सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई पक्षबीच भएको झडपपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रहरीका अनुसार झडपका क्रममा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको गोली लागेर मृत्यु भएको हो। घटनामा प्रदर्शनकारी र सुरक्षाकर्मीतर्फ गरी १६ जना घाइते भएका छन्।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन्। आइतबार राति १२:३० बजे जारी आदेशअनुसार तोकिएको क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु लागू गरिएको जनाएको छ। आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई कानुनअनुसार एक हजार रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद, वा दुवै सजाय हुन सक्ने चेतावनी पनि दिइएको छ।
कर्फ्यु लागू गरिएका क्षेत्रहरूमा हरिनगरा बजार, भुटाहा बजार, कसनागञ्ज बजार, घुस्की बजार र देवानगञ्ज बजार आसपासका तोकिएका चारकिल्लाभित्रका सबै क्षेत्र समावेश छन्।
प्रशासनले स्थानीयवासीलाई शान्ति कायम राख्न, अफवाहमा विश्वास नगर्न तथा सुरक्षा निकायसँग सहयोग गर्न आग्रह गरेको छ। साथै, क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको जनाइएको छ।


