चितवन, १९ असोज — हवाई यात्रुको भीड बढेपछि स्थानीय प्रशासनको पहलमा भरतपुर विमानस्थलबाटै काठमाडौँका लागि बस सेवा सञ्चालन गरिएको छ। विमानस्थलमा टिकट नपाएर अलपत्र परेका यात्रुहरूलाई बसमार्फत काठमाडौँ पठाइएको हो।
शुक्रबारदेखि हवाई सेवा अवरुद्ध भएपछि शनिबारका लागि टिकट लिएका यात्रु र आइतबार पुनः विमानस्थल पुगेका यात्रुहरूका कारण विमानस्थलमा यात्रुको चाप अत्यधिक बढेको थियो। काठमाडौँ जाने सडकमार्ग पनि रोकिएपछि हवाई यात्रुको दबाब झनै बढेको हो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विमानस्थल पुगेर अवस्था अवलोकन गरेपछि यातायात व्यवसायीसँग समन्वय गरी विमानस्थलबाटै यात्रु पठाउने व्यवस्था मिलाएका हुन्। प्रारम्भमा एक माइक्रोबसले यात्रु लिएर काठमाडौँ पठाइसकेको र थप बसको व्यवस्था गरी बाँकी यात्रुलाई पनि पठाइने उहाँले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “यातायात व्यवसायीलाई नियमानुसारको भाडा लिएर सेवा दिन भनेका छौँ।” अत्यावश्यक यात्रुलाई प्राथमिकता दिई पठाउन स्थानीय प्रशासनले औपचारिक पत्र बनाएर बस पठाएको पनि उहाँले बताउनुभयो। बसलाई काठमाडौँ पुग्न र फर्किन सहज होस् भनेर पत्रसहित पठाइएको जनाइएको छ।
प्रशासनका अनुसार नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा छ भने पृथ्वी राजमार्गको चितवन खण्ड पनि खुला छ। धादिङमा खसेको पहिरो पन्छ्याउने काम जारी छ र साना सवारी साधनलाई गन्तव्यतर्फ पठाइने तयारी भइरहेको छ। शनिबार विमानस्थलमा रोकिएका यात्रुका लागि प्रशासनले ७५ प्रतिशत छुटमा होटलमा बस्ने व्यवस्था पनि गरेको थियो।


