Wednesday, May 6, 2026
Home Blog Page 36

“कालिन्चोक हाइड्रोपावरको आईपीओ खुला: सर्वसाधारणका लागि ६.८४ लाख कित्ता शेयर”

0

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर बाँडफाँड गरिसकेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल १३ लाख ७५ हजार कित्ता शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। सोमध्ये केही हिस्सा प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइसकिएको छ।

अब ४१ हजार २५० कित्ता सामूहिक लगानी कोष र १६ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ६ लाख ८४ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको कम्पनीले जनाएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति चैत २५ गतेसम्म तोकिएको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

लगानीकर्ताले सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ प्रणाली तथा सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।

३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको गृहमन्त्री गुरुङको टिप्पणी

0

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विगत ३६ वर्षसम्म सुरक्षाकर्मी नै ‘हत्कडीमा बाँधिएको’ अवस्थाजस्तै रहेको टिप्पणी गरेका छन्। उनले काठमाडौंका विभिन्न स्थानमा गुण्डागर्दीमा संलग्न युवाहरूलाई नियन्त्रणमा लिएपछि यस्तो अभिव्यक्ति दिएका हुन्।

आज सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई नै लगाइदिएको रहेछ।”

गुरुङ गृहमन्त्री बनेपछि भने कानून कार्यान्वयनमा कडाइ आएको देखिएको छ। भ्रष्टाचार काण्डमा मुछिएका व्यापारीदेखि नेतासम्मलाई पक्राउ गर्ने क्रम बढ्दै गएको छ, जसले सुरक्षा निकायको सक्रियता र हस्तक्षेप प्रभावकारी बनेको संकेत गर्दछ।

ट्रम्पले अमेरिकी विमान खसालिएको घटनाले इरानसँगको वार्तामा असर नपर्ने दाबी

0

काठमाडौं। एनबीसी न्यूजका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी लडाकु विमान एफ–१५ खसालिएको घटनाले इरानसँगको वार्तामा कुनै प्रभाव नपर्ने बताएका छन्।

स्रोतका अनुसार, छोटो फोन अन्तरवार्तामा ट्रम्पलाई सोधिएको थियो कि आजका घटनाले वार्तामा असर पार्छ कि भन्ने। उनले जवाफमा भने, “होइन, बिल्कुलै होइन। होइन, यो युद्ध हो। हामी युद्धमा छौं।”

इरानले शुक्रबार अमेरिकी एफ–१५ लडाकु विमान खसालिएको दाबी गरेको छ। उद्धार स्रोतले विमानका एक पाइलट उद्धार गरिएको र दोस्रो पाइलटको खोजी जारी रहेको पुष्टि गरेका छन्।

ह्वाइट हाउसले कांग्रेसलाई १.५ ट्रिलियन डलर रक्षा बजेट अनुमोदनका लागि आग्रह

0

काठमाडौं। ह्वाइट हाउसले अमेरिकी कांग्रेसलाई आर्थिक वर्ष २०२७ का लागि १.५ ट्रिलियन डलरको रक्षा बजेट अनुमोदन गर्न आग्रह गरेको छ। यो बजेट अनुमोदन भएमा अमेरिकी रक्षा खर्चमा ४२ प्रतिशत वृद्धि हुनेछ र आधुनिक अमेरिकी इतिहासको सबैभन्दा ठूलो रक्षा बजेट बन्नेछ।

यस बजेटमा ‘गोल्डेन डोम’ मिसाइल रक्षा प्रणालीका लागि कोष, दर्जनौं सैन्य जहाज र भारी हतियारयुक्त “ट्रम्प-क्लास” युद्धपोतहरूको नयाँ श्रृंखला समावेश छ। ह्वाइट हाउसले यस बजेटको लक्ष्य अमेरिकालाई अर्को पुस्ताको हवाई खतराबाट जोगाउनु रहेको बताएको छ।

विशेष रूपमा, ट्रम्पको यो रक्षा बजेट इरानसँगको वर्तमान द्वन्द्वसँग सम्बन्धित नभई घरेलु उत्पादन र ठूला परियोजनामा केन्द्रित रहेको छ। पेन्टागनले इरानमा चलिरहेको ‘एपिक फ्युरी’ अपरेशनको लागि भने अलग २०० अर्ब डलरको बजेट प्रस्ताव गरेको थियो।

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु, ‘जरा अभियान’ देशभर सञ्चालन

0

काठमाडौं। नेपाली कांग्रेसले आजदेखि १५औँ महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा अगाडि बढाएको छ। केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार शनिबारदेखि महाधिवेशन केन्द्रित गतिविधि सुरु गरिएको हो।

