खोटाङ, ७ असार: सुनकोशी नदीमा बाढी आउने सम्भावनालाई ध्यानमा राख्दै खोटाङ जिल्ला प्रशासन कार्यालयले नदी आसपासका स्थानीयवासीलाई सतर्क रहन अनुरोध गरेको छ।
चीनको तिब्बत क्षेत्रमा असार ७ गतेसम्म लगातार भारी वर्षा हुने पूर्वानुमानसहित बाढीको सम्भावना औंल्याउँदै सुनकोशीमा पानीको बहाव बढ्न सक्ने चेतावनी दिइएको छ। खोटाङको तटीय क्षेत्रसम्म असर पुग्ने भएकाले सतर्कता अपनाउन प्रशासनले सार्वजनिक सूचना जारी गरेको हो।
सुनकोशी नदीले हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा, खोटेहाङ, बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकाको भूभाग छोएर बग्ने गर्दछ। चीनको प्रहरी कार्यालयबाट प्राप्त सूचनाका आधारमा सिन्धुपाल्चोक प्रशासनले पहिलो सूचना जारी गरेपछि खोटाङ प्रशासनले पनि असार ६ गते सतर्कता सम्बन्धी सूचना जारी गरेको हो।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सागर साहद्वारा जारी सूचनाबारे सम्बन्धित स्थानीय तहहरूलाई जानकारी गराइएको प्रशासनले जनाएको छ।
गत वर्षको असोज १२ गते आएको बाढीले सुनकोशीमा रहेको दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङ्टारस्थित मोटरेबल पक्की पुल बगाएको थियो भने दर्जनौं स्थानीयवासी विस्थापित भएका थिए। यसपटकको सम्भावित जोखिमलाई मध्यनजर गर्दै समयमै सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो।


