Friday, February 7, 2025
Homeसामाचारहमास-इजरायल युद्धविराम भएसँगै विपिन सकुशल घर फर्किने आशामा परिवार

हमास-इजरायल युद्धविराम भएसँगै विपिन सकुशल घर फर्किने आशामा परिवार

कञ्चनपुर: हमास–इजरायल युद्धविरामपछि हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको परिवार उनी सकुशल घर फर्किने आशामा छ।

पन्ध्र महिनादेखि हमासको नियन्त्रणमा रहेका विपिनको परिवारले युद्धविरामको खबरले पुनः आशा पलाएको बताएको छ। पहिलो चरणमा रिहाइ हुने बन्धकहरूको सूचीमा विपिनको नाम नसमेटिए पनि दोस्रो चरणमा उनको रिहाइ हुने विश्वासमा परिवार व्यग्र प्रतीक्षामा छ।

विपिनकी आमा पदमा जोशीले भनिन्, “हामीले विपिनको रिहाइको आशा गरेका थियौं, तर पहिलो चरणमा उहाँ छुट्नुभएन। मेरो निर्दोष छोरा पन्ध्र महिनादेखि बन्धक बनेका छन्। यसपटक सरकारको पहलबाट उहाँको रिहाइ सुनिश्चित होस् भन्ने हाम्रो प्रार्थना छ।”

उनले विगतमा पनि युद्धविरामका बेला रिहाइको आशा गरेका तर निराश हुनुपरेको बताउँदै अहिलेको युद्धविरामले छोराको सुरक्षित रिहाइ गराउने विश्वास व्यक्त गरिन्।

“युद्धविरामको खबरले खुशी ल्यायो, तर फेरि युद्ध सुरु हुने डरले मन बेचैन छ। सरकारलाई अनुरोध छ, यो पटक मेरो छोराको सकुशल रिहाइ सुनिश्चित होस्,” विपिनकी आमाले भावुक हुँदै भनिन्।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायमा अध्ययनरत ४९ विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए। त्यहाँ पुगेको एक महिनामै हमासले इजरायलको अलिमुम किबुजमा आक्रमण गरेको थियो। आक्रमणमा १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई हमासले नियन्त्रणमा लिएको थियो।

इजरायल सरकारले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेको छ, तर सूचीमा विपिनको नाम छैन।

गृहमन्त्री रमेश लेखकले विपिन सुरक्षित रहेको र उनको रिहाइका लागि सरकार गम्भीर रहेको जानकारी दिए। “हाम्रो सूचनाअनुसार विपिन हमासको नियन्त्रणमा सुरक्षित छन्। उनको रिहाइका लागि सरकारले कूटनीतिक पहल गरिरहेको छ,” गृहमन्त्रीले भने। उनले युद्धविरामले रिहाइको प्रक्रिया सहज बनाउने विश्वास व्यक्त गरे।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका