Saturday, November 7, 2026
Homeसामाचारस्पेनमा १८० नेपालीसहित ३२२ आप्रवासी शोषणको मुद्दा अदालतमा

स्पेनमा १८० नेपालीसहित ३२२ आप्रवासी शोषणको मुद्दा अदालतमा

एजेन्सी — स्पेनमा नेपालीसहित विदेशी श्रमिकलाई अमानवीय तथा असम्मानजनक रूपमा श्रममा लगाइएको घटनाले अदालतको ढोका ढकढक्याएको छ। कृषि क्षेत्रमा आधुनिक दाससरह काम लगाएको अभियोगमा ११ जनालाई पक्राउ गरेसँगै घटनाका थप विवरण सार्वजनिक हुँदै गएका छन्।

स्पेनी प्रहरीले डिसेम्बर ४ मा जारी गरेको विज्ञप्तिअनुसार यस घटनामा फसेका आप्रवासीमध्ये करिब ३०० जना नेपालबाट गएका रहेको जनाइएको छ। तीमध्ये १८० जना नेपालीको मुद्दा अदालती प्रक्रियामा पुगेको एनआरएनए स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिनुभयो।

श्रेष्ठका अनुसार घटनापछि एनआरएनए स्पेनको टोलीले तीन पटक स्थलगत अनुगमन गरेको छ। “१८० जना नेपालीको मुद्दा अदालतमा पुगेको छ। हाम्रो उपाध्यक्ष सुरेन्द्र भुजेलले कानुनी सहयोग र भाषा रुपान्तरणमा सहयोग गरिरहनुभएको छ। अब बाँकी विषय अदालतले निर्णय गर्नेछ,” उहाँले बताउनुभयो।

उहाँका अनुसार पीडित नेपालीहरूका लागि राहत वितरण गरिएको छ भने कानुनी सेवा पनि उपलब्ध गराइँदै आएको छ। स्थानीय सञ्चारमाध्यम यूरोन्यूज डटकमका अनुसार ती आप्रवासीहरूलाई पर्यटक भिसामा स्पेन प्रवेश गराएर देशका विभिन्न गाउँ–बस्तीका कृषि फार्महरूमा काम लगाइएको थियो। पछि गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दै आपराधिक सञ्जालसँग सम्बन्धित ११ जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार यस घटनासँग सम्बन्धित अदालती प्रक्रिया यही डिसेम्बर १०, ११ र १२ तारिखमा हुँदै छ। हालसम्म चार जना नेपालीको बयान लिइसकिएको छ भने अन्यको फोनमार्फत बयान लिने तयारी भइरहेको छ।

स्पेनी प्रहरीले कुल ३२२ कामदारलाई आपराधिक सञ्जालमार्फत स्पेन ल्याइएको जनाएको छ। तीमध्ये २९४ जनासँग स्पेनमा बस्न र काम गर्न आवश्यक कागजात नरहेको प्रहरीले जनाएको छ। कामदारहरू मध्य र पूर्वी स्पेनका विभिन्न कृषि फार्महरूमा अवैध रूपमा राखिएको थियो।

प्रहरीका अनुसार तस्करी गरिएका अधिकांश आप्रवासी शेन्जेन क्षेत्रअन्तर्गतका देशहरू हुँदै पर्यटक भिसामा प्रवेश गरेका थिए। शेन्जेन क्षेत्र २७ युरोपेली संघ सदस्य देशमध्ये २५ देशसँगै लिक्टेनस्टाइन, आइसल्याण्ड, नर्वे र स्विट्जरल्याण्ड समावेश रहेको छ।

स्पेनी प्रहरीले सार्वजनिक गरेको भिडियोमा दर्जनौँ मानिसहरू कम बत्ती भएको कोठामा लाइनमा राखिएका गद्दामा बसिरहेको देखिन्छ। आपराधिक सञ्जालले दक्षिणपूर्वी स्पेनको अल्बासेट क्षेत्रमा पीडितहरूको आवासको व्यवस्था गरेको थियो। ती कोठाहरूमा कमजोर भेन्टिलेसन, सीमित बाथरूम पहुँच र अत्यन्तै अमानवीय अवस्थाबीच उनीहरूलाई राखिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका