Saturday, January 18, 2025
Homeसामाचारसूर्यदर्शन सहकारी ठगीः प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जारी

सूर्यदर्शन सहकारी ठगीः प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जारी

गण्डकी: कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ।

शुक्रबारदेखि सुरु भएको प्रतिवादी पक्षका कानुन व्यवसायीको बहस आज पनि जारी रहने जानकारी अदालतका श्रेस्तेदार राजन खनालले दिएका छन्। प्रतिवादी लीला पछाईँ र छविलाल जोशीको पक्षमा कानुन व्यवसायीहरूले शुक्रबार बहस गरेका थिए, जसले अझै पूर्णता पाइसकेको छैन।

यसअघि सरकारी वकिल र जाहेरवालाको सहकारीपीडित पक्षका कानुन व्यवसायीहरूले बहस सम्पन्न गरेका थिए। प्रतिवादीहरूको बयान सकिएपछि जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मंगलबारदेखि थुनछेक बहस सुरु भएको हो। जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जाहेरवालाका तर्फबाट बहस सकिएपछि प्रतिवादी पक्षको बहस सुरु भएको बताइन्।

“प्रतिवादी पक्षका बहसपछि हामी जवाफी बहस गर्नेछौं,” काफ्लेले भनिन्। थुनछेक बहसपछि प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्ने वा थुनामुक्त गर्ने आदेश हुने छ।

सभापति लामिछानेसहित सहकारी ठगी मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, र रामबहादुर खनाललगायत अन्य व्यक्तिहरूमाथि पनि थुनछेक बहस भइरहेको छ। पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

सभापति लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध, र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पनि चलाइएको छ। सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको छ। सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराध मुद्दा दायर भएको छ।

त्यस्तै, लामिछाने, खनाल, जोशी, र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पनि दायर गरिएको छ। सहकारीको बचत रकम अपचलनको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। सहकारी ठगी आरोपित अन्य व्यक्तिहरूमाथि पनि कसुरअनुसारको बिगो र सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका