Sunday, June 21, 2026
Home Blog Page 609

सुरु भयो साञ्जेन जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन

0

काठमाडौँ: चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली अब व्यावसायिक रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको छ। सम्पूर्ण प्राविधिक परीक्षण सम्पन्न गरेर सोमबार साँझदेखि साञ्जेन जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा प्रवाह गरिएको हो।

यो आयोजना गत मङ्सिर ८ गतेदेखि परीक्षण उत्पादनमा रहेको थियो। रसुवाको आमाछोदिङ्मो–५ मा निर्माण भएको यस आयोजनाको क्षमता ४२.५ मेगावाट रहेको छ। प्राविधिक परीक्षण पूरा गरी पहिलो युनिटबाट विद्युत् उत्पादन मङ्सिर ८ गते सुरु गरिएको थियो, जुन सोमबारदेखि व्यावसायिक रूपमा राष्ट्रिय प्रसारण लाइनमा उपलब्ध गराइएको हो। आयोजनाका सबइञ्जिनियर रविन कोइरालाका अनुसार अब यो बिजुली औपचारिक रूपमा प्रणालीमा समाहित भएको छ।

‘क्यास्केड मोडल’मा निर्माण भएका अर्धजलाशययुक्त दुई आयोजनामध्ये साञ्जेन (माथिल्लो) जलविद्युत् आयोजना विसं २०८० भदौ मसान्तमा सम्पन्न भई असोज २१ गतेदेखि राष्ट्रिय प्रणालीमा विद्युत् आपूर्ति गरिरहेको थियो।

यो आयोजनाले ११ केभी क्षमताको आपत्कालीन प्रसारण लाइन प्रयोग गरी व्यापारिक रूपमा बिजुली प्रवाह गरिरहेको थियो। यसका लागि कम्पनीले आठ किलोमिटर लामो ११ केभी डबल सर्किट प्रसारण लाइन र १३२/११ केभी सबस्टेसन पनि निर्माण गरेको थियो।

तर, चिलिमे–त्रिशूली ६६ केभी प्रसारण लाइनको सीमित क्षमताका कारण करिब ८.५ मेगावाट विद्युत् वैकल्पिक रूपमा बिक्री भइरहेको थियो। साञ्जेन र साञ्जेन (माथिल्लो) आयोजना समयमै सम्पन्न नहुनुमा २०७२ सालको भूकम्प, कोभिड–१९, नाकाबन्दी र राष्ट्रिय प्रसारण लाइनको अभावलगायत कारणले बाधा पुगेको थियो।

हालै सम्पन्न चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको उपलब्धतापछि ती आयोजनाबाट उत्पादन भएको विद्युत् सफलतापूर्वक राष्ट्रिय प्रणालीमा समाहित गर्न सकिएको कम्पनीले जनाएको छ।

नेपालमा निर्माणाधीन अर्धजलाशययुक्त आयोजनामध्ये साञ्जेनलाई नमुना आयोजनाका रूपमा प्रस्तुत गरिएको छ। साञ्जेन (माथिल्लो) जलविद्युत् आयोजनाको बाँधस्थलमा करिब ४४,००० घनमिटर क्षमताको ‘पिकिङ पोखरी’ निर्माण गरिएको छ, जसले राष्ट्रिय विद्युत् प्रणालीलाई ७० मिनेटसम्म सहज बनाउन सक्दछ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत अर्पणबहादुर सिंहका अनुसार, यो पोखरीको पानी सञ्चय गरी साँझको समयमा थप बिजुली उत्पादन गर्न सकिने छ। यसले राष्ट्रिय विद्युत् प्रणालीमा उल्लेखनीय योगदान गर्नुका साथै आपतकालीन मर्मतसम्भार र ‘ब्रेकडाउन’का समयमा पनि पावरहाउस सञ्चालन गर्न सकिन्छ।

नेपालमा क्यास्केड मोडलमा निर्माण भएका आयोजनामध्ये साञ्जेन (माथिल्लो) विशेष प्रविधि जडान गरी तल्लो आयोजनालाई निरन्तर सञ्चालन गर्न सक्ने नेपालकै पहिलो आयोजना हो। यो प्रविधि अन्य क्यास्केड आयोजनामा पनि प्रयोग गरिने अपेक्षा गरिएको छ, जसले तल्लो आयोजनाको निर्भरता घटाउनेछ।

जर्मनीमा निर्मित अत्याधुनिक उपकरण प्रयोग भएको यस आयोजनाले मर्मतसम्भारका समयमा हुने आर्थिक क्षति न्यून गर्न ठूलो सहयोग गरेको छ। यसै कारण, काठमाडौँ विश्वविद्यालयले यस आयोजनालाई नमुना प्रोजेक्टको रूपमा आफ्नो प्रयोगशालामा सञ्चालन गरिरहेको छ।

नेपालमा हाल सञ्चालनमा रहेका क्यास्केड आयोजनामध्ये यो आयोजनाले जलविद्युत् विकास, नवीकरणीय ऊर्जा, हाइड्रोलोजी र दिगो विकासजस्ता विषयमा अध्ययन गरिरहेका विद्यार्थीका लागि प्रयोगात्मक अनुसन्धानमा टेवा पुर्‍याउने आशा गरिएको छ।

४२.५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादनले विशेष गरी हिउँदको समयमा विद्युत् माग बढ्दा देखिने प्रणालीको असन्तुलनलाई केही हदसम्म समाधान गर्ने विश्वास गरिएको छ।

म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो

0

बेनी (म्याग्दी): मालिका गाउँपालिका–७ बिमका किसानलाई बगैचाबाट सुन्तला बिक्री हुन थालेपछि बजार खोज्नुपर्ने झन्झट हटेको छ । बिमका विभिन्न टोलबस्तीमा व्यावसायिक सुन्तलाखेती गरेका किसानलाई अहिले सुन्तला बिक्री गर्न भ्याइनभ्याई छ ।

उत्पादन भएको सुन्तला खरिदका लागि व्यवसायीहरू बगैचामा आउन थालेपछि आफूहरूलाई उत्पादन भएको सुन्तालका लागि बजार र ग्राहक खोज्नुपर्ने झन्झट हटेको बिमको दुलेका स्थानीय किसान कृष्ण शर्माले बताउनुभयो । “अहिले काठमाडौँका व्यवसायीले बगैचाबाटै सुन्तला खरिद गरेर लगेका छन्, गाउँका सबैजसो बगानमा सुन्तला खरिदका लागि व्यवसायी आइपुगेका छन्’’, उहाँले भन्नुभयो ।

यहाँका किसानले प्रतिकिलो रु ६५ मा सुन्तला बिक्री गरेका छन् । शर्माले मात्रै यस वर्ष रु दुई लाख बढीको सुन्तला बिक्री गर्नुभएको छ । उहाँका बगानमा एक सय बढी सुन्तलाका बोट छन् । गाउँमा मोटरबाटोको सुविधा पुगेपछि स्थानीयलाई सुन्तला बिक्रीका लागि बजार खोज्नुपर्ने बाध्यता हटेको हो । मोटरबाटो पुग्नुअघि स्थानीयले डोकोमा बोकेर छिमेकी गाउँ र दरबाङ बजारसम्म पुर्याएर सुन्तला बिक्री गर्दै आएका थिए ।

पछिल्ला केही वर्षयता बगानबाट सुन्तला बिक्री हुन थालेपछि यहाँका किसान व्यावसायिक सुन्तलाखेतीमा लागेका छन् । हरेक वर्ष सहरी क्षेत्रबाट व्यवसायी सुन्तला खरिदका लागि पेश्की रकम लिएर गाउँमा पुग्ने गरेका छन् । बिमको अर्कला, नराले, ओखलढुङ्गा, दुले, टुनीबोट, नौमाने, भारबाङ, खारलगायत क्षेत्रमा व्यावसायिक रूपमा सुन्तलाखेती विस्तार भइरहेको छ ।

