Sunday, July 5, 2026
Home Blog Page 451

नेपाल आयुर्वेद चिकित्सा परिषद्को नेतृत्व चयनमा राजनीतिक रस्साकस्सी

0

काठमाडौं: नेपाल आयुर्वेद चिकित्सा परिषद्मा अध्यक्ष र रजिस्टार नियुक्तिको प्रक्रिया तीन महिनादेखि राजनीतिक हस्तक्षेप र गुटगत प्रतिस्पर्धाका कारण अवरुद्ध छ। कार्यसमिति अभावका कारण परिषद्का नियमित कामकाज ठप्प छन्, जसको प्रत्यक्ष असर चिकित्सक दर्ता, विद्यार्थीका शैक्षिक अवसर तथा चिकित्सा पदपूर्तिमा परेको छ।

अध्यक्ष पदमा प्रतिस्पर्धा
डा. सन्तोष ठाकुर
पूर्व अध्यक्ष डा. सन्तोष ठाकुर कार्यकाल सकिएपछि पुनः अध्यक्ष बन्ने प्रयासमा छन्। सिंहदरबार वैद्यखानाको प्रमुख बन्ने चाहना राखेका ठाकुरलाई स्वास्थ्य मन्त्रीले सकारात्मक संकेत दिए पनि नियमावलीमा रहेको जटिलताका कारण उनी सिधै नियुक्त हुन सकेका छैनन्। भारतबाट एमडी गरेका चिकित्सकप्रति पूर्वाग्रही व्यवहार गरेको आरोप लाग्दै आएको छ।

प्रा. डा. रामचन्द्र अधिकारी

नेपाली कांग्रेसका तनहुँका क्रियाशील सदस्य तथा डा. शेखर कोइरालाका निकट प्रा. डा. अधिकारीलाई मन्त्री प्रदीप पौडेलले अध्यक्ष बनाउन चाहेका छन्। उनी अध्यक्ष बन्ने तयारीमा केन्द्रीय आयुर्वेद क्याम्पस, दाङबाट राजीनामा गरिसकेका छन्, तर प्राविधिक कारणले प्रक्रिया अघि बढ्न सकेको छैन। पतञ्जली जग्गा प्रकरणमा उनको नाम जोडिएको छ भने उनको प्राध्यापक पदसम्बन्धी मुद्दा पनि विचाराधीन छ।

डा. श्यामबाबु यादव
हाल आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक तथा नेपाल आयुर्वेद चिकित्सक संघ (अडान) का अध्यक्ष डा. यादव पनि अध्यक्ष पदमा इच्छुक छन्। मन्त्रीसँग निकटता राख्ने यादव स्वास्थ्य नीतिमा सक्रिय भूमिका खेलेका छन्।

रजिस्टार पदका आकांक्षीहरू
डा. शंकर गौतम
गगन थापाका पूर्व सचिवालय सदस्य डा. गौतम हाल गण्डकी प्रदेशको आयुर्वेद अस्पतालमा कार्यरत छन्। उनलाई रजिस्टार बनाउन गगन थापाले विशेष पहल गरिरहेको बताइएको छ। केन्द्रमा सरुवा गरी ल्याउन समय लागिरहेको र व्यवस्थापनमा ढिलाइ भएको बताइन्छ।

डा. जया सत्याल
एमाले निकट डा. सत्याललाई सत्ता गठबन्धनको भागबण्डाअनुसार रजिस्टार बनाउने प्रयास भइरहेको छ। चिनियाँ राजदूतावासका प्रतिनिधिले समेत उनको पक्षमा सिफारिस गरेको चर्चा छ। उनी रजिस्टार नियुक्त भएमा ट्रेडिशनल चाइनिज मेडिसिन (TCM) प्रतिनिधित्व गर्ने पहिलो पदाधिकारी बन्नेछिन्।

