Thursday, June 18, 2026
Home Blog Page 649

बागलुङ–पूर्वी रुकुम सडक कालोपत्र नहुँदा समस्या

0

ढोरपाटन (बागलुङ): राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–पूर्वी रुकुम सडक अधुरै रहेको छ । निर्माण कम्पनीले लामो समयदेखि काम नगर्दा बागलुङको निसीखोला गाउँपालिका–६ पातीहाल्ने सिमानादेखि पूर्वी रुकुमको भूमे गाउँपालिका–१ रुपगासम्मको १३ किलोमिटर सडक निर्माण सम्पन्न हुन नसकेको हो ।

विसं २०७३ जेठमा उक्त सडक कालोपत्र गर्न सम्झौता भएको थियो । अहिलेसम्म ७० प्रतिशत मात्रै काम सकिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय दैलेखका इन्जिनियर नवीन खरालले जानकारी दिनुभयो । विसं २०७६ जेठसम्म काम सम्पन्न गर्नुपर्ने थियो ।

इन्जिनियर खरालका अनुसार निर्माण कम्पनीको हालसम्म पाँचपटक म्याद थप गरिएको छ । अन्तिम पटक २०७९ भदौमा २०८० असारसम्मका लागि म्याद थप भए पनि त्यस यता निर्माण कम्पनीले काम नगरेको उहाँको भनाइ छ । म्याद सकिएको १६ महिनासम्म निर्माण कम्पनी काम गर्न नआएको इन्जिनियर खराल बताउनुहुन्छ । सडक कालोपत्र गर्न रु ४२ करोड ९९ लाखमा सम्झौता भएको थियो ।

बागलुङ र लुकुम गाउँबीचको सडक कालोपत्र नहुँदा यात्रा गर्न समस्या हसने गरेको छ । सडक खाल्डाखुल्डी र साँघुरो हुँदा दुर्घटनाको जोखिम रहेको छ । सडक लामो समयसम्म कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले आजित भएको भूमे गाउँपालिका–१ का पृथमान गुरुङले बताउनुभयो । “यो सडक खुलेको धैरै वर्ष भयो, अहिलेसम्म कालोपत्र गर्न सकिएको छैन, धुलो र हिलोले वस्तुभाउ र मानिस बिरामी पर्ने गरेका छन्”, उहाँले भन्नुभयो ।

चाडपर्वमा उपत्यकामा नियम उल्लङ्घन गर्ने ३९ हजार चालकमाथि कारबाही

0

काठमाडौँ: काठमाडौँ उपत्यकामा दसैँ, तिहार र छठ पर्वको समयमा ३९ हजार एक सय १७ चालकमाथि कारबाही गरिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँको घटस्थापनादेखि शुक्रबार बिहानसम्ममा सडक लेन मिच्नेलगायत ट्राफिक नियम उल्लङ्घन गर्ने चालकमाथि कारबाही गरिएको हो । कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीले ३९ हजारमध्ये तीन हजार तीन सय ५० मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउने चालकमाथि कारबाही गरिएको जानकारी दिनुभयो ।

त्यस्तै, लेन अनुशासन नमान्ने दुई हजार एक सय ४४, तीव्रगतिमा सवारी चलाउने तीन हजार नौ सय ५७, हेलमेट नलगाउनेलगायत अन्य विभिन्न प्रकृतिका ट्राफिक नियम उल्लङ्घन गर्ने २९ हजार ६ सय ६६ जनालाई कारबाही गरिएको उहाँले बताउनुभयो । प्रवक्ता चतुर्वेदीका अनुसार दसैँ, तिहार र छठ पर्वका अवसरमा काठमाडौँ उपत्यकाका तीन जिल्लामा चार सय ५० सवारीसाधन दुर्घटना भएका थिए ।

दुर्घटनामा परी ११ जनाको मृत्यु, ३१ जना गम्भीर घाइते तथा ६ सय ३४ जना सामान्य घाइते भएका प्रवक्ता चतुर्वेदीले बताउनुभयो । यसपालि उपत्यका प्रहरीले काठमाडौँमा पाँच हजारभन्दा बढी प्रहरी परिचालन गरी सुरक्षा निगरानी गरेको थियो । त्यसमा एक हजार ६ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालित थिए ।

कुल १८ स्थानमा यात्रु सहायता कक्षा स्थापना भएको थियो । उपत्यका छिर्ने नाकासहितका क्षेत्रमा सुरक्षा जाँच अभियान र सडकका विभिन्न क्षेत्रमा ट्राफिक नियमपालनविरुद्ध कारबाही अभियान चलाइएको थियो ।

कारागारबाट सुरुङ खनी फरार भएका यादव १२ वर्षपछि पक्राउ

0

इनरुवा (सुनसरी): सुनसरीको रामधुनी नगरपालिकास्थित क्षेत्रीय कारागार झुम्काबाट सुरुङ खनी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । फरार भएको १२ वर्षपछि सुनसरी प्रहरीले ती व्यक्तिलाई पक्राउ गरर शुक्रबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा इनरुवा–५ बलहाका विनायककुमार यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो । कर्तव्यज्यान र हातहतियार खरखजना मुद्दामा कैदा भुक्तान गरिरहेका यादवसहित १२ जना २०६९ कात्तिक २३ गते फरार भएका थिए । विसं २०६५ वैशाख १६ गते विनायककुमार र श्यामकुमार यादवले प्रकाशपुर–६ का ३९ वर्षीय केशव कार्कीलाई गोली प्रहार गरी घाइते बनाएका थिए । उहाँको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

विनायकलाई कर्तव्यज्यान तथा हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सुनसरीले २०६५ जेठ ८ गते २० वर्ष ८ महिना १४ दिन कैद फैसला गरेको थियो । यादवसहित १२ जनाको समूहले २०६९ कात्तिक २३ गते क्षेत्रीय कारागार झुम्कामा पर्खालको भित्री भगबाट सुरुङ खनी भागेका थिए । विनायकलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले गोबरगाङाबाट पक्राउ गरी सिन्धुपाल्चोक कारागारमा कैद भुक्तानीका लागि पठाइएकामा २०७२ वैशाख १२ गते उनी कारागारबाट भागेका थिए । विनायक लामो समयदेखि भारतको सुपौलस्थित शिवनगरग्राम पञ्चायत रानीगञ्जमा बस्दै आउनुभएको थियो ।

छठ मनाउन नेपाल आएका बेला विनायकलाई पेस्तोल एक थान र त्यसमा प्रयोग हुने ११ राउन्ड गोलीसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिनुभयो । झुम्का कारागारबाट सुरुङ खनेर फरार भएका ११ जना अझै फरार छन् । पक्राउ परेकाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पेरिस सम्झौताअन्तर्गत वन मन्त्रालय र विश्व वन्यजन्तु कोषबीच सम्झौता

0

काठमाडौँ: नेपालको जलवायु कार्य प्रयासलाई थप बढावा दिन वन तथा वातावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष (डब्लुुडब्लुएफ) बीच सम्झौतामा हस्ताक्षर भएको छ ।मन्त्रालयमा आज भएको सम्झौताको उद्देश्य पेरिस सम्झौताअन्तर्गत बृहत् पारदर्शिता ढाँचा (इटिएप)को आवश्यकताहरू पूरा गर्न राष्ट्रिय क्षमता निर्माण गर्ने लक्ष्य राखिएको छ ।

यस सम्झौताअन्तर्गतका परियोजना जलवायुका क्षेत्रको नेपालको राष्ट्रिय प्रतिबद्धतामा भएको प्रगतिको प्रतिवेदन तयार गर्ने क्षमतालाई सुदृढ गर्न केन्द्रित हुनेछ । जुन विश्वव्यापी जलवायु कार्यको लागि महत्त्वपूर्ण प्रतिबद्धता हो । यो परियोजनाले कृषि, वन, ऊर्जा, उद्योग र फोहोरजस्ता क्षेत्रहरूमा हरितगृह ग्याँस उत्सर्जनको निगरानी गर्नका लागि संस्थागत गर्न योगदान गर्ने बताइएको छ ।