सुन्तलाखेतीबाट आम्दानी राम्रो हुन थालेपछि अन्नबाली लगाउनुको साटो सुन्तलाखेती विस्तार गरेको स्थानीय भीमप्रसाद विकले बताउनुभयो । “विदेश गएर दुःख गर्नुभन्दा आफ्नै गाउँमा सुन्तला रोप्न सक्योभने त्यसबाट राम्रो आम्दानी गर्न सकिन्छ, उत्पादन भएको सुन्तलाको ग्राहक खोज्नुपर्ने बाध्यता पनि छैन, मैले यसै वर्ष थप नयाँ जग्गामा समेत सुन्तला विस्तार गर्ने योजना बनाएको छु”, उहाँले भन्नुभयो ।

यस क्षेत्रका किसानले सुन्तलाखेतीबाट रु ५० हजारदेखि आठ लाखसम्म कमाई गरेका छन्भने गाउँमा वार्षिक लाखौँ रुपैयाँ भित्रने गरेको छ । जिल्लामा उत्पादन भएको सुन्तला पोखरा, काठमाडाँै, बुटवल, भैरवालगायत ठूला सहरमा खपत हुने गरेको छ । व्यावसायिक सुन्तलाखेती भएका अधिकांश बगौचामा खरिदकर्ता आफैँ पुग्न थालेपछि किसानलाई सुन्तलाको बजार अभाव नहुने र ढुवानीलगायत झन्झट पनि हटेको छ ।

मुलुकमा अझै पनि ८० प्रतिशत जनता दन्त उपचार सेवाबाट वञ्चित

0

काठमाडौँ:  मुलुकमा ८० प्रतिशत नागरिक अझै पनि दन्त उपचार सेवाबाट वञ्चित रहेका छन् । काठमाडौँको वसुन्धरामा रहेको कान्तिपुर डेन्टल कलेज तथा अस्पतालले आफ्नो १८औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मुलुकमा अझै पनि ८० प्रतिशत जनता दन्त उपचार सेवाबाट वञ्चित रहेका जानकारी दिइएको हो ।

अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा बुद्धिमान श्रेष्ठले मुख तथा दन्त स्वास्थ्यको समस्या अधिकांश नेपालीमा रहे पनि यसको उचित उपचार हुन नसकेको बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार संसारमा सबैभन्दा बढी समस्या मुख स्वास्थ्यको रहेको भन्दै उहाँले दन्त सेवामा सबै नेपालीको पहुँच नपुग्दा ८० प्रतिशत जनता उपचारबाट वञ्चित हुनुपरेको जानकारी दिनुभयो ।

डा श्रेष्ठका अनुसार नेपालमा ४५ वर्षभन्दा कम उमेरमा ‘पाइरियाका’ले गर्दा दाँत झर्ने, दाँतमा किरा लाग्ने, गिँजाको रोग तथा मुखको क्यान्सरलगायत समस्याहरू देखिएका छन् । नेपाल मेडिकल काउन्सिलमा हाल चार हजार आठ सय ८३ दन्त चिकित्सक तथा सात सय ५६ जना दन्त विशेषज्ञ रहेका उहाँले जानकारी दिनुभयो ।

डा श्रेष्ठले अधिकांश ग्रामीण भेगका जनताले चेतनाको अभाव, उपचार पहुँच नहुनुलगायत कारणले उपचार नपाउँदा दाँच किराले खाने, गिँजाको रोग ९दन्तहर्षा तथा पाइरिया०, बाँङ्गोटिङ्गो दाँत भएको, मुखमा घाउ खटिरा आउने, समय नपुग्दै दाँत झर्ने, मुखको क्यान्सर, ट्युमर, सिस्ट तथा अन्य समस्याबाट पीडित हुने गरेका बताउनुभयो ।

सन् २००७ डिसेम्बरमा स्थापना भएको कान्तिपुर अस्पताल तथा कलेजले एक लाख ५० हजारभन्दा बढी दन्त स्वास्थ्य बिरामीमा सेवा पु¥याउनुका साथै एक हजारभन्दा बढी दन्त चिकित्सक उत्पादन गरिसकेको छ । यसबाहेक सो अस्पतालले हालसम्म देशभरका ६० भन्दाबढी जिल्लामा पुगेर निःशुल्क मुख तथा दन्त स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ ।

