बरहथवा (सर्लाही): सर्लाहीको हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले चारवटा सडक स्तरोन्नतिका लागि सम्झौता गरेका छन्। आइतबार हरिवन र हरिहरपुरगढी जोड्ने केरावारी–रानीचुरी–रागेदोभान, हरिवन–क्यानेश्वर, तित्रीगाछी–धुम्बे–भुताहा–बरुण, र अत्रौली–केवनचुली–भुताहा–बरुण सडक खण्डको स्तरोन्नतिमा सहमति भएको हो।
हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी र हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
सिन्धुलीको हरिहरपुरगढीका अधिकांश गाउँका बासिन्दाको व्यापारिक केन्द्र हरिवन बजार भए पनि अव्यवस्थित सडकका कारण आवतजावतमा कठिनाइ हुँदै आएको छ। “सडक राम्रो नहुँदा व्यापार र उपचारका लागि हरिवन पुग्न स्थानीयले सास्ती भोग्नुपरेको छ,” अध्यक्ष वाइबाले बताए।
सडक स्तरोन्नतिको पहलमा बागमती प्रदेशका आर्थिक मामिला मन्त्री कुन्दनराज काफ्ले र मधेश प्रदेशका अर्थमन्त्री सुनील यादवले समेत चासो देखाउँदै अवलोकन भ्रमण गरेका थिए।
हरिवनदेखि मरिणसम्मको ३५ किलोमिटर दूरीलाई सहज बनाउन दुवै पालिकाले आ–आफ्नो सीमा क्षेत्रभित्रको सडक सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।