Saturday, June 27, 2026
Home Blog Page 518

आठ महिनामा ५६ अर्ब बराबरको खानेतेल निर्यात

0

काठमाडौँ: नेपालले पछिल्लो आठ महिनामा करीब ५६ अर्ब रुपैयाँ बराबरको खानेतेल निर्यात गरेको छ। विदेशबाट कच्चा पदार्थ आयात गरेर नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गर्दा खानेतेलको निर्यातमा उल्लेख्य वृद्धि भएको हो।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापार तथ्याङ्क अनुसार, गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष आयातमा ११ दशमलव २० प्रतिशत र निर्यातमा ५७ दशमलव २० प्रतिशत वृद्धि भएको छ। यसका अनुसार, नेपालको निर्यातमा खानेतेलको हिस्सा धेरै बढेको देखिएको छ।

पछिल्लो आठ महिनामा नेपालले रू १ खर्ब ५८ अर्बको निर्यात गरेको छ, जसमा रू ४७ अर्ब ९४ करोड ६६ लाख बराबरको भटमास तेल (सोयाबिन तेल) मात्र निर्यात गरिएको छ। यसबाहेक, रू ७ अर्ब ९८ करोड २३ लाख बराबरको सूर्यमुखी तेल, रू ५ अर्ब ८३ करोड ७३ लाखको अलैंची, र रू ४ अर्ब ३२ करोड ३९ लाखको कार्पेट निर्यात भएको छ।

विभागका अनुसार, चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्म नेपालले कुल रू १३ खर्ब ३ अर्ब ७३ करोड ८६ लाखको वैदेशिक व्यापार गरेको छ। त्यसमध्ये, रू ९ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाखको व्यापार घाटा बेहोरेको छ। पछिल्लो आठ महिनामा नेपालले रू ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाखको वस्तु आयात गरेको छ, जबकि निर्यात रू १ खर्ब ५८ अर्ब १७ करोड २४ लाख बराबर भएको छ।

छिमेकी देश भारतसँग मात्रै नेपालले आठ महिनामा रू ५ खर्ब ६३ अर्ब ६७ करोडको व्यापार घाटा भोगेको छ। गत साउनदेखि फागुनसम्म भारतबाट रू ६ खर्ब ८८ अर्ब ६८ करोडको आयात हुँदा, मात्र रू १ खर्ब २५ अर्ब बराबरको निर्यात भएको छ। त्यस्तै, चीनसँग रू २ खर्ब १९ अर्ब १८ करोडको आयात र मात्र रू २ अर्ब १२ करोडको निर्यात भएको छ, जसको कारण रू २१ अर्ब ७० करोडको व्यापार घाटा आएको छ। अर्जेन्टिना, युक्रेन, युनाइटेड अरब ईमिरेट्स, अस्ट्रेलिया लगायतका मुलुकहरूसँग नेपालले उच्च व्यापार घाटा बेहोरेको छ। त्यसैगरी, अफगानिस्तान, डेनमार्क, रूस, अस्ट्रिया र माल्दिभ्स जस्ता मुलुकहरूसँग नेपाललाई नाफा भएको छ।

पछिल्लो आठ महिनामा पेट्रोलियम पदार्थको आयात पनि उच्च देखिएको छ। यस अवधिमा नेपालले रू ७८ अर्ब ८६ करोड ३७ लाखको डिजेल, रू ४२ अर्ब ८० करोड १७ लाखको पेट्रोल र रू ४१ अर्ब बराबरको एलपी ग्यास आयात गरेको छ। साथै, रू ९ अर्ब ६९ करोड २२ लाख बराबरको विद्युतीय सवारीसाधन र रू २ अर्ब ११ करोड बराबरको अन्य सवारीसाधन पनि आयात गरिएको छ। यस अवधिमा नेपालले रू २१ अर्ब ९१ करोड ८३ लाख बराबरको १४ लाख सात हजार ७८ वटा स्मार्टफोन आयात गरेको तथ्याङ्क पनि विभागले सार्वजनिक गरेको छ।

लुम्बिनी विकास कोषका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गर्न उच्च अदालतको आदेश

0

लुम्बिनी: उच्च अदालत तुलसीपुर, बुटवलको इजलासले लुम्बिनी विकास कोषको मातहत रहेका विद्युतीय सवारी साधनलाई हरियो नम्बर प्लेटमा परिवर्तन गरी सञ्चालन गर्न परमादेश जारी गरेको छ।

न्यायाधीशद्वय राजेश्वर तिवारी र पुण्यशिला दवाडी घिमिरेको संयुक्त इजलासले लामो समयदेखि प्रयोगमा नआएका ती सवारीलाई हरियो नम्बर प्लेटमा रूपान्तरण गरी पर्यटन प्रयोजनको लागि सञ्चालन गर्न आदेश दिएको हो। एसियाली विकास बैंकको ‘ग्रिन इनर्जी फण्ड’ अन्तर्गत नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत विसं २०७८ मा लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरिएका पाँच बस र १४ भ्यानसहित १९ विद्युतीय गाडीलाई सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा परिवर्तन गरी सो उद्देश्यअनुसार सञ्चालन गर्न एक महिनाभित्र कार्यान्वयन गर्न आदेश दिइएको छ।

अदालतको आदेशमा भनिएको छ, “सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसूची २ को भाग १ को खण्ड ‘ख’ अनुसार सेतो नम्बर प्लेटका गाडीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गर्न कानुनी विकल्प खुला रहेको छ, त्यसैले एक महिनाभित्र ती सवारीलाई हरियो नम्बर प्लेटमा रूपान्तरण गरी पर्यटन उद्देश्यका लागि सञ्चालनमा ल्याउन भनिएको छ।”

लुम्बिनी प्रदेश सरकार, यातायात व्यवस्था मन्त्रालय, लुम्बिनी विकास कोष, बुटवल यातायात व्यवस्था कार्यालय र रुपन्देही जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाएर मधेश मानव अधिकार गृह (माहुरी होम) का राम विकास चौधरीद्वारा दायर रिट निवेदनमा अधिवक्ताद्वय रेशम अधिकारी र बाबुराम भुसालले निवेदकको पक्षमा बहस गरेका थिए। विपक्षीको तर्फबाट प्रमुख महान्यायधिवक्ता यमलाल खनाल, वरिष्ठ अधिवक्ता लिलाधर मरासिनी, सहायक न्यायाधिवक्ता रमेश पोखरेल र अधिवक्ता पार्वती अधिकारीले बहस गरेका थिए।

लुम्बिनी विकास कोषको लामो समयदेखि सञ्चालनमा नआएका सवारीका विषयमा लुम्बिनी बचाउ महाअभियानका संयोजक अकराम खाँले भने, “यद्यपि नेपाल सरकार र लुम्बिनी प्रदेश सरकारको सहमती र निर्देशन अनुसार नम्बर प्लेट परिवर्तन गर्नुपर्ने भए पनि बुटवल यातायात कार्यालयले कार्यान्वयन नगरेका कारण यी सवारी लामो समयसम्म सञ्चालनमा आउन सकेका थिएनन्।”

रिट निवेदक र लुम्बिनी बचाउ सङ्घर्ष समितिका सदस्य मेघनाथ आचार्यले भने, “परमादेशसँगै अब लुम्बिनी विकास कोषले विद्युतीय बस र भ्यान सञ्चालन गर्नका लागि आवश्यक सुधार गर्न सक्नेछ। यस निर्णयले लुम्बिनी क्षेत्रका पर्यटकहरूको सुविधाका लागि विद्युतीय सवारीहरूको व्यवस्थित सञ्चालनमा मार्ग प्रशस्त गरेको छ।”

यसअघि, २०७७ मङ्सिर ९ गते एसियाली विकास बैंकको रु १३ करोड अनुदान सहयोगमा १४ वटा विद्युतीय भ्यान र पाँच वटा बस ल्याइएका थिए, जसका उद्देश्य प्रदूषणमुक्त लुम्बिनीको निर्माण गर्न थियो। यी गाडीहरू वातानुकूलित, अपाङ्गतामैत्री, र स्वचालित ढोकासहित छन्, र चार सय किलोमिटरसम्मको दायरा तय गर्न सक्षम छन्।

उपेन्द्र यादव नगएपछि सत्ताधारी दलहरूको बैठक निष्कर्षविहीन

0

काठमाडौँ: प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्ताधारी दलहरूको बैठक बिना कुनै निष्कर्ष टुंगिएको छ।

मंगलबार दिउँसो भएको बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित रहेको कारण बैठक निष्कर्षविहीन भएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन्।

श्रेष्ठका अनुसार, कार्यव्यस्ताका कारण जसपा अध्यक्ष बैठकमा उपस्थित नभएपछि, बैठक कुनै विशेष एजेन्डामा प्रवेश नगरी सकिएको बताइन्।

सोमबारको मन्त्रिपरिषद् बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तगी निर्णयपछि यसको चौतर्फी विरोध भएको बीचमा, प्रधानमन्त्री केपी ओलीले सत्तापक्षीय दलहरूको बैठक बोलाएका थिए।

ओस्कार विजेता वृत्तचित्र “नो अदर ल्याण्ड” का प्यालेस्टिनी निर्देशक ‘हिरासतमा’

0

काठमाडौं: मानव अधिकारकर्मीहरूको अनुसार, ओस्कर विजेता वृत्तचित्र “नो अदर ल्याण्ड” का चार सह-निर्देशकहरूमध्ये एक, प्यालेस्टिनी निर्देशक हमदान बल्लाललाई वेस्ट बैंकमा हिरासतमा लिइएको छ।

सोमबार सुस्या गाउँमा भएको आक्रमणको क्रममा इजरायलीहरूले उनका घरलाई घेरा हाल्दा यहूदी अहिंसा समूहको केन्द्रले यस घटनाको जानकारी दिएको हो।

फिल्मका सह-निर्देशक युवल अब्राहमका अनुसार, बल्लाललाई एम्बुलेन्समा रहेको अवस्थामा इजरायली सैनिकहरूले कुटपिट गरी हिरासतमा लिएका थिए। यद्यपि, इजरायलले उक्त दाबी अस्वीकार गरेको छ।

इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले बल्लालको नाम नलिई तीन प्यालेस्टिनी र एक इजरायलीलाई सुरक्षा बलमाथि ढुङ्गा हानेको आरोपमा पक्राउ गरिएको जनाएको छ।

पाँच जना यहूदी अमेरिकी कार्यकर्ताहरूका अनुसार, साँझको ६ बजे सुस्या गाउँमा करिब एक दर्जन नकाबधारी व्यक्तिहरूले आक्रमण गरेका थिए।

कार्यकर्ताहरूका अनुसार, उनीहरू घटना रेकर्ड गर्न त्यहाँ पुगेका थिए, तर इजरायली बसोबास गर्नेहरूले उनीहरूको कारको झ्याल भाँचेर, मुक्का हाने र लाठीले कुटपिट गरे।

“नो अदर ल्याण्ड” वृत्तचित्रका इजरायली सह-निर्देशक युवल अब्राहमले भने, आक्रमणका क्रममा धेरै जना घाइते भएका र सम्पत्तिमा क्षति पुगेको छ।

एक कार्यकर्ताले बीबीसीलाई बताएअनुसार, जब उनीहरूले इजरायली सेनासँग आफूमाथि आक्रमण भइरहेको गुनासो गरे, सेनाले हस्तक्षेप गर्‍यो र त्यसपछि आक्रमणकारीहरू पछि हटे।

इजरायली सेनाले स्थिति नियन्त्रणमा लिन आइडीएफ र इजरायली प्रहरी घटनास्थलमा पुगेको पुष्टि गरेको छ।

कुलमान हटाउने निर्णय तत्काल फिर्ता लिन माओवादीको माग

0

काठमाडौं: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारले गरेको निर्णय तत्काल फिर्ता लिनुपर्ने भन्दै नेकपा (माओवादी केन्द्र) ले विरोध जनाएको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले कुलमानलाई हटाउने निर्णयलाई अन्यायपूर्ण र अपमानजनक भन्दै सरकारलाई व्यापक सोच अपनाउन आग्रह गरे।

विज्ञप्तिमा भनिएको छ, “बिचौलिया र दलालहरूको स्वार्थमा गरिएको यो निर्णय कुशासनको पछिल्लो उदाहरण हो। यस निर्णयले इमान र निष्ठाका साथ काम गर्ने कुशल प्रशासकहरूसँग मानसिक त्रास सिर्जना गर्ने उद्देश्य राखिएको हो।”

यसका साथै, माओवादी केन्द्रले भन्यो कि कुलमानलाई हटाउने निर्णयसँगै माओवादीमाथि प्रायोजित दुष्प्रचार सुरु गरिएको छ।

विज्ञप्तिमा थप भनिएको छ, “बेपत्ता व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने सहमतिको सन्दर्भमा पार्टी अध्यक्षप्रति गरिएको दुष्प्रचार हाम्रो पार्टीले अस्वीकार गरेको छ।”

विचाराधीन विधेयकलाई शीघ्र टुंगोमा पुर्‍याउने सत्तापक्षीय दलको निर्णय

0

काठमाडौं: सत्तापक्षीय दलहरुले संसद्मा विचाराधीन विधेयकलाई छिट्टै टुंगोमा पुर्याउने निर्णय गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटरमा आज भएको सत्ता पक्षका शीर्ष नेताहरूको बैठकमा संसद्मा विचाराधीन विधेयकलाई चाँडै अघि बढाउने बारेमा छलफल भएको हो।

बैठकमा सहभागी श्रम, रोजगार तथा सामाजिक मन्त्री शरतसिंह भण्डारीले बैठकमा समसामायिक मुद्दाहरू, विशेष गरी भूमिसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउने विषयमा छलफल भएको जानकारी दिए।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका नेताहरू उपस्थित थिए।

कलंकी घटना : अभयको हत्यामा संलग्न आरोपमा १७ जना पक्राउ

0

काठमाडौँ महानगरपालिका–१४, कलंकीमा सोमबार भएको झडपमा २२ वर्षीय अभय गोलेको मृत्यु भएको छ। गोलेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ।

प्रारम्भिक अनुसन्धानअनुसार, मुख्य आरोपी रोहित खड्का सहित १७ जनालाई पक्राउ गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका एसपी अपिल बोहराले रातोपाटीलाई जानकारी दिए। झडपमा घाइते भएका गोलेको उपचारको क्रममा सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको थियो। यस घटनाको अनुसन्धान उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकारीहरूले गरिरहेका छन्।

यस घटनामा पुरानो विवादको कारण २१ वर्षीय रोहित खड्का, विनय लामा, र पर्वित श्रेष्ठले रड, खुकुरी र मुक्काले अर्को समूहलाई आक्रमण गरेका थिए। आक्रमणमा परेर गोले समूहका तीनजना घाइते भएका छन्। झडपमा परेर घाइते हुनेमा नागढुंगा निवासी २३ वर्षीय सन्दीप भुजेल, हेटौँडाका पवन तामाङ ‘चक्रे’, र चन्द्रागिरीका २२ वर्षीय पासाङ शेर्पा छन्। उनीहरूको उपचार सहिद मेमोरियल अस्पतालमा भइरहेको छ।

कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

0

काठमाडौं:नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ। सत्तारूढ नेपाली कांग्रेसका दुवै महामन्त्रीहरूले समेत सरकारको कदमप्रति असहमति जनाएका छन्।

सोमबार साँझ मन्त्रिपरिषद्को बैठकले घिसिङलाई पदमुक्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो। यसलगत्तै कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत सरकारको निर्णयको आलोचना गरे।

ऊर्जामन्त्री दीपक खड्का कांग्रेसकै नेता हुन्, तर पार्टीकै दुई महामन्त्रीहरूले यो निर्णयको सार्वजनिक रूपमा विरोध गरेका छन्।

गगन थापाको कडा प्रतिक्रिया
थापाले सरकारको निर्णयले आमनागरिकको असन्तोष झन् बढाउने उल्लेख गर्दै लेखेका छन्, “असन्तुष्टिलाई सम्बोधन गर्न सरकारको डेलिभरी सुधार्नुपर्नेमा उल्टै सरकार नै असन्तुष्टिको आगोमा मट्टितेल थप्ने काम गर्दैछ।” उनले सरकारले पार्टीको सुझाव लत्याएको बताउँदै, “गलत निर्णय गरेर सही गन्तव्यमा पुग्न सकिन्न,” भनेका छन्।

विश्वप्रकाश शर्माको असहमति
महामन्त्री शर्माले सरकारको निर्णयसम्बन्धी पार्टीभित्र सहमति नभएको उल्लेख गर्दै, “कुलमान घिसिङलाई हटाउनु समायोचित भएन,” भनेका छन्। उनले घिसिङलाई बाँकी कार्यकाल पूरा गर्न दिनुपर्ने धारणा राख्दै, सरकारको निर्णयप्रति खुला असहमति जनाएका छन्।

सरकारी निर्णयमा आन्तरिक विवाद
बैठकमा ऊर्जामन्त्री खड्काले घिसिङलाई हटाउने प्रस्ताव राखेका थिए। छलफलका क्रममा गृहमन्त्री रमेश लेखकले अदालतले उनलाई पुनर्स्थापित गर्ने सम्भावना भएकाले यस्तो निर्णय गर्नु नहुने बताएका थिए।

ऊर्जा मन्त्रालयले घिसिङलाई कार्यसम्पादन सम्झौताअनुसार तोकिएको लक्ष्य पूरा भए/नभएको विषयमा तीन दिनभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरेको थियो। घिसिङले २०७८/७९ र २०७९/८० मा क्रमशः ९४.२३ र ९८.९४ अंकका साथ लक्ष्य पूरा गरेको स्पष्टिकरण दिएका थिए।

माओवादी अध्यक्ष प्रचण्डको आपत्ति
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत सरकारको निर्णयलाई “गलत र आपत्तिजनक” भनेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “देशमा चरम लोडसेडिङको अन्त्य गर्न कुलमान घिसिङको भूमिका महत्वपूर्ण रह्यो। सरकारले पटकपटक अन्याय गरिरहे पनि उनलाई बर्खास्त गर्नु पूर्ण रूपमा गलत छ।”

सरकारको यो निर्णयविरुद्ध राजनीतिक वृत्तदेखि सर्वसाधारणसम्म असन्तुष्टि बढिरहेको छ।

कुलमानलाई हटाएकोमा शेखर कोइरालाले– ‘विनाशकाले विपरीत बुद्धि’

0

काठमाडौं: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयको चर्को विरोध भइरहेको छ। सत्तारुढ दलहरूभित्रै असन्तुष्टि बढ्दै गएको देखिन्छ।

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला ले पनि यस विषयमा कडा प्रतिक्रिया दिएका छन्। उनले सरकारको यो कदमलाई कुशासनको निरन्तरताको अर्को उदाहरण भनेका छन्।

डा. कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्:

“कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न सरकारले गर्न सक्छ, न पार्टीले। नेपाली कांग्रेसले यसको स्वामित्व लिनै हुन्न। यसरी कति दिन चल्ने र चलाउने? विनाशकाले विपरीत बुद्धि!”

सरकारको यो निर्णयविरुद्ध सर्वसाधारणदेखि विपक्षी दलसम्म चर्को असन्तुष्टि व्यक्त गरिरहेका छन्। कुलमान घिसिङको नेतृत्वमा नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ अन्त्य गरेको र संस्थागत सुधारमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई हटाउनु गलत भएको आलोचकहरूको तर्क छ।

प्रकाश सपुतको डेब्यु निर्देशनमा बनेको ‘वसन्त’को ट्रेलर ट्रेन्डिङमा, दर्शकबाट उत्कृष्ट प्रतिक्रिया

0

काठमाडौँ: गायक तथा अभिनेता प्रकाश सपुतको डेब्यु निर्देशनमा बनेको सिनेमा ‘वसन्त’को ट्रेलर एक कार्यक्रमका बीच सार्वजनिक गरिएको थियो। सिनेमाको ट्रेलर सार्वजनिक भएसँगै यसको हाइप पनि बढेको छ। हालसम्म ट्रेलरलाई ४ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन्।

सार्वजनिक ट्रेलरले दर्शकको मन जितिरहेको कमेन्टबक्समा प्राप्त प्रतिक्रियाबाट बुझ्न सकिन्छ। अधिकांशले सिनेमाले नेपाली समाजको यथार्थ चित्रण गरेको प्रतिक्रिया दिएका छन्। ट्रेलर सार्वजनिक भएपछि युट्युबको ट्रेन्डिङमा समेत उक्लिएको थियो। यो समाचार तयार पार्दासम्म ‘वसन्त’को ट्रेलर युट्युबको मुभिज सेक्सन अन्तर्गत ४ नम्बर ट्रेन्डिङमा छ।

सार्वजनिक ट्रेलरले दर्शकको राम्रो साथ पाइरहेकाले ट्रेन्डिङको शीर्ष स्थानतर्फ विस्तारै पाइला बढाउँदै गएको छ। हालसम्म सिनेमाको ट्रेलरले ४ लाख ७ हजार भ्युजसहित २३ हजार लाइक र तीन हजार ४ सयभन्दा बढी प्रतिक्रिया प्राप्त गरेको छ। ट्रेलर हेरेका अधिकांश दर्शक सिनेमा हेर्न व्यग्र प्रतिक्षामा रहेको प्रतिक्रियाबाट बुझिन्छ।

सिनेमाको ट्रेलरको कमेन्टबक्समा अमृत परियारले लेखेका छन्, ‘मलाई लाग्छ, यो सिनेमाले मानिसले मानिसलाई हेर्ने नजरप्रति केही हदसम्म परिवर्तन गर्न सहयोग गर्नेछ। शुभकामना सम्पूर्ण टिमलाई।’

अर्का एक व्यक्ति सन्देश विकले लेखेका छन्, ‘एउटा सिनेमामा यति धेरै कथा समेटिएको रहेछ! यो ट्रेलर हेर्दा गूजबम्प्स आयो। धेरै शुभकामना प्रकाश दाजु।’

यस्तै, अर्का कमेन्टकर्त्ता राम प्रसादले लेखेका छन्, ‘एक-एक डाइलगमा एउटा कारण लुकेको छ। हलसम्म तान्ने नै भयो। दिमाग नै हल्लाउँछ त! बेस्ट अफ लक ‘वसन्त’ टिम, धेरै बधाई छ। यसपटक फेरि नयाँ अन्दाजको सिनेमा हेर्न पाइने भयो।’

फ्यान मदन बराइली लेख्छन्, ‘साँच्चिकै समाज सुधार हुनुपर्छ भन्ने सोच राख्ने कुनै पनि जातका मानिसले यो सिनेमा अवश्य हेर्नेछ। म पनि परिवारसँग गएर हेर्ने हो। सिनेमा गजब बनेको जस्तो लाग्यो। सम्पूर्ण टिमलाई अग्रिम शुभकामना।’

सिनेमाको ट्रेलरको कमेन्टबक्समा यस्तै तीन हजारभन्दा बढी प्रतिक्रियाहरू देख्न सकिन्छ। दर्शकहरूले सिनेमाका मुख्य कलाकार तथा डेब्यु निर्देशक प्रकाश सपुत र अभिनेत्री स्वस्तिमा खड्काको पनि प्रशंसा गरेका छन्। यसैले पनि ‘वसन्त’ यस वर्षकै प्रतिक्षित सिनेमा मध्ये एक हो भन्नेमा दुईमत देखिँदैन।

सिनेमामा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिवान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ।

‘गलबन्दी प्रोडक्सन’को प्रस्तुति रहेको यो सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन्। सिनेमाले विपन्न विश्वकर्मा समुदायको छोराले लेखक बन्ने सपनाका लागि गरेको संघर्षको कथा बयान गर्छ।

सिनेमाका निर्माताहरूमा मोहन विश्वकर्मा र बिन्दु बोहोरा रहेका छन् भने कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन्।

गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं, र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो। सिनेमाका छायाँकार सुसन प्रजापति हुन्। काठमाडौं उपत्यकामा DCN र मोफसलमा FD Company ले सिनेमालाई वितरण गर्नेछन्।