कोभिडमा भ्रष्टचार गरेपछि मौरिससको पूर्व गभर्नर विरुद्ध पक्राउ पुर्जी

0

मौरिसस: हिन्द महासागर टापु राष्ट्र मरिससका पूर्व गभर्नरलाई ठगीको षड्यन्त्रको अनुसन्धानको सम्बन्धमा पक्राउ गर्न आदेश जारी गरेको छ।

केन्द्रीय बैंकका पूर्व गभर्नर हरवेशकुमार सिगोलम देश बाहिर रहेकाले हाल पक्राउ गर्न नसकिए पनि उनी स्वदेश फर्किने बित्तिकै पक्राउ गरिने प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ गर्ने जनाए पनि पुर्व गभर्नर सीगोलमले अझैसम्म प्रतिक्रिया जनाइ सकेका छैनन् । प्रहरीको सम्पत्ति शुद्धीकरण विरोधी इकाईले गरेको यो कारबाही प्रधानमन्त्री नवीन रामगुलामको सरकारबाट पहिलो महत्वपूर्ण कार्य मानिएको छ ।

गत हप्ता उनले निवर्तमान सरकारले देशको कूल गार्हस्थ्य उत्पादन (जीडीपी), बजेट घाटा र सार्वजनिक ऋणको तथ्याङ्क झूटा बनाएर राष्ट्रलाइ घाटामा राखेको बताएको थिए ।

संसदमा पेश भएको प्रतिवेदनमा रामगुलामले केन्द्रीय बैंकले सरकारको मौरिसस इन्भेष्टमेन्ट कर्पोरेशन (एमआईसी)लाई २०२० मा स्थापित कम्पनीहरूलाई कोभिड १९ महामारीको प्रभावसँग जुध्न भन्दै घोटाला गरेको आरोप लगाइएको छ ।

‘यो बैंकको आधिकारिक विदेशी मुद्रा सञ्चितिबाट कोषबाट निकालिएको थियो, प्रस्तुत प्रतिबेदनमा भनिएको छ ।

बैंक अफ मौरिससद्वारा एमआईसी कोषको लागी पैसा छपाई एक गैरजिम्मेवारपूर्ण कार्य थियो, जसले मौद्रिक प्रणालीमा हानिकारक प्रभाव पारेको छ, जसले गर्दा बैंकिङ प्रणाली पहिले नै अतिरिक्त तरलतासँग जुध्नु परिरहेको छ । नोभेम्बरमा देशको संसदीय मतदानमा भारी जीत हासिल गरेपछि रामगुलाम प्रधानमन्त्रीको रूपमा आफ्नो पदमा फर्केका थिए, लगत्तै कारबाही प्रकिया अघि बढाइएको छ।

अफ्रिकाको पूर्वी तटबाट करिब २ हजार किलोमिटर टाढा रहेको मौरिससलाई महाद्वीपको सबैभन्दा स्थिर लोकतन्त्र मध्ये एकको रूपमा चिनिन्छ । र, स्वतन्त्रता प्राप्त गरेदेखि नै यसको वित्त, पर्यटन र कृषि क्षेत्रहरूमा आधारित सफल अर्थव्यवस्थाको विकास गरेको छ।

तर भ्रष्टाचार र कमजोर नागरिक अधिकार दिएका कारण तत्कालीन प्रधानमन्त्री प्रविन्द जगन्नाथको नेतृत्वमा अलोकप्रिय भएको थियो । जसको प्रशासनलाई पनि अनधिकृत वायर ट्यापिंग गतिविधिहरूमा भूमिका खेलेको आरोप लगाइएको थियो।

अस्ताए तबलावादनका उस्ताद जाकिर हुसेन

0

काठमाडौं: विश्वप्रसिद्ध तबलावादक उस्ताद जाकिर हुसेनको निधन भएको छ। उनको अमेरिकाको सान फ्रान्सिस्कोमा उपचारका क्रममा ७३ वर्षको उमेरमा निधन भएको हो। मुटुमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

पछिल्ला दुई सातादेखि अस्पतालमा उपचाररत जाकिर हुसेनलाई स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आईसीयूमा भर्ना गरिएको थियो। उनका परिवारले सोमबार बिहान उनको निधनको पुष्टि गर्दै जाकिर हुसेनलाई हृदयघातका कारण निधन भएको बताएका छन्। विश्वका उत्कृष्ट संगीतकारमध्येका एक, हुसेनले संगीत क्षेत्रलाई अभूतपूर्व योगदान दिएका थिए।