महाधिवेशनको तयारीलाई केन्द्रमा राख्दै ‘जरा अभियान’ सञ्चालन गरिएको पार्टीका महामन्त्री प्रदीप पौडेलले जानकारी दिए। उनका अनुसार अभियानमार्फत संगठन सुदृढीकरण, नागरिकसँग संवाद तथा सामाजिक गतिविधिसँग पार्टीलाई जोड्ने उद्देश्य राखिएको छ।

पार्टीको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले देशभर ७७ वटै जिल्लामा प्रतिनिधि खटाएर विभिन्न विषयमा अन्तरक्रिया तथा संवाद गरिएको बताए। ती प्रतिनिधिहरूलाई जिल्लामा गएर गर्ने कामबारे स्पष्ट जिम्मेवारीसमेत तोकिएको उनले बताए।

उनका अनुसार बैशाख महिनाभर प्रतिनिधिहरू सम्बन्धित जिल्लामा बसेर सदस्यता वितरण अभियानलाई व्यवस्थित गर्ने, पुराना सदस्यता अद्यावधिक गर्ने र नयाँ सदस्यता वितरणलाई विधानअनुसार कार्यान्वयन गर्नेछन्।

यसका साथै अन्य संगठनात्मक जिम्मेवारीहरू पनि तोकिएकै अनुसार सम्पन्न गर्न निर्देशन दिइएको उनले जानकारी दिए।

केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका पारित गरिसकेको छ। सोही कार्यतालिकाअनुसार २१ चैतदेखि सदस्यता फारम वडा तहसम्म पठाउने र देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि परिचालन गर्ने योजना बनाइएको छ।

सामुदायिक वनको रकम हिनामिना प्रकरणमा रास्वपाका नेता सहित ५ जनाविरुद्ध मुद्दा

0
modified pic by Gemini

काठमाडौँ। सामुदायिक वन उपभोक्ता समितिको रकम हिनामिना गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कर्णाली प्रदेश सहमहामन्त्री हरिप्रसाद अधिकारीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

अख्तियारले जारी गरेको विज्ञप्तिअनुसार पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित मालिका सामुदायिक वन उपभोक्ता समितिमा १२ लाखभन्दा बढी रकम हिनामिना भएको अभियोग छ।

अभियोग लाग्नेमा समितिका अध्यक्ष अमरबहादुर दानी, कोषाध्यक्ष सावित्रा अधिकारी, सचिव तेजेन्द्रबहादुर वयक क्षेत्री र सदस्य हरिप्रसाद अधिकारी रहेका छन्। उनीहरूले आपसी मिलेमतोमा आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्म गैरकानुनी रूपमा रकम दुरुपयोग गरेको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार उनीहरूले समितिको निर्णय तथा बिल–भरपाईबिनै खर्च देखाउने, कार्ययोजनाविनै सडक निर्माणमा रकम भुक्तानी गर्ने, नक्कली कागजातका आधारमा भुक्तानी दिने, लेखापरीक्षण नगरी शुल्क भुक्तानी गर्ने लगायतका अनियमितता गरेका छन्।

त्यस्तै, काठ बिक्रीबाट आएको रकम समितिको खातामा जम्मा नगरेको, नर्सरी व्यवस्थापन, वन मुद्दा, अधिवक्ता शुल्क र साक्षी खर्चका नाममा प्रमाणविनै ठूलो रकम हिनामिना गरिएको पनि उल्लेख गरिएको छ।

समितिका अध्यक्षले व्यक्तिगत प्रयोजन—बसाइँ सर्दा र जरिवाना तिर्न—समेत समितिको रकम प्रयोग गरेको आरोप छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पाँचै जनाले मिलेमतोमा १२ लाख १८ हजार ५१२ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै उनीहरूविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको हो।

अनुसन्धानबाट विभिन्न शीर्षकमा बिना बिल–भरपाई ५ लाखभन्दा बढी खर्च देखाइएको, अधिवक्ता शुल्कका नाममा ३ लाख रुपैयाँ दुरुपयोग गरिएको, तथा मुद्दा र साक्षी खर्चका नाममा २ लाख ८५ हजार रुपैयाँ खर्च गरिएको देखिएको छ।

यसका साथै व्यक्तिगत प्रयोजनका लागि नगद प्रयोग, खरिद भुक्तानीमा आवश्यक प्रमाण नजोडिएको लगायतका अनियमितता पनि फेला परेको अख्तियारले जनाएको छ।

सरकारको भ्रष्टाचारविरुद्ध कदमप्रति दुर्गा प्रसाईको समर्थन, केही विषयमा असहमति

0

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईले वर्तमान सरकारले भ्रष्टाचार, तस्करी र बिचौलियाविरुद्ध चालेका कदमहरूको प्रशंसा गर्दै आफूलाई ‘आफैँ प्रधानमन्त्री भएको जस्तो’ अनुभूति भएको बताएका छन्।

शनिबार दिउँसो सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै प्रसाईले विगत चार वर्षदेखि आफूले उठाउँदै आएका विषयहरूमा सरकारले कारबाही अघि बढाएकोमा खुसी व्यक्त गरेका हुन्।

भिडियो सन्देशमा उनले देशका तस्कर र भ्रष्टाचारीहरूविरुद्ध निरन्तर आवाज उठाएको दाबी गर्दै विभिन्न स्थानमा सार्वजनिक रूपमा उनीहरूको विवरण सार्वजनिक गरेको बताएका छन्। त्यस क्रममा आफूलाई तत्कालीन सरकारले पटक–पटक पक्राउ गरेको पनि उनले उल्लेख गरेका छन्।

प्रसाईले देशका केही ठूला व्यापारी र बिचौलिया समूहहरूले बैंक, वित्तीय संस्था, सहकारी, लघुवित्त तथा रेमिटेन्स क्षेत्रमा प्रभाव जमाएको आरोपसमेत लगाएका छन्।

हालै गृहमन्त्री र काठमाडौं महानगरको नेतृत्वले अघि बढाएको अभियानप्रति उत्साह व्यक्त गर्दै उनले सरकारले उठाएका कदमहरू सकारात्मक रहेको बताएका छन्। साथै, यस्तो अभियानमा सबै नेपालीले साथ दिनुपर्नेमा उनले जोड दिएका छन्।

यद्यपि, सरकारका सबै नीतिमा आफ्नो समर्थन नरहेको स्पष्ट पार्दै उनले केही अन्तर्राष्ट्रिय र नीतिगत विषयहरूमा असहमति रहेको बताएका छन्।

भिडियोको अन्त्यमा उनले विगतमा सार्वजनिक गरेका केही व्यवसायी र समूहहरूको नामसमेत उल्लेख गरेका छन्।

यूएईमा ड्रोनको अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ जना नेपाली डिस्चार्ज

0

काठमाडौं, २१ चैत। संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका भग्नावशेष खस्दा घाइते भएका नेपालीमध्ये ६ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

आबुधाबीस्थित नेपाली दूतावासका अनुसार घाइते सात जनामध्ये ६ जना उपचारपछि घर फर्किएका छन् भने एक जना अझै अस्पतालमा उपचाररत छन्। उनको अवस्था पनि खतरामुक्त रहेको दूतावासले जनाएको छ।

दूतावासका कर्मचारीहरूले घाइते सबै नेपालीसँग सम्पर्कमा रही उनीहरूको अवस्थाबारे निरन्तर जानकारी लिइरहेका छन्।

यूएईका सरकारी सञ्चारमाध्यममार्फत सात जना नेपाली घाइते भएको समाचार आएपछि दूतावासले सक्रियता देखाउँदै उनीहरूको अवस्थाबारे जानकारी संकलन गरेको हो।

गत शुक्रबार इरानले प्रहार गरेको ड्रोनलाई यूएईको वायु रक्षा प्रणालीले अवरोध गरेपछि त्यसका भग्नावशेष अबुधाबीको अजबान क्षेत्रमा खसेका थिए।

उक्त घटनामा ७ जना नेपालीसहित १२ जना घाइते भएका थिए। घाइतेमध्ये ७ जना नेपाली र ५ जना भारतीय नागरिक रहेका थिए।

ट्रम्पको १५ खर्ब डलर रक्षा बजेट प्रस्ताव, युद्ध खर्च र कटौती योजनामा बहस तीव्र

0

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी आर्थिक वर्षका लागि १५ खर्ब डलरको विशाल रक्षा बजेट प्रस्ताव गरेका छन्। यो प्रस्ताव पारित भएमा अमेरिकी इतिहासकै सबैभन्दा ठूलो रक्षा बजेट बन्ने बताइएको छ।

ट्रम्प प्रशासनले रक्षा क्षेत्रमा ठूलो वृद्धि गर्दै गैररक्षा शीर्षकहरूमा व्यापक कटौती गर्ने योजना अघि सारेको छ। स्वास्थ्य अनुसन्धान, विद्यालयदेखि उच्च शिक्षा, नवीकरणीय ऊर्जा, जलवायु कार्यक्रम, न्यून आय वर्गका लागि ऊर्जा सहयोग र सामुदायिक विकासलगायत क्षेत्रमा करिब ७३ अर्ब डलर कटौती प्रस्ताव गरिएको छ।

सन् २०२७ सम्म रक्षा खर्च ४४ प्रतिशतले बढाउने लक्ष्यसहित थप ३५० अर्ब डलर हतियार खरिद तथा रक्षा उद्योग विस्तारका लागि छुट्याउने प्रस्ताव गरिएको छ। यसमा ‘गोल्डेन डोम’ क्षेप्यास्त्र रक्षा प्रणाली, सैनिकको तलबमा ७ प्रतिशत वृद्धि, जहाज निर्माण र सैन्य क्षेत्रमा कृत्रिम बुद्धिमत्ता विकाससम्बन्धी कार्यक्रम समावेश छन्।

यसैबीच न्याय विभागको बजेटमा १३ प्रतिशत वृद्धि प्रस्ताव गरिएको छ, जसले आप्रवासन, गिरोह र लागुऔषध नियन्त्रणमा सहयोग पुग्ने दाबी गरिएको छ। त्यस्तै वातावरण, विदेश, श्रम र कृषि क्षेत्रका बजेटमा उल्लेख्य कटौती गर्ने योजना अघि सारिएको छ।

ट्रम्पको प्रस्ताव अमेरिकी संसदका दुवै सदनबाट पारित हुनुपर्नेछ। तल्लो सदनमा झिनो बहुमत भए पनि माथिल्लो सदनमा चुनौती देखिएको छ। डेमोक्र्याटहरूले युद्ध खर्च र आर्थिक असरलाई लिएर कडा विरोध गरिरहेका छन्।

इरानसँग जारी युद्धका कारण अमेरिकी खर्च तीव्र रूपमा बढिरहेको छ। युद्ध सुरु भएको केही दिनमै अर्बौं डलर खर्च भएको विवरण सार्वजनिक भएको थियो भने पछिल्लो अनुमानअनुसार प्रत्यक्ष खर्च ३५ अर्ब डलर नाघिसकेको छ। दैनिक करिब १.४ अर्ब डलर खर्च भइरहेको आकलन गरिएको छ।

युद्ध खर्च बढ्दै जाँदा ट्रम्पले अरब देशहरूबाट खर्च उठाउने संकेत पनि दिएका छन्। तर, इरानले भने उल्टै अमेरिकाबाट क्षतिपूर्ति माग गरिरहेको छ।

हाल इरान र इजरायलबीच आक्रमण–प्रत्याक्रमण जारी रहँदा अमेरिकी सैन्य संलग्नता र खर्च दुवै बढ्दै गइरहेको छ, जसले विश्व राजनीति र अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्ने चिन्ता बढाएको छ।

बलात्कार आरोपमा हास्य कलाकार सागर लम्साल पक्राउ

0

काठमाडौं। हास्य कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्। उनलाई बुढानिलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार अमेरिकामा बस्ने एक युवतीले लम्सालमाथि जबर्जस्ती करणी गरेको आरोप लगाएपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो।

उक्त युवतीले एक वर्षअघि अमेरिकामा आफ्नो इच्छाविपरीत लम्सालले जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन्। घटनापछि आफू मानसिक रूपमा गम्भीर असरमा परेको उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेकी छन्।

युवतीका अनुसार पारिवारिक चिनजानका आधारमा विश्वास गरेर भेट्दा लम्सालले ‘अपार्टमेन्ट हेर्न जाऊँ’ भनेपछि उनलाई आफ्नै बस्ने कोठामा लगेका थिए। त्यहाँ आफूले भोगेका मानसिक समस्याबारे कुरा गरिरहँदा लम्सालले जबर्जस्ती करणी गरेको आरोप उनले लगाएकी छन्।

दुवै जनाबीच पारिवारिक सम्बन्ध रहेको र युवतीले उनलाई ‘दाइ’ भनेर सम्बोधन गर्ने गरेको पनि उल्लेख गरिएको छ। लम्साल अमेरिका गएका बेला उनीहरूबीच भेट भएको बताइएको छ।

युवतीले आफू पहिलेबाटै चिन्ता र अवसादजस्ता मानसिक समस्यासँग जुधिरहेको र आफ्ना बुबाको सल्लाहमा लम्साललाई भेटेको बताएकी छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।