Thursday, June 11, 2026
Home Blog Page 1306

राईस कुकरमा लुकाएर ल्याएको सुन विमानस्थलबाट बरामद

0

खाना पकाउने राईस कुकरमा लुकाएर ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको छ ।

दुबईबाट आएका धनुषाका प्रगास महराले ल्याएको सुन भन्सार जाँच गर्दा फेला परेको थियो । ८ सय ८४ ग्राम सुनसहित उनलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

फ्लाई दुबईबाट आएका महराले कुकरको भित्रपट्टि पिँधमा सुन फिट गरेर ल्याएका थिए । कुकर खोलेर हेर्दा पनि लुकाएको पत्ता नलाग्ने गरी फिट गरेको सुन एक्सरे मेशिनमा देखिएपछि विमानस्थलमा खटिएका प्रहरी र भन्सार कर्मचारीले फोडेर हेरेका थिए ।

महरा धनुषाको मिथिला नगरपालिकाका स्थानीय हुन् । कुकर कम्पनीमा नै सो सुन फिट गरेको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।

कोरोना सङ्क्रमितको मृत्यु

0

महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको गए राति मृत्यु भएको छ । भारतको गुजरातबाट चैत २२ गते फर्केका उहाँमा कोरोना सङ्क्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उहाँको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताउनुभयो ।

“भर्खरै कोरोना सङ्क्रमितको मृत्यु भएकोबारे खबर पाएको छु”, उहाँले भन्नुभयो, “अस्पताल जाँदैछु । त्यसपछि विस्तृत विवरण उपलब्ध गराउँछु ।”

मृत्यु भएका कोरोना सङ्क्रमितको आज दिउँसो शव व्यवस्थापन गरिने बताइएको छ । कोरोनाको दोस्रो सङ्क्रमणको लहर शुरु भएपछि कञ्चनपुरमा पहिलो मृत्यु भएको छ । यसअघि कञ्चनपुरमा कोरोना सङ्क्रमणका कारण १४ जनाले ज्यान गुमाइसकेका छन् । हालसम्म कोरोनाको दोस्रो लहर फैलिएपछि एन्टिजेन विधिबाट एक हजार ९८० जनाको परीक्षण गरिएकामध्ये ६४ जनाको नतिजा पोजेटिभ आएको छ । तीमध्ये १२ जना महाकाली अस्पतालको आइसोलेशनमा रहेका छन् । मङ्गलबारमात्रै भीमदत्त नगरपालिका–२ का दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

जोशीको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति : कांग्रेस नेताहरू

0

नेपाली कांग्रेसका नेताहरूले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले कांग्रेस र देशलाई अपूरणीय क्षति पुगेको बताएका छन् । नेपाल विद्यार्थी सङ्घले नेता जोशीको १२ औँ पुण्य तिथिका अवसरमा मङ्गलबार यहाँ आयोजना गरेको श्रद्धाञ्जलि सभामा नेताहरुले स्वर्गीय जोशीमा निष्ठा, निरन्तरता र इमान्दारी भएको बताएका हुन् ।

कार्यक्रममा कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले स्वर्गीय जोशीको राजनीतिलाई दुई पाटोबाट हेर्नुपर्ने बताउनुभयो । “नेता जोशीलाई विसं २०४६ सालको जनआन्दोलन पहिले र जनआन्दोलन पछाडि गरी दुई पाटोबाट अध्ययन गर्नुपर्छ”, उहाँले भन्नुभयो । पार्टीभित्रको विवाद समाधानमा सदैव लाग्ने नेता जोशी सबैको प्यारो नेता भएको उहाँको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीले स्वर्गीय जोशी विद्यार्थी आन्दोलनको अगुवा नेता भएको बताउनुभयो । “जोशीको निधनले देश र कांग्रेसले एक असल नेता गुमायो”, उहाँले भन्नुभयो । राजनीति गर्ने व्यक्तिले नवीन्द्रराजबाट पाठ सिक्नुपर्ने उहाँको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बालकृष्ण खाँणले जोशीको निधनले नेविसङ्घ र कांग्रेसलाई अतुलनीय क्षति पुगेको बताउनुभयो । आँखामा राख्दा नबिझाउने नेता स्व जोशी भएको उहाँको भनाइ थियो । कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरीले स्व जोशी अत्यन्त चतुर र शालीन नेता भएको बताउनुभयो । कांग्रेसको सङ्गठन विस्तारमा जोशीको महत्वपूर्ण योगदान रहेको उहाँको भनाइ थियो ।

ट्रक दुर्घटना हुँदा एकजनाको मत्यु

0

अरुण गाउँपालिका–४ छाम्ताङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार राति धरानबाट भोजपुरतर्फ आउँदै गरेको ना३ख ३२० नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना हुँदा ट्रकका मालिक मोरङ पथरीशनिश्चरे–८ का ४३ वर्षीय भेषबहादुर बस्नेतको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्रक चालक अरुण गाउँपालिका–६ जरायोटारका २० वर्षीय जनकबहादुर खड्का गम्भीर घाइते भएकाले विराटनर्सिङ कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शव परीक्षण भने आज जिल्ला अस्पताल भोजपुरमा भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक प्रदीप लामाले बताउनुभयो ।

मेलम्चीमा महिला भलिबल प्रतियोगिता हुने

0

‘समुन्नत राष्ट्रका लागि पालिका पहिला, अग्रसर गराऔँ खेल क्षेत्रमा महिला’ भन्ने नाराका साथ मेलम्चीमा जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

सिन्धुपाल्चोक जिल्लाका तीन नगरपालिका र नौ गाउँपालिका गरी १२ पालिकाबीच हुने सो प्रतियोगिता वैशाख ६, ७ र ८ गते हुनेछ ।

मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा हाम्रो टिम मेलम्चीको आयोजना तथा रेडियो मेलम्चीको सहआयोजनामा सो प्रतियोगिता हुने भएको हो ।

खेल क्षेत्रमा महिलालाई प्रोत्साहित गर्ने नगरपालिकाको उद्देश्यअनुसार महिला भलिबल प्रतियोगिताका लागि नगरले सहयोग गरेको नगरउपप्रमुख भगवती नेपालले जानकारी दिनुभयो ।

प्रतियोगितामा पहिलो हुने टिमलाई रु एक लाख नगद पुरस्कारका साथ कप र मेडल प्रदान गरिने सहआयोजक रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिनुभयो । दोस्रोलाई रु ५० हजार र तेस्रो हुने दुई टिमलाई रु २५÷२५ हजार पुरस्कार रहेको छ ।

सहभागी खेलाडीलाई आवास तथा खानाको व्यवस्था गरिएको आयोजक संस्थाका अध्यक्ष आशीष श्रेष्ठले जानकारी दिनुभयो । खेलाडीका लागि ड्रेस तथा खाजाको व्यवस्था भने सम्बन्धित पालिकाले गर्नुपर्ने पनि बताइएको छ ।

गौरादहबाट नगदसहित नौ जना जुवाडे पक्राउ

0

जुवा खेलिरहेको अवस्थामा प्रहरीले झापाको गौरादहबाट नौ जना जुवाडेलाई पक्राउ गरेको छ । गौरादह नगरपालिका– ३ का भक्तबहादुर बर्देवाको घरमा जुवा खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा गएराति खटिएको प्रहरी टोलीले १६ थान कौडा, नगद रु ६९ हजार ४२० सहित नौ जनालाई नियन्त्रणमा लिएको हो ।

यसरी पक्राउ पर्नेमा गौरादह– २ का ३२ वर्षीय निर्मल थापा, सोही वडाका ३५ वर्षीय अङ्कित कार्की, गौरादह ३ का ३८ वर्षीय सुरेश भण्डारी, सोही वडाका ४६ वर्षीय भक्तबहादुर बर्देवा, गौरादह– ४ का ३६ वर्षीय मोहन खरेल, कनकाई नगरपालिका–३ बस्ने वर्ष ४० का रामप्रसाद खतिवडा, सोही ठाउँ बस्ने वर्ष ४२ को ईश्वर खतिवडा, ४६ वर्षीय बिष्णुप्रसाद उप्रेती र दमक नगरपालिका–७ का ३८ वर्षीय नीरबहादुर सुनुवार रहेका छन् । उनीहरुको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताउनुभयो ।

पानी ट्याङ्की फुटेर दुईजनाको मृत्यु

0

बझाङको तलकोट गाउँपालिका–१ चौडामा सोमबार पानी ट्याङ्की फुटेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय गोकुल कुँवरको र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएकी कुँवरको अमिसा अस्पताल चैनपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बनेको पानी ट्याङ्कीमा पानी जम्मा गर्ने क्रममा पानी ट्याङ्की फुटेको हो । परियोजनाअन्तर्गत सेतीनदीबाट लिफ्टिङ गरेर गाउँमा ल्याइएको थियो । पानी ट्याङ्की चर्केर पानी चुहिन थालेपछि एक हप्ताअघि मर्मत गरिएको थियो । मर्मत गरिएको ट्याङ्कीमा पानी जम्मा गर्न लागेका बेला एक्कासि ट्याङ्की फुटेर घटना भएको स्थानीय गोपाल कुँवरले बताउनुभयो ।

अमिसा अस्पतालको लापर्वाहीका कारण सुन्दरीको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । सुन्दरीको खुट्टामा चोट लागेको थियो । थप उपचारको लागि अस्पताल ल्याएको तर डाक्टरले उपचारमा लापर्वाही गर्दा श्रीमतीको मृत्यु भएको मृतकका श्रीमान् गोपाल कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “डाक्टरले आफ्नो श्रीमतीलाई सुई र स्लाइन लगाएर बाहिर गएको र पछि बिरामीको मृत्यु भइसकेपछि अस्पतालमा प्रवेश गरेकाले डाक्टरको लापर्वाहीले श्रीमतीको मृत्यु भएको बताउनुभयो ।

अस्पतालमा कार्यरत डाक्टर महेश शाहले बिरामीलाई सुई र स्लाइन दिएर बाहिर गएको र बिरामीको हेरविचारको लागि बीचमा आएर पल्सर जाँच गर्दा पल्सर मेन्टेन भएको थियो । पछि बिरामीको मृत्यु भएको जानकारी दिएका छन् । साथै बिरामीका आफन्तले डाक्टरलाई कारवाहीको माग गर्दै अस्पताल क्षेत्र घेराउ गरेका छन् ।

जनआन्दोलन दिवस मनाउन प्रचण्ड रुकुममा

0

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मंगलबार रुकुम पश्चिम गएका
छन् ।

जनआन्दोलन दिवस चैत २४ को कार्यक्रममा सहभागी हुन उनी रुकुम पश्चिम गएका हुन् ।

प्रचण्डले जिल्ला सदरमुकाम खलंगामा हुने पार्टीको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सो कार्यक्रममा पूर्वमन्त्री तथा माओवादीका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रभाकर रुकुम पश्चिमका निर्वाचित जनप्रतिनिधि समेत हुन् ।

माओवादी केन्द्रले जनआन्दोलन दिवसको अवसर पारेर रुकुम पश्चिममा जनसभाको आयोजना गरेको हो ।

 

पाल्पामा जीप दुर्घटनामा दुईको मृत्यु

0

पाल्पाको तानसेन नगरपालिका–७ काजीपौवास्थित भित्री कच्ची सडकखण्डमा कुखुरा बोक्ने पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गए राति करिब साढे १२ बजे लु२च ६३२ नंको पिकअप जीप कुखरा ल्याउँदै गर्दा अचानक सडकदेखि करिब २० मिटर तल खसेर चालक बगनासकाली गाउँपालिका–४ का २० वर्षीय विजय खाम्चा र रिब्दीकोट–४ का २७ वर्षीय राज थापाको मृत्यु भएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

एन आर एन ए को चुनावले अमेरिका तात्यो

0

गैर आवासिय नेपाली संघ एन आर एन को अमेरिका राष्ट्रिय सवन्वय परिषदका पदाधिकारीहरुको  निर्वाचन छिट्टै हुने  भएकोले अमेरिकामा  चुनावी सरगर्मी बढेको समाचार छ।  २०२१ देखी २०२३ सम्मको कार्यकालको लागि अध्यक्ष, वरिष्ठ ऊपाधक्ष, ऊपाधक्ष, महासचिव, सचिव, कोषाधक्ष, सह कोषाधक्ष, महिला सँयोजक, युवा सँयोजक र बोर्ड अफ डाइरेक्टरहरुका पदमा निर्वाचन हुन लागेको हो। संसोधित विधान अनुसार एक महिला ऊपाधक्ष,  महिला सचीव तथा छेत्रीय सँयोजकहरुको पनी चुनाव हुने छ। सो निर्वाचनमा अमेरिकाबाट प्रतिनिधित्व गर्न यहाँको सद्स्य सँख्याको आधारमा ९ जना आई सि सि सद्स्यहरु पनि निर्वाचित हुनेछन। संघको नयाँ रणनिती अनुसार राष्ट्रिय सवन्वय परिषदमा कम्तीमा एक कार्यकाल काम गरेको वा अन्तरराष्ट्रिय सम्मेलनमा प्रतिनिधि भईसकेको व्यक्ती  योग्य हुनेछन।

स्वभावैले अध्यक्षका प्रत्यासीहरुको नाम बढी चर्चामा आईरहेका छन। हाल सम्म चर्चित नाममा हाल कार्यरत वरिष्ठ उपाधक्ष डा अर्जुन बन्जाडे, उपाध्यक्ष वुद्दी सुवेदी तथा बोर्ड अफ डाइरेक्टर कृष्ण लामिछाने रहेको छन। उहाँहरुले निर्वाचन प्रचार समेत सुरु गरीसकेका छन जस्मा कृष्ण लामिछाने र बुद्दी सुवेदी क्यालिफोर्नियामा केही समय बिताएर फर्की सकेका छन। यस वीच अन्य नामहरुमा बरीष्ठ ऊपाधक्ष पदमा बाबुराम लामा र  कृष्णजीवी पन्त को चर्चा छ भने महासचिवमा क्यालिफोर्निया वसेर हाल नर्थ क्यारोलिनामा वसोवास गर्ने विनोद भट्टको नाम अग्रणी देखिन्छ।

यसका अलावा महिला ऊपाधक्षमा वर्तमान महिला सँयोजक दिक्षा बस्नेत  तथा क्रान्ति अर्याल भण्डारी,  ऊपाधक्षमा पूर्ण बानियाको नाम घोषित भईसकेको छ भने  क्यालिफोर्निया  च्याप्ट्यर प्रेसिडेन्टमा एकदेव शर्माले उम्मेदवारी घोषणा गरीसकेकोप अवस्था छ। यस वीच वरिष्ठ समाजसेवी उत्तम कुमार कार्किले आई सि सि मेम्बरमा उम्मेदवारी घोषणा गरीसक्नु भएको कुरा जानकारी प्राप्त भएको छ। कार्की पश्चिम अमेरिका नेपाली महासंघ वानाको वर्तमान अध्यक्ष, एन ए एन सि का पूर्व अध्यक्ष, नेपाली सामुदायिक  केन्द्रका संस्थापक अध्यक्ष, बिभिन्न राष्ट्रिय स्तरका संस्थारुमा सल्लाह्कार हुनाका साथै प्रेसिडेन्ट भोलन्टियर सर्भिस अवार्ड २०१४ का गोल्ड मेडलिस्ट हुनाका साथै थुप्रै सम्मानपत्रहरु प्राप्त गरेका लोकप्रिय व्यक्तित्व हुनुहुन्छ। कार्कीजीको स्थिती निकै प्रभावशाली रहेको वताइन्छ।