ गते दुबईबाट हिमालयन एयरलाइन्समार्फत नेपाल आएका बाबुलाल दोङलाई मुख्य योजनाकार योञ्जनले पठाएको नौ सय ६० ग्राम सुन भन्सार छलि मलद्वारमा लुकाएर ल्याएको अवस्थामा पक्राउ गरेको थियो । विमानस्थल बाहिर सडक पेटीमा हिँड्दै गरेको अवस्थामा दोङ पक्राउ परेका थिए ।

प्रहरीवृत्त गौशालाले जाँच गर्दा दोङले मलद्वारमा कालोटेपले बेरिएको दुई वटा लाम्चो र डल्लो सुन नौ सय ६० ग्राम फेला पारेको थियो । अनुसन्धानका क्रममा दोङले उक्त भन्सार छलीको सुन योञ्जनको भएको बयान दिएका थिए । सुनसहित दोङ पक्राउ परेपछि योञ्जन फरार रहेका थिए ।

 

अर्थ मन्त्रीले भने- ‘नवीकरणीय ऊर्जाका स्रोतको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ’

0

काठमाडौँ: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवीकरणीय ऊर्जा क्षेत्रको महत्वलाई ऊजागर गर्दै नवीकरणीय ऊर्जाका स्रोतको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल नवीकरणीय ऊर्जा परिसङ्घको प्रतिनिधिमण्डलसँग मंगलबार मन्त्रालयमा भएको भेटमा उनले नवीकरणीय ऊर्जा क्षेत्रको विकासका लागि सरकार नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

कार्यक्रममा परिसङ्घका अध्यक्ष गुणराज ढकालले ऊर्जा क्षेत्रको विकासमा नवगठित सरकारबाट सहयोग र समर्थनको अपेक्षा गरेका थिए । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घले देशको ऊर्जा क्षेत्रको प्रगति र विकासका लागि निरन्तर क्रियाशील रहँदै आएकाले आफूहरू सरकारसँग निकट रहेर यस क्षेत्रको विकासमा सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो ।

 

राजस्व कार्यालय भद्रपुरद्वारा तीन अर्ब २१ करोड राजस्व सङ्कलन

0

भद्रपुर (झापा): आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/८१ मा रु तीन अर्ब २१ करोड १२ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत असारमा मात्र रु ३० करोड ७१ लाख नौ हजार राजस्व सङ्कलन गरेको हो ।

कार्यालयले आव २०७९/८० को तुलनामा रु १९ करोड ५२ लाख ९१ हजार बढी राजस्व सङ्कलन गरेको छ । गत आवमा रु तीन अर्ब एक करोड ५९ लाख ७६ हजार राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय भद्रपुरका सूचना अधिकारी भीमप्रसाद आचार्यले जानकारी दिनुभयो । गत आवमा कार्यालयको रु तीन अर्ब ७९ करोड ७१ लाख राजस्व उठाउने लक्ष्य थियो । तर ८४ दशमलव ५७ प्रतिशतमात्र राजस्व सङ्कलन गर्न सकिएको छ ।

“देशभर व्यापार–व्यवसायमा गिरावट आउँदा राजस्व सङ्कलनमा कमी आएको हो”, उहाँले भन्नुभयो । आन्तरिक राजस्व कार्यालयले आयकरबाट रु एक अर्ब ६९ करोड ९४ लाख, भाडा आयकरबाट रु तीन करोड ६४ लाख, ब्याजबापत रु ११ करोड ५९ लाख, मूल्य अभिवृद्धि करबापत रु एक अर्ब २९ करोड पाँच लाख लाख तथा अन्तःशुल्कबापत रु ६४ करोड ४६ लाख ५५ हजार राजस्व सङ्कलन गरेको सूचना अधिकारी आचार्यले बताउनुभयो । जिल्लामा विकास निर्माणका आयोजनामा चालु आवमा कम भुक्तानी हुँदा मूल्य अभिवृद्धिकरबापत हुने आम्दानी घटेको छ ।

गत आवमा मूल्य अभिवृद्धिकरबापत रु एक अर्ब ३७ करोड ८८ लाख ९२ हजार राजस्व सङ्कलन भएको थियो ।

 

भूकम्पको धक्का

0

काठमाडौँ: आज बिहान मुगुमा भूकम्प धक्का महसुस गरिएको छ । बिहान ४ बजेर ४० मिनेटमा मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

भूकम्प ३.९ म्याग्निच्युडको रहेको केन्द्रको अभिलेखमा उल्लेख छ । मुगुसहित आसपासका जिल्लामा धक्काको महसुस गरिएको थियो ।

 

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

0

काठमाडौँ: मौसम पूर्वानुमान महाशाखा अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेकाले जसको प्रभावका कारण देशभर आंशिकदेखि साधरणतया बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

एघार दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएन

0

ढोरपाटन (बागलुङ): एघार दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै सञ्चालनमा आउन सकेको छैन । गत असार २१ गतेको भारी वर्षाका कारण सडक माथिदेखि खसेको पहिरोले सडक अवरुद्ध भएको थियो । करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको बीच भागबाटै भासिएपछि बागलुङ सदरमुकामसँग यातायात सम्पर्क विच्छेद भएको छ ।

सडक मर्मतका लागि मेसिन र कामदार खटाए पनि वर्षाका कारण सडक माथिदेखि निरन्तर पहिरो खस्दा सञ्चालन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

पहिरोले बगाएको सडकमा ग्याविनसहितको पर्खाल उठाउनुपर्ने भएकोले सञ्चालन गर्न समय लाग्ने उहाँले बताउनुभयो । करिडोरबाहेक जिल्लाका अन्य सडक सञ्चालनमा रहेको यादवले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सामान्य वर्षा हुँदा पनि माथिदेखि पहिरो खसिहाल्छ, एक साता अगाडि सञ्चालन ल्याउन कोशिस गरेको हो, केहीबेर गाडी चले पनि फेरि वर्षा भएपछि सडक बीच बाटै बगेको छ, सवारी आवतजावत गर्न समस्या छ ।”

सडक सञ्चालनमा नआउँदा दक्षिण बागलुङसहित करिडोर हुँदै यात्रा गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ । दक्षिण बागलुङका नागरिक पर्वतको कुश्मा हुँदै यात्रा गर्न बाध्य छन् ।

 

ट्रम्पविरुद्धको गोप्य कागजात मुद्दा खारेज

0

काठमाडौँ: फ्लोरिडाको एक अदालतले अवैध रूपमा गोप्य कागजातहरू राखेको आरोपमा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको मुद्दा खारेज गरेको छ।

न्यायाधीश इलिन क्याननले ट्रम्पको पक्षमा फैसला सुनाउँदै यो मुद्दा ल्याउने अधिकार नभएको बताएका छन्। क्याननलाई ट्रम्पले नै नियुक्त गरेका न्यायाधीश हुन्। न्यायाधीशले क्याननले ९३ पृष्ठ लामो फैसला सुनाएका छन्।

फैसला पछि ट्रम्पले यो मुद्दा खारेज गर्नु पहिलो कदम भएको बताउदै आफूमाथिका चारवटै फौजदारी मुद्दा खारेज गर्नुपर्नेमा जोड दिए। उनले भनेका छन्- ‘यस फैसलाले सबै राजनीतिक आक्रमणहरू समाधान गरेको छ जुन मेरा राजनीतिक विरोधीहरूको म विरुद्ध चुनावी षड्यन्त्र थियो।’

ट्रम्पमाथि अमेरिकी राष्ट्रपति पद छाडेपछि ह्वाइट हाउसबाट गोप्य कागजात गलत ढंगले आफ्नो निजी निवासमा लगेको आरोप लागेको थियो। यसबाहेक ट्रम्पमाथि ती कागजातहरू फिर्ता गर्न एफबीआईको प्रयासमा अवरोध गरेको आरोप पनि लगाइएको छ।

यसबाहेक ट्रम्पमाथि आठ विभिन्न आरोप लगाइएको थियो। यी अभियोगहरूमा न्यायमा बाधा पुर्‍याउने षड्यन्त्र, कागजपत्र वा अभिलेख राख्ने र झुटा बयान दिने समावेश छन्। तर, ट्रम्पले आफूलाई सबै आरोपबाट निर्दोष घोषणा गरेका छन्।

 

ट्रम्पले बनाए सिनेटर जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार

0

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ओहायोका रिपब्लिकन सिनेटर जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवारका रूपमा चयन गरेका छन् ।

ट्रम्पले सोमबार आफ्नो ट्रुथ सामाजिक सञ्जालमा यो घोषणा गरेका हुन् । भ्यान्स ट्रम्पको आलोचक थिए तर पछि उनको सहयोगी बने।

ओहायोबाट पहिलो पटक सिनेटरमा निर्वाचित भएका भ्यान्सको कन्जरभेटिभ मतको राम्रो आधार छ । भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउनुले रिपब्लिकन पार्टीमा ठूलो संख्यामा कन्जरभेटिभ मतदातालाई आकर्षित गर्न सक्ने बताइएको छ ।

रिपब्लिकनबाट उपराष्ट्रपतिको दौडमा फ्लोरिडाका सिनेटर मार्को रुबियो, नर्थ डकोटाका गभर्नर डग बर्गमलगायत दौडमा रहेका थिए ।

 

नयाँ सरकार गठन भएसँगै भारतीय राजदूतको सक्रियता अचानक बढ्यो, छानीछानी कांग्रेसका शक्तिशाली मन्त्रीलाई भेट्दै

0

काठमाडौं: नयाँ सरकार गठन भएसँगै भारतीय राजदूत नवीन श्रीवास्तवको अचानक सक्रियता बढेको छ। उनले सिंहदरबारमा विभिन्न मन्त्रालय पुगेर नवनियुक्त मन्त्रीहरुसँग भेटवार्ता गर्न थालेका छन्।

सोमबार सपथ ग्रहण गरेर मन्त्रीहरुले कार्यभार सम्हालेको भोलिपल्टै राजदूत श्रीवास्तव सिंहदरबारमा मन्त्रीहरुको कार्यकक्षमा पुग्न सुरु गरेका हुन्। श्रीवास्तवले रोजेर नेपाली कांग्रेसका मन्त्रीहरुलाई भेटेका छन् । उनले भेटेका मन्त्रीहरु कांग्रेस दलभित्र पनि प्रभावशाली हैसियतमा रहेकाहरु छन्।

श्रीवास्तवले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरे । आरजुको मन्त्रालय नै परराष्ट्र भएको र भारतीय राजदूतको प्रत्यक्ष सरोकारको मन्त्रालय भएकोले यसलाई सहज रुपमा लिइएको थियो।

यद्यपि आरजु केवल मन्त्री नभएर सरकारको सबैभन्दा ठूलो साझेदार दल नेपाली कांग्रेस सभापतिकी पत्नी समेत हुन्। सरकारका सबैभन्दा शक्तिशाली साझेदारकी पत्नी समेत हुँदा आरजु र श्रीवास्तवको भेटवार्ताको महत्व बढ्न जान्छ।

मंगलबार नै श्रीवास्तवले शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग पनि भेटवार्ता गरे । शहरी विकास मन्त्रालय भारतीय राजदूतको प्रत्यक्ष सरोकारको मन्त्रालय होइन त्यसैले उनले शहरी विकास मन्त्रीसँग भेट गरिरहनु जरुरी थिएन।

