Saturday, November 7, 2026
Homeसामाचारसूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त, म्याद फेरि असारसम्म थप्ने तयारी

सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त, म्याद फेरि असारसम्म थप्ने तयारी

काठमाडौँ — अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक–धुलिखेल सडक विस्तार कार्य सुस्त गतिमा अघि बढिरहेको छ। साइट क्लियरको काम समयमै नसकिँदा आयोजनाको समग्र निर्माण आधा पनि पुग्न सकेको छैन। अब आयोजना पक्षले आउँदो २०८३ असार मसान्तसम्म काम सक्ने गरी म्याद थपको तयारी गरेको छ।

सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजय कुमार महतोका अनुसार पहिलो प्याकेजको म्याद मंसिर १८ र दोस्रो प्याकेजको पुस २४ मा सकिँदै छ। दुवै ठेक्काको म्याद असार मसान्तसम्म थप्ने तयारी भइरहेको उनले बताए। “म्याद थप्नेबारे एसेसमेन्ट भइरहेको छ,” महतोले भने, “कति दिन ठेकेदारले काम गर्न पाएन, कति समस्या आयो भन्ने मूल्याङ्कन गरेर मात्रै म्याद थप्नेछौँ। ठेकेदारलाई असारभन्दा उता काम नलैजान दबाब दिइएको छ।”

उनका अनुसार सडक विस्तारमा ढिलाइ हुनुमा आयोजनाकै कमजोरी प्रमुख कारण हो। “समयमै बिजुलीका पोल सार्न सकेनौँ, घर–टहरा हटाउन ढिलाइ भयो, र सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूलाई हटाउन चुनौती थियो,” उनले स्पष्ट पारे। विद्युत् प्राधिकरणलगायत निकायबीच समन्वयको कमीले पनि काम प्रभावित भएको उनले बताए।

सडक सीमाभित्र बनेका घर–टहरालाई सरकारले मुआब्जा नदिने निर्णय गरेपछि बिनामुआब्जा हटाइएको छ। महतोका अनुसार यी समस्या समाधान गर्न समय लाग्दा निर्माण ढिलो भएको हो र यसमा ठेकेदार कम्पनीको दोष छैन।

सडकलाई मुख्य सडक र सर्भिस लेनसहित ६ लेनमा विस्तार गर्न भक्तपुरको सूर्यविनायकदेखि साँगासम्म र साँगादेखि धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरिएको छ। यो सडक विस्तार सम्पन्न भएपछि उपत्यकाबाट पूर्वी पहाड, तराई र चीनसँगको तातोपानी नाकासम्मको यात्रा सहज हुने अपेक्षा गरिएको छ। तर, निर्माण सुस्त भएकाले यात्रुहरूले केही समय अझै धुलो र हिलोको सास्ती भोग्नुपर्ने देखिएको छ।

सूर्यविनायक–साँगा खण्डको ४० प्रतिशत काम सम्पन्न

यो सडकको कुल लम्बाइ १५.८ किलोमिटर छ। त्यसको ७.५ किमि लामो सूर्यविनायक–साँगा खण्ड आशिष–कुमार श्रेष्ठ–बन्धन भगवती जेभीले २०७९ पुस २४ गते जिम्मा लिएको हो। ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँको ठेक्का रकम रहेको यो खण्डको भौतिक प्रगति हालसम्म ४० प्रतिशत पुगेको छ। यस खण्डको म्याद २०८२ पुस २७ सम्म मात्र छ।

साँगा–धुलिखेल खण्डमा ५५ प्रतिशत प्रगति

साँगा–धुलिखेल खण्डको लम्बाइ ८.३ किमि छ। लामा कन्स्ट्रक्सनले २०७९ मंसिर १८ मा ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा ठेक्का लिएको हो। यस खण्डमा हालसम्म ५५ प्रतिशत भौतिक प्रगति भएको छ। बनेपा–धुलिखेल बीचका करिब चार किमि सडक कालोपत्रे भए पनि अधिकांश काम अझै बाँकी छ। यस खण्डको म्याद मंसिर १८ सम्मको रहेको छ।

साइट क्लियरको काम अझै बाँकी

आयोजना प्रमुख महतोका अनुसार हालसम्म करिब ९० प्रतिशत साइट क्लियरको काम सकिएको छ। बाँकी १० प्रतिशत काममा करिब १०–१२ घर–टहरा र बिजुलीका पोलहरू हटाउन बाँकी छन्।
“मुख्य ठाउँका काम सकिएका छन्, तर केही ठाउँमा स्थानीय अवरोधका कारण ढिलाइ भएको छ,” उनले बताए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका