भक्तपुर: सूर्यविनायक नगरपालिकाले वडा नं ६ स्थित पाण्डुबजार हाइटमा निर्मित ८० लाख लिटर क्षमताको पानी ट्याङ्कीबाट नगरका विभिन्न वडामा मेलम्ची खानेपानीको वितरण सुरु गरेको छ।
खानेपानी वितरणको उद्घाटन बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा र नगर प्रमुख वासुदेव थापाले संयुक्त रूपमा गर्नुभएको हो।
मन्त्री थापाले अब सूर्यविनायकमा खानेपानी अभाव अन्त्य हुने दाबी गर्नुभयो।
९ करोडको लगानीमा आयोजना
बागमती प्रदेश सरकारबाट रु १ करोड र नगरपालिकाबाट रु ८ करोड लगानीमा ‘सूर्यविनायक बृहत खानेपानी आयोजना’ अन्तर्गत मेलम्चीको पानी वितरण थालिएको हो।
नगरपालिकाले केयुकेएल (KUKL) मार्फत पानी वितरण गरिरहेको नगर प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिनुभयो।
उहाँका अनुसार, यो आयोजना २०७९ सालको असोजदेखि सुरु भएको थियो। अहिले दैनिक ३५ लाख लिटर पानी वितरण गर्ने लक्ष्य रहेको छ।
दुई चरणमा पानी वितरण
नगरपालिकाले पहिलो चरणमा वडा नं २ देखि ६ सम्म र दोस्रो चरणमा वडा नं ७ देखि १० सम्म मेलम्चीको पानी वितरण गर्ने योजना बनाएको छ।
हालसम्म १०,९७० मिटर पाइपलाइन विस्तार भइसकेको छ भने वडा नं १ स्थित सिरुटारमा अझै २–३ किलोमिटर पाइप विस्तार गर्न बाँकी रहेको छ।
३५ हजार घरधुरीमा पानी पुर्याउने लक्ष्य
हालसम्म सुवर्णेश्वर, पाण्डुबजार, बालकोट, दक्षिणबाराही, सिकारीटार र घट्टेखोला क्षेत्रमा रहेका ट्याङ्कीहरूमा मेलम्चीको पानी पुर्याइएको छ।
निकट भविष्यमा मेलम्चीको पानी नगरका ३५ हजार घरधुरीसम्म पुर्याउने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ।


