Wednesday, June 17, 2026
Home Blog Page 678

सन् २०२५ मा नयाँ आप्रवासन कानूनको खोजीमा फ्रान्सेली सरकार

0

पेरिस: दक्षिणपन्थी सरकारले आप्रवासनमा कडाइ गर्न खोजिरहेको बेला फ्रान्सेली अधिकारीहरूले आगामी नयाँ वर्ष नयाँ आप्रवासन कानून अपनाउन खोजिरहेको एक प्रवक्ताले बताएका छन्।

“नयाँ कानूनको आवश्यकता पर्नेछ”, सरकारी प्रवक्ता मौद ब्रेगेओनले आइतबार बिएफएमटिभी प्रसारणलाई भने।

आप्रवासन नीति र सीमा नियन्त्रण कडा पर्ने सरकारको योजना संसद्मा कुनै पनि पक्षको पूर्ण बहुमत नभएको अवस्था सिर्जना गरेको यस गृष्मको विधायकी निर्वाचनहरूपछि फ्रान्सेली राजनीतिमा आएको दक्षिणपन्थी परिवर्तनको प्रतीक हो।

मिसेल बार्नियरको सरकारले सन् २०२५ को सुरुमै संसद्मा विधेयक पेश गर्ने आशा गरेको छ। सेप्टेम्बरमा पेरिसका एक विद्यार्थीको बलात्कार र हत्याको घटनाले फ्रान्सेली आप्रवासन बहसलाई अझ बढी उत्तेजित बनाएको छ। उक्त घटनामा एक मोरक्केलीलाई संदिग्ध आक्रमणकारीका रूपमा नामकरण गरिएको थियो।

सरकारले निष्कासन आदेश राम्रोसँग लागू गर्न खतरनाक मानिएका कागजातनभएका आप्रवासीहरूको हिरासतको अवधि बढाउन खोजेको छ।

विचाराधीन विकल्पमध्ये एउटा अधिकतम हिरासत अवधिलाई ९० दिनबाट बढाएर दुई सय १० दिन पुर्याउने हो। यो अहिले आतंकवादी अपराधहरूका लागि मात्र सम्भव छ।

“हामी अन्य प्रावधान विचार गर्ने सम्भावनालाई अस्वीकार गर्दैनौं”, ब्रेगेओनले भने, “फ्रान्सेलीहरूको सुरक्षाको कुरा आउँदा कनै वर्जित विषय हुनुहुँदैन।”

गत डिसेम्बरमा फ्रान्सले पहिले नै एउटा आप्रवासन कानून पारित गरेको थियो। अति-दक्षिणपन्थी र दक्षिणपन्थी सांसदहरूको समर्थन प्राप्त गर्न विधेयकलाई कडा बनाइएको थियो।

तर मुलुकको सर्वोच्च संवैधानिक अख्तियारले धेरैजसो नयाँ संशोधनहरूलाई अस्वीकार गर्यो। पछि राष्ट्रपति इम्यानुएल म्याक्रोनले कानूनमा हस्ताक्षर गर्नुअघि नै उक्त विधेयकलाई हटाइएको थियो।

संवैधानिक परिषद्ले अस्वीकार गरेका उपायहरूले नयाँ आप्रवासन विधेयकको आधारका रूपमा काम गर्ने सरकारी स्रोतले बताएको छ। “तिनीहरूमध्ये केही परिमार्जित हुनसक्छन् र केही थप हुनेछन्”, स्रोतले भन्यो।

सरकारको सबैभन्दा कट्टरपन्थी सदस्य गृहमन्त्री ब्रुनो रेटाइल्लोले आप्रवासनमा कडाइ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पदमा आएको केही दिनमै ‘कानूनको शासन न अपरिवर्तनीय छ न त पवित्र नै’ भन्दै विवाद उत्पन्न गरेका छन्।

लेबनानस्थित शान्ती सेनाको आधार शिविरमा इजरायली सैनिक प्रवेश

0

काठमाडौं: संयुक्त राष्ट्रसंघले इजरायलले दक्षिणी लेबनानमा शान्ती सेनाको आधार शिविरमा जबरजस्ती घुसपैठ गरेको आरोप लगाएको छ।

यस घटनाले लेबनानमा संयुक्त राष्ट्र अन्तरिम बल र इजरायली सेना बीच मुठभेडका घटनाहरू बढ्न सक्ने आशंका बढेको छ।

युनिफिल अर्थात् संयुक्त राष्ट्र अन्तरिम बल लेबनानका अनुसार आइतबार इजरायली सेनाको ट्यांकले मुख्य गेट तोडेर गोली चलाएको थियो, जसका कारण शिविर धुवाँले भरिएको थियो। जसका कारण १५ शान्ति सैनिकलाई छालाको जलन र पेटसम्बन्धी समस्या भएको छ।

यद्यपी, आइडीएफले भने आफ्ना घाइते सैनिकहरूलाई बाहिर निकाल्न युनिफिलको पोजिशनमा प्रवेश गरेको बताएको छ।

इजरायलले बारम्बार शान्ति सैनिकहरूलाई दक्षिणी लेबनानका क्षेत्रहरूबाट फिर्ता हुन आग्रह गरेको छ तर युनिफिलले भने अहिलेसम्म इजरायलका यी अनुरोधहरूलाई अस्वीकार गर्दै आएको छ।

अहिले करिब ५० देशका करिब १० हजार संयुक्त राष्ट्र शान्ति सैनिक लेबनानमा तैनाथ छन्, जसमा करिब ८०० नागरिक पनि तैनाथ छन्।

१९७८ देखि यी सैनिकहरूले लितानी नदी र ‘निलो रेखा’बीच गस्ती गरिरहेका छन्। लेबनान र इजरायल बीच संयुक्त राष्ट्रले मान्यता प्राप्त सीमालाई ब्लू लाइन भनिन्छ।

विपी राजमार्गमा मंगलबारदेखि रुटको गाडी चलाउन पाइने

0

काठमाडाैं: अविरल वर्षा र बाढी पहिरोका कारण अवरुद्ध विपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका सवारी साधान सञ्चालन हुने भएका छन्।

सडक डिभिजन भक्तपुरले सोमबार सूचना जारी गरि राजमार्गको भकुण्डेवेशी वर्षेखोला खण्डको करिब ८ किलोमिटर सडक बगाएकाले हाल ट्रयाक खोली साना सवारी साधन मात्रै सञ्चालन भएकोमा मंगलबारदेखि रुट अनुमति लिएका सबै प्रकारका सवारी साधान सञ्चालन गर्न योग्य हुने जनाएको हो।

साथै सडक डिभिजनले उक्त सडक खण्डमा सुख्ख पहिरो झर्ने सम्भावना रहेकाले रातीको समयमा यात्रा नगर्न अनुरोध समेत गरेको छ। भकुण्डेवेशी बर्षेखोला खण्डको सडक बगाएपछि सडक डिभिजनले चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सन निर्माण गरेको छ।

 

मैवाखोलामा पौडी खेल्ने क्रममा बेपत्ता एक बालिका मृत फेला

0

फुङ्लिङ (ताप्लेजुङ): ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ खानीस्थित मैवाखोलामा पौडी खेल्ने क्रममा बेपत्ता एक बालिका आज मृत फेला परेकी छिन् ।

बेपता भएकी १२ वर्षीया आइतरानी शेर्पा आठराई त्रिवेणी गाउँपालिका–४ ओडारेमा मृत भेटिएकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।

यही असोज १८ गते पौडी खेल्ने क्रममा शेर्पासँगै स्थानीय ११ वर्षीय सन्देश बराइली पनि बेपत्ता भएका थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तीन महिनामा ६ गैँडा मरे

0

चितवन: चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिएका छन् । साउन महिनायता ती गैँडा मृत भेटिएका हुन् ।

एउटा गैँडा करेन्ट लगाएर मारिएको हो भने दुई गैँडा अन्य कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा २१ वटा गैँडा मरेका थिए । जसमध्ये १८ गैँडा प्राकृतिक कारणले, दुई चोरी शिकारीले तथा एउटा गैँडा मृत्युको कारण खुल्न नसकेको उहाँले बताउनुभयो ।

पछिल्लो गणनाअनुसार नेपालमा एकसिङ्गे गैँडाको सङ्ख्या सात सय ५२ रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै छ सय ९४ गैँडा रहेका छन् ।

अर्थशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीलाई

0

काठमाडौँ: अर्थशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार अमेरिकी तीन अर्थशास्त्रीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।पुरस्कार समितिले म्यासाचुसेट्स इन्स्टिट्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु र साइमन जोन्सन तथा सिकागो विश्वविद्यालयका जेम्स रोविन्सनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

‘संस्थाहरू कसरी बन्छन् र समृद्धिलाई प्रभावित तुल्याउँछन् भन्ने अध्ययनका निम्ति’ ती अर्थशास्त्रीहरूलाई पुरस्कृत भएकोे समितिले जनाएको छ। उनीहरूलाई कुनै देशहरू किन धनी र कुनै देशहरू किन गरिब छन् भन्ने विषयमा गरेको अनुसन्धानका लागि पुरस्कृत गरिएको हो। यी अर्थशास्त्रीहरूले विशेषगरी युरोपेली उपनिवेशको प्रभावमा केन्द्रित भएर अध्ययन गरेका छन्।

अर्थशास्त्र विधाको पुरस्कार समितिका अध्यक्ष ज्याकोब स्वेन्सनले भन्नुभयो, “देशहरूबीचको आयमा विशाल भिन्नतालाई कम गर्नु हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो।”

“पुरस्कार विजेताहरूले यसलाई प्राप्त गर्नका लागि सामाजिक संस्थाहरूको महत्त्वलाई कारण मानेका छन्,” स्वेन्सनले भन्नुभयो । अर्थशास्त्रतर्फ अहिलेसम्म ५६ पटक पुरस्कार दिइएकोमा ९६ जना पुरस्कृत भएका छन्। पुरस्कृत हुनेमा तीन जना महिला छन्। सन् १९६९ देखि यस विधामा पुरस्कार दिन थालिएको हो।

मेची–महाकाली उद्धार यात्रा : झापाबाट १० जनाको उद्धार

0

बनियानी (झापा): झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट आज मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा आरम्भ भएको छ । यात्राका क्रममा झापाबाट १० जनाको उद्धार गरिएको छ ।

जिल्लाका विभिन्न स्थानबाट नौ पुरुष र एक महिलाको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा थालिएको उद्धार अभियानका क्रममा मेचीनगर नगरपालिकाबाट चार, बिर्तामोड नगरपालिकाबाट दुई, कनकाई नगरपालिकाबाट दुई र शिवसताक्षी नगरपालिकाबाट दुई जनाको उद्धार गरिएको हो ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ मूल भावका साथ ३२ दिने उद्धार यात्रा सुरु भएको हो । उद्धार गरिएकालाई मानव सेवा आश्रम मेचीनगर सेवाकेन्द्रमा राखिएको छ । मानव सेवा आश्रमले सातै प्रदेशका १९ जिल्लामा २५ सेवाकेन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन गराउँदै आएको अध्यक्ष अधिकारीले बताउनुभयो ।
“यसअघिका मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा एक हजारभन्दा बढी व्यक्तिको उद्धार गरिएको थियो”, उहाँले भन्नुभयो ।

इजरायलमा ड्रोन आक्रमणबाट ४ सैनिकको मृत्यु, ६० जनाभन्दा बढी घाइते

0

तेल अभिभ : उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायली रक्षा बल (आईडीएफ) ले जनाएको छ। हाइफाको दक्षिणमा २० माइल (३३ किलोमिटर) टाढा रहेको सहर बिन्यामिनाको छेउमा रहेको बेसमा भएको आक्रमणमा सात सैनिकहरू गम्भीर घाइते भएको आईडीएफले जानकारी दिएको हो।

तेल अभिभ र हाइफाको बिचमा रहेको क्षेत्रमा इजरायली रक्षा बल (आईडीएफ) गोलानी ब्रिगेडको प्रशिक्षण शिविरलाई लक्षित गरिएको थियो । हिजबुल्लाहले आक्रमणको जिम्मेवारी लिएको छ ।

सशस्त्र समूहको मिडिया कार्यालयले बिहीबार दक्षिणी लेबनान र बेरुतमा इजरायली आक्रमणको जवाफमा आक्रमण गरिएको बताएको छ। समूहले उत्तरी इजरायलमा रहेको शिविरलाई ‘ड्रोनको झुन्ड’ प्रयोग गरेर निशाना बनाएको बताएको छ।

इजरायली एम्बुलेन्स सेवा, म्यागेन डेभिड एडोम (एमडीए) ले आक्रमणमा ६१ जना घाइते भएको बताएको छ – जसमा तीन जनाको अवस्था गम्भीर रहेको छ। ती मध्ये ३७ लाई एम्बुलेन्स वा हेलिकप्टरबाट आठ क्षेत्रीय अस्पतालमा लगिएको छ ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

0

काठमाडौँ, २८ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ७९ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ४४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ १५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ २६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५९ पैसा र बिक्रीदर ९१ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ७९ रुपैयाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ र बिक्रीदर नौ रुपैयाँ ४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ पाँच पैसा र बिक्रीदर चार रुपैयाँ छ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा कायम छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९५ पैसा र बिक्रीदर नौ रुपैयाँ ९९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३ रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९ रुपैयाँ ७६पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ७६पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ७४ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६५ पैसा तोकेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

आजको मौसम : दुई प्रदेशमा वर्षाको सम्भावना

0

काठमाडौँ: पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ । तीनवटै प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज २९ गते मङ्गलबार पनि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहनुका साथै कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही किसिमको मौसमी प्रणाली कायम रहने महाशाखाले पूर्वानुमान गरेको छ ।