Tuesday, June 30, 2026
Home Blog Page 487

एनआरएनएको एकता महाधिवेशनको भविष्य अन्योल, मुद्दा पटक–पटक स्थगित

0

काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन वैशाख २० गतेदेखि हुने तय भए पनि यसको भविष्य सर्वोच्च अदालतको निर्णयमा निर्भर बनेको छ। एनआरएनएको ११ औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष बद्री केसीले परराष्ट्र मन्त्रालयलगायतलाई विपक्षी बनाएर दायर गरेको मुद्दा अझै टुंगोमा पुग्न सकेको छैन।

केसीले दायर गरेको मुद्दा बुधबार चौथो दिन पनि सर्वोच्च अदालतमा पेसीमा परेको थियो। तर न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा मुद्दा हेर्न नमिल्ने भन्दै पुनः स्थगित भयो।

अब बिहीबार सार्वजनिक बिदा परेकाले शुक्रबार मात्र अदालत खुल्नेछ। तर उक्त दिन एनआरएनएको मुद्दामा पेसी रहने नहुनेबारे सर्वोच्चले अहिलेसम्म तारेख तोकेको छैन।

केसीले एकता महाधिवेशन रोक्न माग गर्दै अन्तरिम आदेशको माग गरेका छन्। उनले वैशाख १२ गते दायर गरेको रिटको पहिलो सुनुवाइ वैशाख १४ गते न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासमा भएको थियो। सो इजलासले एनआरएनएको एकता महाधिवेशन तोकिएको मितिमा रोक्नुपर्ने भन्दै दायर अर्को रिटसँग संयुक्तरूपमा सुनुवाइ गर्न आदेश दिएको थियो।

तर त्यसयता निरन्तर रूपमा सुनुवाइ स्थगित हुँदै आएको छ। विभिन्न इजलासहरूले मुद्दा हेर्न नमिल्ने भन्दै टार्दै आएपछि बुधबार पनि सुनुवाइ हुन सकेन।

यसैबीच, महाधिवेशनको पक्षमा रहेका राजेश शमशेर राणाले पनि परराष्ट्र मन्त्रालयको पत्राचारका आधारमा एकता महाधिवेशन सार्न खोजिएको भन्दै सर्वोच्चमा निवेदन दर्ता गरेका थिए। सो निवेदनसमेत केसीको मुद्दासँग जोडेर सुनुवाइ हुँदै आएको हो।

यसअघि २०८० चैत २१ गते सर्वोच्च अदालतले शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन गराउन परमादेश दिएको थियो। तर, त्यसअघि नै बद्री केसी एनआरएनएको ११ औँ महाधिवेशनबाट निर्वाचित भइसकेका थिए। परमादेशपछि परराष्ट्र मन्त्रालयले केसीलाई काम रोक्न निर्देशन दिएपछि उनी अदालत पुगेका थिए। अदालतले २०८१ साउनमा उनलाई काम गर्ने बाटो खुला गरिदिएको थियो।

यतिबेला घले पक्षले वैशाख २० मा हुने भनिएको एकता महाधिवेशन अन्तिम तयारीमा पुर्‍याएको छ भने सयौँ एनआरएनहरू काठमाडौँमा भेला भइसकेका छन्। उनीहरूले ठूलो खर्च गरेर नेपाल आइपुगेको भन्दै महाधिवेशन रोक्न नहुने अडान लिएका छन्।

तर, केसी पक्षले भने घलेले एकपक्षीय रूपमा महाधिवेशन गरेर संस्था विभाजन गर्न खोजेको आरोप लगाउँदै आगामी अक्टोबरमा मात्र महाधिवेशन गरिनुपर्ने र त्यसैलाई एकता महाधिवेशन बनाउनुपर्ने तर्क राखेको छ।

यसरी अदालती अन्योलका कारण एनआरएनएको नेतृत्व र महाधिवेशन दुबै अनिश्चित अवस्थामा पुगेका छन्।

सहमतिलाई अन्तिम रूप दिन शिक्षामन्त्रीसँग वार्ता सुरू

0

काठमाडौँ: सहमतिलाई अन्तिम रूप दिन शिक्षामन्त्री र शिक्षकबीचको वार्ता शिक्षा मन्त्रालयमा सुरू भएको छ। वार्तामा शिक्षामन्त्री रघुजी पन्त तथा नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीसहित महासङ्घमा आबद्ध शिक्षक संगठनका प्रतिनिधिहरू सहभागी छन्।

महासङ्घका महासचिव तुला बहादुर थापाका अनुसार हिजो अबेरसम्म भएको वार्ता सकारात्मक भएको थियो, र आजको छलफलले थप सार्थकता पाउने अपेक्षा गरिएको छ। दुवै पक्षले आज सहमतिलाई अन्तिम रूप दिने तयारी गरेको जनाइएको छ।

वार्तामा महासङ्घले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावमाथि छलफल भइरहेको छ। सहमति जुटे मन्त्रिपरिषद् बैठकमार्फत निर्णय हुने जनाइएको छ।

महासङ्घका मागहरूमा निम्न बुँदाहरू प्रमुख छन्:

सबै शिक्षक तथा विद्यालय कर्मचारीका लागि सातै प्रादेशिक अस्पताल र काठमाडौँस्थित निजामती अस्पतालमा स्वास्थ्य उपचारमा सहुलियत र सुविधा प्रदान गर्ने।

राहत, अस्थायी / करार, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा, बालविकास सहजकर्ता लगायत अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित हुने व्यवस्था गर्ने, र सेवा अवकाशको बेला उक्त रकम एकमुष्ट प्रदान गर्ने।

प्रारम्भिक बाल विकास सहजकर्ता (बालविकास शिक्षक) र विद्यालय कर्मचारीको लागि खरिदार सरह दरबन्दी कायम गर्ने र मासिक रु. ३२,९०२ तलब उपलब्ध गराउने।

विद्यालय सहयोगीलाई श्रेणीविहीन कर्मचारी सरह प्रति महिना रु. २६,०८२ उपलब्ध गराउने र सो खर्च सङ्घीय सरकारले व्यहोर्ने।

आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकहरूका लागि ग्रेड निर्धारण गर्ने। प्राथमिक तृतीयका लागि खरिदार सरह (१० ग्रेड), प्राथमिक द्वितीय र निम्न माध्यमिक तृतीयको लागि नायब सुब्बा सरह (१० ग्रेड), माध्यमिक प्रथमको लागि सहसचिव सरह (७ ग्रेड) ग्रेड कायम गरिने।

यस्तै, विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग पनि महासङ्घको प्राथमिकतामा परेको छ। यी मागका साथ शिक्षक तथा विद्यालय कर्मचारीहरू चैत २० गतेदेखि आन्दोलनमा छन्। चैत २५ गतेदेखि उनीहरूले शैक्षिक हडतालसमेत गरेका थिए।

सरकारसँग सहमति भएमा आन्दोलनको स्वरूप परिवर्तन गर्ने र कक्षा १२ को परीक्षा सञ्चालनमा अवरोध नगर्ने महासङ्घले जनाएको छ।

रेशम चौधरी पक्राउ

0

काठमाडौँ: नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन्। जनमत पार्टीसँग बुधबार तय भएको एकताअघि उनलाई काठमाडौँस्थित प्रज्ञा भवनबाट पक्राउ गरिएको हो।

चौधरी पार्टी एकता कार्यक्रममा सहभागी हुन प्रज्ञा भवन पुगेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरी पक्राउ परेको खबर आफूले पनि सुनेको बताउँदै यसबारे विस्तृत जानकारी लिने प्रयास भइरहेको बताइन्।

कैलालीको टिकापुर घटनामा सर्वोच्च अदालतले चौधरीलाई दोषी ठहर गर्दै कैद सजाय सुनाएको थियो। सो फैसला कार्यान्वयन गर्दै उनी जेलमा रहेका बेला सरकारले उनलाई आममाफी दिएको थियो। तर, पछिल्लो समय सार्वजनिक भएको सर्वोच्च अदालतको पूर्णपाठमा चौधरीलाई आममाफी दिन नमिल्ने उल्लेख गरिएको छ। त्यसैको आधारमा अदालतले आदेश दिएपछि काठमाडौँ प्रहरीले उनलाई पुनः पक्राउ गरेको जनाएको छ।

यसअघि, जनमत पार्टीका अध्यक्ष सीके राउतले आफूलाई ज्यान मार्ने र रेशम चौधरीलाई पुनः पक्राउ गराउने धम्की आएको दाबी गरेका थिए।

उनले भनेका थिए, “परिवारमा झगडा लगाएर होस्, पदाधिकारीमाथि स्रोत-साधन प्रयोग गरेर होस्, मिडियामार्फत चरित्र हत्या गरेर होस्, धर्म वा जातिको नाममा आक्रमण गराएर होस्, पार्टी फुटाउने वा सांसदहरू खरिद गर्ने प्रयास होस्, कुनै पनि कसर बाँकी राखिएको छैन।”

आजको मौसम

0

काठमाडौँ: हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको असरस्वरूप कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम मुख्यतः सफा वा आंशिक बदली भएको छ। कोशी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसोको पूर्वानुमान अनुसार:
देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै अन्य भूभागमा आंशिक बदली रहनेछ। पहाडी क्षेत्रमा थोरै स्थानहरूमा र अन्य भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना छ। साथै, लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।

आज रातिको पूर्वानुमान अनुसार:
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सम्भावित असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

माल्टामा रोजगारी लगाइदिने भन्दै ठगी गर्ने सुजन कुमार उप्रेती पक्राउ

0

काठमाडौं: वैदेशिक रोजगारीको नाममा आकर्षक तलबको लोभ देखाएर माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन्।

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले दिएको जानकारीअनुसार ५६ वर्षीय सुजन कुमार उप्रेतीलाई एक व्यक्तिसँग २४ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको हो। उप्रेतीले पीडितलाई लामो समयसम्म विदेश पठाउने भन्दै झुक्याएर अन्ततः सम्पर्कविहीन भएका थिए।

पीडितको जाहेरीका आधारमा सुरु गरिएको अनुसन्धानपछि उप्रेतीलाई काठमाडौं महानगरपालिका–१ बाट पक्राउ गरिएको हो। उनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा बुझाइएको कार्यालयले जनाएको छ।

पक्राउ परेका उप्रेती काठमाडौं महानगरपालिका–२ का स्थायी बासिन्दा हुन्।

पक्राउ सम्बन्धी विवरण:
नाम: सुजन कुमार उप्रेती

उमेर: ५६ वर्ष

स्थायी ठेगाना: काठमाडौं महानगरपालिका–२

ठगी रकम: रु. २४,००,००० (चौबिस लाख)

पक्राउ मिति: २०८२ साल वैशाख १६ गते

पक्राउ स्थान: काठमाडौं महानगरपालिका–१

पीडित संख्या: १ जना

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ १३ पैसा र बिक्री दर १३६ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिद दर १५४ रुपैयाँ ९४ पैसा र बिक्री दर १५५ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १८२ रुपैयाँ २५ पैसा र बिक्री दर १८३ रुपैयाँ ०५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १६४ रुपैयाँ ९९ पैसा र बिक्री दर १६५ रुपैयाँ ७१ पैसा कायम गरिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ १२ पैसा र बिक्री दर ८७ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ३० पैसा र बिक्री दर ९८ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०३ रुपैयाँ ९२ पैसा र बिक्री दर १०४ रुपैयाँ ३८ पैसा रहेको छ।

जापानी येन (१० को दरमा) खरिद दर ९ रुपैयाँ ५५ पैसा र बिक्री दर ९ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ७२ पैसा र बिक्री दर १८ रुपैयाँ ८० पैसा, साउदी रियाल एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४५ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ३५ पैसा र बिक्री दर ३७ रुपैयाँ ५१ पैसा तय गरिएको छ।

यस्तै, थाई भाट एकको खरिद दर ४ रुपैयाँ ०७ पैसा र बिक्री दर ४ रुपैयाँ ०९ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ ०६ पैसा र बिक्री दर ३७ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ४६ पैसा र बिक्री दर ३१ रुपैयाँ ६० पैसा, साउथ कोरियन वन (१०० को दरमा) खरिद दर ९ रुपैयाँ ४८ पैसा र बिक्री दर ९ रुपैयाँ ५२ पैसा रहेको छ।

स्विडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ १२ पैसा र बिक्री दर १४ रुपैयाँ १८ पैसा, डेनिस क्रोनर एकको खरिद दर २० रुपैयाँ ७६ पैसा र बिक्री दर २० रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ।

हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ५५ पैसा र बिक्री दर १७ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिद दर ४४४ रुपैयाँ ५५ पैसा र बिक्री दर ४४६ रुपैयाँ ५१ पैसा, बहराइन दिनार एकको खरिद दर ३६१ रुपैयाँ १२ पैसा र बिक्री दर ३६२ रुपैयाँ ७१ पैसा, ओमनी रियाल एकको खरिद दर ३५३ रुपैयाँ ५९ पैसा र बिक्री दर ३५५ रुपैयाँ १५ पैसा कायम भएको छ।

भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमय दर आवश्यकता अनुसार जुनसुकै समयमा परिवर्तन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी दिइएको छ।

भ्याटिकन सिटीमा नयाँ पोपको निर्वाचन मे ७ मा, १३५ कार्डिनलहरू सहभागी हुने

0

काठमाडौं: पोप फ्रान्सिसको निधनपछि नयाँ पोप चयन प्रक्रिया यही मे ७ मा सुरु हुने भएको छ। विश्वव्यापी रोमन क्याथोलिक चर्चका सर्वोच्च नेता पोपको चयनका लागि १३५ कार्डिनलहरू भ्याटिकनमा भेला हुनेछन्।

यो निर्वाचन संसारकै सबैभन्दा पुरानो र गोप्य प्रक्रिया मानिन्छ। निर्णय सिस्टिन चैपलमा हुने एक गोप्य सम्मेलनमार्फत लिइन्छ, जसमा ८० वर्ष मुनिका कार्डिनलहरूले मात्र मतदान गर्न पाउँछन्।

पोप फ्रान्सिसको गत अप्रिल २१ मा ८८ वर्षको उमेरमा निधन भएको थियो। उनको अन्त्येष्टि शनिबार सम्पन्न भयो। अब मे ७ बाट सुरु हुने निर्वाचनमा सहभागी कार्डिनलहरू मध्ये धेरैजसो फ्रान्सिसद्वारा नियुक्त भए पनि उनीहरू एक-अर्कालाई राम्रोसँग नचिनेको भन्दै निर्वाचनमा समय लाग्न सक्ने रोयटर्सले जनाएको छ।

नियमअनुसार, ८० वर्षभन्दा माथिका कार्डिनलहरूले मतदान गर्न पाउँदैनन्, तर उनीहरू सम्मेलनमा उपस्थित हुन र बन्द सत्रमा भाग लिन सक्छन्।

सिस्टिन चैपलमा हुने पोप निर्वाचन प्रक्रिया सन् १६ औं शताब्दीबाट निरन्तर अभ्यास हुँदै आएको परम्परा हो। सन् २००५ र २०१३ मा आयोजित अघिल्ला निर्वाचनहरू दुई दिनमै टुंगिएको भए पनि यसपटक छलफल लामो हुन सक्ने अनुमान गरिएको छ।

पाकिस्तानले नियन्त्रण रेखामा भारतीय ड्रोन खसाल्यो

0

काठमाडौं: पाकिस्तानले नियन्त्रण रेखा (LoC) मा आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेको भारतीय जासूसी ड्रोन खसालेको दाबी गरेको छ।

सरकारी रेडियोले पाकिस्तानी सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै जनाएअनुसार भारतले भाम्भरको मनावर सेक्टरमा ड्रोन प्रयोग गरी जासूसी गर्ने प्रयास गरेको थियो।

भारत सरकारबाट भने हालसम्म यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

गत अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जनाको ज्यान गएको थियो। त्यसपश्चात भारतले पाकिस्तानविरुद्ध कडा प्रतिक्रिया स्वरूप सिन्धु जल सन्धि निलम्बन, अटारी सीमा बन्द, र भिसा सुविधा फिर्ता जस्ता कदमहरू चालेको थियो।

जवाफमा, पाकिस्तानले पनि शिमला सम्झौतालगायत दुई देशबीचका सबै द्विपक्षीय सम्झौता निलम्बन गर्ने घोषणा गर्दै हवाई र स्थल सीमा बन्द, व्यापार स्थगन, तथा भारतलाई आफ्नो हवाई क्षेत्र प्रयोगमा प्रतिबन्ध लगाएको छ।

भारतजस्तै पाकिस्तानले पनि भारतीय रक्षा सल्लाहकार र उनीसँगै रहेका कर्मचारीहरूलाई देश छाड्न निर्देशन दिएको छ भने भारतीय कूटनीतिक कर्मचारीहरूको संख्या समेत घटाएको छ।

यसैबीच, पाकिस्तानको राष्ट्रिय सुरक्षा परिषद्ले भारतद्वारा सिन्धु जल सन्धि निलम्बन गर्ने निर्णयलाई अस्वीकार गरेको छ। परिषद्ले सन्धिअनुसार पाकिस्तानलाई तोकिएको पानीको प्रवाह रोक्ने वा मोड्ने कुनै पनि प्रयासलाई “युद्धको कार्य” मानिने र त्यसको जवाफ “पूर्ण शक्तिका साथ” दिइने चेतावनी दिएको छ।

अदालतको अवहेलना मुद्दामा सर्वोच्चले माग्यो गगनको लिखित जवाफ

0

काठमाडौं: अदालतको अवहेलनासम्बन्धी मुद्दामा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ।

कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले थापालाई लिखित स्पष्टीकरण पेश गर्न आदेश दिएको हो।

थापाले गत बिहीबार एक सार्वजनिक कार्यक्रममा ५२ संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा सर्वोच्च अदालतले किनार नलगाएर ‘डिल’ गरिरहेको आरोप लगाएका थिए।

उनको उक्त अभिव्यक्तिपछि अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले आइतबार सर्वोच्च अदालतमा थापाविरुद्ध अदालतको अवहेलनाको मुद्दा दायर गरेका थिए।

व्यापारी र विचौलियाको कब्जामा बजार: सरकार मूकदर्शक

0

काठमाडौं: नेपाली बजारमा अखाद्य वस्तुको बिक्री, म्याद गुज्रिएका सामग्रीको व्यापार, तौलमा ठगी, एमआरपी नदेखिएको समस्या यथावत् रहँदै आएको छ। यस्ता समस्या अन्त्य गर्ने जिम्मेवारी राज्यको भए पनि बजार अझै पनि अनियन्त्रित अवस्थामा देखिन्छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालका अनुसार बजार अनुगमन भइरहे पनि समस्या समाधानका लागि यो मात्र पर्याप्त छैन। “हाम्रो पकडमा बजार छैन,” दाहालले डिसी नेपालसँगको कुराकानीमा स्वीकार गरे, “सरकारी नियन्त्रणमा बजार छैन, र हुनु पनि हुँदैन। बजार स्वतन्त्र हुन्छ, डिमान्ड र सप्लाईले चल्छ।”

महानिर्देशक दाहालका अनुसार विभागले पछिल्लो समय उत्पादन र आयातकर्ताका सामग्रीमा अधिकतम खुद्रा मूल्य (एमआरपी) राख्ने अभियान चलाएको छ। “डन्डी, सिमेन्टलगायतका सामग्रीमा एमआरपी लागू गर्ने काम भइरहेको छ,” उनले जानकारी दिए।

तर, डन्डी र सिमेन्टको मूल्य घटबढसम्बन्धी गुनासामा पारदर्शिता अभाव देखिएको उनले बताए। “पहिले कस्ट ट्यान्जेवल थिएन, उपभोक्ताले बिल देख्दैन थिए। अब हामीले फ्याक्ट्री गेट कस्ट र सेल्स कस्ट छुट्याएका छौं,” दाहालले भने, “यो व्यवस्था लागू भइसकेको छ र जिल्लाबाट आएका सबै प्रतिवेदनमा त्यसको उल्लेख भएको छ।”

नेपालको बजार ७० प्रतिशत आयातमा आधारित भएको उल्लेख गर्दै दाहालले खुला सीमाका कारण विकृति नियन्त्रण चुनौतीपूर्ण रहेको बताए। “जबसम्म टेरिफ र कस्टम स्पस्ट हुँदैनन्, बजार स्वच्छ हुँदैन,” उनले स्पष्ट पारे।

चाँडपर्व नजिकिँदा मात्र बजार अनुगमन गर्ने र अन्य समय लापरवाही हुने आरोपको खण्डन गर्दै दाहालले वर्षभर नै अनुगमन भइरहेको बताए। “जुत्ता, मेडिसिन, स्पेयर पार्ट्स लगायतका क्षेत्रमा पछिल्लो एक–डेढ महिनामै व्यापक अनुगमन गरेका छौं,” उनले दाबी गरे।

तर, समस्या यथावत् देखिनुका पछाडि सरकारी निकायको कमजोरी मात्र नभई प्रभावशाली व्यापारी र बिचौलियाको दबाब पनि रहेको संकेत गरे। “बजारमा हाम्रो पकड छैन भनेर म स्वीकार्छु,” दाहालले भने, “हामी फ्रि मार्केटको कुरा गर्छौं। यसले कन्ट्रोल होइन, स्वतःसञ्चालित प्रणालीमा चल्नुपर्ने हो।”

उनले नीतिगत सहजीकरणमार्फत बजार व्यवस्थापनमा ध्यान दिइएको पनि स्पष्ट पारे। “मूल्य तोक्ने हैसियतमा हामी छैनौं,” उनले भने, “तर गुणस्तर, मूल्य र लेबलजस्ता विषयमा अनुगमन जारी छ।”