पोखरा (कास्की): सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतले आदेश जारी गर्ने सम्भावना रहेको छ। सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा बादी र प्रतिवादी दुवै पक्षको बहस पूरा भइसकेको छ। आज सरकारी वकिलको जवाफी बहसपछि आदेश आउने अपेक्षा गरिएको हो।
कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालका अनुसार, बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीको कानुनी व्यवसायीको बहस पूरा भएको थियो। सोमबार र मंगलबार प्रतिवादी पक्षका वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, रमणकुमार श्रेष्ठ, र सुरेन्द्र थापालगायतले बहस गरेका थिए। त्यसअघि प्रतिवादी लीला पछाईं र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले बहस गरेका थिए।
बुधबारदेखि जाहेरवालाको तर्फबाट जवाफी बहस सुरु भएको थियो। सरकारी वकिलले जवाफी बहस सकाएपछि थुनचेक बहसको निष्कर्षस्वरूप प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्ने कि थुनामुक्त गर्ने आदेश जारी हुनेछ।
पुस ७ गते कास्की जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलन गरेको आरोपमा रवि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। सहकारीको पैसा गोर्खा मिडिया प्रालिमा लगेर हिनामिना गरेको आरोपमा पूर्व डिआईजी छविलाल जोशी, लीला पछाईं, र रामबहादुर गुरुङलगायत प्रतिवादी हाल हिरासतमा छन्।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी र जाहेरवालाका तर्फबाट जवाफी बहस बुधबार साँझ सम्पन्न भएको थियो। आज सरकारी वकिलको जवाफी बहसपछि आदेश आउने अपेक्षा गरिएको छ।