जाकिर हुसेनले आफ्नो जीवनकालमा अभूतपूर्व विरासत छोडेका छन्। उनको परिवारमा श्रीमती एन्टोनिया मिनेकोला, छोरीहरू अनिसा कुरेशी र इसाबेला कुरेशी, भाइहरू तौफिक र फजल कुरेशी, र बहिनी खुर्शीद रहेका छन्।

उस्ताद जाकिर हुसेनलाई आफ्नो पुस्ताको सबैभन्दा महान तबलावादक मानिन्छ। भारतीय शास्त्रीय संगीतमा अद्वितीय स्थान बनाएका हुसेनले १९८८ मा पद्मश्री, २००२ मा पद्म भूषण, र २०२३ मा पद्म विभूषण जस्ता प्रतिष्ठित सम्मान प्राप्त गरेका थिए। साथै, उनले पाँचवटा ग्रामी अवार्ड पनि जितेका छन्, जुन संगीत क्षेत्रमा विश्वकै सर्वोच्च सम्मान मानिन्छ।

उनको जन्म ९ मार्च १९५१ मा मुम्बईमा भएको थियो। उनका पिता महान तबलावादक उस्ताद अल्लाह राखा कुरैशी र आमा बीवी बेगम थिए। संगीतको यो अद्वितीय यात्रा उनले बाल्यकालदेखि नै सुरु गरेका थिए।

छ दशक लामो आफ्नो करियरमा उनले भारत र विश्वका धेरै प्रतिष्ठित कलाकारहरूसँग सहकार्य गरेका थिए। अङ्ग्रेजी गिटारवादक जोन म्याक्लफ्लिन, भारतीय भायोलिन वादक एल. शंकर, र विक्कु विनायकरामसँग मिलेर जाकिर हुसेनले फ्युजन ब्यान्ड ‘शक्ति’ को स्थापना गरे। यो ब्यान्डले भारतीय शास्त्रीय संगीत र पश्चिमी फ्युजनलाई नयाँ उचाइमा पुर्‍याएको थियो।

१९९७ मा ‘रिमेम्बर शक्ति’ नामक ब्यान्डको स्थापना गरेर उनी फेरि फ्युजन संगीतको केन्द्रमा आएका थिए। भि. सेल्वागणेश, मन्डोलिन खेलाडी यू. श्रीनिवास, र शंकर महादेवन जस्ता कलाकारहरूसँग सहकार्य गर्दै उनले आधुनिक संगीतमा गहिरो प्रभाव छोडेका थिए।

२०२० मा ‘शक्ति’ ब्यान्ड पुनः एकसाथ आएर ४६ वर्षपछि ‘दिस पल’ नामक एल्बम निकालेका थिए। यो एल्बमलाई विश्वभरका संगीतप्रेमीहरूले अत्यन्त रुचाएका थिए।

जाकिर हुसेनको निधनले शास्त्रीय र फ्युजन संगीत दुवै क्षेत्रमा अपूरणीय क्षति भएको छ। उनका योगदानहरू संगीतको इतिहासमा सदैव अमर रहनेछन्।

नक्कली भुटानी शरणार्थी प्रकरण: बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन उच्च अदालतको आदेश

0

काठमाडौँ: उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका बेचन झा र प्रतीक थापालाई थुनामै राख्न आदेश दिएको छ। जिल्ला अदालत काठमाडौँले थुनामा पठाएपछि उनीहरू उच्च अदालत पाटन पुगेका थिए।

न्यायाधीशहरू अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गरेको हो। जिल्ला अदालत काठमाडौँले २०८१ भदौ २ गते दुवैलाई थुनामा राख्न आदेश दिएको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा झाविरुद्ध पूरक अभियोग दर्ता भएको थियो भने पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध सुरुमै अभियोग पत्र दायर गरिएको थियो। उनी त्यतिबेला फरार रहेका थिए।

