सोलुखुम्बु: पछिल्लो एक सातामा सगरमाथा क्षेत्रमा २२८ जना विदेशी पर्यटकले प्रवेश गरेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्ला कार्यालयका अनुसार यो समय पर्यटकको संख्यामा कमी हुने भए पनि यस वर्ष विदेशी आगमन उल्लेखनीय रहेको छ।
कार्यालयका इन्चार्ज जिनिश राजभण्डारीले पुस ११ देखि १८ गतेसम्म ९१ महिला र १३७ पुरुष गरी २२८ जना विदेशी पर्यटक लुक्ला आइपुगेको जानकारी दिनुभयो। यस अवधिमा पुस ११ गते २८, १२ गते ३१, १३ गते ३०, १४ गते ६६, १५ गते ३६, १६ गते १९, १७ गते ४ र १८ गते १४ जना पर्यटक भित्रिएका छन्। अफसिजनमा पर्यटक आगमन न्यून रहने भए पनि यो वर्षको आगमनले सकारात्मक सन्देश दिएको पर्यटन व्यवसायी तोयाकुमार श्रेष्ठले बताउनुभयो।
चिसो मौसमको प्रवाह नगरी भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्यामा वृद्धि भएको देखेर होटल व्यवसायी उत्साहित भएका छन्। होटल व्यवसायी जाङ्मु शेर्पाले भन्नुभयो, “पहिले पुस–माघमा व्यवसाय ठप्प हुन्थ्यो, तर यो वर्ष पर्यटकको आगमनले राम्रो आशा दिलाएको छ।”
यद्यपि, खुम्बुमा चिसो र हिमपातका कारण दैनिकी कठिन बनेको छ। चिसोले पानी जम्दा पिउने पानी आपूर्तिमा समस्या भएको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो। करिब एक साताअघि परेको हिमपातले खुम्बुमा तापक्रम माइनस १५ डिग्री सेल्सियसभन्दा तल झरेको छ, जसले धेरैजसो व्यवसायीलाई जाडो छल्न अन्यत्र जान बाध्य पारेको छ।
सुरक्षामा प्रहरी सक्रिय
पर्यटकको आगमनसँगै नेपाल प्रहरीले सुरक्षामा सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार पर्यटकको शान्ति र सुरक्षाका लागि खुम्बु क्षेत्रका प्रहरी युनिटलाई सक्रिय बनाइएको छ।
“अफसिजनमा पनि विदेशी पर्यटकको आगमन बढेकोले सुरक्षामा कुनै कमी हुन नदिन हामी सतर्क छौँ। सबै प्रहरी युनिटलाई ब्रिफिङ गरी मोबाइल गस्तीसमेत सक्रिय गरिएको छ,” घिमिरेले भन्नुभयो। पर्यटकको सहज भ्रमण सुनिश्चित गर्न सुरक्षालाई थप चुस्त पारिएको बताइएको छ।