सुन्दरहरैँचा (मोरङ): सुन्दरहरैँचा नगरपालिका–८ का जङ्गली हात्तीपीडित नागरिकले सर्वसाधारणको जीवन र धनको सुरक्षाको माग गर्दै सबडिभिजन वन कार्यालय सलकपुरमार्फत ज्ञापनपत्र बुझाएका छन्।
वन तथा वातावरण मन्त्रालयलाई जङ्गली हात्ती नियन्त्रण गर्न आग्रह गरिएको उक्त ज्ञापनपत्र स्थानीय शिक्षासेवी टीकाराम ढकालले बुझाएको जानकारी दिनुभयो। सुन्दरहरैँचाको उत्तरी क्षेत्रमा लामो समयदेखि हात्ती गाउँबस्तीमा पसेर भौतिक तथा मानवीय क्षति पुर्याएको, दर्जनौँ घर भत्काएको र बालीनाली नष्ट गरेको ज्ञापनपत्रमा उल्लेख छ।
ज्ञापनपत्रमा भनिएको छ, “हात्तीको त्रासका कारण यस क्षेत्रका नागरिक निदाउन सकिरहेका छैनन्। त्यसैले, नागरिकको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्न आग्रह गर्दछौँ।” स्थानीयले प्रत्यक्ष प्रभावकारी समाधान खोज्दै प्रदेश र सङ्घीय सरकारसँग पहल गर्न माग गरेका छन्।
सबडिभिजन वन कार्यालय मोरङका अनुसार झापा, मोरङ र सुनसरीमा जङ्गली हात्तीले बस्तीमा पसेर भौतिक तथा मानवीय क्षति पुर्याइरहेको छ। हात्तीको नियमित उपद्रवले सर्वसाधारण त्रसित बनिरहेका बेला सुन्दरहरैँचा पत्रकार समूहका अध्यक्ष बाबुराम निरौलाले समस्या समाधानमा चाँडो ध्यान दिनुपर्ने बताउनुभएको छ।
जङ्गलबाट आहारा खोज्दै मानव बस्ती प्रवेश गर्ने हात्तीले घर भत्काउने, बालीनाली नष्ट गर्ने र मानिसमाथि आक्रमणजस्ता गतिविधि गर्दै आएको प्रहरीको भनाइ छ। जङ्गल क्षेत्रमा हात्तीको आवतजावत बाक्लो भएकाले एक्लै हिँडडुल नगर्न, सतर्क रहन र सुरक्षा उपाय अपनाउन प्रहरीले अनुरोध गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार पछिल्लो एक महिनाको अवधिमा हात्तीको आक्रमणबाट सुन्दरहरैँचा–५ की ६१ वर्षीया चन्द्रकुमारी लिम्बू, सुन्दरहरैँचा–७ मा दाउरा खोज्दै गरेकी ४० वर्षीया गङ्गा श्रेष्ठ र सुन्दरहरैँचा–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको मृत्यु भइसकेको छ।