पक्राउपछि अदालतमा पेश गरिएपछि पुर्पक्षका लागि थुनामा पठाइएको थियो। दुवै मुद्दा जिल्ला अदालतमा विचाराधीन छन्। यस प्रकरणमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, एमाले नेता टोपबहादुर रायमाझी, र निलम्बित सचिव टेकनारायण पाण्डे समेत प्रतिवादी रहेका छन्।

रविलाई आज अदालतमा पेश गरिदैं: तीन मुद्दा चलाइने

0

कास्की। सहकारी घोटलामा मुछिएका पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेमाथि प्रहरी छानबिन सकिएपछि चाँडै अदालतमा मुद्दा दर्ता गरिने भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन तयार पारिएकाले सम्भवतः तीनवटै मुद्दा एकै पटक दर्ता गर्ने तयारी गरिएको छ।

संघीय संसदका सांसद सूर्य थापा नेतृत्वको सहकारी विशेष छानबिन समितिले लामिछाने सहकारी प्रकरणमा संलग्नता देखिएको भन्दै प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेपछि उनी कात्तिक २ मा पक्राउ परेका थिए।

नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार सोमबार नै लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिनेछ। त्यसपछि सरकारी वकिल कार्यालयले सम्भवतः सोमबार नै अदालतमा रबिलाई उभ्याउने छ।

कास्की प्रहरीका अनुसार लामिछाने बिरूद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण तथा किर्ते र संगठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउन लागेको हो।

लामिछानेमाथि पोखराको सूर्यदर्शनसहित काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, रुपन्देहीको सुप्रिम र पर्साको सानोपाइला सहकारीबाट गोर्खा मिडियामा करोडौं रकम लगेर अपचलन गरेको अभियोग छ। कास्की प्रहरी हिरासतमा रहेकै बखत लामिछानेलाई सम्बन्धित जिल्लामा समेत लगेर बयान लिइसकिएको छ।

लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी, गिजेन्द्रबाबु (जीबी) राईका साझेदार नेचर हब्र्सका सञ्चालक तनहुँका रामबहादुर खनाल, जीबीसँग मिलेर रकम हिनामिना गरेको आरोप लागेकी गुल्मी मुसिकोट नगरपालिका-४ की लीला पछाईं र पोखराका कृष्ण गुरुङ प्रहरी हिरासतमा छन्। पक्राउ परेका भन्दा बाहेक ३५ जना जतिलाई फरार प्रतिवादी कायम गर्न राय दिने स्रोतले जनाएको छ। सूर्यदर्शन सहकारीकै रकम ठगी अभियोगमा अन्य पाँच जना कास्की कारागारमा पुर्पक्षका लागि थुनामा छन्।

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनअनुसार सूर्यदर्शन सहकारीबाट ५ करोड ५८ लाख ९ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको देखिन्छ। साथै, जीबी राई नेतृत्वको देशभरका सहकारीबाट ६५ करोड प्रत्यक्ष रूपमा गोर्खा मिडियामा गएको प्रतिवेदनमा उल्लेख छ।

सो प्रतिवेदनमा रविसहित जीबी राई, गोर्खा मिडियाका पूर्वउपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी, सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई कारबाही गर्न सिफारिस गरेकामा जीबी अझै फरार प्रतिवादी हुन्। कुमारसहित सहकारी उपाध्यक्ष कैलाशकुमार दर्लामी, शिवबहादुर गुरुङ, भविश्वर अर्याल यतिखेर कास्की प्रहरी हिरासतमा छन्।

११ ओटा बैंकले गरे ब्याजदर समायोजन

0

काठमाडौँ । पुस महिनाका लागि ११ वाणिज्य बैंकले ब्याजदर समायोजन गरेका छन्। बैंकहरूले प्रकाशित गरेको ब्याजदर तालिका अनुसार २० वाणिज्य बैंकमध्ये ११ वटाले ब्याजदर समायोजन गरेका हुन्। यसमध्ये ९ बैंकको ब्याजदर घटेको छ भने बाँकी दुई बैंकले निक्षेपका प्रकारका आधारमा ब्याजदर घटबढ गरेका छन्।

