Wednesday, March 19, 2025
Homeसामाचारसुरुङमार्फत पर्सा र बारामा पानी आपूर्तिको सम्भाव्यता अध्ययन गरिने

सुरुङमार्फत पर्सा र बारामा पानी आपूर्तिको सम्भाव्यता अध्ययन गरिने

काठमाडौं: खानेपानी तथा ढल व्यवस्थापन विभागले हेटौँडाको राप्ती नदीबाट पर्सा र बारा जिल्लामा पानी आपूर्ति सम्भाव्यता अध्ययन गर्ने भएको छ। यसका लागि विभागले परामर्शदाताहरूबाट आशयपत्र आह्वान गरेको छ।

तराई–मधेसका क्षेत्रमा दीर्घकालीन रूपमा खानेपानी समस्या समाधान गर्न खानेपानीमन्त्री प्रदीप यादवको पहलमा अध्ययन अघि बढाइएको विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो।

मन्त्री यादवका अनुसार, “राप्ती नदीबाट पर्सा र बाराका लागि पानी स्थानान्तरण अध्ययनले स्थानीय जलस्रोत अभावको समाधान, जलस्रोतको दिगो उपयोग तथा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न मद्दत गर्नेछ।”

उक्त अध्ययनले पानी आपूर्तिका लागि उपयुक्त प्रविधि, लागत, वातावरणीय प्रभाव तथा सम्भाव्यता विश्लेषण गर्नेछ, जसले भविष्यमा विस्तृत अध्ययन र कार्यान्वयनको आधार तय गर्नेछ।

तराई क्षेत्रमा गम्भीर पानी समस्या

जलवायु परिवर्तनका कारण नेपालका जलस्रोतहरूमा गम्भीर असर परेको छ। भू–जलको सतह घट्दै जाँदा मधेस प्रदेशका पर्सा र बारा जिल्लामा खानेपानी अभाव झन् तीव्र बनेको छ। यस समस्याको दिगो समाधान खोज्न विभागले यो अध्ययन अघि बढाएको हो।

अध्ययनका मुख्य उद्देश्यहरू
विभागका महानिर्देशक इन्जिनियर श्रेष्ठका अनुसार, अध्ययनका प्रमुख उद्देश्यहरू निम्नानुसार छन्:

पर्सा र बारा जिल्लामा हालको पानी अभावको विस्तृत मूल्याङ्कन।
आगामी २५ वर्षका लागि खानेपानी आवश्यकताको प्रक्षेपण।
सम्भावित जलस्रोतहरूको पहिचान तथा दिगो समाधानका उपाय खोजी।
राप्ती नदी तथा अन्य वैकल्पिक जलस्रोतहरूको गुणस्तर, उपलब्धता र स्थायित्वको मूल्याङ्कन।
वातावरणीय र सामाजिक प्रभावको अध्ययन।
जलस्थानान्तरण संरचनाहरूको सम्भाव्यता तथा लागत–लाभ विश्लेषण।

व्यापक अध्ययन हुने

अध्ययन प्रक्रियाअन्तर्गत हाइड्रोलोजिकल, जियोलोजिकल र सामाजिक सर्वेक्षण गरी जलस्रोत उपयोगका सम्भावनाहरू पहिचान गरिनेछ। बारा र पर्सा जिल्लाका क्षेत्रहरू समेटेर पानी वितरण प्रणाली, टनेल तथा पाइपलाइन संरचनाहरूको सम्भाव्यता अध्ययन हुनेछ।

हालको खानेपानी आपूर्ति प्रणाली भरपर्दो नभएको र गर्मी मौसममा समस्या झन् गम्भीर हुने भएकाले अन्तर–बेसिजनल स्थानान्तरण वा अन्य वैकल्पिक उपायहरूको खोजी गर्न आवश्यक रहेको मन्त्री यादवले बताउनुभयो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका