Thursday, June 11, 2026
Home Blog Page 1311

आजदेखि बालाजु क्षेत्रमा मेलम्चीको पानी वितरण शुरु

0

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण शुरु गरेको छ । बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा आज बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको छ ।

आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण हुने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो । अब उपत्यकामा रहेका पोखरीमध्ये बाँसबारीस्थित पोखरीमा मात्रै पानी पठाउन बाँकी छ । उहाँले भन्नुभयो, “केही समयभित्रै त्यहाँ पनि पठाउन सकिनेछ ।”

लिमिटेडले पानी वितरण गर्ने क्षेत्र बढाइरहेको छ । पहिलो चरणमा दैनिक चार करोड लिटर ल्याइएकामा अहिले दैनिक साढे आठ करोड लिटर आइरहेको शाक्यले बताउनुभयो । उहाँका अनुसार महाराजगञ्ज पोखरीमा बिहीबारदेखि नै पानी पठाउन थालिएको छ ।

यही चैत १५ गतेदेखि उपत्यकामा मेलम्चीको पानी वितरण शुरु गरिएको हो । पहिलो चरणमा पुरानो महाङ्काल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी वितरण शुरु गरिएको थियो । एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे आठ करोड लिटरसम्म पानी आउनेछ । अर्को प्रशोधन केन्द्रको परीक्षण गरेपछि थप साढे आठ करोड लिटर पनि ल्याउन सकिने उहाँले बताउनुभयो । दुवै प्रशोधन केन्द्रमा दैनिक साढे आठ÷साढे आठ करोड लिटर गरेर क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्न सकिनेछ ।

मेलम्ची खानेपानी आयोजनाले गत महिना पानी परीक्षणका लागि सुरुङमा पठाएको थियो । त्यसको दुई साता पछि पानी सुन्दरीजलसम्म आइपुगेको थियो । पछिल्लो समयमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी काम सम्पन्न गरेको हो । राष्ट्रिय गौरवको आयोजना निर्माण सम्पन्न भएर काठमाडौँ उपत्यकामा पानी वितरण थालिएसँगै उपत्यकावासीले दैनिक पानी पाउन थालेका छन् ।

सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशविरुद्ध सात उजुरी

0

प्रतिनिधिसभा संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित न्यायाधीशद्वय डा कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध सातवटा उजुरी परेको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय डा चुडाल र सुवेदीविरुद्ध सातवटा उजुरी परेको जानकारी दिनुभयो । उहाँका अनुसार सात उजुरीमध्ये दुई उजुरी गोप्य रहेका छन् ।

न्याय परिषद्ले सर्वोच्च अदालतका लागि न्यायाधीशद्वय डा चुडाल र सुवेदीको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले उहाँहरु विरुद्ध कुनै उजुरी भएमा १० दिनका लागि उजुरी आह्वान गर्न समय दिएको थियो । उक्त १० दिन आज पूरा भएको छ ।

बैठकले उहाँहरुको उजुरी यही चैत २२ गते खोल्ने र उजुरीकर्ताको सुनुवाइ गर्ने समय तय गरेको छ भने यही चैत २५ गते प्रस्तावित दुवै न्यायाधीशको सुनुवाइ गर्ने तय गरेको छ ।

न्याय परिषद्ले गरेको सिफारिसमा संसदीय सुनुवाइ समितिले सुनुवाइ गर्ने संवैधानिक व्यवस्था छ । सोहीअनुसार डा चुडाल र सुवेदीको सुनुवाइ प्रक्रिया अगाडि बढिरहेको छ ।

आइएमई लुटपाट गर्ने पक्राउ

0

काठमाडौँको खिचापोखरीस्थित एक आइएमई लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीयवासी प्रवेश राजभण्डारीले सञ्चालन गरेको ग्लोबल जिपाङ टुर्स एण्ड ट्राभल्स नामक आइएमईबाट रु छ लाख लुटपाट गरेको आरोपमा प्रहरीले दाङको तुलसीपुर घर भई हाल काठमाडौँको पुरानो बानेश्वर बस्ने १७ वर्षीय दिपुन श्रेष्ठ, रुकुम सानीभेरी घर भइ काठमाडौँ बस्ने तिलक रावत, कालीकोट घर भई ललितपुर बालकुमारी बस्ने २० वर्षीय नवीन केसी र सोही ठाउँका उमेश केसीलाई पक्राउ गरेको हो ।

प्रहरीमा बुधबार साँझ ५ बजे अपरिचित व्यक्तिले धारिलो हतियार देखाई कर्मचारी दीपक मल्ललाई बाँधी रु छ लाख बराबरको नगद लुटपाट गरी भागेको भन्ने जानकारी आएको र सोही सूचनाका आधारमा महानगरीय प्रहरी परिसर र बृत्त जनसेवाबाट टोली परिचालन गरी लुटपाटमा संलग्न व्यक्तिको खोजतलास गर्ने क्रममा गए राति १० बजे उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।

अभियुक्तबाट रु ५९ हजार नगद र उनीहरुकै सूचनाका आधारमा आज बिहान काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने मञ्जु पुटुवारलाई राख्न दिइएको अवस्थामा नगद रु ७५ हजारसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुले लुटेको रकममध्येबाट लत्ताकपडा, जुत्ता, झोला खरिद गरी रेष्टुरेन्टमा खर्च गरेको फेला परेको छ । अभियुक्तहरु लागुऔषध सेवनकर्ता रहेको र उनीहरुको साथमा लागुऔषध प्रयोगमा संलग्न अन्य तीन व्यक्तिसमेत पक्राउ परेका छन् ।

थप पक्राउ पर्नेमा रोल्पा लिवाङ घर भई धापासी बस्ने प्रशन्न हमाल ठकुरी, सोही ठाउँका सफल आचार्य र रुपन्देहीका मिलन ढकाल रहेका छन् । पक्राउ परेकालाई आवश्यक कानूनी कारवाही शुरु भएको र उनीहरुको साथबाट गाँजालगायत अन्य लागुऔषधसमेत बरामद गरिएको छ ।

मकवानपुरको थाहा नगरमा नवजात शिशुको शव फेला

0

मकवानपुर जिल्लाको थाहा नगरपालिका–६ मा बिहीबार बिहान एक नवजात शिशुको शव फेला परेको छ ।

थाहा नगरपालिका–६ सरस्वती बजारस्थित नासलथान खोलाको बगरको छेउमा शालनालसहित एक नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार टाउकोपट्टिको भागमा टोकेको अवस्थामा नवजात शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको थियो । शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अभिनास अधिकारी जानकारी दिनुभयो

बाबुराम भट्टराई भन्छन् – ‘जसपाले ओलीतन्त्रको घाँस खान्‍न ! चेतना भया !’