डा. हरिशरण अर्याल
३५ वर्ष उमेर हद हुँदाहुँदै ३३ वर्षमै परिषद् सदस्य बनेका अर्याल विवादित नियुक्तिका रूपमा चिनिन्छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनपछि उनले हालै एमाले निकट स्वास्थ्यकर्मी महासंघको सचिव पद त्यागेका छन्। अध्यक्ष कांग्रेस निकटका भए रजिस्टार अर्यालले पाउने सम्भावना बलियो देखिन्छ।

अन्य आकांक्षीहरू
अध्यक्ष पदमा डा. रामदेव यादव र डा. मुनिकर्ण थापाले पनि चासो देखाएका छन्। रजिस्टार पदमा डा. रमेश पौडेल र डा. चन्द्रकिशोर यादव आकांक्षी छन्।

भविष्य संकटमा
त्रिभुवन विश्वविद्यालयले उपप्राध्यापक पदहरू खुलाएको भए पनि परिषद्को कार्यसमिति नहुनुले एमडी दर्ता प्रक्रिया ठप्प छ। भारत सरकारको छात्रवृत्तिमा एमडी अध्ययनका लागि आवेदन दिने अन्तिम म्याद सकिइसकेको छ तर सिफारिस नहुनाले योग्य विद्यार्थीहरू अवसरबाट वञ्चित भएका छन्।

६८ जना बीएएमएस उत्तीर्ण चिकित्सक र ११ जना एमडी चिकित्सक परिषद्मा दर्ता हुन नसक्दा रोजगारी र कानुनी मान्यताको संकटमा परेका छन्। परिषद्मा तालाबन्दी गर्दै चिकित्सकहरूले तत्काल कार्यसमिति गठनको माग गरेका छन्।

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

0

म्याग्दी: मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ सुविधा विस्तार भएपछि स्थानीय बासिन्दा अत्यन्त खुसी भएका छन्। रु ६५ लाख ५७ हजार २७७ को लागतमा सम्पन्न पात्ले खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना अन्तर्गत १२२ घरधुरीमा बसोबास गर्ने ५८९ जनसंख्या लाभान्वित भएका छन्।

उपभोक्ता संस्थाका सचिव धनबहादुर रोकाका अनुसार, अब सबै घरमा व्यक्तिगत धारा जडानमार्फत नियमित रुपमा खानेपानी आपूर्ति भइरहेको छ। आयोजनाका लागि नेपाल पानीका लागि स्वास्थ्य (नेवा) संस्थाले रु ३३ लाख ३७ हजार ३२५, मालिका गाउँपालिकाले रु १४ लाख ७२ हजार ५३ अनुदान प्रदान गरेका थिए भने उपभोक्ताबाट रु १७ लाख ८९९ बराबरको श्रमदान गरिएको थियो।

सामुदायिक विद्यालयमा पनि धारा जडान गरिएको छ। नेवाका प्राविधिक रुपक थापाका अनुसार, चारवटा मुहानको पानीलाई १२,५२७ मिटर लामो मुख्य र शाखा पाइपलाइनमार्फत नौवटा ट्याङ्की बनाएर वितरण गरिएको हो।

विगतमा सार्वजनिक धाराको भरमा पानी उपभोग गर्दै आएका पात्ले बासिन्दालाई २० वर्षअघि निर्माण भएको जीर्ण संरचनाले थप समस्या पारिरहेको थियो। अब घरमै धारा पुगेपछि समयको बचत, झन्झटबाट मुक्ति, र सरसफाइमा सहजता अनुभव गरिएको स्थानीय बलबहादुर रोकाले बताए। धाराको नजिकै भाडा सुकाउने पक्की चाङ पनि निर्माण गरिएको छ, साथै पानीको मितव्ययी प्रयोग र दिगोपनाका लागि धारामा मिटर पनि जडान गरिएको छ।

मालिका गाउँपालिका र नेवा संस्थाको साझेदारीमा आर्थिक वर्ष २०८१/८२ मा मालिका–३ का पात्ले, लुम्पीपार र डाँडागाउँमा तीनवटा खानेपानी योजना निर्माण गरिएका छन्। ती योजनाबाट करिब ४०० घरपरिवार लाभान्वित भएका छन्। वडाध्यक्ष मोतिप्रसाद बुढाका अनुसार डाँडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ, पात्ले र लुम्पीपार टोलमा खानेपानी सेवा विस्तार भइसकेको छ।

आजको मौसम पूर्वानुमान : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने

0

काठमाडौँ: हाल देशका पश्चिम र मध्य क्षेत्रहरूमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी प्रणालीको असर देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार, आज दिउँसो कोशी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहने अपेक्षा गरिएको छ। ती क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुन सक्नेछ।

आज राति पनि कोशी, लुम्बिनी र गण्डकी प्रदेशसहित पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ, जबकि अन्य भागमा मौसम सफादेखि आंशिक बदली रहनेछ। कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा पनि हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

“लाओसविरुद्धको खेल सामान्य होइन, पूर्ण गम्भीरताका साथ मैदानमा उत्रन्छौंः प्रशिक्षक रस”

0

काठमाडौं: एएफसी च्याम्पियनसिप छनोटको तेस्रो चरणअन्तर्गत लाओसविरुद्धको खेललाई नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले अत्यन्त गम्भीर रुपमा लिएको बताएका छन्। लाओसको घरेलु मैदानमा हुने खेलको पूर्वसन्ध्यामा आयोजित प्रेस कन्फ्रेन्समा बोल्दै प्रशिक्षक रसले घरेलु टोलीले घरेलु मैदानको फाइदा लिन सक्ने भएकाले नेपाल उच्च सतर्कताका साथ मैदानमा उत्रने बताए।

“लाओस एक संगठित र आक्रामक टोली हो। उनीहरूको घरेलु प्रदर्शन निकै प्रभावशाली हुन सक्छ। सानो कमजोरीले पनि खेलको नतिजा उल्टिन सक्छ,” प्रशिक्षक रसले भने, “त्यसैले हामी खेललाई पूर्ण गम्भीरताका साथ लिइरहेका छौं। दुवै टोली अंक थप्न चाहन्छन् र तयार अवस्थामा छन्।”

प्रशिक्षक रसले टोलीमा केही परिवर्तन हुने संकेत पनि गरे। हङकङविरुद्धको अघिल्लो खेलमा उत्रिएको टोलीलाई यसपटक पूर्णरूपमा दोहोर्‍याइनेमा शंका रहेको भन्दै उनले सम्भवत: केही नयाँ अनुहारहरूलाई मैदानमा उतारिने बताए।

त्यसैबीच, डिफेन्डर सन्देश श्रेष्ठ चोटका कारण टोलीमा अनिश्चित छन्। कप्तान किरण चेम्जोङले भने टोली लाओसविरुद्ध प्रतिस्पर्धाका लागि मानसिक र शारीरिक रूपमा तयार रहेको बताए। “हामी सधैं लाओसविरुद्ध उत्साहित छौं। पछिल्ला चार खेलमा म आफैं सहभागी थिएँ, त्यसैले हामी तयारीको चरम अवस्थामा छौं,” कप्तान किरणले भने।

लाओसविरुद्धको खेल बुधबार हुनेछ। यो खेल समूह एफ अन्तर्गतको पहिलो चरणको अवे प्रतिस्पर्धा हो। यसअघिका ६ खेलमध्ये नेपालले ४ मा जित र २ मा बराबरी खेलेको छ। लाओसको घरेलु मैदानमा नेपालले १ जित र १ बराबरीको नतिजा निकालेको छ। तेस्रो चरणअन्तर्गत नेपाल मलेसियासँग २–० ले पराजित भएको थियो भने लाओस भियतनामसँग ५–० ले पराजित भएको थियो।

क्याड्डी गल्फ प्रतियोगिताको उपाधि अनिल र पार्वतीलाई

0

काठमाडौं: अनिल तामाङले आरएनजिसी वार्षिक क्याडी गल्फ प्रतियोगिता २०२५ को उपाधि जितेका छन्। रोयल नेपाल गल्फ क्लबमा आयोजित प्रतियोगितामा उनले कुल ११३ स्कोर गर्दै उपाधि हात पार्न सफल भए। उनले रोहित आचार्यलाई ३ स्ट्रोकको अन्तरले पछि पार्दै उपाधिसँगै नगद रु २१,००० प्राप्त गरे।

रोहित आचार्यले ११६ स्कोरसहित दोस्रो स्थान हासिल गर्दै रु १६,००० जिते। वीर बहादुर तामाङ ११९ स्कोरसहित तेस्रो भए भने कृष्ण नेपाल र दिपेश श्रेष्ठ क्रमशः चौथो र पाँचौं स्थानमा रहे।

महिला वर्गतर्फ पार्वती सुबेदिले ९३ स्कोरसहित उपाधि जित्दै रु १०,५०० प्राप्त गरिन्। गीता तामाङ ९९ स्कोरसहित दोस्रो र सुभानी भट्ट १०८ स्कोरसहित तेस्रो स्थानमा रहिन्। यस्तै, छैटौं होलमा ‘होल-इन-वन’ को सफलता प्राप्त गरेकी संगीता बलम्पिकालाई रु ५,००० पुरस्कार प्रदान गरियो।

अन्य उपाधितर्फ, विदुर तामाङले दुई बर्डीसहित “मोस्ट बर्डिज” को उपाधि जिते, कृष्ण सिंहले “लङ्गेस्ट ड्राइभ” र विजय तामाङले “क्लोजेस्ट टु द पिन” उपाधि जिते।

दुई दिनसम्म चलेको प्रतियोगिता स्ट्रोक प्ले फर्म्याटअन्तर्गत स्क्र्याच ह्यान्डिक्यापमा खेलाइएको थियो। प्रारम्भिक १८ होलपछि कट लागू गरी उत्कृष्ट १७ क्याडीले अन्तिम ९ होल खेल्ने अवसर पाएका थिए। प्रतियोगितामा कुल रु १,४३,५०० नगद पुरस्कार वितरण गरिएको थियो।

विजेताहरूलाई आरएनजिसी अध्यक्ष मधुकर याकतुम्बा, क्लब क्याप्टेन मिथुन राई, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, महासचिव दीपक आचार्य, पूर्व पीजीए नेपाल अध्यक्ष घनश्याम थापा तथा महिला गल्फर गीता गुरुङले पुरस्कार वितरण गरेका थिए।

बैतडीको पुर्चाैंडीलाई पूर्णखोप सुनिश्चिता पालिका घोषणा

0

दशरथचन्द (बैतडी): बैतडीको पुर्चौंडी नगरपालिकालाई “पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका” घोषणा गरिएको छ। नगरस्तरीय खोप समन्वय समितिले सोमबार आयोजित कार्यक्रममा ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चित हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित घोषणा गरेको हो।

स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कँुवरका अनुसार, पाँच वर्षमुनिका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअनुसारका सबै खोप लगाइसकेपछि पालिकालाई यो मान्यता दिइएको हो। यसअघि नगरपालिकाका सबै १० वडालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना वडा घोषणा गरिसकिएको थियो। हाल पालिकामा बालबालिकालाई १३ प्रकारका रोगविरुद्ध खोप दिइँदै आएको छ।

उक्त उपलब्धिमा योगदान पु¥याउने १० जना खोप कार्यकर्ता र १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई नगरपालिकाले सम्मान गरेको छ। कँुवरका अनुसार, पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणामा उनीहरूको सक्रिय भूमिकाको उच्च मूल्यांकन गरिएको हो।

नगरपालिकाले प्रत्येक वर्ष घरधुरी सर्वेक्षणमार्फत राष्ट्रिय खोप तालिकाअनुसार पाँच वर्षमुनिका बालबालिकाले खोप पाए वा नपाएको यकीन गर्दै आएको छ। छुटेका बालबालिकालाई खोपको दायरामा ल्याइसकेपछि मात्र पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिन्छ।

भूकम्प र बाढीपहिरोले थिलथिलियो बिपी राजमार्ग

0

काभ्रेपलाञ्चोक। काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो र वैकल्पिक मार्ग बिपी राजमार्गका धेरै सडकखण्ड अहिले जीर्ण अवस्थामा छन्। भूकम्प र बाढीका कारण पटक–पटक क्षति व्यहोर्दै आएको यस राजमार्गमा हाल वर्षायाम सुरु भइसकेकाले पुनः ठूलो क्षति हुने अनुमान गरिएको छ।

गत असोजमा काभ्रेको रोशी खोलामा आएको बाढीले भकुन्डेबेंसीदेखि सिन्धुलीको नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा गम्भीर क्षति पुर्‍याएको थियो। कालढुंगा, डालाबेंसी, चिउरीबास, नेपालथोकलगायत क्षेत्रमा सयौं मिटर सडक बगाएका छन्। अस्थायी मर्मत गरिएको भए पनि वैशाख अन्तिम साता आएको बाढीले फेरि डाइभर्सन र ट्रयाक बगाएको छ।

बिपी राजमार्गको स्थायी पुनर्निर्माणका लागि सरकारले साढे ८ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरेको छ। सडक विभागको प्रतिवेदनअनुसार करिब ३० किलोमिटर सडक पुनर्निर्माणमा १० अर्ब लाग्नेछ। त्यसमध्ये ८ किलोमिटर सडक पूर्ण रूपमा कटान भएको छ, जसका लागि नयाँ ट्रयाक आवश्यक पर्ने देखिएको छ।

डिभिजन सडक कार्यालय भक्तपुरले काभ्रे र सिन्धुली खण्ड गरी चारवटा प्याकेजमा पुनर्निर्माण योजना अघि बढाएको छ। तीन खण्ड नेपाल सरकारको लागतमा र एक खण्ड जापान सरकार (जाइका)को सम्भावित सहयोगमा निर्माण गरिनेछ। काभ्रे खण्डमा भकुन्डेबेंसी–चार सय बेँसी (११ किमी), डालाबेंसी–चार सय बेँसी (८.५ किमी) र सिन्धुली खण्डमा बर्खेखोला–नेपालथोक (४ किमी) सडक पुनर्निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ।

जाइकाले बर्खेखोला–डालाबेंसी (५.५ किमी) खण्डको डिजाइन थालिसकेको छ, जसमा सुरुङमार्ग वा अग्ला पुल (भायाडक्ट) जस्ता संरचना समावेश हुनसक्ने जनाइएको छ।

यस राजमार्गको दैनिक सवारी चाप ३,००० भन्दा बढी रहेको छ, जसमा ६०० भन्दा बढी ट्रिपर क्षमताभन्दा बढी भार लिएर चल्ने गरेका छन्। जाइकाको प्राविधिक सिफारिस अनुसार १६ टनभन्दा माथिको सवारी सञ्चालन रोकिएको भए पनि व्यावसायिक प्रभावका कारण २५ टनसम्मका ट्रिपर सञ्चालन भइरहेका छन्, जसले राजमार्गको संरचना थप कमजोर बनाएको छ।

अहिले मनसुनको समयमा सवारी अवरुद्ध नहोस् भनेर डिभिजन कार्यालयले खोलाका बहाव मोडेर र निर्माण सामग्री प्रयोग गरी अस्थायी सडकलाई तीनदेखि सात मिटर उचाइमा बनाइरहेको छ।

बिपी राजमार्ग जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा धुलिखेल–सिन्धुली–बर्दिवास खण्डमा निर्माण भई २०७२ असार १८ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो। आजसम्म यो मार्ग काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो, व्यस्त र महत्वपूर्ण वैकल्पिक मार्गका रूपमा चिनिन्छ।

राजकुमार पराजुली/रासस

प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न मन्त्रालयको परिपत्र

0

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरूमा प्रत्यारोपणका लागि आवश्यक वस्तुहरू अनिवार्य रूपमा फार्मेसीमै उपलब्ध गराउने व्यवस्था गर्न परिपत्र जारी गरेको छ।

मुटु, हड्डी तथा अन्य स्वास्थ्य समस्यामा प्रयोग हुने उपकरण र सामग्रीहरू सरकारी अस्पताल-प्रतिष्ठानहरूकै फार्मेसीमार्फत उपलब्ध गराउने निर्णय मन्त्रालयले सचिवस्तरीय तहबाट गरेको हो। हालसम्म यस्ता सामग्री सरकारी फार्मेसीमा उपलब्ध नहुनुका साथै मूल्य विवरण पनि सार्वजनिक नहुँदा बिरामीहरूलाई निजी क्षेत्रबाट महँगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यता थियो। मन्त्रालयमा यस्ता गुनासोहरू लगातार आइरहेका थिए।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सबै अस्पतालहरूमा बिरामी तथा सेवाग्राहीले देख्न सक्ने गरी मूल्य स्पष्ट रूपमा सार्वजनिक गर्न निर्देशन दिइएको जानकारी दिए। साथै, अस्पतालको फार्मेसीमै आवश्यक सामग्री उपलब्ध हुने व्यवस्था मिलाउन परिपत्र गरिएको उनले बताए।

यस्तै, सामग्री बिक्रेताहरूले मनोमानी मूल्य असुल्न नपाउने गरी नियन्त्रण गर्न मन्त्रालयले थप निर्देशनसमेत दिएको छ। कुनै पनि नयाँ खालको प्रत्यारोपण, शल्यक्रिया वा उपचारका लागि आवश्यक सामग्री खरिद गर्नुपरेमा सम्बन्धित कम्पनी वा आधिकारिक बिक्रेताको नाम र मूल्य सार्वजनिक गरेर मात्र उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

मन्त्रालयले अस्पतालहरूलाई बिरामीहरूबाट गुनासो आउने अवस्था नआओस् भन्ने उद्देश्यले सचेत गराउँदै आवश्यक व्यवस्थापन गर्न पत्राचार गरिसकेको छ।

ट्रम्पको यात्रा प्रतिबन्ध लागू, १२ देशका नागरिक अमेरिका प्रवेश गर्न नपाउने

0

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएको यात्रा प्रतिबन्ध सोमबारदेखि औपचारिक रूपमा लागू भएको छ।

गत हप्ता राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेको आदेशअनुसार १२ देशका नागरिकहरूलाई अमेरिकामा पूर्ण रूपमा प्रवेश निषेध गरिएको छ। ती देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन्।

यस्तै, थप सात देशका नागरिकहरूलाई आंशिक रूपमा अमेरिका प्रवेशमा रोक लगाइएको छ। ती देशहरूमा बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला पर्छन्।

ट्रम्प प्रशासनले यस निर्णयलाई अमेरिका राष्ट्रिय सुरक्षाका लागि आवश्यक कदमका रूपमा व्याख्या गरेको छ, भने विभिन्न मानवअधिकार संस्था र प्रभावित देशहरूले यसलाई विभेदकारी र अन्यायपूर्ण भनेका छन्।

प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

0

काठमाडौं: प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १:०० बजेसम्मका लागि स्थगित गरिएको छ। संसद बैठक आज केही समयको लागि सञ्चालन भए पनि विपक्षी दलहरूको अवरोधका कारण स्थगन गरिएको हो।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी दिएलगत्तै माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका विपक्षी दलका सांसदहरूले होहल्ला गर्दै अवरोध गरे। सभामुख घिमिरेले दलका तर्फबाट बोल्न अनुमति दिने बताएका थिए, तर विपक्षी सांसदहरूको निरन्तर अवरोधका कारण बैठकलाई सुरु भएको केहीबेरमै आधा घन्टाका लागि स्थगित गरिएको थियो।

स्थगनको बीचमा सहमति कायम गर्न प्रयास भए पनि निष्कर्षमा पुग्न नसकेपछि बैठक बुधबार १:०० बजेसम्मका लागि पुनः स्थगित गरिएको हो।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै प्रतिनिधिसभा अवरुद्ध गर्दै आएका छन्। संसद बैठक गत जेठ १३ गतेदेखि निरन्तर अवरोधमा पर्दै आएको छ।