स्पेन। स्पेनको उत्तर अफ्रिकी भूभाग सेउतामा यसै साता करिब ५० हजार आप्रवासी प्रवेश गरेपछि स्थानीय प्रशासनमाथि ठूलो दबाब परेको छ। सीमा पार गर्ने क्रममा कम्तीमा ५७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने घटनापछि स्पेनसहित युरोपेली मुलुकहरूले सीमा सुरक्षामा थप कडाइ गरेका छन्।
स्पेनिस अधिकारीहरूका अनुसार अवैध रूपमा प्रवेश गरेका अधिकांश आप्रवासीलाई शुक्रबार साँझसम्म छिमेकी मुलुक मोरोक्को फर्काइसकिएको छ। सेउतामा पर्याप्त खाना, बासस्थान र आधारभूत सुविधा अभाव भएपछि धेरै आप्रवासी स्वेच्छिक रूपमा पनि फर्किएका थिए।
सर्वोच्च अदालतको फैसलाको गलत व्याख्याले बढायो संकट
स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजसहित सरकारी अधिकारीहरूले मानव तस्करहरूले स्पेनको सर्वोच्च अदालतको हालैको फैसलालाई गलत रूपमा व्याख्या गर्दै हजारौँ मानिसलाई सीमा पार गर्न उक्साएको बताएका छन्।
गत जुन २९ मा सर्वोच्च अदालतले समुद्री मार्गबाट आउने आप्रवासीलाई उचित कानुनी प्रक्रिया पूरा नगरी तत्कालै फिर्ता पठाउन नमिल्ने फैसला सुनाएको थियो। अदालतको निर्णय विशेषगरी पौडी खेलेर सेउता र मेलिला पुग्ने आप्रवासीहरूसँग सम्बन्धित थियो।
यद्यपि विज्ञहरूले उक्त फैसला सीमित कानुनी विषयमा आधारित रहेको र त्यसले अवैध रूपमा प्रवेश गरेका व्यक्तिलाई स्पेनमा बस्ने अधिकार नदिने स्पष्ट पारेका छन्।
इन्स्ट्र्याटेजिजका आप्रवासन नीति प्रमुख तथा पोम्पेउ फाब्रा विश्वविद्यालयका शोधकर्ता जेमा पिन्योल–जिमेनेजका अनुसार अदालतको उद्देश्य तत्कालै सीमा धकेल्ने अभ्यासलाई कानुनी प्रक्रियामा ल्याउनु मात्र हो। आवश्यक प्रक्रिया पूरा भएपछि केही दिनमै अवैध रूपमा प्रवेश गरेका व्यक्तिलाई मोरोक्को फिर्ता पठाउन सकिने उनले बताए।
सन् १९९२ मा स्पेन र मोरोक्कोबीच भएको द्विपक्षीय सम्झौताअनुसार मोरोक्कोको भूभाग हुँदै स्पेन प्रवेश गरेका तेस्रो मुलुकका नागरिकलाई मोरोक्कोले पुनः स्वीकार गर्नुपर्ने व्यवस्था छ।
कोन्स्टान्ज विश्वविद्यालयका युरोपेली तथा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक ड्यानियल थिमले पनि यसलाई “प्राविधिक कानुनी फैसला” मात्र भएको उल्लेख गर्दै यसले मानवअधिकारसम्बन्धी नयाँ अधिकार सिर्जना नगरेको बताए।
आर्थिक दबाब र स्पेनको आकर्षण पनि प्रमुख कारण
विज्ञहरूका अनुसार आप्रवासीहरूको ठूलो लहर अदालतको फैसलाले मात्र नभई अन्य कारणले पनि बढेको हो। स्पेनको बलियो अर्थतन्त्र, कागजातविहीन आप्रवासीलाई कानुनी मान्यता दिने कार्यक्रम, अनुकूल मौसम तथा उत्तर अफ्रिकाका युवामाझ बढ्दो बेरोजगारीलाई पनि प्रमुख कारण मानिएको छ।
सरकारी तथ्यांकअनुसार मोरोक्कोमा समग्र बेरोजगारी दर घटे पनि १५–२४ वर्ष उमेर समूहमा बेरोजगारी अझै ३७.२ प्रतिशत रहेको छ। सीमा पार गर्नेहरूमध्ये धेरैजसो १६–१७ वर्षका अभिभावकविहीन किशोर रहेको विज्ञहरूको भनाइ छ।
यसै वर्ष स्पेन सरकारले करिब ५ लाख कागजातविहीन आप्रवासीलाई कानुनी हैसियत दिने कार्यक्रम अघि बढाएको थियो। तर हालसम्म १० लाखभन्दा बढी आवेदन परिसकेको जनाइएको छ।
सेउता र मेलिला : संवेदनशील सीमा क्षेत्र
मोरोक्कोको उत्तरी तटमा रहेका सेउता र मेलिला स्पेनका दुई स्वायत्त भूभाग हुन्, जसले अफ्रिका र युरोपेली संघबीचको एकमात्र स्थलीय सीमा बनाउँछन्। कडा सुरक्षा व्यवस्था र अग्ला बार हुँदाहुँदै पनि यी क्षेत्र लामो समयदेखि आप्रवासनका प्रमुख प्रवेशद्वार मानिँदै आएका छन्।
यी दुवै भूभागमाथि मोरोक्कोले आफ्नो सार्वभौमिकता दाबी गर्दै आएकाले यहाँको आप्रवासन समस्या मानवीय मात्र नभई कूटनीतिक विषयसमेत बनेको छ। सन् २०२१ मा पनि यस्तै ठूलो आप्रवासी संकट उत्पन्न भएको थियो, जसलाई पश्चिमी सहारासम्बन्धी विवादसँग जोडेर हेरिएको थियो।
युरोपभरि सीमा सुरक्षा कडा
सेउतामा भएको घटनापछि युरोपभरि आप्रवासन नीति फेरि बहसको केन्द्रमा पुगेको छ। इटालीले स्पेनबाट आउने यात्रुका लागि अस्थायी सीमा नियन्त्रण लागू गरेको छ भने फ्रान्सले पनि सीमामा सुरक्षा जाँच कडा बनाउने जनाएको छ।
स्पेनको विपक्षी दलले प्रधानमन्त्री सान्चेजको सरकारले सीमा नियन्त्रण कमजोर बनाएको आरोप लगाएको छ। यता सरकारले भने सेउता वरपरको समुद्री क्षेत्रमा नयाँ सुरक्षा अवरोध (पानीमा बार) निर्माण गर्ने योजना अघि सारेको छ। सरकारका अनुसार यसले सर्वोच्च अदालतको आदेशको पालना गर्दै अवैध रूपमा प्रवेश गर्नेहरूलाई कानुनी प्रक्रिया पूरा गरी छिट्टै फिर्ता पठाउन सहयोग गर्नेछ।