सम्झौताअन्तर्गत तीन वर्षे अवधि रहने सहयोगात्मक परियोजनाको बजेट २ दशमलव ८४ मिलियन अमेरिकी डलर रहेको छ । डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले यो साझेदारीले नेपालमा जलवायु शासन प्रणाली निर्माण गर्ने दिशामा महत्त्वपूर्ण कदम अघि बढेको बताउनुभयो । साथै उहाँले यसले नेपाललाई आफ्नो जलवायु लक्ष्यहरू प्राप्त गर्न र विश्वव्यापी जलवायु कार्यमा योगदान गर्न सक्षम बनाउने राष्ट्रिय क्षमता र प्रणालीलाई सुदृढ पार्न योगदान गर्ने उल्लेख गर्नुभयो ।

मन्त्रालयको योजना, अनुगमन र समन्वय महाशाखा प्रमुख एवं सहसचिव बद्रीराज ढुङ्गानाले सम्झौता नेपालको जलवायु कार्य रणनीतिको लागि एउटा महत्त्वपूर्ण कोशेढुङ्गा भएको बताउनुभयो । यसले नेपाल आफ्नो जलवायु लक्ष्यहरूप्रति उत्तरदायी हुनेछ भन्ने सुनिश्चित गर्ने उहाँको भनाइथियो ।

शैक्षिक गुणस्तर र रोजगारमूलक शिक्षा आवश्यक: मुख्यमन्त्री सिंह

0

राजविराज (सप्तरी): मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले समृद्ध मधेस निर्माणका लागि शैक्षिक गुणस्तर र रोजगारमूलक शिक्षा आवश्यक रहेको बताउनुभएको छ ।

राजविराजमा पत्रकारसँगको भेटघाट कार्यक्रममा उहाँले शैक्षिक क्षेत्रलाई समुन्नत बनाउन गुणस्तरीय शिक्षण सिकाइ र पूर्वाधार विकासलाई एकसाथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री सिंहले अबको शिक्षा स्वदेशमै रोजगार र समृद्धि हासिल गर्ने खालको हुनुपर्ने भन्नुहुँदै सोही उद्देश्यअनुसार प्रदेशले आफ्नै प्राविधिक विश्वविद्यालय खोलेको बताउनुभयो । “प्रदेश सरकार शैक्षिक गुणस्तर विकासका लागि अग्रसर छ । दक्ष र प्रतिस्पर्धी बजारमा खपत हुने जनशक्ति उत्पादन गरेर भए पनि शिक्षा क्षेत्रलाई सुधार्न आवश्यक छ । त्यसका लागि प्रदेशमा प्राविधिक शिक्षा विकासमा जोड दिनुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री सिंहले कृषि क्षेत्रमा सुधार नभएसम्म उद्योगको अवस्थामा सुधार नहुने भएकाले यस क्षेत्रको विकासका लागि प्रदेश सरकारले सीमित स्रोतसाधनका बीच प्राथमिकताका साथ काम गरिरहेको धारणा राख्नुभयो ।

कांग्रेसले ‘मिस’ गरिरहेको नोना आमाको ‘मर्निङ मिटिङ’

0

काठमाडौँ: भर्खरै दोस्रो जनआन्दोलन सकिएको थियो । देश एउटा ऐतिहासिक परिवर्तनको मोडबाट अघि बढ्दै थियो । दश वर्षको सशस्त्र लडाइँ सकेर नेकपा (माओवादी) राजनीतिको मूलबाटोमा आएको थियो । र त्यसका एउटा मुख्य शूत्रधार नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो । त्यही बेला कोइराला निवासको एउटा बत्ती निभ्यो । अर्थात् २०६३ साल माघ १४ गते नोना कोइराला यो धरतीबाट बिदा भएर जानुभयो । त्यो बेला गिरिजाप्रसादले कार्यकर्तासँग भन्नुभएको थियो ‘कोइराला निवासको बत्ती निभ्यो ।’

नेपाली कांग्रेस आफैँमा एउटा यस्तो राजनीतिक पार्टी हो, जसले राजनीतिक समावेशीतालाई गर्भदेखि नै बोकिल्यायो । अर्थात् महिला अधिकार वा भनौँ प्रतिनिधित्वलाई नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै प्रमुखता दिँदै आएको छ । नेपाली कांग्रेसभित्र त्यस्ता धेरै महिलाहरूले योगदान गरेका छन् तर बिरलैको नाम पार्टी पङ्क्तिमा आउँछ । नयाँ पुस्ताले त कतिपय नामहरू ‘गुगल’ गर्दा पनि नभेट्ने अवस्था छ । कांग्रेसभित्र आफू जलेर राष्ट्र, राजनीति, जनता, प्रजातन्त्र अनि पार्टी र कार्यकर्ता माझ उज्यालो छरेका त्यस्ता धेरै नारी पात्रमध्ये नोना कोइराला अग्रपङ्तिमा हुनुहुन्छ । उहाँलाई समकालीन कांग्रेस नेता, कार्यकर्ताहरूले ‘नोना आमा’ भनेर पनि चिन्दछन् ।

यद्यपि, नेपाली कांग्रेसभित्र ‘दाइ–दिदी’ अनि ‘भाउजु’ कल्चर एउटा परम्परा जस्तै मानिन्छ । तर नोना कोइराला त्यस्तो सम्मानीत नारी पात्र हुनुहुन्छ, जसलाई नेपाली कांग्रेसका आम कार्यकर्ताले ‘आमा’ भनेर सम्बोधन गर्थे । यसबाट पनि प्रस्ट हुन्छ, उहाँ कोइराला परिवारले मात्रै होइन, सिङ्गो पार्टी जीवनकै एउटा उज्यालो बत्ती हुनुहुन्थ्यो ।

नोना आमाको जन्म १८८५ कात्तिक २४ गते भारतको रामनगरमा भएको थियो । नेपालमा राणाविरुद्ध लडिरहेको कोइराला परिवारका एक स्तम्भ कृष्णप्रसाद कोइराला सारा परिवारसहित भारतमा निर्वासित जीवन बिताइरहनु भएको थियो । भारतमै बसेर कोइराला परिवारले नेपालमा क्रान्ति हाँकिरहेको थियो । त्यो बेला राणाको अत्याचारका बीच पनि केशव कोइराला भने नेपालमै रहनुभएको थियो । त्यो बेला भारतमा पनि अङ्ग्रेज विरोधी आन्दोलन चलिरहेको थियो ।

पञ्चायतको समयमा समेत उहाँले प्रजातन्त्र स्थापना तथा सामाजिक न्यायका लागि साहसिक कार्य गर्नुभयो । उहाँमा सबैलाई मिलाएर अघि बढ्न सक्ने विशिष्ट क्षमता थियो । नोनाको राजनीतिक जीवनको सुरूवात २००३ सालको मजदूर आन्दोलनदेखि भएको हो । त्यतिबेला उनले मजदुर आन्दोलनका घाइतेहरूलाई औषधि उपचार र भोजन व्यवस्थापनको जिम्मा उहाँले नै लिनु भएको थियो । निरकुङ्श राणा शासनविरुद्ध २००७ सालमा कांग्रेसले सञ्चालन गरेको सशस्त्रमुक्ति आन्दोलनमा पनि उहाँले हतियार व्यवस्थापन, सरसफाइ र वितरणको जिम्मेवारी लिनुभएको थियो । यहाँसम्मकी कतिपय हतियार त उहाँले आफ्नो शरीरमा लुकाएर मुक्ति सेनासमक्ष पु¥याउने गर्नुभएको आन्दोलनका होमिएका धेरैलाई थाहा छ ।

त्यही क्रममा भारतमा रहनुभएका कृष्णप्रसाद कोइराला उतै जेल पर्नुभयो । त्यही बेला २००० असार २५ गते नोना र केशव कोइरालाबीच विवाह भयो । त्यसपछि उहाँ कोइराला परिवारभित्र एक अभिभावकजस्तै बनेर आफ्नो पारिवारिक, सामाजिक र राजनीतिक अभिभारा निभाइरहनुभयो । सारा परिवार भारतमै निर्वासन भएका बेला नेपालमा परिवारको खेतिपातीदेखि घरबार धान्ने र पार्टी अनि कार्यकर्ता परिचालन र व्यवस्थापनको जिम्मेवारी नोना–केशवकै काँधमा थियो । त्यही बेला २००३ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगर जुटमिलमा भएको आन्दोलनमा पनि नोना कोइरालको अद्वीतीय भूमिका रह्यो ।

कोइराला परिवार आफैँमा एउटा अलग्गै राजनीतिक र सामाजिक संस्कारले भरिएको परिवार हो । त्यसमा पनि नोना आमा पनि एउटा शिक्षित र राजनीतिक चेतनाले भरिएको परिवारबाटै आउनुभएको थियो । त्यसबाट पनि उहाँमा राजनीतिक र सामाजिक चेतना थियो । यसले गर्दा उहाँलाई राजनीतिक र पारिवारिक व्यवस्थापनमा अझ निपुण हुनुभयो । क्रान्तिकै बेला बिपी कोइरालाले एकपटक केशव र नोना आमालाई सम्बोधन गरेर लेख्नुभएको चिठी अहिले पनि उत्तिकै महत्वपूर्ण छ । बिपीले त्यो चिठीमा केशव र नोनाले घरबार अनि खेतीपाती धानिदिएकै कारण आफूहरूलाई प्रवासमा सजिलो भएको र नेपालमा पनि कार्यकर्ता परिचालनमा बाधा नआएको भन्दै उहाँहरूप्रति आभार व्यक्त गर्नुभएको थियो ।

कोइराला परिवारमा मात्रै नभएर ‘नोना आमा’ समकालीन राजनीतिक नेता तथा कार्यकर्ताका लागि अभिभावक नै बनेर उभिनुभयो । कोइराला परिवारको राजनीतिक विरासतमा नोना कोइरालाको अभिभावकीय र नेतृत्वदायी भूमिका अनि क्षमता सिङ्गो नेपाली राजनीतिकै लागि प्रेरणाको अजर स्रोत पनि हो ।

कांग्रेसमात्रै कोइराला निवास अनि कोइराला परिवार हरेक राजनीतिक दलका कार्यकर्ताका लागि सधैँ खुल्ला हुन्थ्यो । र स्वागतका लागि रातदिन तम्तयार हुन्थ्यो । त्यो सबै नोनाकै योगदान र तत्परताले मात्रै सम्भव थियो । उहाँले कांग्रेस मात्रै होइन, जुनसुकै राजनीतिक दलका कार्यकर्ताका लागि कोइराला निवास सधैंँ खुल्ला गरिदिनुभयो । यसले गर्दा नेपालमा हरेक राजनीतिक कार्यकर्ताका लागि कोइराला निवास र कोइराला परिवार आफैँमा एक उदार अनि खुल्ला संसार जस्तै भएको थियो । परिवारमा मात्रै नभएर सिङ्गो नेपाली कांग्रेस पार्टी पङ्तिमा उहाँको निर्णायक र अभिभावकीय भूमिका रहन्थ्यो ।

कोइराला परिवारमा हरेक दिन बिहानअर्थात् दिनको पहिलो प्रहरमै हुने बसाई राजनीतिक नै हुन्थ्यो । त्यो भनेको दिनभरिको कार्ययोजना र कार्यदिशा तय गरिन्थ्यो । त्यो सबको चाँजोपाँजो मिलाउने जिम्मेवारी नोनाकै काँधमै थियो । एक प्रकारले परिवारका सदस्यबीच भएको राजनीतिक जिम्मेवारीको बाँडफाँटमा उहाँले यसरी महत्वपूर्ण भूमिका पाउनुभएको थियो । त्यसलाई अन्तिम समयसम्म उत्तिकै सफलताका साथ निर्वाह गर्नुभयो ।

नोना आमाको त्यो ‘मर्निङ मिटिङ’लाई गिरिजाप्रसाद कोइराला हुँदै सुशील कोइरालासम्मले अन्तिम समयसम्मै निरन्तरता दिनुभयो । ‘मर्निङ मिटिङ’ एक प्रकारले कोइराला परिवारभित्रको आफ्नै मौलिक राजनीतिक संस्कार बनिसकेको थियो । त्यसले सिङ्गो पार्टीलाई नै ऊर्जाशील बनाउँथ्यो । अब कोइराला परिवारको राजनीतिक विरासत थाम्ने जिम्मेवारी डा शेखर कोइरालाको काँधमा छ । डा शेखर केशव–नोनाका कान्छा छोरा हुनुहुन्छ । यो बेला नेपाली कांग्रेसलाई पुनर्जीवन दिनका लागि फेरि एकपटक आम कार्यकर्ताको आशा र भरोसको केन्द्र कोइराला परिवार हुन पुगेको छ ।

हरेक व्यक्तिको निजी जीवनमा ‘आमा’ नै पहिलो पाठशाला हुन्छिन् । नोना कोइराला मात्रै एक गृहणीका रुपमा समित रहनुभएन । उहाँले त तत्कालीन सिङ्गो राजनीति र प्रजातन्त्रको लडाईंमा होमिएका आम नेपालीलाई आफ्नै सन्तान जसरी ममता र अभिभावकत्वको छहारीमा राख्नुभयो । उहाँले सिकाएर जानु भएको बाटोमा अब डा शेखरका पाइलाहरू अगाडि बढ्न सके र त्यसलाई निरन्तरता दिन सके नेपाली कांग्रेसको त्यो राजनीतिक संस्कारको निरन्तरता आगामी पुस्ताका लागि पनि प्रेरणाको स्रोत हुनसक्छ ।

उहाँले गरिब, विपन्न एवं पछाडि परेका नागरिकलाई स्वास्थ्य एवं शिक्षा क्षेत्रमा महत्वपूर्ण सहयोग उपलब्ध गराउनुभएको थियो ।

राजनीतिमा ३३ प्रतिशत महिलाको स्थान रहनुपर्ने माग उहाँले नै उठान गर्नुभएको थियो । जसको परिणाम आज नेपाली महिलाहरूले राजनीति या सामाजिक क्षेत्रमा जुन अवसर प्राप्त गरेका छन् त्यसको मुख्य श्रेय उहाँलाई नै जान्छ । प्रजातन्त्र स्थापनाका लागि महिलालाई जागृत र गोलबद्ध बनाउने कार्यमा उहाँको भूमिका अविस्मरणीय छ । प्रजातन्त्र प्राप्तिपछि उहाँसमेतको अगुवाइमा विराटनगरमा नारी जागृति नामक संस्थाको स्थापना भयो । यही संस्थाबाट नारीहरूलाई पढ्न लेख्न र सामाजिक रुपले अगाडि बढाउने अभियानमा उहाँले धेरै काम गर्नुभएको थियो । आज त्यो संस्था आदर्श बालिका विद्यालयमा परिणत भएको छ । (लेखक राजनीतिक विश्लेषक हुनुहुन्छ)

सुर्खेत–दैलेख सीमामा गाडी दुर्घटना हुँदा पाँचको मृत्यु, २५ घाइते

0

दैलेख: सुर्खेत–दैलेख सीमास्थित वीरेन्द्रनगर–१४ रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । मृत्यु र घाइतेको पहिचान खुलेको छैन ।

आज दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नं को गाडी अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गुराँस गाउँपालिका उपाध्यक्ष शिवा खड्काले दुर्घटनाका घाइतेको उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको बताउनुभयो । तीस जना सवार उक्त गाडी सडकभन्दा झण्डै दुई सय मिटर तल खसेको छ ।

अमेरिकी केन्द्रीय बैंकका प्रमुखले भने, ‘ट्रम्पले भने पनि म पद छोड्दिन’

0

काठमाडौं: अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्वका प्रमुख जेरोम पावेलले आफ्नो पदमा रहिरहनेबारे उठेका अडकलबाजीमा प्रतिक्रिया दिएका छन्।

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको जितसँगै पावेलको भूमिकामा अनिश्चितता बढेको थियो। तर, पावेलले स्पष्ट रूपमा भनेका छन् कि यदि ट्रम्प आफैंले पद छोड्न भने पनि उनले राजीनामा नदिनेछन्।

उनले भने, “ह्वाइट हाउसले मलाई राजीनामा दिन दबाब दिनु गैरकानुनी हुन्छ।”

साथै, पावेलले ट्रम्प प्रशासनको कार्यकालमा अमेरिकी अर्थतन्त्रको वृद्धिदर वा नीतिहरूको प्रभावबारे तत्कालै निष्कर्षमा पुग्न हतार नहुने बताए।

आफ्ना फुटबल फ्यानमाथि आक्रमण भएपछि इजरायली प्रधानमन्त्री नेदरल्याण्ड जाँदै

0

काठमाडौं: इजरायली सञ्चारमाध्यमका अनुसार इजरायलका विदेशमन्त्री गिडोन सार ‘आवश्यक कूटनीतिक भ्रमण’का लागि नेदरल्यान्ड्स जाँदैछन्।

नेदरल्याण्ड्सको राजधानी एम्स्टर्डममा इजरायली फुटबल फ्यानहरूमाथि धेरै आक्रमण भएको अधिकारीहरूले बताएका छन्, जसले पुलिसलाई हस्तक्षेप गर्न बाध्य पारेको छ।

हिजो राती इजरायली क्लब मकाबी तेल अवीभ युरोपियन लिग खेलको लागि नेदरल्याण्ड्सको राजधानी एम्स्टर्डममा थियो। जहाँ खेलका क्रममा इजरायली फ्यानमाथि धेरै हमला भएका थिए ।

नेदरल्यान्ड्स प्रहरीका अनुसार एम्स्टर्डममा रातभरि भएको आक्रमणपछि पाँच जनालाई घाइते अवस्थामा अस्पताल लगिएको छ र ६२ जनालाई पक्राउ गरिएको छ।

इजरायलका विदेशमन्त्री गिडोन सारले आक्रमणलाई “युरोप र विश्वका लागि खतराको घण्टी” भनेका छन्।

उनले थपे, “स्वतन्त्रता प्रेमी र प्रजातान्त्रिक राष्ट्रले घृणालाई सडकमा स्वतन्त्र रूपमा घुम्न दिन सक्दैन। इतिहासले हामीलाई देखाएको छ – यहूदीहरू विरुद्ध सुरु भएको उत्पीडन र हिंसा तिनीहरूबाट कहिल्यै समाप्त हुँदैन।”

डच प्रधानमन्त्री डिक शोफले इजरायलमा “यहूदी विरोधी आक्रमण” को निन्दा गरे र शहर अब “शान्त” भएको बताए।

सामाजिक सञ्जालमा यी हमलाहरूका बारेमा धेरै भिडियोहरू भाइरल भएका थिए, जसमा एउटा भिडियोमा एक व्यक्तिलाई भुइँमा पिटेको देखाइएको थियो भने अर्को भिडियोमा कसैलाई कुटेको देखाइएको थियो।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमणको सुरुमा आफूले एम्स्टर्डममा दुईवटा “उद्धार विमान” पठाएको बताएका थिए। तर पछि यो योजना रद्द गरी अब इजरायली नागरिकलाई सिभिल एयरलाइन्सको विमानबाट स्वदेश ल्याइनेछ ।

“फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा उपस्थित हुनेछु”: दिपक मनाङ्गे

0

पोखरा: गण्डकी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने समाचारको खण्डन गरेका छन्। शुक्रबार जारी एक विज्ञप्तिमा प्रदेश सभा सदस्य मनाङेले यस्तो समाचारप्रति असहमति जनाउँदै त्यसलाई असत्य र भ्रामक भनेका छन्।

केही दिनअघि सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि उनी सम्पर्कविहीन भएको खबर सार्वजनिक भएको थियो।

यद्यपि, उनले सर्वोच्चको फैसला आउने दिनदेखि लगातार सञ्चारमाध्यमहरूबाट आएका कलका कारण केही समयका लागि आफ्नो मोबाइल बन्द गरेको कुरा स्वीकार गरेका छन्। उनले भनेका छन् – “यसै विषयलाई लिएर सञ्चारमाध्यमहरूमा गलत समाचार आइरहेको पाएको छु, जसमा मेरो गम्भीर आपत्ति छ।”

उनले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला आफ्नो कानुनी सल्लाहकारमार्फत थाहा पाएको र फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा उपस्थित हुने बताएको पनि उल्लेख गरेका छन्।

dipak-manange