Thursday, June 18, 2026
Home Blog Page 662

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८४ पैसा कायम भएको
छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैँया ९१ पैसा र बिक्रीदर एक सय ४५ रुपैँया ५६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैँया १० र बिक्रीदर एक सय ७४ रुपैँया ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैँया ८६ पैसा र बिक्रीदर एक सय ५५ रुपैँया ५५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैँया ६५ पैसा र बिक्रीदर ८९ रुपँैया ५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैँया ६३ पैसा र बिक्रीदर ९७ रुपैँया ६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैँया ५९ पैसा र बिक्रीदर एक सय २ रुपैँया ४ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैँया ८१ पैसा र बिक्रीदर आठ रुपैँया ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैँया ८५ पैसा र बिक्रीदर १८ रुपैँया ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैँया ७४ पैसा र बिक्रीदर ३५ रुपैँया ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैँया ८२ पैसा र बिक्रीदर ३६ रुपैँया ९८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैँया ९९ पैसा र बिक्रीदर चार रुपैँया, युएई दिराम एकको खरिददर ३६ रुपैँया ५५ पैसा र बिक्रीदर ३६ रुपैँया ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैँया ९३ पैसा र बिक्रीदर ३१ रुपैँया ७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैँया ६७ पैसा र बिक्रीदर ९ रुपैँया ७१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैँया ६४ पैसा र बिक्रीदर १२ रुपैँया ६९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैँया ४२ पैसा र बिक्रीदर १९ रुपैँया ५१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैँया २८ पैसा र बिक्रीदर १७ रुपैँया ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैँया १२ पैसा र बिक्रीदर चार सय ४० रुपैँया ८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैँया ५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैँया ६४ पैसा तथा भारतीय रुपैँया एक सयको खरिददर एक सय ६० रुपैँया र बिक्रीदर एक सय ६० रुपैँया १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

कृषि विकास बैंकद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आठ लाख सहयोग

0

जुम्ला: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कृषि विकास बैंक कर्णाली प्रदेश कार्यालयले रू आठ लाख सहयोग गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कृषि विकास बैंक कर्णाली प्रदेश कार्यालयले रु आठ लाख सहयोग रकम प्रदान गरेको हो ।

उक्त रकमको चेक आइतबार एक कार्यक्रमबीच बैंकले प्रतिष्ठानलाई हस्तान्तरण गरेको थियो । कृषि विकास बैंक लिमिटेड कर्णाली प्रदेश कार्यालयका निर्देशक सुरोज टन्डनले प्रतिष्ठानका रेक्टर डबलबहादुर धामी र रजिस्ट्रार नृपेन्द्र महतलाई उक्त चेक हस्तान्तरण गर्नुभएको थियो ।

निर्देशक टन्डनले बैंकको सामाजिक उत्तरदायित्वलाई सदुपयोग गर्ने उद्देश्यले प्रतिष्ठानलाई सो सहयोग रकम प्रदान गरेको बताउनुभयो । कर्णाली प्रदेशको स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रहरूमा बैंकले सहयोग गर्दै आएको छ । बैंकले समाजका लागि शिक्षा र स्वास्थ्यमा योगदान पु¥याउने नीति अनुरूप प्रतिष्ठानलाई सहयोग गरेको निर्देशक टन्डनले जानकारी दिनुभयो ।

“स्वास्थ्य र शिक्षा जस्ता आधारभूत क्षेत्रहरूमा सहयोग पु¥याउनु नै हाम्रो सामाजिक उत्तरदायित्वको प्रमुख उद्देश्य हो”, उहाँले भन्नुभयो । संस्थागत सामाजिक उत्तरदायित्व भन्नाले कुनै पनि संस्थाले आफ्नो नाफाबाहेक समाजमा सकारात्मक योगदान पु¥याउने उद्देश्यले गरिने प्रयासलाई जनाउने निर्देशक टन्डनको भनाइ छ ।

संस्थाहरूलाई समाजप्रतिको जिम्मेवारी वहन गर्न वातावरणीय, सामाजिक, आर्थिक क्षेत्रहरूमा दीर्घकालीन र दिगो विकासका लक्ष्य लिने संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत् प्रतिष्ठानलाई महत्वपूर्ण सहयोग प्राप्त भएको प्रतिष्ठानका रेक्टर डा डबलबहादुर धामीले जानकारी दिनुभयो ।

“बैंकको यस किसिमको सकारात्मक कदम सदैव स्वीकार्य छ । कृषि विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य र वातावरणीय संरक्षणमा निरन्तर योगदान दिनु एउटा उदाहरणीय कार्य हो”, उहाँले भन्नुभयो ।

प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बैंकको सामाजिक उत्तरदायित्वको अभ्यासले प्रतिष्ठानलाई संस्थागत रुपमा खुसी मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले स्वास्थ्य सेवामा गुणस्तर सुधार्न सहयोग गरेको छ । बैंकको स्थानीय समुदायको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।”

सामाजिक उत्तरदायित्वको सिद्धान्तलाई आत्मसात गर्दै बैंकले यस प्रकारको सहयोगलाई निरन्तरता दिनुपर्ने रजिस्ट्रार महतले बताउनुभयो । कृषि विकास बैंकले देशभरका दुई सय ८५ शाखाबाट सेवा प्रवाह गरेको सो बैंकको कर्णाली प्रदेश कार्यालयले जनाएको छ ।

दमौली बजारमा सडक विस्तारले गति लिँदै

0

दमौली (तनहुँ): निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा सडक विस्तारले गति लिएको छ । अन्य ठाउँमा कामले गति लिइसक्दा पनि दमौली बजारमा काम हुन सकिरहेको थिएन ।दमौली बजारमा डिजाइन सेन्टरबाट २३/२३ मिटरलाई आधार मानेर सडक विस्तार सुरु भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार दमौली बजार खण्डमा नाला निर्माण भइरहेको छ ।

पाण्डेले भन्नुभयो, “केही समय पहिला बिजुलीको नयाँ पोलहरु गाडीएको छ । बिजुलीको पोललाई आधार मानेर त्यसभित्र सडक विस्तार हुनेछ ।” पाण्डेकाअनुसार सडकविन्दुबाट १२ दशमलव २५ मा नाला निर्माण हुनेछ । बिजुलीको पोलभन्दा बाहिर दुई मिटरमा पैदलमार्ग निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

पाण्डेले भन्नुभयो, “दसैँ बिदा अगाडिदेखि काम सुरु गरिएकामा दसैँ बिदा सकिएपछि कामले झनै गति लिएको छ । मुग्लिन पोखरा सडकको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनी, बन्दीपुरमा कामले गति लिँदा सदरमुकाम दमौलीमा काम हुन सकिरहेको थिएन ।”

सडक विस्तारका क्रममा दमौली बजारका ७४ घरटहरा भत्काइनेछन् । त्यसभित्र जिल्ला प्रहरी कार्यालयको गेट, दुर्गा मन्दिर लगायतका संरचना पर्छन् । केही लाभग्राहीले पहिलो किस्ता बापतको रकम बुझिसकेको पाण्डेले बताउनुभयो ।

पूर्वी खण्डमा आर्थिक वर्ष २०८०/८१ मा एकतर्फी रुपमा ५५ किलोमिटर दुई लेन कालोपत्र भएको छ । हालसम्म भने एकतर्फी रुपमा ६३ किलोमिटर कालोपत्र सकिएको पाण्डेको भनाइ छ ।

पाण्डेकाअनुसार पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् । त्यस्तै दुई ठूला पुल र एक सय तीन वटा कल्भर्ट निर्माण सकिएको पाण्डेले जानकारी दिनुभयो । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलअन्तर्गत दुई सय पाइल निर्माण सकिएको र अब स्ल्याब र बिम बनाउने चरणमा पुगेको उहाँले बताउनुभयो ।

उहाँकाअनुसार आर्थिक वर्ष २०८०/८१ मा भूक्षय रोकथामका लागि विभिन्न ठाउँमा बायो इन्जिनियरिङको काम गरिएको छ । त्यस्तै पहिरोजन्य समस्याले पनि काममा अवरोध पुगेको थियो । त्यस वर्षका लागि आयोजनाका लागि पुँजीगततर्फ रु दुई अर्ब ९९ करोड बजेट विनियोजन भएकामा रु दुई अर्ब १४ करोड खर्च भएको जनाइएको छ ।पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

अण्डाको मूल्य वृद्धिपछि किसानलाई राहत

0

चितवन: गत भदौ पहिलो सातादेखि अण्डाको मूल्य घटेपछि निराश बनेका किसान मूल्य वृद्धि हुन थालेसँगै उत्साहित बनेका छन् । किसानले लागत मूल्य नजिक बिक्री गर्न पाएका हुन् ।नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलकाअनुसार सोमबारदेखि लागू हुने गरी चितवनलाई आधार मानेर ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) रु पाँच सय, मध्यम रु चार सय ८५ र ‘एक्सएल’ रु पाँच सय १५ कायम गरिएको छ । यसअघि गत साउन मसान्तमा यही दररेटमा अण्डा बिक्री भएकामा क्रमशः घटेर ठूलो अण्डा रु तीन सय ६०, मध्यम रु तीन सय र एक्सएल रु तीन सय ७५ मा झरेको थियो ।

विगत दुई सातायता क्रमशः मूल्य बढ्न थालेको अध्यक्ष पोखरेलले बताउनुभयो । लागत मूल्य प्रतिगोटा १६ रुपैँया ५६ पैसा रहेको छ । पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले उत्पादन घटेको र माग बढेपछि पूर्ववत् अवस्थामा अण्डाको मूल्य आएको बताउनुभयो । भदौ पहिलो साता दैनिक ३० लाख हाराहारी अण्डा उत्पादन हुने गरेकामा यो सङ्ख्या घटेर २२ लाख हाराहारीमा झरेको छ । उहाँको भनाइमा नोक्सान थपिँदै गएपछि धेरै किसान विस्थापित भएका छन् ।

उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्षसमेत रहनुभएका कुखुरापालक किसान त्रिलोचन कँडेल किसानले पालेका अण्डा उत्पादन हुने कुखुराहरु बिक्री भएको र नयाँ चल्ला हुर्किन नसक्दा उत्पादन घटेको बताउनुहुन्छ । कँडेलले ७५ प्रतिशत किसान विस्थापित भइसकेको उल्लेख गर्दै केही किसान फेरि व्यवसायमा फर्किएको बताउनुभयो । लागत मूल्यभन्दा कममा अण्डा बिक्री गर्नुपर्ने अवस्था आएमा बाँकी किसान पनि विस्थापित हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अण्डाको मूल्य बढ्दै गएपछि हामी जस्ता किसानमा केही आशा पलाएको छ ।”

गोदावरी पुष्प मेलामा एक करोड १८ लाखको कारोबार

0

ललितपुर: जावलाखेल मैदानमा आयोजित १७औँ गोदावरी पुष्प मेला सम्पन्न भएको छ । चार दिन चलेको मेलामा ४३ हजार ६ सय जनाले अवलोकन गरेका थिए भने रु एक करोड १८ लाखको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपालका पूर्वअध्यक्ष मीनबहादुर तामाङले जानकारी दिनुभयो ।

तामाङका अनुसार मेलामा पुष्प जातीय विकास र गुणस्तरीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले पुष्प व्यवसाय प्रदर्शनी गरिएको थियो । मेलाको पहिलो दिनमा रु २५ लाख, दोस्रो दिनमा रु २५ लाख, तेस्रो दिनमा रु ५० लाख र अन्तिम दिनमा रु २८ लाखको कारोबार भएको थियो ।

यस वर्षको मेलामा बहुवर्षे फूल र इन हाउस ग्रिन प्लान्टप्रति अवलोकनकर्ता बढी आकर्षित देखिएका छन् । मेलामा ७५ वटा प्रदर्शनी कक्ष, ६८ व्यावसायिक स्टल, दुई प्रतियोगितात्मक स्टल, चार अफिसियल स्टल र एक सेल्फी स्टल आयोजकले जनाएको छ ।

उपत्यकावासीका लागि बाह्रै महिना स्वच्छ पानी उपलब्ध गराउन मन्त्री यादव प्रतिबद्ध

0

काठमाडौँ: खानेपानी मन्त्री प्रदीप यादव सम्मानित हुनुभएको छ । उहाँ मन्त्री भएपश्चात उहाँले सम्पादन गरेको कार्य प्रशंसनीय भएको भन्दै काठमाडौँ उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समितिले सम्मान गरेको हो ।

मन्त्री यादवले सम्मान कार्यक्रममा बोल्दै काठमाडौँ उपत्यकावासीका लागि बाह्रै महिना स्वच्छ पानी उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले काठमाडौँ उपत्यकामा खानेपानीको समस्यालाई अल्पकालीन र दीर्घकालीन रूपमा समाधान गर्न सरकारले ठोस कदम चालिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मानिसलाई पानी नभइ नहुने कुरा हो, पानीविना बाँच्न सकिदैन, काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका लागि ठोस कदम
चालिनेछ ।”

यसैगरी मन्त्री यादवले खानेपानी मन्त्रालय नागरिकका समस्या र गुनासाहरु सम्बोधन गर्न सधैँ तत्पर रहेको बताउनुभयो । कोटेश्वर क्षेत्रमा ओभरहेड ट्याङ्की निर्माणका लागि त्यहाँका स्थानीयवासी एवं सङ्घर्ष समितिले राखेका मागका विषयमा उहाँले ओभरहेड ट्याङ्की निर्माण गर्न बजेट विनियोजन गराउने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीको समस्या समाधान गर्न सिस्नेरीबाट पानी ल्याउने पहल भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकामा ५१ करोड लिटर पानीको आवश्यक छ, अहिले जम्मा १७ करोड लिटर पानी वितरण गरिरहेका छौँ, हामीले थुप्रै योजना अघि सारेर पानीको समस्या समाधान गर्ने छौँ ।”

सोही कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुनिल केसीले यसवर्ष समयमै मेलम्ची लगायतका क्षेत्रबाट पानी ल्याएर नागरिकलाई सुविधा दिएको भन्दै मन्त्री यादवको प्रशंसा गर्नुभयो ।

इलाम बजारका चोक र गल्लीमा छाडा कुकुरले दुर्घटना बढाउँदै

0

इलाम : यहाँको इलाम बजारका चोक र गल्लीमा छाडा कुकुरको सङ्ख्यामा वृद्धि भएको छ । कुकुरको सङ्ख्या वृद्धि मात्र नभइ छाडा कुकुरको टोकाइका घटना समेत वृद्धि भएको हो । छाडा कुकुरबाट मोटरसाइकल चालक तथा पैदलयात्री हैरानी खेप्न बाध्य भएका छन् । कुकुरको टोकाइबाट धेरै घाइते भएका छन् ।

कात्तिक सुरु भए यता मात्र इलाम बजारमा ३० जनालाई कुकुरले टोकेको छ । चालु आर्थिक वर्षको असोजसम्ममा ७० जनालाई कुकुरले टोकिसकेको तथ्याङ्क जिल्ला अस्पतालसँग छ । घरपालुवा र सडकमा डुल्ने कुकुरले टोकेका दैनिक पाँच देखि सात जना बिरामी आउने गरेको इलाम अस्पतालका आकस्मिक सेवा इन्चार्ज टीका लुइँटेलले जानकारी दिनुभयो । गत आव २०८०÷८१ मा भने सात सय ३५ जनालाई कुकुरले टोकेर भ्याक्सिन लगाएको उहाँले बताउनुभयो ।

फिक्कलबाट आइतबार सदरमुकाम आइपुग्नुभएका सन्देश खड्काको मोटरसाइकल कुकुरमा अल्झिएर लड्यो । “कुकुर जोगाउने हुँदा बाइक हुत्तिएर नालिमा लड्यो र बचेँ, गाडीमा ठोक्किएको भए ज्यान जाने थियो”,’ उहाँले भन्नुभयो, “स्थानीय सरकार, जिल्ला प्रशासन, प्रहरी कार्यालयलगायत सबै सरकारी निकाय यहीँ छन् । छाडा कुकुर व्यवस्थापन गर्नु उनीहरुको दायित्त्व हो ।”

छाडा कुकुरको व्यवस्थापन इलाम नगरपालिका, जिल्ला प्रशासन र प्रहरी कार्यालयले गर्नुपर्ने सर्वसाधारणको भनाइ छ । विष हालेर मार्दा पशु अधिकारकर्मीको चर्को विरोध आएपछि यसको व्यवस्थापन थप चुनौतीपूर्ण बनेको स्थानीयले बताए ।

नगरपालिकाले कुकुर व्यवस्थापनका लागि बजेट विनियोजन गरेर योजना अघि बढाएको जनाएको छ । छाडा कुकुरको सङ्ख्या बढ्दै गएका कारण मोटरसाइकल चालक तथा पैदलयात्री हैरानी खेप्न बाध्य भएपछि नगरपालिकाले छाडा कुकुर व्यवस्थापनको पहल थालेको जनाएको हो ।

इलाम बजारका छाडा कुकुरको दीर्घकालीन व्यवस्थापन गर्न कुकुरको बन्ध्याकरण शिविर चलाउन लागिएको नगरपालिकाका प्रमुख केदार थापाले बताउनुभयो । “छाडा कुकुरका कारण इलाम बजार अव्यवस्थित तथा दुर्घटनाको जोखिमसमेत बढेकाले कुकुरहरुको यथोचित व्यवस्थापनका लागि बन्ध्याकरण उपयुक्त विकल्प भएको निष्कर्षसहित तयारीमा लागेका छौँ”, नगर प्रमुख थापाले भन्नुभयो, “छाडा कुकुरले जथाभावी मानिसलाई टोक्ने गरेपछि त्यसको व्यवस्थापनका लागि कुकरलाई रेबिज विरुद्धको खोप दिने र बन्ध्याकरण गरिनेछ । योजना कार्यन्वयनसँगै सडकमा हिँडडुल गर्ने नागरिक कुकुरबाट सुरक्षित हुनेछन्, रेबिज रोगको जोखिम कम हुनेछ ।”

कुकुरको टोकाइबाट रेबिज सर्ने सम्भावना ९० प्रतिशत हुन्छ । विभिन्न जिल्लामा ‘नो बेबी, नो रेबिज’ भन्ने नाराका साथ रेबिजविरुद्धको खोप लगाउने गरिएको छ । अरु जिल्लामा व्यवस्थापनसहित विभिन्न अभियान चलिरहेको भए पनि इलाममा छाडा कुकुर व्यवस्थापन गर्न नसकिएको पशु प्राविधिक प्रदीप गुरुङले बताउनुभयो । बजार क्षेत्रमा मात्र दुई सय हाराहारीमा छाडा कुकुर रहेको अनुमान छ ।

आइसिसी पुरुष क्रिकेट विश्वकप : नेपाल अमेरिकासँग तीन विकेटले पराजित

0

काठमाडौँ: आइसिसी विश्वकप लिग–२ क्रिकेटमा नेपाल अमेरिकासँग पराजित भएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला सम्पन्न खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको हो । नेपालले दिएको दुई सय ८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ दशमलव ४ ओभरमा तीन विकेट गुमाउँदै पूरा ग¥यो ।

अमेरिकाको लागि शयान जहाजिंगरले सर्वाधिक एक सय चार रनको योगदान
दिए । उनले ९७ बलमा १२ चौका र ४ छक्कासहित सर्वाधिक १०४ रनको शतकीय इनिङ खेलेका हुन् । त्यसैगरी कप्तान मोनांक पटेलले ७६ बलमा ५ चौकासहित ६२ रनमा बनाए । हरमित सिंहले ४४ बलमा ६ चौका र २ छक्कासहित ५७ रन जोडे । शाड्ली भानले शाक्ली २७, जसदीप सिंह र साइतेजा मुकामल्लाले समान ११ रन बनाए भने मिलिन्द कुमारले पाँच रन जोडे ।

नेपालका कुशल भुर्तेलले ४ विकेट लिए भने सोमपाल कामीले २ तथा ललित राजवंशीले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय ८६ रन बनाएको योगफल बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रनको इनिङ खेलेका थिए ।

त्यस्तै ओपनर आसिफ शेख ५३ बलमा ७ चौका र १ छक्कासहित ५२ तथा अनिल साह ६२ बलमा ५ चौकासहित ५६ रनमा आउट भए । त्यसैगरी आरिफ शेख ३७, कुशल भुर्तेल ११, दीपेन्द्रसिंह ऐरी १३, गुल्सन झा १ र सोमपाल कामी २ रनमा आउट भए । अमेरिका नोष्थुश केन्जिगेले ४ विकेट लिए भने हरमीत सिह, शाड्ली भान शाक्ली र जसदीप सिंहले समान १–१ विकेट लिए । नेपालले अब मङ्गलबार स्कटल्यान्डसँग खेल्नेछ । नेपाल लिग २ मा ९ खेलमा ७ मा हार, १ मा जित र १ खेलमा अङ्कविहीन हुँदै ३ अङ्कका साथ सातौँ स्थानमा छ । अमेरिका १० खेलमा ७ मा जितसहित १४ अङ्कका साथ दोस्रो स्थानमा छ । क्यानडा १२ खेलमा १६ अङ्कका साथ शीर्ष स्थानमा छ ।

ठेकेदार नै भागेपछी इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ जना मजदुर अलपत्र

0

राजविराज (सप्तरी): यहाँको विष्णुपुर गाउँपालिका मलेकपुरस्थित सीता इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ मजदुर अलपत्रमा परेका छन् । उनीहरु हाल राजविराज नगरपालिका–३ स्थित कल्टुपोखरी नजिकै निर्माणाधीन एक घरको भुइँमा बसेका छन् ।

भारतको उत्तरप्रदेशस्थित सम्भल जिल्लाबाट १५ दिनअगाडि उनीहरुलाई ल्याइएको थियो । उनीहरुलाई ल्याउने ठेकेदार नै भागेपछि मजदुरहरु अलपत्र परेका हुन् । भारतको उत्तरप्रदेश जिल्ला सम्भल थाना हजरनगरगढीका सोनु सागरले १२ दिन जसोतसो मलेकपुरस्थित सीता इँटा उद्योगमा बसे पनि ठेकेदार सम्पर्कमा नआएपछि अलपत्र परेको बताउनुभयो । उहाँले भारतबाटै मो. जाकिर मियाँ नाम गरेको ठेकेदारले इँटा भट्टामा काम गर्न ल्याएको बताउनुभयो ।

सोही ठाउँका अर्का मजदुर बोहरा सिँहले इँटा उद्योगमा १२ दिन बसेको तर मालिकले खाना दिन छाडेपछि तीन दिनदेखि राजविराजमा भोकै बसेको बताउनुभयो । “हामीसँग पैसा छैन, घर जाने पैसा पनि छैन । कसरी घर फर्किने भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालयले सीता इँटा उद्योगबाट ११ बालबालिका, १५ महिलासहित ४४ भारतीय मजदुरको उद्धार गरेको जनाएको छ । प्रहरीले उद्धार गरी सदरमुकाम राजविराज ल्याएपछि इँटा व्यवसायीले खाना खुवाइरहेका छन् ।

सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले मजदुरहरु ल्याउने फरार ठेकेदारको खोजी भइरहेको र उनीहरुलाई भारत पठाउने प्रयाससमेत भइरहेको जानकारी दिनुभयो ।

इजरायलले गलत कदम चाल्यो: खामेनी

0

काठमाडौं: इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले अक्टोबर २६ मा इजरायलले गरेको आक्रमणप्रति प्रतिक्रिया दिएका छन्।

खामेनीले इजरायलले गलत कदम चालेको बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै खामेनीले भनेका छन्, ‘जियोनिस्ट शासनले दुई रात अघि गलत कदम चाल्यो। हामीले उनीहरूलाई इरानी जनताको शक्ति, दृढ संकल्प र पहलको बारेमा बताउनुपर्छ।’

इजरायलले इरानी सैन्य अखडाहरूमा हवाई आक्रमण गरेको थियो। यी आक्रमणमा चार इरानी सैनिकको मृत्यु भएको इरानले पुष्टि गरेको छ।

यस महिनाको सुरुमा इरानले इजरायलमा करिब २०० मिसाइल प्रहार गरेको थियो। तर, इरानको आक्रमणमा इजरायललाई कुनै ठूलो क्षति पुगेको थिएन।

इजरायलले इरानमाथि करिब सय मिसाइलले आक्रमण गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ। इरानले भने इजरायलको सबै आक्रमणलाई असफल बनाएको दाबि गरेको छ।