0

काठमाडौँ — जनता समाजावदी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरीलगायत बन्दीको रिहाईलाई केपी ओली नेतृत्वको सरकारमा जाने कुरासँग जोडेर नहेर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले जसपाले ‘ओलीतन्त्रको घाँस नखाने’ दाबी गरेका छन्‘रेशम चौधरी लगायतका राजबन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासँग नजोडियोस् ! बन्दी बीपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो ! के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस–कम्युनिस्ट पञ्‍चायत छिरेका थिए ? जसपाले ओलीतन्त्रको घाँस खान्न ! चेतना भया !,’ भट्टराईले लेखेका छन् ।

रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासंग नजोडियोस्!के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो!के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस/कम्युनिष्ट पंचायत छिरेका थिए?जसपाले ओलीतन्त्रको घाॅस खान्न!चेतना भया!
सरकारमा जाने/नजाने विषयले जसपाभित्र चर्को विवाद देखिएकै बेला अध्यक्ष भट्टराईको यस्तो अभिव्यक्ति आएको हो । जसपामा भट्टराई र उपेन्द्र यादवपक्ष ओली सरकारमा सहभागी हुन नहुने अडान राख्दै आएका छन् ।
तर, पूर्व राजपा पक्षका महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरु भने आफूहरुका माग ओलीले नै पूरा गर्ने बताउँदै आएका छन् ।
कान्तिपुरबाट साभार

ओलीले उटपट्याङ कुरा गरेर भ्रम फैलाए : नेता पाण्डे

0

कास्की — एमाले नेता सुरेन्द्र पाण्डेले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उटपट्याङ कुरा गरेर जनतालाई भ्रम फैलाएको आरोप लगाएका छन् । पोखरामा बिहीबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा उनले जनतालाई आफूले गर्न नसकिने कामको आश्वासन दिन नहुने बताए ।

‘जुन देशमा समुद्र छैन, त्यही देशमा कसरी पानी जहाज चल्छ ?,’ पाण्डेले भने, ‘ओली गफाडी हुन्, दुई सय वर्षपछि हुने कामलाई पनि अहिले नै भ्रम फैलाइदिन्छन् ।’

पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले महिला र बालबालिकाको सवालमा सरकार जिम्मेवार नबनेको बताए । सर्वोच्च अदालतले नेकपा पार्टी नरहेको र एमाले पुरानै अवस्थामा फर्किएको निर्णय गरे पनि अध्यक्ष ओलीले नेकपामा रहेजस्तै एकलौटी काम गरेको उनले आरोप लगाए । ‘एमाले जेठ २ कै अवस्थामा आउँदा ओली आउन चाहँदैनन्,’ उनले भने । ओलीले एकलौटी मनपरी निर्णय गरेको भन्दै उनले आफूहरूले गलत काममा साथ दिन नसकेको बताए ।

पाण्डेले संसद् विघटनको संकट अहिले पनि ज्युँका त्युँ रहेको बताए । ‘नयाँ संकल्पका साथ अघि बढ्नुपर्छ’ उनले भने, ‘गलत कामको निरुत्साहित गर्नुपर्छ । पार्टीको आन्तरिक संघर्षमा कसरी जोडिने भनेर सोच्ने बेला आएको छ । हिजोका उपलब्धि र कम्युनिस्ट आन्दोलनलाई जोगाउनुछ ।’

फागुन २८ को निर्णयले नै पार्टीलाई विवादित बनाएको उनले बताए । ‘हामीले चैत २ मा धुम्बाराहीमा बैठक बस्यौं,’ उनले भने, ‘२८ गते भएका सबै निर्णय फिर्ता लिनुस् । तपाईंका चियापान कार्यक्रम स्थगित गर्नुस्, हामी ४ र ५ को भेला स्थगित गर्छौं भन्यौ । उहाँहरू नमानेपछि हामीले कार्यकर्तालाई घटनाक्रम बताउन पनि भेला आयोजना गर्नु थियो, गर्‍यौं ।’ भेलाले पार्टीको कमिटी गठन गर्ने निर्णय गरेको उनले बताए ।

कान्तिपुरबाट साभार

बाटोमा ‘ओई ! भिलेन’ भनेर बोलाउँछन् : प्रमोद अग्रहरि

0

समाजमा जताततै नकारात्मकता देखिन्छ । आफ्नै घरमा हामी देख्छौं । त्यही कुरालाई फिल्ममा ‘भिलेन’मार्फत देखाइन्छ । त्यसैले त फिल्मलाई समाजको ऐना र राजनीतिक वक्तव्य भन्ने गरिन्छ ।

काठमाडौँ — अभिनेता प्रमोद अग्रहरिले हालै १० औं नेफ्टा अवार्डको ‘उत्कृष्ट नेगिटिभ’ विधामा सफल्ता चुमे । यसअघि कामना अवार्डमा ‘कथा काठमाडौं’ बाट ‘उत्कृष्ट भिलेन’को अवार्ड पनि उनले नै पाएका थिए । एउटै फिल्मबाट दुईवटा अवार्डमा प्रमोद उत्कृष्ट ‘भिलेन’ ठहरिए ।

म्युजिक भिडियो हुँदै एनएसडी (नेसनल स्कुल अफ ड्रामा) सम्म पुगेका प्रमोदले १२ वटा फिल्ममा भिलेनको भूमिका निभाइसकेका छन् । ‘भिलेन’ चरित्रकै विषय वरपर रहेर प्रमोद अग्रहरिसँग रीना मोक्तानले गरेको कुराकानी :

तपाईंलाई ‘भिलेन’ बनेकै रुचाउँदा रहेछन् है ?

मेरा लागि त ‘भिलेन’ पनि एउटा चरित्र नै हो । मेरो काम त्यो चरित्रलाई बाँच्ने हो । मेरो लागि ‘हिरो’ पनि चरित्र नै हो । अफर आएको कामलाई कसरी राम्रो गरौं भन्ने हुन्छ मलाई । यो ‘हिरो’ हो, यसको चरित्र यस्तो हो भन्नेतिर मेरो ध्यान जाँदैन । कसरी हुन्छ आफूले पाएको चरित्रमा ‘बेस्ट’ दिउँ भन्ने हुन्छ । आखिरमा हरेक चरित्रबाट आफूले सिक्ने र भोग्ने त हो ।

निर्माता/निर्देशक तपाईंलाई किन भिलेनकै लागि छान्छन् ?

सायद उहाँहरुले त्यसरी नै देख्नभयो होला मलाई । कास्टिङ गर्नेहरुले पनि ‘भिलेन’मै कास्ट गरिदिनुहुन्छ । सायद त्यसलाई ब्रेक गर्न नखोज्नु भएको पनि हुन सक्छ । मेरो लुक्सले गर्दा पनि मलाई यस्तो चरित्रमा लिन्छन् जस्तो लाग्छ । हेर्दा कालो छु । दाह्री, ठूल्ठूला आँखा भएकोले पनि उहाँहरू मलाई ‘भिलेन’जस्तो देख्नुहुन्छ होला ।

१२ वटा फिल्ममा भिलेनकै भूमिका निभाउनुभयो । ‘भिलेन’को ट्याग बोकिरहन दिक्क लाग्दैन ?

भिलेनको चरित्र एउटै भए पनि मैले हरेक फिल्ममा फरक-फरक भिलेनको भूमिका निभाएको छु । त्यसले गर्दा आफूलाई भाग्यमानी ठान्छु । भिलेन मात्रै बनेर पनि यति धेरै फरकफरक चरित्रमा भूमिका निर्वाह गर्न पाएको छु । खुसी छु । ट्याग बोक्न पनि दिक्क लाग्दैन । म एउटा कलाकार हुँ । मेरो अभिनयकै कारण मायाले ती ट्याग दिने न हुन् ।

‘कथा काठमाडौं’को बेलामा कतिले इमरान हासमी भने । बाटोमा हिँड्दा कतिले ‘छक्का पञ्जा’को ‘बाबा मस्तमौला’ भनिरहेका हुन्छन् । मलाई त्यसले खासै फरक परेन । म प्रमोद अग्रहरि हुँ र मलाई प्रमोद भएरै काम गर्न मनपर्छ । ट्याग भन्ने कुरा दर्शक र फ्यानहरुले दिने कुरा हुन् । यसको अर्थ त दर्शकले नेपाली फिल्म हेर्नुहुन्छ भन्ने कुरा पनि हो । नेपाली दर्शकले नेपाली फिल्मलाई मन पराइदिनु खुसीको कुरा हो ।

‘भिलेन’ बनेका मध्ये कुन भूमिका तपाईंलाई मनपर्छ ?

‘जाइरा’ प्रदर्शनपछि कतिले मलाई ‘राजा’ भनेर बोलाए । कलाकारलाई आफ्नो कामबाट सन्तुष्टि कहिल्यै हुँदैन । सन्तुष्टि भयो भने उसको अर्को यात्रा नै हुँदैन । दर्शकले मेरो कामलाई मनपराइदिनु भएको छ, म खुसी छु । मेरो काम मन नपराइदिनु भएको भए म इन्डस्ट्रीमै टिक्दिन थिएँ होला । आफूले गरिसकेको भूमिकामा अझ राम्रो गरेको भए हुने भन्ने खालको अनुभव हुन्छ सधैं । त्यो किसिमको असन्तुष्टि हुँदो रहेछ कलाकारमा ।

२ दिन अगाडि पिपुल्स प्लाजामा पुगेको थिएँ । मास्क लगाएर एलिभेटर चढेर माथि उक्लँदै गर्दा कसैले ‘ओई ! भिलेन’ भनेर ठूलो आवाजमा बोलायो । मलाई होइन होला भन्ने लाग्यो त्यसैले सरासर अघि बढेँ । माथिल्लो तल्ला पुगेपछि अर्को कुनाबाट ‘ओई ! भिलेन’ भनेर आवाज आयो । पछि फर्कँदा आवाज दिनेहरुसँग बसेर गफ पनि गरेँ । म आफूलाई लुकाएर हिँड्ने मान्छे, कसैले नचिनोस्‌जस्तो लाग्छ ।

कलाकार भएपछि त चिनिहाल्छन् नि होइन, र ?

मेरो कामबाट मलाई चिनोस् भन्ने लाग्छ ।आफ्नो अनुहार चिनाउँदै हिँड्न मन लाग्दैन । अस्ति भर्खर पेप्सीकोलाबाट फर्कँदै गर्दा रातो बत्तीमा रोकिएको थिएँ । मेरो अगाडिबाट एकजना पानी बेच्ने बालक छेउतिर गयो । पछि फेरि म नजिक आएर ‘सर नमस्ते अस्ति तपाईंले अवार्ड पाउनु भयो है’ भन्यो । मलाई एकदम अचम्म लाग्यो । अरे यो बालकले मैले अवार्ड पाएको कुरा कसरी थाहा पायो भन्ने लाग्यो । मनमनै खुसी थिएँ । मैले भाइसँग पानी पनि किनें । उसले मेरा सबै फिल्म हेर्ने गरेको सुनायो । मलाई मेरो कामले यसरी चिनोस् भन्ने लाग्छ ।

पर्दामा देखिरहेको भिलेनलाई वास्तविक जीवनमा भेट्दा दर्शक डराउँदैनन् ?

त्यतिसारो डराउँदैनन् । बाटोमा चिनिहाले पनि कति त बोल्न डराइरहेका हुन्छन् । फिल्ममा जस्तै डरलाग्दो नै छन् कि भन्ने सोच्दा हुन् कि । मलाई भेटेर कुरा गरेपछि पर्दामा भन्दा फरक पाउनु हुन्छ सबैले ।

अफर आएका सबै भिलेन चरित्रमा भूमिका निभाउनु भएको छ ?

छैन । कति त कथा मन नपरेर गरिनँ । म मेरो पात्रले समाजमा पार्ने प्रभाव के हो ? त्यसले दर्शकमा दिने सन्देश बुझेर मात्र फिल्म गर्न तयार हुन्छु । मैले गर्ने भिलेनको चरित्र समाजमा पनि छन् कि छैनन् ? छन् भने त्यस्ता व्यक्तिबाट सतर्क बनाउन मैले त्यो भूमिका निभाइरहेको हुन्छु । ‘कथा काठमाडौं’ को ‘स्वरूप’ र ‘जाइरा’को ‘राजा’को चरित्र समाजमा पनि छन् । समाजका यस्ता वास्तविक पात्रबाट बच्नुपर्छ भन्ने सन्देश दिनका लागि मैले ती भूमिका निर्वाह गरेको हुँ ।

फिल्ममा भिलेन चाहिने नै हो र ?

जहाँ राम हुन्छन् त्यहाँ रावण त हुन्छन् नै । बाँकी तपाईंले त्यसलाई कसरी प्रस्तुत गर्नुहुन्छ भन्ने हो । स्वयं हामीमा पनि राक्षसी प्रवृत्ति लुकेको हुन्छ । त्यो कतिबेला कसरी निस्कन्छ भन्ने मात्र हो । सकारात्मक र नकारात्मक कुरा जहाँ पनि हुन्छ, फिल्मको कथामा पनि त्यो त आइहाल्छ नि ।

जुनसुकै क्षेत्रमा जसले नराम्रो काम गर्छ त्यो भिलेन हो । त्यो पुजारी पनि हुनसक्छ, आफ्नै बाउ हुनसक्छ । आमा पनि हुन सक्छ । तपाईंलाई भात मनपर्छ । मलाई मनपर्दैन । त्यो मेरा लागि त नकारात्मक कुरा हो । समाजमा हेर्ने हो भने त जताततै देखिन्छ नकारात्मकता । आफ्नै घरमा हामी देख्छौं । त्यही कुरालाई फिल्ममा ‘भिलेन’मार्फत देखाइन्छ । त्यसैले त फिल्मलाई समाजको ऐना र राजनीतिक वक्तव्य भन्ने गरिन्छ ।

समाजका भिलेन को हुन् त ?

समाजको भिलेन सायद हामी नै हौं । हामीले हाम्रो समाज कस्तो निर्माण गर्‍यौं । हामीले हाम्रो समाज कस्तो देख्छौं भन्ने कुरा न हो । कतै बम पड्कियो भन्ने सुनिन्छ, कतै बलात्कृत भयो भन्ने सुनिन्छ । यी कुराहरु आखिर के हुन् त ? हामीभित्र नै यो स्वभाव छ नि होइन । मैले पाँच दिनदेखि खाना आएको छैन रे । एकदमै भोकाएको छु । मसँग पैसा छैन । मैले कसैको खाना चोरेर खाएँ । मैले जसको खानेकुरा चोरेर खाएँ त्यो व्यक्तिका लागि म ‘भिलेन’ भएँ नि त । त्यसैले हामी मानव नै समाजका भिलेन हौं ।

इन्डस्ट्रीका भिलेन नि ?

मेरा लागि इन्डस्ट्रीमा ‘भिलेन’ छैनन् । हामी त कसरी हुन्छ इन्डस्ट्रीलाई राम्रो बनाऔँ भन्ने हिसाबले मिलेर अघि बढ्ने हो । जहाँ १० ओटा भाँडा हुन्छ, भाँडा ठोक्किन्छ नै । इन्डस्ट्रीमा फरक सोच र विचार बोकेका मानिसहरु छन् ।

किन कलाकारलाई कलाकारको रुपमा लिइँदैन् ।’भिलेन’,’हिरो’को ट्याग दिनैपर्छ ?

ठीक छ । भाषा र बुझाइको कुरा हो । ‘भिलेन’ एउटा शीर्षक न हो ।

‘भिलेन’को टाइटल कहिलेसम्म बोकी हिँड्ने हो ?

काम त बाँचुञ्जेलसम्म गर्ने हो । जो जसले जुन-जुन चरित्र दिनुहुन्छ, तबसम्म म गरिहरन्छु ।

हिरोको भूमिकामा देखिन मन लाग्दैन ?

लाग्छ नि । सायद जति पनि मेकर हुनुहुन्छ त्यसरी मलाई नदेख्नु भएको हो कि । प्रयोग गर्नै नखोज्नु भएको पनि हुनसक्छ । मलाई थाहा छ, त्यस्तो हिरोको भूमिका पनि आउँछ मलाई एकदिन ।

दयाहाङ राई र विपिन कार्कीले इन्डस्ट्रीमा लामो समयदेखि रहेको ‘हिरो’को मापदण्ड तोडिदिए । तर तपाईंलाई किन अझै ‘हिरो’को रुपमा लिन सकिरहेका छैनन् ?

थाहा छैन फिल्ममेकर्सले किन मलाई हिरोको रुपमा हेरिरहनु भएको छैन। सायद म तराईको भएर हो कि । या तराईको कथा नआएर हो कि ? मलाई थाहा छ दर्शकले मलाई कथित हिरो भूमिकामा देख्न पाउनुहुन्छ ।

तराईंले प्रसंग जोडिहाल्नुभयो । तराईका कलाकारलाई हाँसो र भिलेनको चरित्रमा किन देखाउँछन् ?

त्यो कथा लेख्ने लेखकको बुझाइको कुरा हो जस्तो लाग्छ । जबसम्म तपाईं समाज बुझ्नुहुन्न, तबसम्म लेखकले लेखेको कुरामा यी कुराहरु आइरहनेछन् । हाम्रा कथाहरुमा अध्ययन अनुसन्धान पुग्दैन । मलाई लाग्छ तराईको पात्रलाई हिरो बनाएको पहिलो फिल्म नै ‘उमा’हो । त्यो भन्दा अगाडिको फिल्ममा तराईको पात्रलाई मजाक पात्रको रुपमा देखाइन्थ्यो ।

फिल्मले तराईका पात्रलाई भिलेन देखाउँदा त्यताका मानिस भिलेन नै हुन्छ भन्ने सन्देश जाँदैन ?

त्यस्तो कहिल्यै पनि हुँदैन । व्यक्ति राम्रो र नराम्रो त जहाँ पनि हुन्छन् नि । राम्रो व्यक्ति र नराम्रो तराईमा पनि छन्, हिमाल र पहाडमा पनि छन् । तराईका व्यक्तिलाई त्यस्तो चरित्रमा देखाउनु कथा लेख्नेको व्यक्तिगत दृष्टिकोणको कुरा हो । तराईका व्यक्तिलाई मजाक गर्नु, उडानु अधिकार कसैसँग हुँदैन । तर अहिले पनि त्यसरी नै प्रस्तुत गरिरहेको छ । सायद कमर्सियल हिसाबले हामीलाई यस्तो चरित्रमा देखाइरहनु भएको छ । फिल्म लेखकले कुनै ठाउँको कथा लेख्दैछ भने त्यहाँको माटोको सुगन्ध ल्याउन सक्नुपर्‍यो ।

छातीसम्म पुगेको दाह्री, नाकमा बुलाकी । के यो तपाईंको आगामी फिल्म ‘ए फर एप्पल’को भिलेन लुक्स हो ?

फिल्मको छायांकन सकिएको छैन । मैले अहिले नै मेरो चरित्रको विषयमा खुलाउन मिल्दैन । बाँकी त तपाईंहरुको सोचाइ हो। (हाँस्दै)

कान्तिपुरबाट साभार

भलिबलको उचाइ उक्लिँदै उषा

0

भलिबलमा लाग्न प्रेरित गर्ने बुबा गजेन्द्रको अहिले एउटै काम हुन्छ । छोरी उषा जहाँ खेल्न जान्छिन् उनी त्यहाँ पुगिहाल्छन् ।

काठमाडौँ — लुम्बिनी युनाइटेडसँगको खेलपछि उषा भण्डारी जोडी बनाएर नेपाल पुलिसकी सहकर्मी खेलाडीसँग ‘कुलडाउन’ गरिरहेकी थिइन् । गत महिना नेपालगन्जमा सम्पन्न प्रधानमन्त्री कप भलिबलको सातौं संस्करणको प्रसंग हो यो । उद्घोषकले ‘प्लेयर अफ द म्याच’ मा उषाको नाम लिँदा पुलिस टिमको छेउमै रहेका उनका बुबा गजेन्द्र भण्डारीको खुसीको चमक बेग्लै थियो । उनी टिमको जितपछि छोरीको व्यक्तिगत सफलतामा ताली बजाउन मग्न थिए ।

गजेन्द्रको अहिले एउटै काम हुन्छ । छोरी जहाँ खेल्न जान्छिन् उनी त्यहाँ पुगिहाल्छन् । १३ औं दक्षिण एसियाली खेलकुदका लागि नेपाली महिला भलिबलको प्रशिक्षण थाइल्यान्डमा हुँदा उनी त्यहाँमात्र पुगेनन् । नत्र छोरीको कुनै खेल छुटाएका छैनन् । छोरीको खेल हुँदा उनी पुलिसको टिमसँगै बस्ने गर्छन् । घरबाहिर बस्ने बानी नभएकाले पनि गजेन्द्रले उषालाई एक्लो छाड्ने गरेका छैनन् । यही सेरोफेरोमा गजेन्द्र पनि नेपालगन्ज पुगेका थिए ।

दिदी अस्मितालाई भने कोर्टमा गएर उषाको खेल प्रत्यक्ष हेर्नभन्दा टिभी र अनलाइनमा आउने लाइभ नै हेर्न रमाइलो लाग्छ । नजिकबाट हेर्दा दबाबले टाउकै दुख्ने दिदीको अनुभव छ । दिदी पहिला पुलिसबाटै जुडो खेल्थिन् । गजेन्द्रका दुई सन्तान हुन् अस्मिता र उषा । ‘मलाई केही भयो भने कान्छीलाई कस्ले हेर्छ ?’ भन्ने चिन्तामा दिदीले जुडो खेल्नै छाडिदिइन् । यी दिदीबहिनीको सम्बन्ध दाजुबहिनी वा दिदीभाइको जस्तै छ । उनीहरू एकअर्कालाई राखी बाँधिदिन्छन् र भाइटीका पनि लगाइदिन्छन् । छोराले भन्दा घरको धेरै काम दिदीबहिनीले गर्ने गरेको उषा बताउँछिन् । उषाको खेल प्रत्यक्ष हेर्दा आत्तिने भएर उनकी आमा पनि मैदान जाँदिनन् । खेल सकिएपछि उषाले नै फोनमा बताउने गर्छिन् ।

000

प्रधानमन्त्री कपको छैटौं संस्करणमा उषाको खेलबाट कोही सबैभन्दा बढी प्रभावित रहे भने ती हुन् दीपक विष्ट । उषा त्यो प्रतियोगितामा उत्कृष्ट खेलाडीमा चुनिएकी थिइन् । उनले छरितोपन खेलाइले दक्षिण एसियाली खेलकुदमा चार स्वर्ण विजेता दीपकलाई मन्त्रमुग्ध बनाएको थियो । उषालाई तेक्वान्दो खेल्न दीपक सुझाइरहेका थिए । व्यक्तिगत खुबी भएका खेलाडीको सफलता आफ्नै मुठीमा भएको तर्क दीपकसँग थियो । दीपक आफैं यही बाटोबाट नेपाली खेलकुदका सुपरस्टार बनेका थिए । भलिबल छाडेर तेक्वान्दोमा लागेपछि दीपकले पनि दक्षिण एसियामै एकक्षत्र राज जमाएका हुन् । उनले त्यो सम्भावना उषामा पनि देखे ।

गजेन्द्र र उनका भाइ ७ वर्षअगाडि दशरथ रंगशाला कभर्डहलमा दक्षिण एसियाली भलिबल च्याम्पियनसिप हेर्न पुगेका थिए । उनीहरू खासै मैदानमा गएर हेर्ने खालका त थिएनन् । तर त्यो दिन के संयोगले खेल हेर्न पुगेछन् । श्रीलंकाबाट खेल्ने जर्सी नम्बर ७ खेलाडीबाट प्रभावित भएछन् । उनले श्रीलंकन ती खेलाडीमा आफ्नै छोरी उषाको अनुहार देखे । ‘यी श्रीलंकाली खेलाडी ठ्याक्कै हाम्रै नानीजस्तै छन् । छोरीको उचाइ पनि राम्रो छ, खेलमा इच्छुक छिन्, म पनि यस्तै खेलाडी बनाउँछु’ भन्ने निर्णयमा गजेन्द्र पुगेछन् । त्यतिखेर उषा ६ कक्षामा अध्ययरन थिइन् । उचाइ थियो ५ फिट ६ इन्च । बुवाले छोरीको भविष्य भलिबलमा देख्दै गर्दा उषा भने ब्याडमिन्टन खेल्थिन् ।

उषा ढोरपाटन क्लबको कोर्ट परिसरमा हुर्केकी थिइन् । त्यसले पनि उनलाई भलिबलमा आउन र चाँडै भिज्न त्यसमा सजिलो भयो । ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले बुबासँग सल्लाह गरेर उषालाई भलिबल खेल्न आउनु भने । उषालाई पनि जे भए नि एउटा खेल खेल्छु र भविष्य बनाउँछु भन्ने लाग्यो । उनलाई आर्मीमा जाने कि पुलिसमा गएर खेल्ने विकल्प दिइएको थियो । टिनएजको त्यो उमेरमा उनले आर्मी रोजिन् । बुबाले पुलिसबाट खेल्दा सजिलो हुन्छ, घरबाट स्कुल नजिक हुन्छ, आर्मीमा भयो भने उता छुट्टै बस्नुपर्छ भनेपछि उषाको रोजाइ पुलिस हुन पुग्यो । छोरीबिना टाढिएर बस्न नसक्ने स्वभाव थियो गजेन्द्रको । त्यसैले उनले छोरीलाई घरबाटै स्कुल पठाउनुपर्छ भन्ने मान्यतामा सामाखुसीस्थित पुलिस स्कुल भर्ना गरिदिए ।

घरबाहिर निस्किनेबित्तिकै ढोरपाटन क्लबको भलिबल मैदान छ । प्रशिक्षण जान नपाउँदा उनी दाइहरूसँगै खेल्थिन् । ड्रिग गर्न उनले त्यहीं सिकेकी थिइन् । एपीएफका टंक अवस्थी उनलाई सिकाउन आउँथे । उनले त्यतिबेला डिफेन्स बढी सिक्न पाइन् । अहिले उनको स्पाइकभन्दा बढी डिफेन्स बलियो छ । केटाहरूसँगको खेलले उनलाई अझ बढी आत्मविश्वासी र अनुभवी बनायो । यही कारणले होला पुलिसका प्रशिक्षक रुपेश विष्टले टिमको जिम्मा दिने भन्दै आएको उषा सुनाउँछिन् । प्रशिक्षक विष्टलाई पनि उनी आफ्नै बुबाजस्तै मान्छिन् । नेपाल पुलिसका पूर्वराष्ट्रिय भलिबल कप्तान भरत शाहलाई पनि उषाले आदर्श ठान्छिन् ।

प्रशिक्षण सुरु गरेको ६ महिनामै उनी पुलिस टोलीबाट खेल्ने भइसकेकी थिइन् । सिकेको एक सातामै उनको डिफेन्स राम्रो भइसकेको थियो । होलीगार्डेनमा पढ्दै गर्दा उनी अभ्यासमा व्यस्त हुन्थिन्, जुम्बा गर्थिन् । जसका लागि दिवा होस्टेल बसेकी थिइन् । ‘तिमीले राष्ट्रका लागि केही गर्नुपर्छ, तिमी मेरीमात्र छोरी होइन, राष्ट्रको पनि हो, आफूले ख्याल पुर्‍याएर खेल्नुपर्छ भनेर हौस्याउनुहुन्थ्यो,’ बुबाको हौसलाबारे उषाले सुनाइन् । ‘मैले पनि आफ्नो भविष्य यही उमेरमा बनाउने हो भनेर भलिबल खेल्न सुरु गरेको हुँ । खेल्न थालेको तीन वर्षमै मैले राष्ट्रिय टोलीबाट खेल्न पाएँ,’ उनले थपिन् ।

उचाइ देखेर उनलाई स्कुलले बास्केटबलको प्रशिक्षण पनि नगराएको होइन । तर उनलाई बास्केटबलले लोभ्याएन । भलिबलमै उनले भविष्य देखिन् । पुलिसमा आएपछि उनको दैनिकी नै परिवर्तन भयो । बुबाको चाहना छोरीले जतिसक्दो चाँडो नेपाली टोलीबाट खेलोस् भन्ने थियो । उषाले १४ वर्षको उमेरमै गत वर्ष १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालबाट ‘डेब्यू’ गरेर बुबाको इच्छा पूरा गरिदिइन् । तर बिडम्वना हजुरबुबा र मामाले भने उनले नेपालबाट खेलेको हेर्न पाएनन् । दुवैजनालाई सागको प्रशिक्षणमा रहँदा उनले गुमाएकी थिइन् । पारिवारिक शोकका डुबिन् । ‘भान्जीले यस्तो राम्रो खेलिरहेकी छ, चाँडो नेपालबाट खेलोस् भन्ने कामना मामाको थियो । तर मामालाई क्यान्सरले छाडेन,’ मामाका बारे बताइरहँदा उषाका आँखा रसाए । जसको प्रोत्साहनले उनी भलिबल खेल्न गएकी थिइन्, उसैलाई नेपालबाट खेलेको देखाउन पाइनन् । त्यो उषालाई सधैं खट्किरहनेछ ।

उषाले सागमा बंगलादेशसँगको एउटा खेल खेल्न पाइन् । आफूले बल्ल बुबाको सपना पूरा गर्न लागे जस्तो अनुभव भयो । भलिबल बुबाको सपना थियो । आफूले चाहेको भएको भए अहिले उनी फुटबल खेलिरहेको हुन्थिन् । किनभने उनले स्कुलमा फुटबल पनि खेल्थिन् । उमेर सानै भएकाले सागमा प्रशिक्षक जगदीश भट्टले उषालाई अन्य खेलका लागि जोखिममा लिन चाहेनन् । उनले पनि टिमको हितमा हुने निर्णयप्रति सहमति नै जनाइन् । उषालाई मनमा डर र केही गर्नुपर्छ भन्ने थियो । त्यसअघि उनले पुलिसबाहेक अर्को टिमबाट खेलेकी थिइनन् । घुलमिल हुन सकिरहेकी थिइनन् । विभिन्न क्लबबाट आएका खेलाडी हुनाले पहिला केही नमिलेजस्तो लाग्यो । ६ महिनाको साग प्रशिक्षणपछि त उनी पुलिस टिमभन्दा पनि नेपाली टोलीसँग धेरै नजिक भइन् ।

000

उचाइ २ फिट बढ्नुबाहेक राष्ट्रिय प्रतियोगिता खेलेको तीन वर्षपछि उषामा कस्तो परिवर्तन आयो त ? ‘उषा भण्डारी पहिला को हो, को हो भन्ने थियो, अहिले धेरैले मलाई कान्छी, मुसी भनेर चिन्छन् । अझ सबैले कान्छी भलिबल खेलाडी भनेर मलाई चिनेको पाएको छु ।’ एउटा स्पाइकरका रूपमा उनले प्रतिभा माली र सरस्वती चौधरीको विकल्पमा आफूलाई उभ्याएकी छन् । प्रतिद्वन्द्वी टोलीमा हुँदा पनि आफूलाई सिकाएको तथा सिनियर खेलाडी भएकाले दुवै खेलाडीप्रति उनी ठूलो सम्मान राख्छिन् । तर

आफ्नो प्रतिस्पर्धी प्रतिभा र सरस्वती हो भनेर उनले दिमागमा राखेकी हुन्छिन् नै । ‘मेरो खेलजीवन भर्खर सुरु भए जस्तो छ, दिदीहरूको स्थानमा पुग्न मैले अझै धेरै गर्नुपर्छ,’ यसो भन्दै गर्दा बुबाले भनेको कुरा उनले सम्झिइन्, ‘यो त केही पनि होइन, भर्खर अण्डा फुटेको छ, चल्ला हुन बाँकी नै छ नि ।’

गजेन्द्रले खाडी राष्ट्रमा जाँदा भलिबल सिकेका थिए । मुड्कीले बल नै फुटाउने स्वभाव थियो उनको । त्यसको प्रभाव छोरीसम्म आइपुग्यो । उषाले जति नै नराम्रो खेले पनि छोरीको खेलमा कहिल्यै गुनासो नगर्ने गजेन्द्रको बानी छ । धेरै राम्रो खेल्दाखेल्दै पनि भलिबलका धेरै खेलाडी विदेशी पलायन भएका छन्, त्यो अवस्था अहिले नरहेको उनले बुझाइ छ । नेपाली भलिबलको भविष्य राम्रै देखेकी छिन् उनले । एउटा आडभरोसा पुलिसको साथ रहनु पनि हो ।

उनको घर तनहुँको भिमाद हो । उनी साढे एक वर्षकी छँदै काठमाडौं आइन् । उषा जन्मेको ठाउँ भिमादभन्दा दुई घण्टा टाढा स्याङजाको कुटुम्सामा हो । तर त्यसपछि त्यहाँ पुगेकी छैनन् । जेठमा एसईई दिने तयारीमा रहेकी उषाले भइरहेका भलिबल प्रतियोगिताहरू सबै खेलिरहेकी छन् । विद्यालयमा उनको नियमित थिएन । बिहानी प्रशिक्षण सकेर जाँदा ११ बज्थ्यो ।

अनि साथीहरू उनलाई ‘ऊ खेलाडी आयो’ भनेर जिस्काउँथे । उनलाई पुलिस स्कुलले खेल्ने मामिलामा धेरै छुट दियो र हौस्याइरह्यो । टेस्ट पनि भलिबल खेल्न जाँदा छुटेको थियो, पछि छुट्टै बसेर दिएको उनी सुनाइन् । गणित विषय उनलाई धेरै मनपर्छ । प्लस टूमा व्यवस्थापन विषय उनले रोजाइमा राखेकी छिन् । बुबा गजेन्द्रको रहर भने छोरीलाई खेलकुद विज्ञान पढाउने छ । एसईई सकिएपछि उनी एसियन च्याम्पियनसिपको तयारीमा जुट्ने छिन् । नेपाली महिला भलिबलले पहिलोपल्ट यो प्रतियोगिता खेल्न लागेको हो ।

नेपालगन्जअघि पोखराको टाइगर कपमा पनि उनी उत्कृष्ट खेलाडी भइन् । जुन उनले सोचेको पनि थिइनन् । उनी बिरामी थिइन् र आफूले चाहेजस्तो प्रदर्शन दिन सकिरहेकी थिइनन् । प्रशिक्षकले पनि टिम तिम्रै भरमा छ जे सक्छौं गर भनेर ढाडस दिइरहेका थिए । आर्मी र एपीएफसँगको खेलमा उनी अस्वस्थ थिइन् । फाइनलअघिको एकदिन विश्राम उषालाई तङ्ग्रिने अवसर बन्यो । त्यसपछि नेपालगन्ज आएकी उषा प्रधानमन्त्री कपमा उत्कृष्ट स्पाइकर बनिन् । उनका लागि नेपालगन्ज मामा घरजस्तै भएको छ, हरेकपल्ट पुग्दा केही न केही खुसी पाउँछिन् ।

कान्तिपुरबाट साभार

घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई एमाले पार्टी सदस्यबाट निलम्बन

0

काठमाडौँ — नेकपा एमालेले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।

पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । ‘स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआएका कारण घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिएको छ,’ उनले भने ।

अध्यक्ष ओलीले भुसाल र पाण्डेको स्पष्टीकरणमा अहंकार देखिएको उल्लेख गरेका छन् । पत्रमा भनिएको छ, ‘तपाईंले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने पार्टीभित्रको सहकार्य र सदभावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला गर्ने, उक्त कार्यलाई निरन्तरता दिने स्विकारोक्तिसहित अहंकार र आत्मकेन्द्रित कुराहरु उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो ।’

भुसाल र पाण्डेलाई सच्चिनका लागि अन्तिम मौका दिइएको ओलीले पत्रमा उल्लेख गरेका छन् । पत्रमा भनिएको छ, ‘तपाईंलाई सच्चिनको लागि यो अन्तिम मौका हो आफ्ना विचार र क्रियाकलापहरु सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिइन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरु कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारबाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ ।’

यसअघि एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको थियो । नेकपा अध्यक्ष केपी शर्मा ओलीले चैत ८ गते वरिष्ठ नेता नेपालसहित ४ जनालाई पार्टीको विधानविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेका थिए । नेपाल र रावलले उक्त स्पष्टीकरणको जवाफ चैत १२ गते नै दिएका थिए । तर उनीहरूको जवाफ चित्तबुझ्दो नभएको भन्दै ओलीले चैत १६ गते दुवैलाई पार्टीको साधारण सदस्यबाट समेत ६ महिनाका लागि निलम्बन गरेका थिए ।

भुसाल र पाण्डेले भने चैत १७ गते जवाफ फर्काएका थिए । उपमहासचिव भुसालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई शत्रु देशको नागरिकलाई झैँ व्यवहार गरेको आरोप लगाएका थिए । त्यस्तै पाण्डेले ओलीले गुटको भेलालाई पार्टी केन्द्रीय कमिटीको बठैक भनेर दुष्प्रचार गरेको र पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका थिए ।

कान्तिपुरबाट साभार

 

 

 

 

फ्रान्समा कोरोनाको संक्रमण बढेपछि फेरि लकडाउनको घोषणा

0

एजेन्सी । फ्रान्समा कोरोना भाइरसको संक्रमण थप बढ्दै गएपछि फेरि लकडाउनको घोषणा गरिएको बताइएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले फ्रान्समा यो तेस्रो पटक लकडाउनको घोषणा गर्नुभएको यहाँका समाचार माध्यमहरुले जानकारी दिएका छन् ।

उहाँले गत राति सो कुराको घोषणा गर्नुभएको छ । राष्ट्रपति म्याक्रोँले देशैभरिका प्राथमिक तहका विद्यालयहरु तीन हप्ताका लागि बन्द हुने घोषणा गर्नुभएको हो । उहाँले राष्ट्रिय टेलिभिजन प्रसारणबाट घोषणा गर्दै भन्नुभएको थियो– यदि अहिलेकै अवस्था कायम रह्यो भने यसले सिंगो युरोपमा भन्दा पनि हामीलाई बढी प्रभावित पार्नेछ, त्यसैले लकडाउनको कुनै विकल्प देखिएको छैन ।

उहाँले तीन हप्ताका लागि सम्पूर्ण देशबासीहरुलाई धैर्य गरेर आफ्नो ख्याल गर्न भन्नुभएको छ । यसका लागि सरकारले आवश्यक परेको सहयोग गर्ने उहाँले सो सम्बोधनका क्रममा बताउनुभएको थियो ।
कोरोना भाइरस महामारीको सुरुमा युरोपमा अति प्रभावित हुने मध्येको फ्रान्समा यसअघि पनि दुई पटकसम्म लकडाउन भएको थियो । त्यो बेला दुई महिना लकडाउन लागु भएको थियो ।

पछिल्लो समय महामारीको तेस्रो लहरबाट प्रभावित भएको फ्रान्सका राष्ट्रपति म्याक्रोँले टेलिभिजन सम्बोधन मार्फत शनिबारदेखि लागु हुने गरी पुनः लकडाउन गर्ने घोषणा गर्नुभएको हो । यो पटकको लकडाउन कम्तीमा तीन हप्ताका लागि गरिएको बताइएको छ । लकडाउनमा मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्र टाढाको यात्रा गर्न र कार्यालय समयमा निकै सतर्कता अपनाउन भनिएको छ ।

फ्रान्समा पछिल्लो दिनमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या करिब छ महिना यताकै धेरै देखिएको पनि बताइएको छ । फ्रान्स, जर्मनी, बेल्जियम, बेलायतसहित युरोपेली देशमा पछिल्लो समय पुनः संक्रमण तीव्र गतिमा बढिरहेको छ । लकडाउनको घोषणासँगै युरोपको वित्त बजारका साथसाथै आर्थिक अवस्थामा पनि नराम्रो अवस्था देखिने अनुमान गरिएको छ ।