साधारण बचत खातातर्फ तीन बैंकले ब्याजदर घटाएका छन्, जबकि एउटा बैंकको ब्याजदर सामान्य बढेको छ। त्यस्तै, एकवर्षे व्यक्तिगत मुद्दती खाता अन्तर्गत तीन बैंकको ब्याजदर घट्दा एउटा बैंकले मात्रै आफ्नो ब्याजदर बढाएको छ। साथै, एकवर्षे संस्थागत मुद्दती खातामा आठ बैंकले ब्याजदर घटाएका छन्।

नयाँ ब्याजदर आजदेखि लागू भएको छ। कुन बैंकको ब्याजदर कति छ, सूची हेर्नुहोस्:

interest-rate-paush_XkA54Wyf45

एनआरएनए इजरायलद्वारा आयोजित खुला वक्तृत्वकला प्रतियोगितामा क्यानडाकी रोचना घिमिरे प्रथम

0

काठमाडौँ: गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) इजरायलद्वारा आयोजित विश्वव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगितामा क्यानडाबाट सहभागी रोचना घिमिरे प्रथम हुनुभएको छ । शनिबार आयोजित प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्दै उहाँले रु २ लाख नगद पुरस्कार प्राप्त गर्नुभयो ।

यस्तै पोल्यान्डबाट सहभागी जस्मिन बेगनले दोस्रो स्थान हासिल गर्दै रु एक लाख पुरस्कार प्राप्त गर्नुभयो भने तेस्रो स्थान हासिल गर्दै रसियाबाट सहभागी समिरा केसीले रु ५० हजार नगद पुरस्कार प्राप्त गर्नुभएको आयोजकले जनाएको छ । प्रतियोगितामा जापानबाट सहभागी एरिका सापकोटाले सान्त्वना पुरस्कारका लागि नगद रु ३० हजार प्राप्त गर्नुभएको छ ।

प्रतियोगितालाई दुई उमेर समूहमा (१७ वर्षसम्मका र १८ देखि ४० वर्षसम्मका) विभाजन गरी सञ्चालन गरिएको थियो । निर्णायकमण्डलमा गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष तथा साहित्यकार जीवा लामिछाने, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र पूर्वमिस नेपाल सुगरिका केसी रहनुभएको
थियो ।

आयोजक एनसिसी इजरायलका अध्यक्ष कृष्ण भण्डारीले विदेशमा रहेका नेपालीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले गैरआवासीय नेपालीहरूलाई एउटै मञ्चमा ल्याउनाका साथै भविष्यमा अगाडि बढ्न थप हौसला प्रदान गरेको बताउनुभयो । यस्तै, कार्यक्रमले सहभागीहरूको वक्तृत्व क्षमता प्रदर्शन र नेपाली भाषा–संस्कृतिको प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको सङ्घका अध्यक्ष डा बद्री केसीले बताउनुभयो ।

एनसिसी इजरायलले आफ्नो १७औँ वार्षिककोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा विभिन्न देशबाट ३० जना सहभागी थिए भने दुईजना अतिथि वक्ताहरू ओजस्वि आचार्य र पेन्सा रेग्मी उपस्थित हुनुभएको जनाइएको छ ।

पुस १ गते : लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै

0

काठमाडौँ: प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रुपमा मनाइँदैछ ।

विसं २०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गर्नुभएको थियो । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहनुभएका तत्कालीन प्रधानमन्त्री बिपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो ।

सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपी लगायतका नेतालाई बन्दी बनाइएको थियो । यही जेलपछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो । सोही जेलमा बसेर बिपीले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘मोदीआइन’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘हिटलर र यहुदी’ लगायत उपन्यास रचना गर्नुभएको थियो ।

पुस १ गतेको घटनापछि बिपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरु गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन लगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । विसं २०६१ भदौ २४ गते बन्दी गृहलाई बिपी सङ्ग्रहालयका रुपमा घोषणा गरी सञ्चालनमा ल्याइएको छ ।

आजको दिन तरुण दललगायतले प्रजातन्त्रमाथि प्रहार भएको दिनका रुपमा कालो दिवसका रुपमा मनाउँदै आएका छन् । यसै अवसरमा आज नेपाली कांग्रेस र नेपाल तरुण दललगायत अन्य भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी कालो दिवस मनाउन लागेको जनाइएको छ ।