काठमाडौँ — हमास र इजरायलबीचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबारदेखि बन्धकहरू रिहा हुने भएका छन्। यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकको सूची सार्वजनिक गरिएको छ, जसमा नेपालका विपिन जोशीको नाम पनि समावेश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसअघि विपिनसहित दुईजनाको अवस्था अज्ञात रहेको समाचार सीएनएनले प्रकाशित गरेको थियो। तर हाल टाइम्स अफ इजरायल र एपीसहितका सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको जीवित बन्धकहरूको सूचिमा विपिन जोशी पनि समावेश रहेका छन्।
शुक्रबार भएको युद्धविराम सम्झौतापछि सोमबारदेखि मंगलबारसम्म बन्धकहरू रिहा हुने अपेक्षा गरिएको छ। इजरायलले यस सन्दर्भमा दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको बताइएको छ।
जीवित ठानिएका २२ बन्धकमध्ये जोशी पनि हुने सम्भावनाले नेपालमा आशा जागेको छ।
विपिनसँगै सूचीमा रहेका अन्य बन्धकहरूमा गाली बर्मन, जिभ बर्मन, एलकाना बोहबोट, रोम ब्रास्लाभस्की, निमरोड कोहेन, एरियल क्युनियो, डेभिड क्युनियो, एभ्याटर डेभिड, गाय गिल्बोआ-दलाल, म्याक्सिम हार्किन, इटान हर्न, सेगेभ काल्फोन, बार कुपर्श्टाइन, मातान आङ्ग्रेस्ट, ओम्री मिरान, इटान मोर, तामिर निम्रोदी, योसेफ-चाइम ओहाना, एलोन ओहेल, अविनाटन ओर र मातान जंगाउकर रहेका छन्।