तर, सिंह शहरी विकास मन्त्रीसँगै उपप्रधानमन्त्री पनि हुन्। सरकारमा प्रधानमन्त्रीपछि दोस्रो बरियताका उपप्रधानमन्त्री सिंह सरकारमा कांग्रेसको नेतृत्वकर्ता पनि हुन्। सरकारमा कांग्रेसका प्रमुख अनुहारलाई भारतीय राजदूतले यसरी सक्रियताका साथ भेट्नुले नयाँ सरकारको काममा भारतको चासो गम्भीर भएको बुझ्न कठिन छैन।

प्रधानमन्त्री केपी शर्मा ओली भारतका कटु आलोचक हुन् । उनले २०७३ सालमा भारतको नाकाबन्दीको कडा रुपमा सामना गरेका कारण राष्ट्रवादी छवि बनाएका छन् । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको ‘चुच्चे’ नक्सा पनि ओली प्रधानमन्त्री भएकै बेला संसदबाट पारित भएको थियो।

भारतको चाहनामा बाधा पार्ने काम पटक पटक गरिसकेका व्यक्ति प्रधानमन्त्री भएका बेला उनलाई सरकारमा रहेर खुला रुपमा काम गर्न नदिने र भारतीय इच्छाअनुसार चलाउन सत्ता साझेदारहरुलाई हातमा लिने नियतका साथ भारतीय राजदूतको सक्रियता बढेको हुन सक्ने आशंका समेत गरिएको छ।

 

देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकताः प्रधानमन्त्री ओली

0

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन सामान्य घटना भएकाले देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता भएको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ सरकार बनेसँगै नेपाली जनता उत्साहित भएका बताए। ‘सरकार परिवर्तन हुनु ठूलो कुरा होइन, सरकार समय-समयमा परिवर्तन भइरहन्छ। अहिलेको परिवर्तनले नागरिकमा नयाँ आशा र भरोसा जगाएको छ’, उनले भने। सरकारले भ्रष्टाचार नियन्त्रण, विकास निर्माण र जनतालाई राहत दिने कुरामा आफ्नो ध्यान केन्द्रित गर्ने उनको भनाइ थियो।

उनले मुलुकको विकास, सुशासन कायम गर्दै आमजनताको हित हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। यसअघि पनि आफू प्रधानमन्त्री हुँदा इमान्दारीका साथ काम गरेको उल्लेख गदै एमाले अध्यक्ष ओलीले यसपटक पनि जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्‍याए।

प्रधानमन्त्री ओलीले मनसुनका कारण मुलुकका केही स्थानमा बाढीपहिरोबाट सडक, पुल भत्केका र जनधनको क्षति भएको वास्तविकता सुनाउँदै देशको भौगोलिक स्थितिले पनि यस्ता विपद्बाट जोगिन कठिनाइ भएको बताए। मन्त्रिपरिषद्को पहिलो बैठकले पनि दैवीविपत्ति जोखिम न्यूनीकरणलाई पहिलो प्राथमिकतामा राखेको बताए।

प्रधानमन्त्री ओलीले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका सम्बन्धमा गृहमन्त्रीले पनि प्राथमिकतामा साथ काम गरिरहेको उल्लेख गरे। उनले जाजरकोट भूकम्पपीडितको आवास निर्माणका लागि किस्ता रकम उपलब्ध गराउन पनि सरकार सकारात्मक रहेको बताए।

ओलीले एक वर्षभित्र कुनै पनि बालबालिका कुनै पनि कारणले सडकमा अलपत्र पर्ने अवस्था आउन नदिने उल्लेख गर्दै भने, ‘बालबालिका भविष्यका कर्णधार हुन् तिनलाई फस्टाउन दिनुपर्छ।’ प्रधानमन्त्रीले कीर्तिपुरस्थित क्रिकेट रंगशालामा तीन सय दिनभित्र प्यारापिट र फ्लड लाइटको व्यवस्था गरिने बताए।